गिरिजाबाबुको सत्तामोहले मुलुक विदेशीको चंगुलमा फस्यो : प्रकाश कोइराला

0
615
  • ‘क्रान्तिकारी बन्ने धुनमा प्रचण्डले पनि विदेशी षड्यन्त्रको भेउ पाएनन्’
  • ‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विदेशीको एजेण्डा’
  • ‘भारतमा मोदी र चीनको आर्थिक उदयको प्रभावले नेपालमा नयाँ राजनीतिक कोर्सको सम्भावना’
  • बिपी पुत्र प्रकाश कोइरालासँगको विशेष अन्र्तवार्ता

 (जननेता विपी कोइरालाका पुत्र प्रकाश कोइराला नेपाली काँग्रेसको वर्तमान राजनीतिक व्यवहार र विचारभन्दा भिन्न धारमा उभिएका छन् । बार्ह बुँदे समझदारीदेखिको हालसम्मको राजनीतिक कोर्सभन्दा भिन्न सोच राख्ने प्रकाश नेपालका नेताहरु विदेशी चलखेलको चंगुलमा फसेको बताउँछन् । भारतमा नरेन्द्र मोदी र विश्व भुराजनीतिमा चिनको उदयले नेपालको राजनीतिमा पनि अब ठूलो फेरबदल ल्याउने उनको विश्लेषण छ । प्रस्तुत छ, पछिल्लो राजनीतिक परिस्थितिबारे पुराना राजनीतिकर्मी एवं राष्ट्रवादी सोच राख्ने प्रकाश कोइरालासँग रातोपाटीका लागि कुसुम भट्टराईले गरेको कुराकानी)

नेपाली राजनीतिको दिशा कता गइरहेको छ ?

मुलुक अस्थिरतातर्फ गइरहेको छ । मुलुकलाई अहिले स्थायित्व चाहिएको छ । सात आठ वर्ष यता मुलुकमा स्थायित्व भएन । स्थायित्व नभएमा विकास पनि हुँदैन । स्थायित्व भएमा मात्र समृद्धी हुन्छ । बिडम्बना नेपालका राजनीतिक दलहरुले नेपाली जनता र अन्र्तराष्ट्रिय समुदायको विश्वास गुमाइसकेका छन् । नेपाली जनतामा यिनीहरुप्रति किन विश्वास छैन भने एक पटक संविधान बनाउन मत दिएकै हुन् । बनाउन सकेनन् । अहिले अर्को मौका पनि गुमाउने छाँटकाँट देख्दैछु । संविधानसभामा दलहरुबीच जुन बाद बिबाद भइरहेको छ, त्यसले फेरी पुरानै घाउ बल्झिएको देखिन्छ । अहिले जुन जुन मुद्दामा नेताहरु बहस गरिरहेका छन्, त्यो निरर्थक छ ।

प्रकाश कोइराला
प्रकाश कोइराला

 कुन मुद्दाको बहस निरर्थक भन्न खोज्नुभएको ?

उही गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको मुद्दा । यी तीनवटा मुद्दाले मुलुकलाई अन्यौलमा पा¥यो । हाम्रो मुल मुद्दा अर्कै हो । तीन करोड नेपालीमा अझै पनि पचास लाख नेपाली एक छाके छन् । बिहान खाए भरे के खाने भन्ने समस्यामा छन् । उनीहरुलाई हामीले दुई छाके बनाउन सकिरहेका छैनौँ । योभन्दा अर्को बिडम्बना के हुनसक्छ ? हामी मानवअधिकार, महिला अधिकार, बाल अधिकारका कुरा त गर्छौं, तर भोका निमुखा जनताको पक्षमा कसैले आवाज उठाउँदैन । विदेशीहरुकै आँकडा अनुसार नेपालमा पचास प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनी छन्, उनीहरुको जिवनस्तर उकास्न कुनै दलको सरकारले केही पहल गरिरहेको देखिँदैन । हरेक दिन तीन हजार युवा विदेशीदै छन् । विदेशीले धमाधम नागरिकता पाईरहेका छन् । बेरोजगारलाई रोजगारी दिनुपर्यो । यो हो नी असली मुद्दा । नेपालको मुल मुद्दा त यी हुन नी । तर अनावश्यक मुद्दामा चर्को बहस गरेर समय खेर फाल्ने काम भइरहेको छ ?

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता नेपाली जनताका एजेण्डा हैनन् र ?

पटक्कै हैनन् । ती बिदेशी एजेण्डा हुन् । धेरै पहिलेदेखी भारतले नेपाललाई आफ्नो पूर्ण अधिन र प्रभाव क्षेत्रमा पार्न चाहन्थ्यो र त्यसको मार्गमा राजतन्त्र नै देखिएको थियो । त्यसैले भारत कसरी राजतन्त्र धपाउने भनेर निहुँ खोजीरहेको थियो । राजतन्त्र धपाउन पाएमा नेपालका दलहरुलाई त हामी किनिहाल्छौँ नि भन्ने भारतको सोच थियो । भारतको तात्कालीन सोनीया गान्धी सरकारको ध्येय नै राजतन्त्र खेद्ने थियो । तर राजतन्त्र हटाउँदा भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको सन्देश अन्र्तराष्ट्रिय जगतमा जानसक्थ्यो । भारत ३० वर्षअघिको घटना न दोहोरियोस् भन्ने चाहन्थ्यो । ३० वर्षअघि राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव ल्याउँदा विश्वका ११६ मुलुकले समर्थन गरेका थिए । भारतले समर्थन नगर्दा ऊ अन्र्तराष्ट्रिय मञ्चमा एक्लो परेको थियो । संयुक्त राष्ट्र संघमा भारतलाई बोल्न अप्ठ्यारो भएको थियो । ‘एउटा सानो छिमेकीसँग किन पूर्वाग्रह राखेको ?’ भनेर अन्य मुलुकका प्रतिनिधिले प्रश्नमाथि प्रश्न गरेका थिए । यसपाली राजतन्त्र हटाउँदा आफू अन्र्तराष्ट्रिय समुदायमा एक्लिनु नपरोस् भनेर भारतले यसमा चलाखी ग¥यो । उसले अन्र्तराष्ट्रिय सहयोग जुटाउन अमेरिका र युरोपियन युनियनको सहयोग लियो । त्यसक्रममा भारत सरकार र पश्चिमा मुलुकबिच लेनदेन भयो ।

कस्तो लेनदेन भयो ?

अमेरीका र इयूले ‘ल ठिक छ राजालाई हटाउ, तर हाम्रो पनि नेपालमा रुची छ’ भनेर भारतलाई भने । अमेरीकाको अभिष्ट थियो, नेपाललाई आधार बनाएर चीनलाई कस्ने । अमेरीकाको घनिष्ठ युरोपियन युनियनको स्वार्थ क्रिश्चियन धर्म प्रचार थियो । त्यसका लागि धर्म निरपेक्षताको कुरा ल्याइयो । बाह्र बुँदे समझदारी र बृहत शान्ति सम्झौताका क्रममा भारत, अमेरीका र इयूबीच यसरी लेनदेन भयो । भारतलाई राजतन्त्र हटाउनु थियो, त्यसमा सफल भयो । अमेरीकालाई नेपालमा खुट्टा दरिलो पार्नु थियो, किनकी चीन महाशक्ति मुलुकका रुपमा डरलाग्दो गरी आएको थियो । युरोपेली युनियनको क्रिश्चियन धर्म प्रचारको स्वार्थ पनि पुरा भयो ।

दुर्भाग्य के भने विदेशीको यो जालोमा नेपालका दलहरु फसे । त्यसको मुल नेतृत्व गिरिजा प्रसाद कोइरालाले गर्नुभयो । गिरिजाबाबुबाट त्यसबेला ठूलो मिस्टेक भयो । दिल्लीमा भएको बाह्र बुँदे समझदारीमा गिरिजाबाबु र प्रचण्डजीले हस्ताक्षर गर्नुभयो । सायद प्रचण्डजीलाई त्यो सब खेलमा विदेशी चलखेल भएको भन्ने थाहा नहुन सक्छ । जनयुद्धलाई शान्तिपूर्ण अवतरण गराएर राजतन्त्र ढाल्न पाए आफु क्रान्तिकारी नेता भइन्छ भन्ने भ्रम प्रचण्डजीलाई भयो । उहाँलाई नेपालको एक मात्र क्रान्तिकारी नेता हुनुथियो । गिरिजाबाबुमा भने बाचुञ्जेल सत्तामा जान पाइने मोह थियो । तर उहाँहरुले अन्र्तराष्ट्रिय षडयन्त्रको जालोलाई चिर्नसक्नु भएन । त्यो जालोमा आफू त फस्नुभयो, मुलुकलाई पनि फसाउनुभयो ।

त्यसबेला नेपालको अर्को छिमेकी चिनको कुनै भूमिका थिएन ?

बाह्र बुँदे समझदारी र बृहत शान्ति सम्झौताका क्रममा चीन एक्लियो । ऊ हाम्रो छिमेकी मुलुक, तर चीनलाई बाइपास गरियो ।

चीन कसरी एक्लीयो ?

सन् २००६ को बेला भारतमा मनमोहन सिंह र सोनीया गान्धीको एउटा सोसलीस्ट सरकार थियो । त्यो संयुक्त सरकार थियो र त्यसमा बामपन्थी शक्तिहरु पनि प्रभावकारी थिए । भारतका बामपन्थी शक्तिको सहयोगमा प्रचण्डजी हुनुहुन्थ्यो, कांग्रेस, एमाले र तराईका अन्य दलहरु सोनीया गान्धीको प्रभावमा थिए । बाह्र बुँदे समझदारीमा त्यो शक्ति समीकरणले काम गर्यो । भारत, अमेरीका र इयूको बृहत गठबन्धन भयो र त्यसबाट चीन एक्लियो । तर अब त्यो पहिलेको समीकरणमा बदलाव आइसकेको छ ।

भारतमा नरेन्द्र मोदीको उदयले नयाँ बदलाव ल्याउने संकेत देखिएको हो ?

अवश्य । अब त्यसबेलाको ‘सिनारियो’ मा फेरबदल आएको छ । अब सबै ‘मोदी इफेक्ट’ भन्न थालेका छन् । मोदीको प्रभाव नेपालमा पनि देखिन थालको छ । भारतका भ्रष्टाचारी धमाधम कार्वाहीमा पर्न थालेका छन् । चीनमा २ सय ५० जना भ्रष्टाचारी कार्वाहीमा परेका छन् । नेपालका टेलिभिजनहरुमा खिम्ती र भोटेकोशी प्रोजेक्टमा भएका घोटालाका बारेमा समाचार आइरहेका छन् । अब नेपालमा पनि चीन र भारतको प्रभाव पर्छ पर्छ । नरेन्द्र मोदी अत्यन्त धार्मिक मानिस । राजनीतिक हिसाबले हेर्दा उनी ‘एक्सट्रीम राइटिस्ट’ (दक्षीणपन्थी) हुन् । उनी कम्युनिष्टहरुलाई मन पराउँदैनन् । नेपालका माओवादीका भारतीय समर्थक सिताराम यचुरी र प्रकाश करातहरु चुनावमा नराम्ररी हारेका छन् । कांग्रेस र एमालेका मित्र भनिएका सोनीया गान्धीको दल पनि चुनावमा साफ भइसके । त्यसैले नेपालका दलहरु अहिले छटपटाएका छन्, हैन के हुन थाल्यो ? भनेर । मोदी इफेक्ट कस्तो भने मोदीले प्रधानमन्त्री हुनुअघि नै सार्कका साबै सरकार प्रमुखहरुलाई आफ्नो सपथ ग्रहण कार्यक्रममा बोलाइदिए ।

मोदी इफेक्टले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र फर्काउला ?

म त्यसरी सोझै केही भन्न चाहन्नँ । तर प्रभाव पर्छ । म भन्छु, गणतन्त्र राष्ट्रिय मुद्दा नै हैन । पचास लाख भोका जनतालाई गणतन्त्र र संघीयतासँग के मतलब ? उनीहरुलाई दुई छाकसँग मतलब छ । हाम्रा नेताहरुको नजरमा मुलुक भएन । दल हावी भयो । दल र गुटगत स्वार्थ कुन हदसम्म हावी भयो भने मुलुकलाई यिनीहरुले बिर्सिए । नेताहरु मुलुकप्रति जिम्मेवार भएनन् । समानुपातिक व्यवस्था ल्यायौँ भन्छन्, लाग्छ स्वर्ग नै ल्याएजस्तो । मलाई लाग्छ नेपालमा नेताहरुले चेतेनन भने प्रजातान्त्रिक अभ्यास फेलीएर हुँदैछ । थाइल्याण्डमा पनि त्यस्तै छ । त्यहाँ १९३२ मै प्रजातन्त्र आएको हो । त्यहाँ पनि मानिसहरु भन्दैछन् कि प्रजातान्त्रिक अभ्यास फेलीएर हुँदैछ ।

नेपाली राजनीतिको गंगा कहिलेदेखी धमिलिएको हो ?

सात सालदेखी नै धमिलियो । अब हेर्नुस् भारत ठूलो राष्ट्र हो । उसले नेपाल आफ्नो प्रभाव क्षेत्रमा रहोस् भन्ने चाहनु उसको राष्ट्रिय हित होला । तर नेपालको राष्ट्रिय हित के हो ? नेपाल सार्वभौम स्वतन्त्र मुलुक हो । त्यो नेपाली नेताहरुले हेरेनन् । सात सालमा भएको दिल्ली सम्झौतामा कांग्रेस थिएन । त्यो सम्झौता भारत र मोहन शम्शेरबीच भएको थियो । राजा त्रिभुवनलाई भारतले नै भगाएका थिए । जब बिपी भारत जानुभयो, जवाहरलाल नेहरुले भने, ‘सम्झौता तो हो चुका अब आप यहाँ क्यों आए है ।’ त्यो सम्झौतापछि श्री ३ मोहनशम्शेर कमजोर भए । मोहन शम्शेर कमजोर हुनु भनेको खासमा नेपाल कमजोर हुनुथियो । किनकी, त्यसबेलासम्म मोहन शम्शेर मात्र खेलाडी थिए । भारतले राजा त्रिभुवनलाई गद्दीमा बसाएर अर्का खेलाडी बनाए । अब तेस्रो खेलाडी पनि तयार गर्नु थियो भारतलाई । अनी उसले नै पछि नेपाली कांग्रेसका नेताहरु मातृका प्रसाद कोइराला र विपी कोइरालालाई भन्यो, ‘अब आप लोग क्रान्ति किजिए । हम आप के साथ है ।’ जब क्रान्ति भयो, सम्झौता भयो, अनी फेरि हात हतियारको राजनीति सुरु भयो । नेपालका खेलाडीहरुलाई आपसमा जुधाउने खेल सुरु भयो ।

 संसारमा जति पनि क्रान्ति हुन्छन् त्यो आफ्नै मुलुकमा सुरु हुन्छन् र स्वदेशमै टुंगिन्छन् । नेपाली क्रान्तिको बिडम्बना के भने यहाँ क्रान्ति यहाँ जन्मिन्छ, सम्झौता हुन्छ दिल्लीमा । दिल्लीमा सम्झौता भएपछि उसको हात माथि हुने नै भयो । भारतको हात माथि हुने नै भयो ।

बिपी कोइरालालाई त्यो कुरा थाहा थिएन ?

बिपी कोइरालाले जिवनको अन्तकालतीर मात्र महसुस गर्नुभयो की उहाँ भारतबाट सञ्चालित भएर राजनीति गरिरहनुभएको रहेछ । उहाँले हामीसँग भन्नुभएको थियो, अहिलेसम्म त भारतबाट सञ्चालित भएर राजनीति गरिरहेको रहेछु, अब भने स्वतन्त्र नेपालको नागरिक भएर राजनीति गर्छु ।’ उहाँमा त्यो रियलाइजेशन भयो । अनी बल्ल राजासँग मेलमिलापको राजनीति सुरु गर्नुभयो । त्यही मेलमिलापको प्रतिफल जनमत संग्रह हो । बिपी अझ बाँचेको भए नेपालमा आफ्नै बलबुतामा प्रजातन्त्र आउँथ्यो र प्रजातन्त्र लड्खडाएको थिएन ।

 जनमत संग्रहमा बहुदल हार्ने कुरा भारतलाई पहिले नै थाहा थियो भनिन्छ नी ?

त्यो कुरा मैले नै बिपी कोइरालालाई भनेको हुँ । भारतीय राजदूत केएन चक्रवर्तीले मलाई दुतावास डाकेका थिए । उनले मलाई अली अली दारु खुलाएर भने, ‘अरे प्रकाशजी आप लोग हार रहे है ।’ मैले भने, ‘हामी कसरी हार्छौँ ? कस्तो कुरा गर्नुभएको ? हामी त जित्दैछौँ ।’ राजदूत चक्रवर्तीले भने, ‘आप लोग चार लाख भोट से हार रहे है ।’ घर फर्कदा बिपी कुरिरहनु भएको थियो । उहाँलाई थाहा थियो, म भारतीय दुतावास गएको । उहाँले सोध्नुभयो, ‘चक्रवर्ती के भन्छन् ?’ मैले भनिदिएँ, ‘हामी हार्छौँ भनेर ।’ जब परिणाम आयो, बहुदल हा¥यो । अनी बिपीले सोध्नुभयो, ‘राजदूतले हामी कतिमा हार्छौँ भनेका थिए ?’ मैले भनें, ‘चार लाखले ।’ ठयाक्कै मिल्यो । बिपी पनि छक्क पर्नुभयो ।

बिपी कम्युनिष्टसँग नमिल्नुको कारण के थियो ?

बिपी कोइरालालाई इतिहासको बोध थियो । ७० वर्ष पहिले चीनमा एक मात्र प्रजातान्त्रिक नेता थिए, च्याङ काइसेक । माओ र लिलि सानको पनि खासै प्रभाव थिएन । त्यसबेला अमेरिका जापानसँग युद्धमा थियो । अमेरिकाले जापानलाई हराउनु परेको थियो । उसले च्याङ काइसेकलाई दबाब दिँदै भन्यो, ‘तिमीहरु प्रजातान्त्रिक शक्तिले मात्र हुँदैन, गुरील्ला बामपन्थीसँग छन्, तिनीहरुसँग मिल ।’ अनी च्याङ काइसेकले लिली सानसँग हात लिए । जापान त हार्यो, तर प्रजातान्त्रिक शक्ति भन्दा शक्तिशाली भएर चीनियाँ कम्युनिष्ट पार्टी र माओको उदय भयो । अमेरीकाको राष्ट्रिय स्वार्थमा च्याङ काइसेक नफसेको भए चीनमा कम्युनिजम आउँदैनथ्यो । त्यो कुरा बिपीले बुझ्नुभएकाले उहाँले कम्युनिष्टसँग सहकार्य नगर्नुभएको हो ।

तपाईं त २०४६ सालको आन्दोलनको पनि विरोधी हुनुहुन्थ्यो हैन ?

मलाई नेताहरु भन्थे, ‘प्रकाशजी तपाई राजनीतिमा नैतिकता खोज्नुहुन्छ, हामी नैतिकता खोज्दैनौँ, व्यवहारीकता खोज्छौँ ।’ २०४५ सालमा भारतले नेपालका नाकाबन्दी गर्दा मैले नाकाबन्दीको विरोध जनाएँ । मैले नेताहरुलाई ‘२०४६ सालको आन्दोलन नगर्नुस्, यसले भारतलाई सघाउ पुग्छ, उसको नाकाबन्दीलाई सघाउ पुग्छ, नेपाललाई सघाउ पुग्दैन’ भनेको थिएँ । त्यसबेला किशुनजीले भन्नुभएको थियो, ‘कुरा त ठिकै हो प्रकाशबाबु, तपाईले नैतिक कुरा उठाउनुभयो, कुरा सही हो । तर राजनीतिमा नैतिकता मात्र हैन, व्यवहारीक कुरा पनि हेर्नुपर्छ ।’

नाकाबन्दी किन भएको थियो ?

मलाई जहाँसम्म सूचना भए अनुसार राजा वीरेन्द्रले भारतबाहेक तेश्रो मुलुकबाट हतियार नेपालमा भित्र्याए । त्यसको जानकारी भारतलाई भएन । नेपाललाई आफ्नो प्रभाव ठान्ने भारतले राजालाई त्यसकै सबक सिकाउन नाकाबन्दी गरेको हो ।

२०४६ सालको आन्दोलन ठीक थिएन ?

त्यसताका भारतले नेपालका तमाम नेताहरुलाई भन्यो, ‘आप लोग आन्दोलन किजिए । समय आ गया है क्रान्तिका ।’ खासमा भारतको अर्कै उद्देश्य थियो । न त क्रान्ति गर्नुथियो, न नेताहरुलाई क्रान्तिकारी बनाउनु थियो । एउटै उद्देश्य थियो, राजालाई झुकाउनु । त्यो कुरा मलाई थाहा थियो ।

भारतमा नरेन्द्र मोदी आइसकेपछि अब भारतले नेपाललाई हेर्ने पुरानो सोचमा परिवर्तन आउला त ?

अवश्य । मोदी इफेक्टले धेरै कुरामा परिवर्तन ल्याउँछ । मोदी इफेक्टबारे अहिलेसम्म हाम्रा नेताहरुलाई थाहा छैन । भारतमा आफ्ना हितैसी चुनाव हारेकोमा नेपाली नेताहरु चिन्तित छन् । मोदी अत्यन्त राष्ट्रवादी हुन् । अनि राजनीतिक रुपमा राइटिष्ट हुन् । अब नेपालमा कुन कुन शक्तिलाई त्यसबाट लाभ मिल्छ, हेर्दै जानुहोला । नेपाललाई लिएर पहिले भारत, अमेरिका र युरोपीयन युनीयनबीच जुन बृहत गठबन्धन थियो, त्यो अब भत्किने संकेत देखिइसकेको छ । मोदीको एजेण्डा आर्थिक हो । उनको आर्थिक एजेण्डाले उनलाई चीनतीर नजिक गराउनेछ । अमेरीकाको आर्थिक स्थिति झर्दो छ । चीन उदाइसकेको छ । हैन भने पश्चिमाहरुले सिरियालाई लिइसकेका हुन्थे, मध्यपूर्वको नक्सा बदलीएको हुन्थ्यो । सात–आठ वर्ष यता चीनको आर्थिक विकासले यसरी फड्को मा¥यो की त्यसले अमेरिकालाई रक्षात्मक अवस्थामा धकेल्यो । अन्र्तराष्ट्रिय क्षेत्रमा चीनको आर्थिक विकासले भुईंचालो ल्याएको छ । चीनको भुईंचालोको असर कहाँ कहाँ पर्छ हेर्दैै जानुस् । ओबामाले जुन प्रजातन्त्र र मानवअधिकारको रट लगाउँथे, त्यसमा कम हुन थालिसक्यो । चीनसँग त त्यसको उच्चारण पनि गर्दैनन् । बरु ओबामा भन्न थालेका छन्, ‘सय वर्षसम्म अमेरिकाले एक छत्र संसारको नेतृत्व लियो, अब चीन र अमेरीका मिलेर नेतृत्व गर्नुपर्छ । अब हामीले मिलेर अघि बढौँ ।’ अमेरिका त्यही अमेरिका हो जसले रुसलाई १३ खण्डमा विभाजित गरिदियो । अहिले इयू र अमेरीका मिलेरसमेत युक्रेनलाई केही गर्न सकिरहेका छैनन् ।

मोदीको उदय नेपाललाई फाइदाजनक छ ?

हामीले फाइदा लिनसक्नुपर्छ । परिस्थिति अनुकुल छ । मोदी सरकारको नीति पुरै भारतको विकासको पक्षमा हुनेछ । त्यसैले उनको ध्यान नेपालमा स्थायित्व कसरी गर्ने भन्ने हुन्छ । नेपालमा शान्ति र स्थायित्व चीनको पनि एजेण्डा हो । अब हेर्र्दै जानुस्, नेपालमा त्यसको प्रभाव । हाम्रा नेताहरु भने अहिलेसम्म इतिहासको पानामा रमाइरहेका छन् । विश्वमा नयाँ प्रसंग आइसक्यो, नेपालका नेतृत्व वर्गको बोली नूर गिरेको देख्छु ।

अन्त्यमा पहिलेकै जिज्ञासा, नेपालमा राजतन्त्र फर्कला त ?

म त्यसरी ठोकेर भन्न सक्दिनँ । चार महिना पहिले अफ्रिकाको पत्रिका ला मुन्डेका एक पत्रकार नेपालमा पच्चिस दिन बसे । उनी मलाई पनि भेट्न आएका थिए । नेपालको अवस्थाबारे मैले उनलाई भनेको थिएँ, ‘संसारमा या त एकतन्त्रीय शासन हुन्छ या प्रजातान्त्रिक । नेपालमा न त प्रजातान्त्रिक शासन छ, न एकतन्त्रीय । एडक स्टेट छ । काम चलाउ राष्ट्र । यसलाई तदर्थ भन्नुस् । कुनै मुलुक तदर्थ हुनसक्छ ? आठ वर्षदेखी संविधान छैन । त्यसैले जर्बजस्ती थोपरिएका गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका मुद्दामा पुनर्विचार हुनुपर्छ । ती मुद्दामा पहिले नै जनमतसंग्रह हुनुपथ्र्यो ।

अब निकास के छ त ?

नेताहरुले सत्ताको हानाथाप छाडेर नयाँ विश्व परिवेश अनुसार आफुलाई ढाल्दै मिल्नुप¥यो । सबैभन्दा बढी सत्तामा बसेको गिरिजाबाबु । उहाँ बढी सत्तामुखी हुनुभयो । उहाँ मेरो काका । तर उहाँले मुलुक बिर्सनुभयो । गिरिजाबाबुबाट भएको गल्ती अहिले बाँचेका नेताहरुले दोहो¥याउनुभएन । उहाँहरु मिल्नुभएन भने भविश्य राम्रो देख्दिनँ । विश्वमा नयाँ परिवेश र अवस्था बनिसकेको छ, त्यसबाट भाग्ने हैन, स्वीकार गर्ने हिम्मत हुनुप¥यो ।

मनीषा कोइराला र सिद्धार्थको खबर के छ नी ?

मनिषा पूर्ण रुपमा क्यान्सर मुक्त भइसकेकी छन् । तैपनि चिकित्सकले दुई वर्षसम्म भिडभाड र ग्ल्यामरस् जगतबाट टाढै रहन भनेका छन् । खानपान र जिवनशैलीमा सजगता अपनाउन भनेका छन् । अहिले उनी मुम्बईमै छिन्, एक महिनापछि नेपाल आउँदैछिन् ।

मनीषा राजनीतिमा आउँदिनन् ?

मैले नै उनलाई राजनीतिमा त्यति प्रोत्साहीत गरेको छैन । अहिले नेपाली राजनीतिको जुन स्तर छ, त्यो स्तर नै गएगुज्रेको भयो । मनीषाका लागि यस्तो स्तरको राजनीति सुट हुुँदैन ।

सिद्धार्थ के गर्दैछन् ?

सिद्धार्थ व्यापार गर्न खोजीरहेका छन् । अनी उनमा राजनीतिप्रति पनि रुची छ । तर राजनीति उनले आफ्नै क्षमताले गर्नुपर्छ । कसैको छोरा वा नातीको हिसाबले हैन भन्ने मेरो सल्लाह छ ।

साभार : रातो पाटी अनलाइन, http://www.ratopati.com/2014/06/25/146372.html