अमेरिकामा कञ्जरभेटिभ विद्रोहको खतरा

0
277

यदि रोबर्ट मुल्लरले ट्रम्पलाई राष्ट्रपतिबाट हटाइ दिए भने अथवा ट्रम्पलाई महाअभियोग लगाइयो भने अमेरिकामा एकपटक राम्रै खाले कञ्जरभेटिभ विद्रोह होला कि भन्ने बहस र चिन्ता पनि सुरु भएको छ ।

हिमाल कोइराला

हिमाल कोइराला

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेर उदाएका छन् । रिपब्लिकन पार्टीका ट्रम्पलाई राष्ट्रपति बनाउन रुसले हस्तक्षेप गर्यो, अनि डेमोक्र्याट हिलारी क्लिण्टनलाई पराजित गर्न रुसले भूमिका खेल्यो भनेर अनुसन्धान भइरहेका छन् ।

जष्टिस डिपार्टमेण्टका विशेष अभियोजक रोबर्ट मुल्लरले त्यसैको अनुसन्धान गरिरहेका छन् । अनुसन्धानको परिणाम के आउला, ट्रम्पको भविष्य के होला, त्यसको छिनोफानो समयले गर्नेछ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाको कञ्जरभेटिभ तप्काको प्रतिनिधित्व गर्छन् । अमेरिकामा गोरालाई बढी प्राथमिकता दिने, आप्रवासीलाई अमेरिका आउन कडाइ गर्ने, अमेरिका भित्रै रहेका अवैध आप्रवासीलाई लखेट्ने, देशलाई आप्रवासीबाट जोगाउन पर्खाल लगाउने, विदेशबाट आयात हुने सामानमा कर बढाएर ‘संरक्षणवाद’ लाई बढावा दिने, अरु मुलुकको सुरक्षाको जिम्मा आफूले लिन नसक्ने, अमेरिकामा अंग्रेजी भाषालाई प्राथमिकता दिने, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अमेरिकालाई अलग गरी एक्लै बस्ने, विश्व मौसम परिवर्तनमा विश्वास नगर्ने, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई अमेरिकी समाजको मूल प्रवाहमा आउन नदिने, ट्रम्पका यस्ता नीति, कार्यक्रम र योजनाले उनी अल्ट्रा कञ्जरभेटिभ हुन् भन्ने प्रमाणित गर्छ ।

अब अमेरिकी समाजको कुरा गरौं, हामीले पढ्दै, जान्दै आएको ‘अमेरिकी समाज संसारकै सबैभन्दा उदार छ ।’ कम्तिमा सतही विश्लेषण गर्दा अवश्य छ । अमेरिकामा भाषा, धर्म, जात, वर्ण, सँस्कृतिमा विविधता छ । त्यहाँ सबैका लागि अवसर छ । त्यसैले संसारभरबाट अमेरिका जान हानाथाप हुन्छ ।

हो, अमेरिका उदारवाद अथवा लिबरलिज्मको गतिलो उदाहरण हो ।

तर, अवश्य पनि समाज एउटै विचारले मात्रै बन्दैन, चल्दैन । अमेरिकामा अर्को एउटा सामाजिक तह छ, जसले यो लिबरलिज्म मन पराउँदैन । उनीहरूलाई कञ्जरभेटिभ भन्छन् । तिनै कञ्जरभेटिभको प्रतिनिधित्व ट्रम्पले गरिरहेका छन् । कञ्जरभेटिभहरु अमेरिका भरी छन्, तर दक्षिणी राज्यहरुमा अन्यत्र भन्दा केही बढी छन् ।

१९ औं शताब्दीमा कन्फेडेरेसीबाट अमेरिकी गृहयुद्ध लड्नेका सन्तान–दरसन्तानले अमेरिकी कञ्जरभेटिभको मान्यता जोगाइरहेका छन् । ती कञ्जरभेटिभ र अल्ट्रा कञ्जरभेटिभहरु दक्षिणपन्थी, राष्ट्रवादी, नाजी र गोरा जातीको प्रभुत्वको पक्षमा देखिन्छन् ।

अमेरिकाका अधिकांश मूलधारका सञ्चार माध्यम लिबरल मूल्य मान्यतालाई मलजल गर्ने किसिमका छन् । अमेरिकी मिडिया दैनिकै ट्रम्पको आलोचना र विरोध गर्दै आएका छन् । त्यही भएर ट्रम्प र ‘डिसअनेष्ट’ मिडियाबीच जुहारी चल्दै आएको छ ।

अमेरिकामा अर्को एउटा सामाजिक तह छ, जसले यो लिबरलिज्म मन पराउँदैन । उनीहरूलाई कन्जरभेटिभ भन्छन् । तिनै कन्जरभेटिभको प्रतिनिधित्व ट्रम्पले गरिरहेका छन् ।

अहिले इण्टरनेटमा फोरचानको पोलिटिकल्ली इन्करेक्ट /pol/, टम्बलर, रेडिट, फेसबुक, ट्विटर र अरु सामाजिक सञ्जालमा आफूलाई केकिस्तानी भन्ने कञ्जरभेटिभहरु पनि सक्रिय देखिन्छन् । उनीहरुको आफ्नै काल्पनिक देश छ, काल्पनिक इतिहास छ । पेपे भन्ने हरियो भ्यागुता राष्ट्रिय जनावर छ । राष्ट्रगान छ, झण्डा छ, बिग म्यान टेरोनले आफैँलाई केकिस्तानको सर्वोच्च राष्ट्रपति भन्छन् । डोनाल्ड ट्रम्प केकिस्तानका गड इम्पेरर हुन्, सारगन अफ अक्कड कार्ल बेञ्जामिन, मिलो यान्नापोलुस, टोम्मी रोबिन्सन र अरु कञ्जरभेटिभ मान्यताका टिप्पणीकार र नेतालाई अरु पदहरु दिइएको छ ।

यी केकिस्तानीले लिबरलहरुलाई गिज्याएर इन्टरनेट मिम बनाउने अनि कञ्जरभेटिभ विचारको अप्रत्यक्ष प्रोगागाण्डा गर्दै आएका छन् ।

अमेरिकी अल्ट्रा कञ्जरभेटिभले : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीक्यु) लाई समाजको मूल प्रवाहमा आउन दिने, अमेरिकाका गोरा र कालालाई समान अधिकार दिने, अंग्रेजी बोल्ने अमेरिकी र स्पेनी बोल्ने आप्रवासीलाई पनि उस्तै अवसर दिने, महिलालाई बढी अधिकार दिने जस्ता अनेक व्यवस्था सहेर बसेका छन् तर त्यस्ता व्यवस्था स्वीकार गरिसकेका छैनन् ।

समग्रमा भन्दा अमेरिकी कञ्जरभेटिभहरु आफूलाई लिबरलहरुले दमन गरिरहेको ठान्छन् । कञ्जरभेटिभका विषयमा थोरै मात्रै चर्चा हुन्छ । किनकी मूलधारका अमेरिकी मिडियाले उदारवादीको पक्षपोषण गर्छन्, र सतही रुपमै सही, त्यहाँको समाज पनि उदार छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प कञ्जरभेटिभका महान् नेता बनेर उदाएका छन् । ट्रम्पको उदय अमेरिकी राजनीतिमा कञ्जरभेटिभका लागि नयाँ अध्याय बनेको छ । कञ्जरभेटिभ वृत्तमा लिबरल दमनबाट मुक्त गर्ने नेताका रुपमा ट्रम्पको चर्चा हुन्छ ।

तर, कञ्जरभेटिभहरूमा के भान पर्दै गएको छ भने मिडिया, डेमोक्र्याटिक पार्टी र रिपब्लिकन पार्टीकै केही धोकेबाज नेताका कारण ट्रम्पले आफ्ना कञ्जरभेटिभ नीति लागू गर्न सकिरहेका छैनन् र रुसी हस्तक्षेप र अरु अनेक बहानामा ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने षड्यन्त्र भइरहेको छ ।

यदि रोबर्ट मुल्लरले ट्रम्पलाई राष्ट्रपतिबाट हटाइ दिए भने अथवा ट्रम्पलाई महाअभियोग लगाइयो भने अमेरिकामा एकपटक राम्रै खाले कञ्जरभेटिभ विद्रोह होला कि भन्ने बहस र चिन्ता पनि सुरु भएको छ ।

* हिमाल कोइराला अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता हुन् ।