खतरामा गणतन्त्र : विकल्प राजतन्त्र

0
618

दीपक गजुरेल, राजनीति शास्त्री

‘जनताको आफ्नै शासन’ भन्ने गरिएको गणतान्त्रिक व्यबस्थाले मुलुक बिगार्यो भन्न थालेका छन्, यही प्रणालीका पक्षधरहरू समेत । मुलुकका हरेक क्षेत्र अस्त-व्यस्त, ध्वस्त पारिएको छ भन्ने कुरा व्यबस्थाका विरोधीहरूले लगाइराखेका आरोप मात्र हैन ।

सभ्य समाजले मानेका केही आधारभूत मापदण्डका कसीमा समेत नेपाललाई अत्यन्तै कमजोर पारिएको छ । प्रजातान्त्रिक चरित्र तथा व्यवहार पूर्ण रूपमा समाप्त पारिएको छ ।

अहिले ‘लोकतन्त्र’ नामाकरण गरिएको प्रजातान्त्रिक शासन व्यवस्थामा कानूनको शासन हुनु पर्ने हो । कानून सर्वोच्च, समान, व्यवहारत: कडाइका साथ कार्यान्वयन हुनु पर्ने हो । तर, यथार्थमा हामीकाहाँ अहिले Rule OF law नभएर Rule BY law छ ।

व्यक्ति, गुट, दल, शक्ति आदिका निहित स्वार्थका लागि प्रजातन्त्रका आधारभूत मूल्य मान्यता ध्वस्त पारिएका छन् । कानून मिचिएका छन् ।

अनेकौँ उदाहरण र प्रमाणले नेपालको अन्तरार्ष्ट्रिय प्रतिष्ठा निरिह बन्दै गएको साबित गरिराखेका छन् । विश्व समुदायका सामू हाम्रो विश्वसनीयता गुमेको छ ।

राजनीतिक चरित्र, कानूनको शासन, अर्थतन्त्र, कूटनीति सञ्चालन, धर्म, संस्कृति, नैतिकता लगायत सबै क्षेत्र माथि प्रहार गरी नेपाल राष्ट्र तथा समाजलाई कमजोर पारिएको छ ।

छिमेकी चीन र भारत हामी प्रति सशंकित बनेका छन् । नेपालको भूमि आफ्ना विरूद्ध दूरूपयोग हुने खतरा बेइजिङ्ग र दिल्ली दुबैले देखाइराखेका छन्, औपचारिक रूपमा नै ।

हाम्रा दुबै छिमेकी, चीन र भारतका नीति निर्माताहरू नेपालमा स्थिरता तथा शान्ति रहेको खण्डमा मात्र आफ्नो पनि नोक्सान नहुने निष्कर्शमा पुगेको संकेत देखिन थालेको छ ।

नेपालमा ‘धर्म निरपेक्ष, संघीय, लोकतान्त्रिक, गणतन्त्र’ नामक शासन शुरू भए देखि यताका दिनमा हाम्रा उत्तर तथा दक्षिणका छिमेकी विरूद्ध नेपाली भूमि प्रयोग भएका अनेक घटना / उदाहरण बाहिर आएका छन् । त्यस अघि यस्तो स्थिति थिएन । नेपाली भूमिबाट हामीलाई नकारात्मक असर पर्न सक्छ भनेर बेइजिङ्ग र दिल्ली कसैले पनि सोचेको थिएन, डेढ दशक अघि । र, ‘हाम्रा विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिनोस्’ भन्ने आग्रह बेइजिङ्ग र दिल्लीले पटक-पटक गर्नु पर्दैनथ्यो ।

एउटा संविधान बनाएर, शासनका सबै अङ्ग तथा निकायहरूले नियमित काम गरिराखेको अहिलेको अवस्थामा ‘सबै खत्तम भयो,’ ‘मुलुकै नरहने स्थिति आइसक्यो’ जस्ता धारणा व्यापक हुनु भनेको प्रणाली असफल हुनु हो । र, असफल प्रणाली नेपालमा अझ लम्बियो भने हामीलाई मात्र होइन, हाम्रा छिमेकीलाई समेत नकारात्मक असर पर्छ । त्यो उनीहरूले टुलुटुलु हेरेर बस्ने छैनन् ।

चीन र भारतका स्वार्थ बाझिएका छन्, नेपालको आन्तरिक राजनीतिमा, हिमालयन एशियाको बदलिएको भूराजनीतिका कारण ।

वाशिङ्गटन नेतृत्वको पश्चिमा शक्तिको प्रभाव बढ्दो छ यस क्षेत्रमा । र, पश्चिमको स्वार्थले हाम्रा छिमेकीका हितमा समेत असर पारिराखेको छ ।

आफ्नो राष्ट्रिय हित रक्षाका लागि चीन र भारत दुबैले सके सम्मको, हरेक उपाय / रणनीति अवलम्बन गर्छन् नै । यसरी, नेपाली भूमिमा बहुपक्षीय (मूल रूपमा तीन पक्षीय) स्वार्थको छद्म युद्ध चलिराखेको छ ।

र, ‘लोकतान्त्रिक गणतन्त्र’ का नाममा अनेक वितण्डा गरी कमजोर बनाइएको नेपाल गम्भीर खतरामा परेको छ । स्थिति जटिल बन्दै गएको छ ।

त्यसैले, विदेशीको सहयोगमा ल्याइएको लोकतान्त्रिक गणतन्त्र विदेशी स्वार्थकै कारण कुनै पनि बेला समाप्त हुन सक्छ । र, नेपाली नागरिकहरूले मात्र होइन, नेपाली राजनीतिमा ‘चलखेल’ गरिराखेका विदेशीहरूले समेत राजतन्त्रलाई उपयुक्त विकल्पका रूपमा अङ्गीकार गर्ने छन् । होइन भने, नेपाल अर्को, झन् डर लाग्दो अस्थिरता र अशान्तिमा जाकिन सक्ने खतरा बढेको छ ।

  • हिमालय टेलिभिजनमा प्रत्यक्ष प्रशारित रणनीतिक विश्लेषण यो भिडियोमा :