आत्मसमर्पण नठानियोस्

0
446

स्वयम्भुनाथ कार्की

राजालाई पाखा लगाएको घोषणा गरियो । राजालाई राजकीय संबोधन गर्नेहरुमाथि परिवर्तन संबाहक भनिनेहरुको समूहको मात्र हैन प्रशासनिक दमन पनि हुँदैछ । तर यसले यो संबोधन गर्नेहरुको संख्या बढाउँदैछ, घटाएको छैन ।

राजकीय औपचारिकतामा भनिने शब्द ‘सबारी’ अहिले मन्त्रीहरुको हिँडडुलमा पनि प्रयोग हुँदैछ । आफैले धर्म निरपेक्ष घोषणा गरेको मुलुकमा आफैँले बनाएको राष्ट्रपतिलाई ‘दशैंको टिकाबक्स’ गर्न लगाइँदैछ ।

अवज्ञा गरिएको कामको कर्ता स्वयंलाई पनि यस अवज्ञामा सामेल गरिएको छ । किनभने यो कुनै व्यक्ति वा समूहले गरेको अवज्ञा हैन यो त नेपाली समाजले गरेको अवज्ञा हो । यही कारण हो आफ्नो कामको विरोधमा आफैँ अवज्ञामा सम्मिलित हुन उनीहरु बाध्य छन् ।

राजा र राजपरिवारको हरेक सदस्यको सानो भन्दा सानो काम, व्यवहार र बोली पनि महिनौँ सार्वजनिक चर्चाको विषय भइरहेको छ, त्यो पनि ‘लोकतान्त्रिक गणतन्त्र’ वादीहरुबाटै । अब ‘राजा र राजपरिवार सर्वसाधारण भए’ भन्ने यिनीहरुको अवैधानिक ‘गणतन्त्र घोषणा’ प्रति आम नेपाली नागरिकको अस्वीकृति अनि भद्र अवज्ञा हो ।

चाहे पहिलो संविधानसभामा अन्तिम दिन बानेश्वरमा जम्मा भएका ‘नेपाल एकता’ पक्षधर जमात हुन, वा सरकारी आज्ञा विपरित २०७१ को तिहारमा राती नौ बजे पछि ‘देउसी–भैलो’ खेल्नेहरु हुन् ती त नेपाली समाजले गरेको ‘भद्र अवज्ञा’ का सूचनापट हुन् ।

विद्युत प्राधिकरणको तिहारमा बत्ति नबाल्ने ‘तुगलकी’ आदेश नेपाली समाजले टेर्न आवश्यक थिएन, टेरेन पनि । अब दिएको धम्की अनुसार ‘लाइन काट्ने’ हिम्मत गर्‍यो भने त्यो प्राधिकरण नै खारिज हुनुपर्ने स्थिति पनि आउन सक्छ । यो समाज भन्दा बाहिर प्राधिकरण रहन सक्छ वा सक्दैन त्यो उसैले सोच्ने कुरा हो ।

यस्ता आन्दोलनका नेता वा नेतृत्व जतिवेला जो उपलव्ध छ त्यही हुने गर्दछ । परिस्थितिले बनाइदिएको यो मौकाको नेतृत्व गर्ने शौभाग्यलाई आफ्नो योग्यता र क्षमता मानेर त्यस बेलाको मर्म विपरित कुरा लिएर पार्टी खोल्नेको जुन हाल भयो त्यो कुनै दण्ड हैन केवल ‘भद्र अवज्ञा’ को परिधि बाहिर जानेलाई यो अवज्ञा आन्दोलनले छोडेको संकेत हो ।

त्यसैले आज नेपाली समाज सबै गाली चुपचाप सुनेर बसेको छ भनेर आत्मसमर्पण गर्‍यो भन्ने भ्रममा नपरे हुन्छ । आवश्यक परेका बेला नेतृत्व, जनमानस, शक्ति लगायतका कुराहरु शून्यबाटै निस्कनेछ र आफ्नो बिरोधलाई परास्त गर्ने छ ।