कृषि क्षेत्रको विकास त्यति बेला मात्र सम्भव छ जब कृषि, इञ्जिनियरिङ्ग तथा सहकारीलाई संयुक्त रूपमा अगाडि वढाउन सकिन्छ l

इ. प्रदीप कुमार पौड्याल

प्राध्यापक, इ. प्रदीप कुमार पौड्याल

नेपाल परापूर्व काल देखि कृषि प्रधान देशको रूपमा परिचित रहिआएको छ । तर विगत केही वर्ष देखि विदेशबाट खाद्य वस्तु आयात नगरे दुई छाक धान्न नसक्ने अवस्था सृजना भएको छ l कृषि भूमिको क्षेत्रफल यथावत रहने र उत्पादकत्व पनि नबढ्ने हो भने वृद्दि हुँदै जाने जनसंख्याको खाद्य सुरक्षामा ठूलो प्रभाव पर्ने निश्चित छ l

नेपालका पञ्च वर्षीय योजनाहरू हुन् वा प्रत्येक वर्षको वजेट भाषण होस्, कृषिलाई प्राथमिकतामा राखिएकै पाइन्छ । तर यसबाट जति प्रतिफल पाउनु पर्ने हो, त्यति पाइएको छैन l यसका विभिन्न कारणहरु होलान्, यस बारेमा कृषि विज्ञहरुले खोतलिरहनु भएकै छ l

विभिन्न विज्ञहरुको धारणा अनुसार पनि अब कृषिलाई परम्परागत भन्दा पनि आधुनिकीकारण गर्नुको विकल्प छैन र वास्तविकता पनि त्यही हो l आधुनिक कृषि भन्ने बित्तिक्कै कृषिमा यान्त्रिकीकरण (Mechanization) तथा स्वचालन (Automation) को उपयोग भन्ने बुझिन्छ l जब हामी यान्त्रिकीकरण तथा स्वचालनको कुरा गर्छौँ, सो प्रयोजनको लागि इञ्जिनियरको भूमिका अपरिहार्य हुन आउँछ l

कृषि विकासका लागि अनिवार्य शर्त

कृषिमा आधुनिकीकरणका लागि पहिलो प्राथमिकता भनेको खेती योग्य जमीनको चाक्लाबन्दी हो । चक्लाबन्दी गरिसके पछि सो कृषि जमीन सम्म सहज पहुँचको लागि कृषि सडक आवश्यक हुन्छ । साथै कुलो, भवन लगायत अन्य भौतिक निर्माणका लागि सिभिल इञ्जिनियरको शीप आवश्यक पर्छ l उक्त स्थानमा विभिन्न यान्त्रिक उपकरणहरु आवश्यक पर्छन् । त्यस्ता उपकरण सञ्चालन तथा मर्मत सम्भारका लागि मेकानिकल इञ्जिनियरिङ्गको शीप चाहिन्छ l

त्यसै गरी बत्ती बाल्ने देखि उक्त कृषि फार्ममा प्रयोग हुने विद्युतीय उपकरण जडान, सञ्चालन तथा मर्मत सम्भारका लागि इलेक्ट्रिकल इञ्जिनियरको अहम् भूमिका हुन्छ l जब हामी स्वचालन (Automation) को कुरा गर्छौँ, अनि इलेक्ट्रोनिक्स् तथा कम्प्युटर इञ्जिनियर नभै नहुने हुन्छ l

सम्बन्धित कृषि फार्ममा प्रयोग भएका उपकरणहरूको संख्या तथा तिनीहरुको जटिलता (Sophistication) अनुसार इञ्जिनियरिङ्ग विधाको अनेक शीप भएका विभिन्न तहका जनशक्ति नभै नहुने अवस्था हुन्छ । उदाहरणका लागि, छोटो अवधिको तालीम लिएका, डिप्लोमा गरेका तथा स्नातक गरेका दक्ष जनशक्ति चाहिने हुन्छ, आवश्यकता र परिस्थिति अनुसार l यसरी हेर्ने हो भने इञ्जिनियरिङ्ग विधाका जनशक्तिका लागि राम्रो रोजगारीको संभावना कृषि क्षेत्रमा पर्याप्त छ l

कृषिमा आधुनिकीकरण गर्नु पर्छ भन्ने धारणा योजना तथा नाराका रूपमा हाम्रो मुलुकमा धेरै अगाडि देखि बनाइँदै आइएको छ । तर अन्य क्षेत्रमा झैँ यस क्षेत्रमा अझै पनि व्यबहारमा पूर्ण रूपले ऊतार्न सकिएको छैन l यसो भनिरहँदा कृषि क्षेत्रमा पटक्कै विकास भएको छैन भन्ने चाहिँ होइन । अपेक्षिकृत प्रगति हुन नसकेको मात्र हो l

यी कृषि इञ्जिनियर भनेका कृषिलाई आधुनिकीकरण गर्न आवश्यक पर्ने सबै खाले इञ्जिनियरिङ्ग विधाको केही न केही ज्ञान तथा शीप भएका दक्ष जनशक्ति हुन् l

दक्ष जनशक्ति पर्याप्त छ हामी सँग

कृषिमा आधुनिकीकरण गर्न आवश्यक पर्ने जनशक्ति ऊत्पादन गर्ने ऊदेश्यले त्रिभूवन विश्वविद्यालय अन्तर्गतको इञ्जिनियरिङ्ग अध्ययन संस्थानले कृषि इञ्जिनियरिङ्ग विषयमा स्नातक तहको पाठ्यक्रम तैयार गरी बि.सं. २०५७ साल देखि नै त्रिभूवन विश्वविद्यालयको धरान स्थित आंगिक क्याम्पस, पूर्वाञ्चल क्याम्पसमा २४ जना विद्यार्थी भर्ना गरी अध्यापन शुरू गरेको थियो । विक्रम सम्बत २०६७ देखि यो विधामा भर्ना संख्या बढाएर ४८ जना पुर्याइयो l

यसरी वर्तमान अवस्थामा नेपालमा मात्र प्रति वर्ष ४५ देखि ४६ जनाको हाराहारीमा कृषि इञ्जिनियर उत्पादन भैरहेका छन् l कृषि इञ्जिनियरिङ्ग विषयको अध्यापन गराउने नेपालको एक मात्र पूर्वाञ्चल क्याम्पसबाट हाल सम्म ५२६ कृषि इञ्जिनियरहरू उत्पादन भैसकेका छन् l

उत्पादित इञ्जिनियरहरू मध्ये लगभग ८० जना उनीहरूले प्राप्त गरेको शैक्षिक योग्यता र दक्षता अनुसार सम्बन्धित क्षेत्रमा कार्यरत रहेको तथ्याङ्क छ l सयौँ यो दक्ष जनशक्ति कता पलायन भए वा क्षेत्र परिवर्तन गरेर अनेक रोजगारी मार्फत् जीवन यापन गर्न वाध्य छन् भन्ने कुनै आधिकारिक जानकारी छैन l

कृषि उत्पादन बजारीकरणको लागि सूचना प्रविधि (Information Technology) को ठूलो भूमिका हुन सक्छ l त्यसका लागि कम्प्यूटरका उपयुक्त औजार (App) हरु विकास गरेर सूचना, तथ्याङ्क र जानकारीहरू राखेर प्रशोधन तथा विश्लेषण गर्नु पर्ने पर्ने हुन्छ l यस क्षेत्रमा कम्प्युटर इञ्जिनियर वा सूचना प्रविधिका विशेषज्ञहरूले प्रत्यक्ष सहयोग गर्छन् l

यी कृषि इञ्जिनियर भनेका कृषिलाई आधुनिकीकरण गर्न आवश्यक पर्ने सबै खाले इञ्जिनियरिङ्ग विधाको केही न केही ज्ञान तथा शीप भएका दक्ष जनशक्ति हुन् l यो जनशक्तिलाई कृषिमा आधुनिकीकरण गर्ने क्रममा थोरै मात्र पनि उपयोग गर्न सकियो भने कृषिमा ठूलो फड्को मार्न सकिन्छ l

क्रमिक रुपले यान्त्रिकीकरण तथा स्वचालन तर्फ लम्किँदै जाँदा माथि उल्लेख गरिएका इञ्जिनियरिङ्ग क्षेत्रका जनशक्तिहरुको माग बढ्दै जाने निश्चित छ l त्यसो हुँदा यस्ता प्राविधिक दक्ष जनशक्तिले प्रशस्त रोजगारी पाउने मात्र होइन, यिनीहरूको शीपको प्रयोगबाट राष्ट्रले कृषिमा अभूतपूर्व विकास गर्न सक्छ ।

सूचना प्रविधिको प्रयोग

विभिन्न विकसित देशहरूले कृषिको क्षेत्रमा रोबोट, ड्रोन तथा कम्प्यूटरको अधिकतम प्रयोग गरिरहेका छन् । तर हामीले यता तिर सामान्य शुरूवात समेत गर्न सकेका छैनौँ l अनुसन्धानको तहमा काम भैराखेको हुनसक्छ । तर, उपयोगमै भने आउन सक्ने गरी कुनै उपलब्धि भएको देखिन्न l

कृषिमा आधुनिकीकरणको अहिले ऊपयुक्त समय पनि छ l कोरोनाको विश्वव्यापि प्रभावले कृषि क्षेत्रमा पनि अनुभव बटुलेका कतिपय जनशक्तिहरु आफ्नो मातृभूमि फर्कँदै छन् l उनीहरु त्यहाँको प्रविधि बुझेका र प्रविधि सित अभ्यस्त भएका पनि हुन्छन । तसर्थ त्यस्ता जनशक्तिहरुको अनुभवको सदुपयोग गर्न सकियो भने नयाँ प्रविधि उपयोग गर्न जनशक्तिको अभाव हुन्न l

उत्पादन गरेर मात्र हुन्न

यी त भए उत्पादनका कुरा l कृषि उत्पादनमा वृद्दि सँगै मुख्य गरी निम्न तीन वटा कार्य समानान्तर रूपले सम्पादन गर्नु अपरिहार्य हुन्छ:

क. कृषि उत्पादनको बजारीकरण,

ख. उत्पादनको भण्डारण, र

ग. प्रशोधन l

कृषि उत्पादन बजारीकरणको लागि सूचना प्रविधि (Information Technology) को ठूलो भूमिका हुन सक्छ l त्यसका लागि कम्प्यूटरका उपयुक्त औजार (App) हरू विकास गरेर सूचना, तथ्याङ्क र जानकारीहरू सङ्कलन गरी तिनको प्रशोधन तथा विश्लेषण गर्नु पर्ने हुन्छ l यस क्षेत्रमा कम्प्युटर इञ्जिनियर तथा सूचना प्रविधिका विशेषज्ञहरूले प्रत्यक्ष सहयोग गर्छन् l

भण्डारणको लागि शीत भण्डारहरु निर्माण गर्नु पर्ने हुन्छ l सोका लागि सिभिल इञ्जिनियरिङ्ग, इलेक्ट्रिकल इञ्जिनियरिङ्ग तथा मेकानिकल इञ्जिनियरिङ्ग विधाका जनशक्ति आवश्यक पर्छन्  l

त्यसै गरी ऊत्पादित कृषि उपजहरूको मूल्य अभिवृद्दि गर्न प्रसोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि विभिन्न प्रकारका कारखानाहरू स्थापना गर्नु पर्ने हुन्छ l यसरी कारखानाहरु स्थापना गर्दा विभिन्न इञ्जिनियरिङ्ग विधाका जनशक्ति आवश्यक पर्छ l

कृषि क्षेत्रमा यान्त्रिकीकरणको लागि पञ्चायत कालमै वीरगंजमा कृषि औजार कारखाना स्थापना गरिएको थियो । सो कारखाना बहुदलको आगमनसँगै बन्द गरेर थन्काइएको अवस्थामा छ l अहिलेको अवस्थामा यो कारखानालाई विशिष्टीकरण गरी अधिकतम् उपयोग गर्नु आवश्यक छ l

कृषि क्षेत्रको विकास त्यति बेला मात्र सम्भव छ जब कृषि, इञ्जिनियरिङ्ग तथा सहकारीलाई संयुक्त रूपमा अगाडि वढाउन सकिन्छ l यहाँ सहकारीलाई किन जोडियो भने, उत्पादन तथा बजारीकरणमा सहकारीको अहम् भूमिका हुन सक्छ l सहकारी र सूचना प्रविधि (Information Technology) लाई मिसाएर लान सकियो भने, बीचको मध्यस्थकर्ता घटाउन सकिन्छ र कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउन सक्छन् । जसले गर्दा कृषकहरुको आयमा वृद्दि हुन गै वास्तविक कृषक कृषि क्षेत्रबाट पलायन हुने सम्भावना पनि कम हुन्छ l

प्राध्यापक, इञ्जिनियर तथा एक्मी इञ्जिनियरिङ्ग कलेज, काठमाडौँका प्रिन्सिपल पौड्याललाई pradip_paudyal@yahoo.com मा सम्पर्क गर्न सकिन्छ ।

614 Total Views 5 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here