कालो उद्योग बन्यो नेपालको राजनीति

0
942
Shambhu Ram Joshi
शम्भुराम जोशी

आर्थिक समस्याका कारण अर्थतन्त्र जर्जर बन्दै गएको छ र राजनीति विकृत बनाइएको छ ।

शम्भुराम जोशी

लगभग २,४०० बर्ष अगाडी ग्रीसका महान चिन्तक प्लेटोले शासक र योद्धा वर्गले पत्नी र सम्पत्ति राख्नु हुँदैन भनेका थिए । आदर्श राज्यको निर्माणको अभिप्रायले प्रतिपादित उनको पत्नी र सम्पत्तिको साम्यवादका रूपमा चिनिएका यी सिद्धान्तहरूले यी दुई वर्गलाई बिगार्ने मुख्य तत्व भएकाले उनीहरू यी कुराबाट टाढा रहनुपर्छ भन्ने उनको भनाइ थियो ।

त्यस्तै, पूर्वीय दार्शनिक कौटिल्यले चिनियाँ यात्रीसँगको सम्वादमा ‘जुन मुलुकको शासक झुपडीमा बस्छ त्यहाँका जनता ठूला घरमा बस्छन् । जहाँ शासक महलमा बस्छ त्यहाँ जनता झोपडीमा बस्छन्’ भनेका थिए ।

सच्चा राजनीतिज्ञ जोगी जस्तै हुन्छ

माथिका दुई बेग्ला-बेग्लै प्रसंगहरू व्यबहारमा हुवहु उतार्न नसकिने आदर्श लाग्छन् । तर सत्तामा बस्नेहरूले आदर्श दृष्टिकोण राख्नु पर्छ र आदर्श जीवन शैली पछ्याउनु पर्दछ भन्ने ती प्राचीन महापुरुषहरूका अवधारणा आज पनि उत्तिकै सान्दर्भिक छ ।

भियतनामका पूर्व राष्ट्रपति हो चि मिन्ह र भारतका राष्ट्रपिता महात्मा गान्धी जस्ता महापुरुषहरूले राजनीतिलाई जहिले पनि समाज परिवर्तन र जनताको सेवाको रूपमा मात्रै लिए । यिनीहरूमा राजनीतिक निष्ठा कायम रह्यो र जीवन शैली जोगी जस्तै थियो ।

नेपालको सन्दर्भमा पनि वि. पि. कोइराला, कृष्णप्रसाद भट्टराई, भीमबहादुर तामाङ्, मनमोहन अधिकारी जस्ता केही नेताले निष्ठाको राजनीति गरे । कमी-कमजोरी उनीहरूमा पनि नभएका होइन ।

यसको विपरित, नेपालकै एक जना नाम चलेका नेताले ‘जोगी हुनका लागि राजनीति गरिँदैन’ भने । उनको अहिलेको जीवन शैली कुनै अर्वपति व्यापारीको भन्दा कम छैन । उनी जस्तै बारम्बार सत्तामा पुग्ने अरू नेताहरू अति समृद्ध बनेका छन् । र राजनीतिलाई उद्योगको रुपमा विकसित गरेका छन् ।

राजनीति उद्योगको असर

वि. सं. २०४६ सालमा बहुदलीय शासन व्यवस्थाको पुनर्स्थापना पश्चात, गत आर्थिक वर्ष सम्म मुलुकले अपनाएको गलत आर्थिक नीतिका कारण, देशका १ लाख १५ हजार भन्दा धेरै लघु, घरेलु तथा साना उद्योग बन्द भए । कूल राष्ट्रिय आम्दानीमा उद्योगको योगदान २० बर्ष अघि १० प्रतिशत रहेकोमा अहिले घटेर ६ प्रतिशत भन्दा कममा सीमित हुन पुगेको छ  ।

अबको नेपालमा राजनीति सेवा रहेन । यो धेरै भन्दा धेरै कमाउने उद्योग बनेको छ ।

अर्को तिर कृषि लगायत अन्य क्षेत्रहरूको विकासमा सरकारको बेवास्ताका कारण रोजगारीका अवसरहरू न्यून छन् । खुला बेरोजगारी २ दसमलव ३ प्रतिशत र अर्धबेरोजगारी ३० प्रतिशत् रहेकोछ । यसले गर्दा ठूलो जनसंख्या गरिबीमा पिल्सिएकोछ । अन्तर्राष्ट्रिय परिभाषा अनुसार, प्रति दिन आय १ दसमलव ९ अमेरिकी डलर, गणना गर्दा ३६ प्रतिशत नेपालीहरू गरिबीको रेखा मुनी रहेछन् ।

आर्थिक समस्याका कारण अर्थतन्त्र जर्जर बन्दै गएको छ र राजनीति विकृत बनाइएको छ । अबको नेपालमा राजनीति सेवा रहेन । यो धेरै भन्दा धेरै कमाउने उद्योग बनेको छ । मुलुक आर्थिक रूपमा जर्जर भए पनि मुलुकले थेग्नै नसक्ने गरी १० दर्जन भन्दा बढी दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन्  । किन धेरै दलहरू स्थापना गरिए त ?

दलका नेताहरूको बाहिरी कुरा जे भए पनि अन्तर्यमा साम, दाम, दण्ड र भेदका बलमा सत्तामा पुग्नु र अकूत सम्पत्ति कमाउनु नै रहेको छ । चर्को बेरोजगारी मुलुकमा राजनीति उद्योग फष्टाउन सहायक बनेको छ । दल चलाउनका लागि आवश्यक पर्ने कार्यकर्ताहरूको आपुर्ति त्यही बेरोजगारहरुको जमातबाट हुने गरेको छ ।

कार्यकर्ता र नेताहरूको सम्बन्ध ‘ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा’ जस्तै भएकाले कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई अन्नदाताको रुपमा हेर्ने तथा तिनीहरू र असामाजिक तत्वहरूलाई समेत ती नेताहरूले विभिन्न राजनीतिक प्रयोजनार्थ उपयोग गर्ने प्रवृति छ ।

निर्वाचन जित्नका लागि लगानी गर्ने र जितिसके पछि धेरै भन्दा धेरै सम्पत्ति आर्जन गर्ने प्रवृति धेरै नेताहरूमा छ । यस्तो खर्च क्रमश: बढ्दै गइराखेको छ । खर्च गर्न नसक्नेका निम्ति निर्वाचन लड्न कठीन हुँदै गैराखेकोले नै केही समय अघि सम्पन्न निर्वाचनमा टिकट पाउँदा पनि केही निष्ठावान नेताहरूले त्यसलाई अस्वीकार गरेबाट नेपाली राजनीतिको पतोन्मूख अवस्था ज्ञात हुन्छ ।

राजनीतिलाई उद्योगको रूपमा लिन उद्दत नेपालका नेताहरूको नैतिकतामा प्रश्न उठ्ने गरेको छ । र आफ्नो साख गिर्दै गैराखेको भए पनि उनीहरू बेफिक्री देखिन्छन् । भ्रष्टाचारका कारण केहीले सजाय पाए पनि राजनीति सँग्लिएको छैन । राजनीतिज्ञहरूको यस प्रवृतिले कहिले सम्म निरन्तरता पाउला ?

नेताहरूमा मुलुकप्रति कर्तव्यबोध नभएसम्म र बेरोजगारीको समस्या चर्को रूपमा रहिरहे सम्म यस्ता विकृति विसँगतिले प्रश्रय पाइराख्ने छन् । माथि उल्लेखित अवस्थाको कारणले राजनीति उद्योगको रुपमा रहिरहनेछ र क्षमतावानहरूको बाटोमा तगारो लागिरहने छ ।

निर्वाचनको बेला कालो धन प्रयोग हुने गरेको र विदेशीबाट समेत आफ्नो पक्षधर दललाई जिताउन रकम आउने गरेको भन्ने शंका छ ।

पैसा कहाँबाट आउँछ ?

वस्तु  वा सेवा उत्पादन उद्योगको जस्तै राजनीतिका लागि पनि पैसा चाहिन्छ । धेरै जसो दलको आम्दानी र खर्च पारदर्शी नभएको कुरो बारम्बार उठ्ने गर्छ । यसले राजनीतिज्ञहरूको विश्वसनियतामा शंका उठाउने गरेकोछ । दल र  राजनीतिज्ञहरूले आवश्यक रकम कुन स्रोतबाट प्राप्त गर्छन त ?

राजनीतिज्ञहरुको व्यापारी वर्ग (ठेकेदार समेत) सँगको साँठगाँठको कुरा त पहिले देखि नै उठ्ने गरेको  हो । आफ्ना दीर्घकालीन हितलाई ध्यानमा राखेर व्यापारीहरूले राजनीतिकर्मी र निज सम्बद्ध दललाई आर्थिक सहयोग गर्छन् । निर्वाचनको बेला कालो धन प्रयोग हुने गरेको र विदेशीबाट समेत आफ्नो पक्षधर दललाई जिताउन रकम आउने गरेको भन्ने शंका छ । विदेशीबाट त्यसरी प्राप्त हुने रकमले मुलुकको सार्वभौमसत्ता र अखण्डतामाथि नै पनि कालान्तरमा खतरा उत्पन्न गर्न सक्छ ।

समाधानको उपाय

रोजगारीका प्रचुर ढोकाहरू खुला गरिनु समस्या समाधानको पहिलो बाटो हो । बेरोजगारी समस्या रहुन्जेल राजनीतिलाई उद्योगको रुपमा लिने प्रवृति रहिरहन्छ ।

निर्वाचन आयोगले निर्वाचन खर्च सम्बन्धमा नियमको पालना सम्बन्धितहरूबाट भए नभएको जाँच गर्नु पर्छ । दलहरूको आम्दानी र खर्चको विवरण पारदर्शी ढङ्गले राखिए छ कि छैन भन्ने  परीक्षण र त्यसो गरिएको नभए आवश्यक कारवाही गरिनु आवश्यक छ । वाह्य पूँजी प्रवाह तर्फ विशेष रूपले सजक हुनुपर्छ ।

राजनीतिज्ञहरूबाट हुने भ्रष्टाचार कडाइका साथ रोकथाम हुनुपर्छ । कठोर कानून निर्माण गर्ने मात्रै होइन त्यसलाई इमानदारी पूर्वक लागू गर्दै, भ्रष्ट्राचारमा शून्य सहनशीलता व्यवहारमा जसरी भए पनि कायम गरिनु पर्छ ।

राजनीति शुद्ध नभै मुलुकको दीर्घकालीन हित हुँदैन । यसको दायित्व नेपाली नागरिक र नेताहरू मै छ । यसका लागि नेताहरूमा सत्चरित्र र नैतिकताको विकास हुनु पर्छ । उनीहरूले आफूमा सेवाभाव जगाउनुका साथै आफ्नो अल्पकालीन स्वार्थले मुलुकलाई दीर्घ काल सम्म असर पार्छ भन्ने विचार पुर्याउनु पर्छ । बेरोजगार युवाहरूलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न दूरूपयोग गर्ने नेताहरूको प्रवृतिको अन्त्य हुनु पर्छ । त्यसै गरेर, नागरिकमा चेतना आउन जरूरी छ । नागरिकहरूले पनि उम्मेदवार निर्वाचित गर्दा कर्तव्यनिष्ठ र क्षमतावानलाई मतदान गर्दै राष्ट्रहितमा आफूलाई समर्पित गर्न जरुरी छ । सत्चरित्रपूर्ण सामूहिक प्रयाश विना मुलुकको हित सम्भव छैन भन्ने कुरा सबैले बुझ्नै पर्छ ।

जोशी त्रिभूवन विश्वविद्यालयमा अर्थ शास्त्रका उपप्राध्यापक हुन् ।