कूटनीति सञ्चालनमा हेलचेक्र्याइँ : परिणाम गम्भीर हुनसक्छ

0
534

किन यसो गरिँदैछ ? भारतले तोकेको समय र मितिमा दिल्ली गएर ‘राष्ट्रवादी’ दावी गर्ने हाम्रा प्रधानमन्त्री ‘हामी भारतको निर्देशनमा काम गर्छौँ’ भन्ने सन्देश दिँदैछन् ।

‘फलानाले फलानालाई प्रधानमन्त्री बनाइदिने’ स्तरको राजनीति गरेर कूटनीतिमा सफलता पाउन सकिन्न ।

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा नकारात्मक असर पर्ने भयो । प्रधानमन्त्रीको तीन दिने दिल्ली भ्रमण योजनावद्ध ढङ्गले अन्य दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको मिति सँग जुधाएर गरिएको छ, जसले नेपाललाई दूरगामी रूपमा नोक्सान पुर्याउने छ ।

गम्भीर कूटनीतिक त्रुटी

चैत्र २३ देखि २५ गते सम्म प्रधानमन्त्री भारतमा रहेकै बेला असंलग्न आन्दोलनको मन्त्री स्तरीय सम्मेलन अजरबाइजानको बाकुमा भयो । चैत्र २१ देखि २३ गते सम्म भएको सो विश्वस्तरीय प्रतिष्ठित बैठकमा हाम्रा परराष्ट्र मन्त्रीको देखावटी, बिना तयारीको उपस्थितिबाट नेपालले असंलग्न आन्दोलनलाई बेवास्ता गरेको, ‘हामीलाई यो संगठनको काम छैन’ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएको छ ।

परराष्ट्र सम्बन्ध सञ्चालनमा गरिएको यस्तो हेलचेक्र्याइँबाट राष्ट्रलाई दूरगामी रूपमा कस्तो सम्म असर पर्न सक्छ भन्ने बुझ्नु जरूरी छ । संयुक्त राष्ट्र संघमा सन् १९६० को दशकमा हामीले देखाएको अल्लारेपन र गलत् ‘तुजुक’ र त्यसले पारेको असर थाहा हुनेलाई अहिलेको व्यवहारले चिन्तित बनाएको छ ।

परराष्ट्र सम्बन्धमा गर्नै नहुने अर्को गम्भीर त्रुटी गर्दैछौँ हामी । यसै समयमा बोआओ सम्मेलन हुँदैछ । र त्यसमा नेपालबाट राष्ट्र वा सरकार प्रमुखको सक्रिय सहभागिता रहँदै आएको हो आरम्भ देखि नै ।

चैत्र २५ गते शुरु हुने बोआओ फोरममा चीनका राष्ट्रपति लगायत विश्वका अन्य कैयौँ नेता सहभागी हुँदैछन् । नेपाली प्रधानमन्त्री कसरी, कति तयारीका साथ पुग्लान्, सोही दिन दिल्लीबाट फर्केर ? वा ‘कसैलाई’ बोआओ पठाएर झारा टार्ने प्रयाश हुने हो ? हाम्रो यो व्यवहारलाई विश्व समुदायले, मूल रूपमा हाम्रा असल सहयोगी मित्रहरूले, कसरी व्याख्या गर्लान् ?

यो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चलाई पनि नेपालले ‘वाहियात’ ठहर गरेको सन्देश जाने निश्चित छ ।

यो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चलाई पनि नेपालले ‘वाहियात’ ठहर गरेको सन्देश जाने निश्चित छ ।

किन यसो गरिँदैछ ? जवाफ प्रष्ट छ : भारतले तोकेको समय र मितिमा दिल्ली गएर ‘राष्ट्रवादी’ दावी गर्ने हाम्रा प्रधानमन्त्री ‘हामी भारतको निर्देशनमा काम गर्छौँ’ भन्ने सन्देश दिँदैछन् ।

कूटनीतिमा यस्तो व्यवहारको प्रभाव कति गम्भीर हुन सक्छ र हुनेछ भन्ने ज्ञान काठमाडौँका सत्ता सञ्चालकहरूमा रहेको देखिएन । ‘लोकतन्त्र’ का नाममा मुलुक सञ्चालनलाई खेलाँची ठान्दैछौँ हामी ।

सन् १९७९ को अफगान सङ्कट तथा सन् १९८० को मस्को ‌ओलम्पिकमा सहभागिता र त्यसको ‘मार’ समेतको ज्ञान भएका विवेकी नेपालीलाई अहिलेको दास व्यवहारले ल्याउन सक्ने परिणामको कल्पना मात्रले पनि भयभित पारेको हुनुपर्छ ।

विश्वासको सङ्कट

विगत् दुई दशक यता नेपाल प्रति विश्व समुदायको अविश्वास बढ्दो छ । विश्वासको यो सङ्कट औपचारिक रूपमा पटक–पटक बाहिर आउने गरेको छ ।

चिनियाँ उच्च नेता तथा अधिकारीहरुले ‘नेपाली भूमिमा चीन विरुद्ध कुनै प्रकारको गतिविधि हुन नदिनोस्’ भन्ने आग्रह हरेक जसो द्वीपक्षीय भेटमा गर्छन् ।

नेपाल सरकारले नेपाली भूमि चीन मात्र होइन, आफ्ना कुनै पनि मित्र राष्ट्र विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्दैआएको छ । यो प्रतिवद्धता व्यवहारमा कार्यान्वयन नभएकै कारण हाम्रा मित्र राष्ट्रहरुले हामीलाई विश्वास नगरेका हुन् ।

नेपालमा ‘लोकतन्त्र’ आए देखि नेपाली भूमिमा चीन विरुद्ध गतिविधि व्यापक पारिएको छ । सरकारी प्रतिवद्धताको खिल्ली उडाउँदै नेपाल–चीन सीमा नजिक तिब्बती पृथकतावादीहरु चीन विरुद्ध प्रदर्शन गर्न पुगे ।

सरकारका तर्फवाट प्रतिवद्धताहरु पटक–पटक दोहोर्याउनु र मित्र राष्ट्रले हरेक अवसरमा आफ्ना विरुद्ध कुनै गतिविधि हुन नदिन ‘आग्रह’ गर्नु भनेको विश्वासको सङ्कट हो । यस सन्दर्भमा चिनियाँ मित्रहरुले ‘तपाईँहरुलाई पत्याउन गाह्रो पर्यो’ भनेका हुन् ।

चीनले हामीलाई विश्वास नगर्नुका आधारहरु छन् । नेपालमा ‘लोकतन्त्र’ आए देखि नेपाली भूमिमा चीन विरुद्ध गतिविधि व्यापक पारिएको छ । सरकारी प्रतिवद्धताको खिल्ली उडाउँदै नेपाल–चीन सीमा नजिक तिब्बती पृथकतावादीहरु चीन विरुद्ध प्रदर्शन गर्न पुगे ।

संविधानसभा सदस्यहरु नेपालको आधिकारिक नीति विपरित दलाई लामालाई भेट्न धर्मशाला पुगे । र दलाई लामालाई नेपाल भ्रमणको निम्तो समेत हाम्रा सभासद्हरुले दिएको खबर सार्वजनिक भयो, केही समय अघि । विश्वासको सङ्कटका यी केही उदाहरण मात्र हुन् ।

मित्र राष्ट्रहरु सँगको सम्बन्धमा औपचारिक प्रतिवद्धता दर्शाएर मात्र पुग्दैन । त्यस अनुरुपको व्यवहार पनि देखिनु पर्छ । त्यसो गर्न सकिएन भने विश्वासको सङ्कट उत्पन्न हुन्छ । र त्यसको असर दूरगामी हुन्छ ।

‘चीनले नेपालमा गतिविधि बढाउँदैछ’ भन्दैछन् भारतीयहरु । नेपालमा चीनको बढ्दो उपस्थिति भारतको लागि खतरा हो भन्ने व्याख्या भारतीयहरुको छ ।

अर्कातिर, भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्यो भन्ने आरोप चिनियाँ विद्वान तथा विश्लेषकहरु लगाइराखेका छन् । नेपाली भूमिवाट भारत समेतको सहयोग र संलग्नतामा चीन विरोधी काम भैराखेको आक्षेप चिनियाँहरुवाट आइराखेको छ ।

विश्व महाशक्ति संयुक्त राज्य अमेरिकाको उपस्थिति र ‘चलखेल’ नेपालमा अत्यधिक बढेको, अनि युरोपियन युनियन र अन्य पश्चिमाहरूले नेपालमा ‘मनपरी’ गरिराखेको, त्यस्ता गतिविधिको प्रभाव (Domino Effect) हाम्रा छिमेकीहरूमा समेत पर्ने विश्लेषण गरेकाछन् केही विद्वानहरुले ।

एकीकृत नेपाल राष्ट्रका यी महापुरुषको त्यो नीतिवाट हामीले सिक्नु पर्छ ।

हाम्रो कूटनीति कमजोर थिएन

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको भूराजनीतिक तथा भूरणनीतिक अवस्थाको आधारमा हाम्रो परराष्ट्र नीतिको आधार बसालेका हुन् । ‘दुई ढुङ्गा बीचको तरुल’ भन्ने पृथ्वीनारायणको परराष्ट्र सम्बन्ध सञ्चालनको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छ ।

बदलिँदो अन्तर्राष्ट्रिय शक्ति समीकरणको सन्दर्भमा नेपाल अझ बढी संवेदनशील बन्नपुगेको छ । उदाउँदा विश्व शक्ति चीन र भारतको बीचमा अवस्थित नेपालले आफ्नो राष्ट्रिय हित पूरा गर्न विदेश नीति सञ्चालनमा अत्यन्तै संवेदनशील हुन जरुरी छ ।

शक्तिशाली राष्ट्रले आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्न सैनिक, आर्थिक लगायतका माध्यम प्रयोग गर्छन् । सैनिक, आर्थिक हिसाबले कमजोर राष्ट्रको शक्ति भनेकै कूटनीति हो । कूटनीतिको प्रयोग प्रभावकारी भयो भने नेपाल जस्ता साना तथा कमजोर राष्ट्रले आफ्नो राष्ट्रिय हित संरक्षण र प्रवर्द्धन राम्ररी गर्न सक्छन् । त्यसो गर्न सकेका अनेक उदाहरण छन् विश्वमा । कूटनीति सञ्चालन सही ढङ्गले गर्न सकिएन र फितलो तरिकाले व्यवहार गरियो भने समस्या आउँछ ।

नेपालमा विदेशी शक्तिहरुको चासो हाम्रो भूराजनीतिक अवस्थितिका कारण स्वभाविक हो । हरेक राष्ट्रले आफ्नो हित प्रवर्द्धनका लागि सकेसम्मका काम गर्छ नै । नेपालमा अत्यधिक बढेको ठूला शक्तिहरुको चासो एक अर्कामा बाझिने खालका देखिँदै छन् । परस्पर विरोधी स्वार्थ भएका ठूला शक्तिहरुले नेपालमा काम गरिराखेका छन् ।

यस्तो स्थितिमा नेपालले आफ्नो हितको रक्षा गर्दै अधिकतम् लाभ लिन सक्नु पर्छ । त्यसो गर्ने क्षमता भनेको कुशल कूटनीति हो । हामी राष्ट्र प्रति इमान्दार हुने हो भने हामीसँग त्यस्तो क्षमता छ भन्ने कुरा विगतमा पटक–पटक पुष्टि भैसकेको छ । ठूला–ठूला सङ्कटका बेला प्रभावकारी कूटनीति सञ्चालन मार्फत आफ्नो राष्ट्रिय हितको रक्षा गर्न नेपाल सफल भएको छ, विगतमा ।

सन् १९५० मा ‘प्रजान्त्र’ को आगमन सँगै नेपाली भूमिमा भित्र्याइएको भारतीय सेनालाई फिर्ता पठाउन तल्कालीन राजाको सफल कूटनीति बिर्सनै नहुने अर्को अध्याय हो नेपालको परराष्ट्र सम्बन्ध सञ्चालनमा ।

विगत् बुझौँ र सिकौँ

पृथ्वीनारायण शाहले नेपाल एकीकरण थाल्दा सारा संसारमा वेलायती प्रभूत्व थियो । दक्षिण एशियाका सबै जसो राज्यमाथि कब्जा जमाइसकेको त्यो एकछत्र विश्व शक्तिको प्रभूत्व नेपाली भूमिमा पर्न नदिन राष्ट्र निर्माता पृथ्वीले अवलम्बन गरेको नीति विलक्षणको थियो ।

हामी साना र कमजोर छौँ भनेर ठूला शक्तिका सामू नझुकेका मात्र होइनन्, पृथ्वीनारायणले अंग्रेजको शक्तिशाली फौजलाई पराजीत गरे र त्यस पछिका चार दशक भन्दा वढी समय सम्म वेलायत नेपाल विरुद्ध आइलाग्न नसक्ने अवस्थामा पुग्यो । एकीकृत नेपाल राष्ट्रका यी महापुरुषको त्यो नीतिवाट हामीले सिक्नु पर्छ ।

सन् १९४८ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने प्रयास गर्यो, तर सफल भएन । विश्व संस्थामा प्रवेश गरेर आफ्नो पहिचान कायम गर्ने नेपालको त्यो प्रयासमा भाँजो हाल्नेलाई पाखा लगाउँदै सन् १९५५ मा राजा महेन्द्रले विश्व संस्थाको सदस्यता प्राप्त गरे । सामान्य कूटनीतिक प्रयासवाट त्यो उपलब्धि संभव थिएन भन्ने यथार्थ विदेश नीति सञ्चालनका अध्येता जो कोहीलाई थाहा हुनुपर्छ ।

दोश्रो विश्व युद्ध पछि अमेरिका र सोभियत संघको नेतृत्वमा विश्व दुई ध्रुवमा विभाजित थियो । शीत युद्ध कालमा नेपाल जस्ता साना राष्ट्रलाई अत्यन्तै कठिन थियो, आफ्नो अलग पहिचान कायम राख्न । त्यस्तो कठिन तथा जटिल परिवेशलाई नेपाल राष्ट्रको हितमा भरमग्दूर उपयोग गर्न नेपालले लरतरो क्षमताले सकेको होइन ।

सन् १९६२ को चीन–भारत युद्धका बेला नेपालका लागि स्थिति कम असजिलो थिएन । दुई मध्ये कुनै एकको पक्षमा लागेको खण्डमा परिणाम कति दूर्दान्त हुनसक्थ्यो, सहज अनुमान गर्न सकिन्छ । त्यस्तो सङ्कटको घडीमा त्यसबेलाका शासकले निर्वाह गरेको भूमिकाले नेपाललाई दूरगामी फाइदा पुगेको यथार्थलाई कम आँक्न मिल्दैन ।

सन् १९५० मा ‘प्रजातन्त्र’ को आगमन सँगै नेपाली भूमिमा भित्र्याइएको भारतीय सेनालाई फिर्ता पठाउन तल्कालीन राजाको सफल कूटनीति बिर्सनै नहुने अर्को अध्याय हो नेपालको परराष्ट्र सम्बन्ध सञ्चालनमा ।

एकातिर दुई महाशक्तिबीच डरलाग्दो शीत युद्ध, अर्कातिर नेपालका शक्तिशाली छिमेकी बीच शत्रुता बढेको अवस्थामा नेपालले राष्ट्र विकासको सन्दर्भमा दूरगामी महत्वको कामहरु गर्न सक्यो । महेन्द्र राजमार्ग र कोदारी राजमार्गको निर्माण कुन परिस्थिति तथा कठिनाइको जटिलतामा गरिएको थियो भन्ने ज्ञान अलिकता अध्ययन गर्नेलाई हुनुपर्छ ।

महेन्द्र राजमार्ग र कोदारी राजमार्गको निर्माण कुन परिस्थिति तथा कठिनाइको जटिलतामा गरिएको थियो भन्ने ज्ञान अलिकता अध्ययन गर्नेलाई हुनुपर्छ ।

राजाको नेतृत्वमा त्यसबेलाको सरकारले देखाएको सुझबुझ तथा कूटनीतिक दक्षताको परिणामस्वरुप चीन सार्कमा पर्यवेक्षकको रुपमा प्रवेश पाउन सफल भएको हो ।

यी दुई राजमार्गको महत्व नेपालका लागि के छ भन्ने बुझ्न नेपालको नक्शावाट महेन्द्र राजमार्ग र कोदारी राजमार्ग हटाएर कल्पना गर्दा प्रष्ट हुनेछ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सन् १९८६ मा स्थापना भए देखि यो संस्थामा भारतको प्रभूत्व रहँदै आएको हो । तर क्षेत्रीय विकासमा अपेक्षाकृत प्रगति गर्न नसकेको सार्कमा पर्यवेक्षकका रूपमा चीनको प्रवेशले नयाँ ढोका खोलेको छ, विकास र रणनीति दुबै हिसाबले ।

अफगानिस्तानलाई सार्कको आठौँ सदस्यका रुपमा ग्रहण गर्ने विषय सँगै आएको चीनको सार्क प्रवेशको मुद्दाले जटिल तर कुशल कूटनीतिको माग गर्यो, त्यसबेला । राजाको नेतृत्वमा त्यसबेलाको सरकारले देखाएको सुझबुझ तथा कूटनीतिक दक्षताको परिणामस्वरुप चीन सार्कमा पर्यवेक्षकको रुपमा प्रवेश पाउन सफल भएको हो ।

सार्कमा चीनको प्रवेशको कति दूरगामी महत्वको रहेछ भन्ने कुरा अहिले देखिन थालेको छ । ‘दक्षिण एशियाली विवाद र तनाव समाधान गर्न चीन समेतको भूमिका’ हुनुपर्ने अमेरिकी राष्ट्रपतिवाट केही समय अघि भएको उद्घोषले धेरैकुरा प्रष्ट पारिसकेको छ ।

नेपालले विदेश सम्बन्ध सञ्चालनमा बेला बखत वडो दूरदर्शी तथा प्रभावकारी भूमिका निर्वाह गरेको इतिहास हामीसँग छ । माथि उल्लेखित प्रसंग केही उदाहरण मात्र हुन् । हामी कमजोर छैनौँ, हामीले चाह्यौँ भने गर्न सक्छौँ । ‘फलानाले फलानालाई प्रधानमन्त्री बनाइदिने’ स्तरको राजनीति गरेर कूटनीतिमा सफलता पाउन सकिन्न । खाँचो छ राष्ट्रप्रतिको समर्पण र इमान्दारीको ।

राजनीति शास्त्री, सहप्राध्यापक गजुरेललाई deepakgajurel@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

SHARE
Previous articleHow to Make Win_10 Faster
Next articleThe Camouflaged Indian Agenda
A forum for the analysis of Nepal's domestic affairs, Policy Research, Himalayan Asia affairs and International Relations with special focus on South Asia and China.