‘कृषि प्रधान राष्ट्र’ को नारा दिइने यो मुलुकमा हामी वर्षेनी एक खर्ब रूपियाँ भन्दा धेरैको कृषि जन्य सामग्री आयात गरिरहेका छौँ ।

आदित्य नेपाल

आदित्य नेपाल

कृषि यस्तो क्षेत्र हो जसले बाँच्नलाई चाहिने आधारभूत खाद्यान्नको आपूर्ति गर्छ । मानिसको आधारभूत आवश्यकता गाँस, बास र कपास कृषि क्षेत्र सँग सम्बन्धित छन् । कृषिबाट सिर्जित पूँजी र श्रमको बचतलाई औद्योगिक र सेवा क्षेत्रमा लगाउँदै जाँदा नै अर्थतन्त्रको संरचनामा परिवर्तन आउँछ ।

‘नेपाल कृषि प्रधान राष्ट्र हो’ गरीब देखि धनीसम्म, अनि सर्वसाधारण देखि नेता सबैले भन्ने गरेको एउटा प्रचलित वाक्य हो । तर हामी वर्षेनी एक खर्व रूपियाँ भन्दा वढीको कृषि जन्य सामग्री आयात गरिरहेका छौँ ।

नेपालको इतिहासमा सर्वप्रथम योजनाबद्ध विकासको प्रयास २०१३ सालमा भयो । पहिलो आवधिक योजना २०१३ मा बन्यो र अहिले चौधौं योजना (२०७३-७६) सकिएको छ । ६३ वर्ष लामो योजना क्रममा एउटा साझा विषय देखिन्छ नेपाललाई ‘कृषि प्रधान’ बताउँदै आउनु । हरेक आवधिक योजनाको समीक्षा हुँदा एउटै साझा विषय उठेको पाइन्छ – ‘प्रतिकुल मौसमका कारण अपेक्षित सफलता हासिल गर्न सकिएन ।’

यतिका वर्षसम्म या त हामीले कृषिलाई मौसमी प्रतिकूलताबाट समस्यामा नपर्ने बनाइ सक्नु पर्थ्यो या आफूलाई कृषि बाहेक अन्य कुनै क्षेत्र प्रधान मुलुक हुने गरी विकास गर्न सक्नु पर्थ्यो । दूर्भाग्यवश हामीले त्यसो गरेनौं । हाम्रा योजनाविद् तथा शासक र प्रशासकहरु चुनौतीपूर्ण बाटोमा लाग्ने कष्ट गर्न चाँहदैनन् भन्ने यसैबाट प्रष्ट हुन्छ ।

कृषि प्रधान देश भए पनि कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुनसकेको छैन । औद्योगिक उत्पादनमा के कुरा ? तथ्याङ्कले देखाउँछ कृषि प्रधान मुलुकमा वार्षिक खर्वौँ रुपैयाँ बराबरको कृषि जन्य वस्तु आयात हुने गर्छ । भौगोलिक विविधता अनुसार कृषि उत्पादनको सम्भावना भए पनि यान्त्रीकरण र व्यवसायीकरणको अभावमा आयातमूखी बन्नु परेको छ ।

पर्याप्त मात्रामा उत्पादन नहुँदा हरेक वर्ष छिमेकी देशबाट धान, चामल लगायत फलफूल र तरकारी आयात गर्नुपर्ने बाध्यता छ । चिसो हिमालदेखि समथर तराईका हरेक ठाउँमा आलू खेती हुन्छ । तर वार्षिक पाँच अर्व भन्दा बढिको आलू आयात गरिन्छ । अन्य कृषि जन्य उत्पादनको हालत पनि उस्तै छ ।

चिसो हिमालदेखि समथर तराईका हरेक ठाउँमा आलू खेती हुन्छ । तर वार्षिक पाँच अर्व भन्दा बढिको आलु आयात गरिन्छ । अन्य कृषिजन्य उत्पादनको हालत पनि उस्तै छ ।

लकडाउनमै करोडौंको तरकारी विदेशबाट आयात गरिएको छ । चैत ११ देखि २३ वैशाख सम्म विराटनगरको रानी नाकाबाट मात्र १३ करोड ५३ लाख १३ हजार रूपियाँ बराबरको सागसब्जी भित्रिएको छ । खुल्ला सीमाका कारण लुकिछिपी भित्रिनेको तथ्यांक नै छैन ।

भारतबाट २३ वैशाख सम्म ५ करोड ३९ लाख ९४ हजार बराबरको हरियो तरकारी आयात भयो । हरियो तरकारीमा परवल, भिण्डी, करेला, खुर्सानी काउली लगायत छ्न् । ४ करोड ६३ लाख २९ हजार बराबरको आलू मात्र आयात भएको छ । २ करोड ७३ लाख ५८ हजार मूल्य बराबरको प्याज आयात भएको छ । फलफूल पनि २६ करोड मूल्य बराबरको आयात भएको छ ।

नेपालमा सरकारी स्तरमा कृषि विकासको आरम्भ सन् १९३७ मा कृषि परिषद् स्थापना सँगै भएको देखिन्छ । सन् १९५१ मा कृषि विभागको स्थापना भयो । पहिलो योजना देखि कृषि विकासलाई ध्यान दिँदै आइएकोमा पाँचौ योजना (सन् १९७५-१९८०) देखि कृषिलाई सबैभन्दा बढी प्राथमिकतामा राखियो । तर योजनामा भएका नीति तथा कार्यक्रम प्रभावकारी ढंङ्गबाट लागू नहुने स्थिति अहिले सम्म उस्तै छ ।

पहिलो त नेपालमा सामान्य शिक्षा पनि सर्वसुलभ हुन सकेको छैन । अझै एक तिहाइ मानिस निरक्षर छ्न । कृषि शिक्षा जस्ता प्राविधिक शिक्षाको पहुँच सहज र सरल ढंगले उपलब्ध छैन । जसले गर्दा चाहना राख्ने व्यक्तिहरुले समेत यस्तो शिक्षा हासिल गर्न सक्दैनन् । कृषि शिक्षा दिने गरेका संस्थाहरु ज्यादै सिमित छ्न । अहिलेको शिक्षाले समाजमा विद्यमान कृषि कर्मलाई हेय भावले हेर्ने प्रवृत्तिमा सुधार आउन अत्यन्तै आवश्यक छ । कृषिको महत्त्व बुझ्न नसक्दा समाजमा कृषि अपहेलित पेशाका रूपमा रहेको छ । अलिकति पढिसके पछि कृषि कर्म गर्न हुँदैन भन्ने मान्यता रहेको छ । प्रायः नपढेका व्यक्ति मात्र कृषि कर्ममा लाग्दा कृषिमा आधुनिकीकरण हुन सकेको छैन, केवल परम्परा धान्ने काम मात्र भएको छ ।

नेपालमा अझै आधा जति खेती योग्य जग्गामा सिँचाइ सुविधा छैन । यस्ता जग्गामा मौसम राम्रो भए मात्र उब्जनी हुन्छ । पछिल्लो समय जलवायु परिवर्तनले मौसम धेरै जसो प्रतिकुल नै रहने गर्छ । मौसमी खेती अति नै जोखिमपूर्ण हुन्छ । त्यसैले यस्ता जग्गामा आश्रित मानिसहरु कृषि पेसाबाट क्रमशः पलायन भइरहेका छन् ।

नेपालमा कृषि यस्तो क्षेत्र बन्न पुगेको छ जहाँ किसान  कृषि उपजको मूल्य बढ्दा पनि घट्दा पनि नोक्सान बेहोरिरहेका हुन्छन् ।

एकातिर पर्याप्त पुर्वाधार अभाव र अर्कातिर निर्वाहमुखी खेतीले गर्दा कृषि उपजको पर्याप्त बजारीकरण हुनसकेको छैन । पछिल्लो समय यातायातको पहुँच पुगेको र बजार नजिकैको ठाँउमा व्यवसायिक रूपमा कुखुरा पालन, तरकारी खेती, दूध उत्पादन शुरू भएको देखिन्छ । कोल्ड स्टोर तथा प्रशोधन उद्योगहरुको अभावका कारण उत्पादित कृषि उपज प्रशोधन गरी लामो समय राख्न सकिने स्थिति छैन । समय समयमा दूध र तरकारी किसानहरुले सडकमा पोख्ने गरेको समाचार आउछन् । कृषि उत्पादनको मूल्य घटबढ भइरहन्छ । अझै उदेकलाग्दो कुरा त के भने उत्पादन बढी हुँदा बजार मूल्य घट्छ जसले गर्दा किसानको आम्दानी कम हुन्छ । अर्कोतर्फ जुन बेला उत्पादन कम हुन्छ, बजारमा मूल्य त बढ्छ तर बेच्नका लागि किसानसँग कृषि उपज नै हुँदैन । नेपालमा कृषि यस्तो क्षेत्र बन्न पुगेको छ जहाँ किसान कृषि उपजको मूल्य बढ्दा पनि घट्दा पनि नोक्सान बेहोरिरहेका हुन्छन् ।

राजनीतिक अस्थिरता र ठूलो जनसंख्याले सिर्जित बेरोजगारी समस्या हल गर्न सरकारी स्तरबाट नै वैदेशिक रोजगारीलाई प्रोत्साहन र प्रवर्द्धन गरिएकाले पनि नेपालमा कृषि श्रमको अभाव छ । जग्गा जमीन नभएका व्यक्ति मात्र होइन, प्रशस्त जग्गा जमीन भएका परिवारका सदस्य पनि विदेशिने गरेका छ्न् ।

हाल समस्त विश्व नै कोरोना भाइरसको चपेटामा परेर त्रसित छ र वैदेशिक रोजगारीमा गएका नेपालीहरु रोजगारीविहीन भएका छ्न । अब रोजगारी गुमेका ती लाखौँ युवाहरू नेपाल फर्के लगत्तै सरकारले कृषिमा जोडदार रूपमा प्रस्तुत हुन अपरिहार्य देखिन्छ । र कृषि क्रान्ति गर्न यो भन्दा सुनौलो अवसर नेपालले फेरि फेरि पाउने छैन ।

आर्थिक विकास र समृद्धिको आधार कृषि क्षेत्रको आमूल परिवर्तनले मात्र सुनिश्चित गर्दछ । संसारका विकसित देश कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिकीकरण र भूमिको उच्चतम प्रयोग गरेर नै समृद्ध बनेका हुन् ।

युवा अभियन्ता आदित्य नेपाललाई nepalaaditya99@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

168 Total Views 1 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here