अस्तित्व संकटमा विदेशीका दलाल नेताहरु

0
130

 ०६२ साल यताको कालो दशकको अन्त्य पनि विदेशी दलालहरुको दुखान्तका रुपमा पूरा हुने संभावना यथार्थतामा परिणत हुँदै गएको छ ।

अबको सान्दर्भिक बहस हो– हजार नाटकका बाबजुद साम्राज्यवादका मतियार देशद्रोहीहरु उम्कने ठाउँ बन्न संभव छ कि छैन ? यिनीहरुप्रतिको भ्रामक जनसमर्थन ०६३ सालमा फर्कन सक्छ कि सक्दैन ?

भरत दाहाल

Bharat Dahalअग्रगामी भनेर ढोल पिटिएको दिल्लीको ‘१२ बुँदे सहमति’ र त्यसको छातामुनी विदेशी उक्साहटमा आजसम्म भएका निर्णयहरु भड्किंदो जनमतसँगै निर्णयकर्ताहरुको घाँटीमा बेरिएर गलपासो बन्दै गएका छन् । परिस्थिति उल्टिन थालेको छ । देश र जनतालाई धरापमा हालेर विदेशी भरोसामा लुट मच्चाउने सपना देख्दै आएकाहरु दलदलको भासमा धसिंदै गएका छन् ।

कथित अग्रगमनका नाममा इतिहासमा गरेका सहमतिहरुबाट पछि हटेर भए पनि अस्तित्व जोगाउने जुन रणनीति ‘नेता’हरुमा देखिन थालेको छ, यसले के कुरा साबित गर्दछ भने यिनीहरुले पहिले स्वेच्छाचारितापूर्वक गरेका निर्णयहरु अग्रगामी कदमहरु नभएर केवल अपराधजन्य मानसिकताका उत्पत्ति मात्रै थिए । यिनीहरु विवेकबाट चल्ने मानिस नभएर शक्तिको तरङ्ग अनुसार रुप बदल्ने अवसरवादी हुन् र अग्रगमनका नाममा यिनका हातबाट नेपाल विरुद्ध ‘पाण्डोराको बाकस’ खोल्न मात्र लगाइएको हो भन्ने तथ्यलाई घटनाक्रमहरुले असंदिग्ध रुपमा पुष्टि गर्दैछन् ।

नेपालमा पछिल्लो समयमा विकास हुँदै गएको परिस्थितिले संविधान बन्छ-बन्दैन भन्ने कुराको बहसको सान्दर्भिकता पूरै पन्छाइसकेको छ । अबको सान्दर्भिक बहस हो– हजार नाटकका बाबजुद साम्राज्यवादका मतियार देशद्रोहीहरु उम्कने ठाउँ बन्न संभव छ कि छैन ? यिनीहरुप्रतिको भ्रामक जनसमर्थन ०६३ सालमा फर्कन सक्छ कि सक्दैन ?

यी दुईवटा प्रश्नहरुको निक्र्योल गर्ने आधारका रुपमा मूलत ३ वटा कुरामाथि ध्यान दिनुपर्ने खाँचो देखिन्छ । यसमा सबैभन्दा महत्वपूर्ण कुरा नेपाली जनमत हो । दोश्रो पक्ष ‘१२ बुँदे’ देखि ‘१६ बुँदे’सम्म आईपुग्दा झण्डैझण्डै उल्टिन पुगेको बाह्य शक्ति सन्तुलन हो भने तेश्रो पक्ष चाहिं, जसका आडमा जोसंग पैसा खाएर वा अन्य बद्नियतपूर्ण स्वार्थले यिनीहरुले नेपाली जनतालाई विभाजित गर्ने खेल खेल्दै आएका थिए, ती विदेशीहरु र उक्साईएका मानिसहरुबाट प्रतिकृयाका रुपमा देखापर्ने व्यवहार हो । यिनीहरु जनता, विदेशी रक्षक र साम्प्रदायिक तत्वहरु सबैको घेरामा फस्दै गएका छन् ।

दलालहरुको भावी आकृतिको मोटामोटी छायाँ यस्तो देखिन्छ : जनमतलाई ढाल बनाएर देखिन थालेको यिनीहरुको पछि हटाई जनमतको सम्मानका कारणले नभएर यसको बढ्दो ताकतका कारणले उत्पन्न त्रास हो ।

जनता पनि साथमा नरहने अवस्था, बाह्य सन्तुलन पनि उल्टिएको अवस्था र डोनरहरुले लगानी पनि नछोड्ने अवस्थाबाट यिनीहरु गुज्रिँदै छन् ।

जनताबाट आएका केही सुझाव अनुसार संविधान जारी भएछ भने पनि जनमत अब यिनीहरुको पछि नलागेर अर्कै रुपमा संगठित हुँदैछ भन्ने तथ्यका संकेतहरु बाहिर प्रकट भैसकेका छन् । नेपालको भू–राजनीतिमा बन्दै गएको बाह्य शक्ति सन्तुलन पनि अब त्यो ठाउँमा छैन, जो भारतीय सत्ता र पश्चिमी शक्तिहरुको रणनीतिमा योजना बनाउँदाको थियो । यिनीहरुले जससंग पैसा खाएर वा सत्ताको लालचमा साम्प्रदायिक नेतागिरी गर्दै आए, ती साम्राज्यवादी र विघटनकारी तत्वले यिनीहरुलाई आममाफी दिएर आफ्नो लगानी माया मार्ने छैनन् भन्ने कुरा पनि स्पष्ट छ । जनता पनि साथमा नरहने अवस्था, बाह्य सन्तुलन पनि उल्टिएको अवस्था र डोनरहरुले लगानी पनि नछोड्ने अवस्थाबाट यिनीहरु गुज्रिँदै छन् ।

उपरोक्त तथ्यहरुसंगै जोडिएको चौथो कुरा पनि यस संदर्भमा मननीय छ । यो हो– दलहरुको विघटनको रफ्तार । दलहरुभित्र जो अपराधी छैनन्, तिनीहरुले अब पार्टीभित्रका अपराधीहरुलाई चिनेका छन्, आफू एउटा खतरनाक षडयन्त्रमा प्रयोग हुँदै आएको वास्तविकतालाई अनुभूति गरेका छन् । सबैतिरका यस्ता मानिसहरुको स्वरको सारतत्व के रहेको छ भने देशलाई भत्काउने सर्तमा उनीहरु आफ्नो दलमा रहिरहने छैनन् । कथित दलको अनुशासन पनि मान्ने छैनन् ।

यो स्वरमा दलका नामबाट गरिंदै आएको दूराचारका विरुद्धमा रोष मात्र छैन। नयाँ मूल्य–मान्यताहरुको जबर्जस्त माग पनि छ । यो मागलाई बिक्री भैसकेकाहरुले पूरा गर्नसक्ने अवस्था छैन । पूरा नभए असन्तुष्टहरु दलमा रहने आधार छैन । त्यसैले ०६२ साल यताको कालो दशकको अन्त्य पनि विदेशी दलालहरुको दुखान्तका रुपमा पूरा हुने संभावना यथार्थतामा परिणत हुँदै गएको छ । आरोपित संकटले विस्तारै आफ्नो गर्भमा आफ्नै विनाशका बिजहरु हुर्काउँदै ल्याएको छ ।

दलहरु स्खलनको दिशामा जानुको अर्को अर्थ साम्प्रदायिक तत्वहरु र साम्राज्यवादीहरु पनि स्खलनको बाटोमा लाग्नु हो । यी ३ वटै तथ्यहरुका पछाडिका कारणहरु एउटै हुन् । जसरी नेपाल विरोधी षडयन्त्रका अंगहरु एउटै श्रोतबाट उत्पन्न भएका छन्, त्यही कुरा यिनीहरुको पतनको श्रोत पनि हो । अहिले विश्व शक्ति सन्तुलन पश्चिमी शक्तिहरु र भारतको हकमा कमजोर बन्दै गएको छ । विश्वव्यापी रुपमा प्रभुत्वशाली बन्दै गएको चीन–रुस गठबन्धनले भारतलाई त्यसैभित्र गाँज्दै लगेको छ ।

दक्षिण एशियामा पनि भारतको प्रभुत्व चिनियाँ हिसाब किताबबाट जोखाना हुन थालेको छ । यसको प्रत्यक्ष प्रभाव दलाल कित्ताको राजनीतिमा परेको छ ।

दक्षिण एशियामा पनि भारतको प्रभुत्व चिनियाँ हिसाब किताबबाट जोखाना हुन थालेको छ । यसको प्रत्यक्ष प्रभाव दलाल कित्ताको राजनीतिमा परेको छ । यो उनीहरुमा देखिन थालेको स्खलनको एउटा कारण हो । अर्को कारणका रुपमा रहेको छ, जाति र धर्मका नाममा फालिएको कार्ड अन्ततोगत्वा त्यही तप्कालाई शिकार बनाउने चालबाजी हो भन्ने कुरालाई संबन्धित समुदायका मानिसहरुद्वारा स्वीकार गरिन थालेको वास्तविकता ।

पश्चिमी शक्तिहरुको धार्मिक अधिकारको पाखण्डभित्र लुकेको कुटील मानसिकताका विरुद्ध जनजाति समुदायभित्रैबाट आफ्नो धर्म–सँस्कृतिको रक्षाका लागि सुरु भएको प्रदर्शन र तराईका कैयौं समुदायहरुले कथित स्वायत्त मधेशमा रहन अनिच्छा प्रकट गर्न सुरु गरेका संदर्भमा निकै महत्वपूर्ण छन् ।

विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन र नेपालमा धर्म र जातिका नाममा आजसम्म लादिएको षडयन्त्रको खुल्ला प्रतिवाद जस्ता घटनाहरुले के देखाउँछन् भने नेपाल विरोधी तत्वहरुको शक्तिको पूर्ववत् स्थापनाको कुरा अब संभावनाभन्दा बाहिर गैसकेको छ । यी तथ्यहरुबाट भोलिका दिनमा उत्पन्न हुने परिस्थितिलाई राम्रोसंग बुझेका विदेशी दलालहरुले आफ्नो सुरक्षित अवतरणको बाटो खोज्न थालेका हुन् । दलालको चारित्रिक विशेषता दलाली हो । ‘१२ बुँदे’पछि यिनीहरु जे प्रकृयाबाट सत्तामा आएका थिए, त्यहि प्रकृया मार्फत् अर्को शक्तिबाट अस्तित्व र सुरक्षाको बाटो खोज्नु यिनीहरुको अहिलेको पनि नियति हो ।

देशघातीहरुको यस्तो सपना पूरा हुन अब असंभव छ ,किनभने अब देशको हितका लागि आवाज उठाउँदै आएका मानिसहरुको शक्ति उदाउदै छ । पतनशील प्रवृति र विकासमान प्रवृति दुबै एकसाथ सबल बन्दै जान संभव हुँदैन । नेपालीहरु सबल भए दलालहरु मासिन्छन्, दलालहरु सबल भए देश मासिन्छ । तर अब देश मासिन संभव छैन, त्यसैले दलालहरु उँभो लाग्न संभव छैन ।

बाहिरबाट हेर्दा दल र विभिन्न नामधारी गिरोहहरुका बीचको टकराव नेपालमा प्रभावी रहेको देखिए पनि आन्तरिक मूख्य प्रवृति भनेको देशघातीहरु र नेपाली जनताका बीचको टकराव हो । त्यसैले संविधान आउँछ वा आउँदैन भन्ने कुराले अबको नेपालको विकास प्रकृयालाई निर्धारण गर्दैन । यसलाई निर्धारण गर्नेछ दलालहरुको पतन र राष्ट्रप्रेमी नेपालीहरुको उत्थानको प्रकृयाले । यो प्रकृया अहिले विभिन्न अंशका रुपमा ध्रुविकृत हुँदैछ तर कालान्तरमा गएर यो राष्ट्र र राष्ट्रियताका रुपमा संष्लेषित हुनेछ भन्ने कुरामा कुनै द्विविधा छैन ।

साभार : http://imagekhabar.com/samachar/detail/50765/68/.shtml