अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको इशारालाई पालन गर्दै होइन कि मुलुकको दीर्घकालीन हितलाई ध्यानमा राखेर आर्थिक नीतिहरूको तर्जुमा गर्न शुरू गर्लान ?

शम्भुराम जोशी

शम्भूराम जोशी

सन् १९९१ मा सोभियत संघको पतन पश्चात पूँजीवादी अर्थतन्त्रलाई अन्तिम विकल्पको रुपमा लिँदै फ्रान्सिस् फुकुयामाले ‘द एण्ड अफ हिस्ट्री’ शिर्षकमा लेख लेखे, जो विश्वमा निक्कै चर्चित बन्यो । पूँजीवादी अर्थिक प्रणाली र प्रजातान्त्रिक शासन व्यवस्थाको विकल्प अब नभएको उनको आशय थियो, जसलाई पश्चिमी जगतले अद्यापि मान्यता दिँदै आइराखेको छ ।

वास्तबमा बजारको हालिमुहाली हुने पूँजीवादी आर्थिक प्रणाली कूल माग र कूल आपूर्तिमा कुनै व्यवधान नआउञ्जेल सम्म मात्रै राम्ररी काम गर्न सक्छ । तर ती कुराहरूलाई भने निरन्तर परिवर्तित भैराख्ने विभिन्न तत्वहरुले असर गरिरहेका हुन्छन् ।

विश्व अर्थतन्त्रमा सङ्कट

केही महिना यता विश्व अर्थतन्त्रमा गतिरोध उत्पन्न हुँदै गइराखेको छ । चीनबाट शुरू भएको  स्वास्थ्य सङ्कटको रूपमा उत्पन्न भएको कोभिड – १९ को कहर हतपति समाप्त हुने संभावना देखिँदैन । वैज्ञानिकहरूको अथक प्रयाशबाट औषधि पत्ता नलागुञ्जेल यो सङ्कट लम्बिदै गएर मानवीय जीवन झन्झन् दुष्कर हुँदै जाने, सारा विश्व अर्थतन्त्र नै सङ्कट तर्फ धकलिन जाने र नवउदारवादी पूँजीवादी आर्थिक प्रणालीले नै धक्का खाने निश्चित देखिँदैछ ।

हुन त पूँजीवादले यस अघिको र यसै शताब्दिमा पनि पटक पटक धक्का खाएकै हो । सन् १९२९ देखि १९३३ सम्मको महान् आर्थिक मन्दि होस्, सन् १९४५ मा द्वितीय विश्व युद्ध समाप्ति लगत्तै पश्चिम यूरोपका मुलुकहरू तत्कालीन सोभियत रूसको प्रभावमा जाने सम्भावना होस्, वा सन् २००८ मा अमेरिका र यूरोपियन यूनियनका मुलुकहरूले सामना गर्नु परेको महान आर्थिक सुस्तता (Great Economic Recession) नै किन नहोस् । हरेक स्थितिमा पूँजीवादी आर्थिक प्रणालीले ठूल्ठूला धक्का सहनु परेको इतिहास छ ।

संसारमा कुनै दर्शन, वाद, प्रणाली वा कुनै कुरा पनि स्थिर छैन । कोरोना रोगको यो महामारीले हालसम्म निर्विकल्प मानिएको पूँजीवादी आर्थिक प्रणालीको धोती फुस्काउँदै गरे पनि यसैका कारण झट्टै यो प्रणाली अहिले नै खत्तम भएर जान्छ भन्ने अनुमान गर्नु भने हास्यास्पद होला ।

तर के हाल समग्र माग, आपूर्ति, लगानी, बचत, रोजगारी जस्ता कुराहरू निरन्तर गिर्दो अवस्थामा रहेको यस स्थितिमा नवउदारवादी पूँजीवादी प्रणालीले यही रूपमा दीर्घकाल सम्म फेरि निरन्तरता पाइराख्ला त ?

सम्भवतः अहिलेको अवस्था विश्व युद्धहरूको भन्दा डरलाग्दो हुनेछ, किनभने ती युद्ध चलिराखेको समयमा पनि अमेरिका लगायत मुलुकहरूले आर्थिक उत्पादनलाई गति दिएकै थिए र विश्व आर्थिक वृद्धि दर अहिलेको जस्तो विजोगपूर्ण अवस्थामा पुगेको थिएन । नुरियल रोबिनीले लेखे अनुसार विश्व अर्थतन्त्रले सन् २००८ ताका झेल्नु परेको समस्याको तुलनामा पनि कोभिड -१९ ले जन्माउने समस्या झन भयावह हुनेछ ।

शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत सेवा पनि निजी क्षेत्रलाई सुम्पनु पर्ने कुरामा विश्वास गर्ने यो नवउदारवादी पूँजीवादी अर्थतन्त्र अहिलेको माहामारी नियन्त्रणमा असफल देखिएबाट यस प्रति आकर्षण र विश्वास कम हुँदै जाने अनुमान गरिएको छ । नवउदारवादी पूँजीवादी मुलुकहरूको नेता अमेरिकामा नै करीब १ लाख मानिसको मृत्यु यसै माहामारीका कारणले हुनुमा त्यहाँको आर्थिक प्रणाली र त्यस भित्रको स्वास्थ्य व्यवस्थाको पनि हात छ । जव कि चीनमा भने ४,६०० भन्दा केही वढी संख्यामा मात्रै मानिसको मृत्यु भएको छ । त्यसो हुनुले अमेरिकी आर्थिक प्रणाली र स्वास्थ्य व्यवस्थाको सर्वोत्कृष्टतामा शंका उठ्ने ठाउँ दिएको छ ।

यो महामारी जति धेरै लम्बिएर जान्छ त्यति नै पूँजीवादी अर्थ प्रणालीले खानु पर्ने धक्का भने कठोर हुने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वको वित्तीय प्रणालीमा ठूलो आघात पुग्ने सम्भावना छ । उसको भनाई अनुसार सन् १९२९ को आर्थिक महामन्दी पछिको सबैभन्दा विकराल आर्थिक समस्याको भूमरीमा विश्व अर्थतन्त्र पर्दैछ ।

यो अर्थतन्त्रले करीब ९ ट्रिलीयन (९० खर्व) अमेरिकी डलर बराबरको नोक्सान खप्नु पर्ने छ । यो रकम जापान र जर्मनीको कूल अर्थतन्त्रको संयुक्त आँकडा भन्दा धेरै वढी रकम हो भन्ने कुरा अन्तर्राष्ट्रिय मुद्रा कोषकी मुख्य अर्थशास्त्री गीता गोपीनाथले ब्लूमबर्ग टि.भि. लाई दिएको एउटा अन्तर्वार्तामा बताएकी छन् ।

अब विश्वका प्रायः जसो सबै भागमा उत्पादन, उपभोग, लगानी, पूँजीगत् खर्च जस्ता सम्पूर्ण आर्थिक कृयाकलापहरू ज्यादै न्यून हुने भएकोले विश्व अर्थतन्त्र निरन्तर खस्किरहने र पहिलेको अवस्थामा नआउने अर्थात त्यो अंग्रेजी अक्षरको  ‘आई’ (I) को आकारको हुने आँकलन गरिएको छ ।

सम्भवतः अहिलेको अवस्था विश्व युद्धहरूको भन्दा डरलाग्दो हुनेछ, किनभने ती युद्ध चलिराखेको समयमा पनि अमेरिका लगायत मुलुकहरूले आर्थिक उत्पादनलाई गति दिएकै थिए र विश्व आर्थिक वृद्धि दर अहिलेको जस्तो विजोगपूर्ण अवस्थामा पुगेको थिएन ।

नुरियल रोबिनीले लेखे अनुसार विश्व अर्थतन्त्रले सन् २००८ ताका झेल्नु परेको समस्याको तुलनामा पनि कोभिड -१९ ले जन्माउने समस्या झन भयावह हुनेछ ।

अमेरिकाले ज्यादै विषम परिस्थितिको सामना गर्नु पर्ने उनको पनि आँकलन छ । मोर्गन स्टन्ले र गोल्डम्यान साच जस्ता वित्तीय फर्महरूले अमेरिकाको कूल गार्हस्थ उत्पादन पहिलो चौमासिक अवधिमा ६ प्रतिशत र दोस्रोमा २४ देखि लिएर ३० प्रतिशतसम्म घट्ने अनुमान गरेका छन् ।

वेरोजगारीको समस्या सँग जुधिराखेको त्यो मुलुकमा उक्त दर २० देखि ३० प्रतिशत पुग्न जाने कुरा अमेरिकी अर्थशास्त्री जोसेफ स्टिग्लिजले गरिसकेका छन् । जवकि सन् २००८ को वित्तीय सङ्कटमा त्यो दर १० प्रतिशत मात्रै रहेको थियो । अमेरिकामा कोभिड- १९ को दूष्प्रभाव १९२९ को मन्दी पछिको सबै भन्दा ठूलो वा त्यसभन्दा पनि धेरै हुनेछ ।

अमेरिका अहिलेसम्म विश्वको पावर हावस रहँदै आएको र प्रायः सबै मुलुकहरूले विश्वव्यापीकरणको अवधारणालाई आत्मसात गरिसकेको अवस्थामा अमेरिकामा देखिने समस्याले संसारको कुनै पनि भाग अछुतो रहने छैन । यो कुरा सन् २००८ मा अमेरिकामा देखापरेको वित्तीय सङ्कटले निम्त्याएको आर्थिक संकटको मारबाट  विश्वका सबै मुलुक, चाहे चीन होस् वा भारत, कुनै न कुनै रुपमा प्रभावित भएकै थिए ।

आफूहरूले भनेको जस्तो आर्थिक एवम् राजनीतिक प्रणाली अपनाएको खण्डमा मात्रै विश्वका गरीब मुलुकहरू समृद्ध बन्न सक्दछन् भन्ने पश्चिमी विज्ञ तथा त्यसको अन्धानुकरण गर्ने नेपाल जस्ता मुलुकका नीति निर्माताहरूका लागि कोभिड – १९ को ताण्डव नृत्य गतिलो जवाफ हुनेछ ।

पूँजीवादको विकल्प के होला ?

पूँजीवादी अर्थ प्रणालीले आफूलाई जीवित राख्नका लागि अबको अवस्थामा सरकारी र निजी क्षेत्रको साझेदारी मोडेलमा नगई सुख छैन । अब आर्थिक मामलामा सरकारले पर्याप्त सक्रियता देखाउनु पर्ने र लोककल्याणकारी राज्यको सिद्धान्तलाई आउँदा दिनहरूमा अवलम्वन गरिनुपर्छ भन्ने धारणाले प्रवलता पाउने संभावना देखिँदैछ ।

अर्थतन्त्रमा निजी क्षेत्र, बजार र सरकारको सक्रियताको महत्व अझ प्रखर हुने देखिँदैछ । विगतमा पनि महान आर्थिक मन्दी (सन् १९२९ देखि ३३ सम्म) को निराकरणका लागि आर्थिक क्षेत्रमा अमेरिका जस्तो मुलुकले सरकारको सक्रियता वढाएकै हो ।

आफूहरूले भनेको जस्तो आर्थिक एवम् राजनीतिक प्रणाली अपनाएको खण्डमा मात्रै विश्वका गरीब मुलुकहरू समृद्ध बन्न सक्छन् भन्ने पश्चिमी विज्ञ तथा त्यसको अन्धानुकरण गर्ने नेपाल जस्ता मुलुकका नीति निर्माताहरूका लागि कोभिड – १९ को ताण्डव नृत्य गतिलो जवाफ हुनेछ । र यसले गर्दा विश्व अर्थतन्त्रले झेल्नु परेको दवाबको अध्ययन हामीहरूका लागि पनि आवश्यक हुन्छ ।

के हाम्रा अर्थशास्त्रीहरूले यस दिशा तर्फ ध्यान देलान् ? अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको इशारालाई पालन गर्दै होइन कि मुलुकको दीर्घकालीन हितलाई ध्यानमा राखेर आर्थिक नीतिहरूको तर्जुमा गर्न शुरू गर्लान ?

त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक, अर्थशास्त्री शम्भुराम जोशीलाई shambhuramjoshi1964@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

76 Total Views 2 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here