चैतमा डरलाग्दो स्थिति आउन सक्छ : कमल थापा

0
396

‘३० हजार मानिसलाई गोली हान्न मिल्दैन’

२३ माघ, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चैतमा काठमाडौंमा डरलाग्दो स्थिति आउन सक्ने राजनीतिक विश्लेषण गरेका छन्।

एमाओवादी मोर्चाले राजधानीमा ३०/४० हजार कार्यकर्ता उतारेर सिंहदरबार छिर्न सक्ने भन्दै थापाले त्यसबेला उनीहरुमाथि गोली हान्न नमिल्ने बताए।

जनआन्दोलन ०६२/०६३ मा गृहमन्त्रालय सम्हालेको अनुभवका आधारमा थापाले अनलाइनखबरसँग भने- ‘एमाओवादी र मधेसवादी दलसँग देशभरिबाट ३०/४० हजार कार्यकर्ता काठमाडौं ल्याउन सक्ने क्षमता छ। उनीहरु सिंहदरबार, संविधानसभामा छिर्न खोजे भने गोली हान्न मिल्दैन।’

माओवादीले भरुवा बन्दुकबाट जनयुद्ध सुरु गरेर यहाँसम्म आइपुगेको भन्दै थापाले यो कुरा नबिर्सन कांग्रेस र एमालेलाई आग्रहसमेत गरे।kamal-thapa

पछिल्लो राजनीतिक घटनाक्रमबारे थापाको राजनीतिक विश्लेषण उनकै शब्दमा : 

म एउटा कुरा टड्कारोरुपमा के देखिरहेको छु भने कांग्रेस र एमालेको अदुरदर्शिता, स्वेच्छाचारिता र दम्भका कारण फेरिपटक प्रजातन्त्र ध्वस्त हुने हो कि ? मैले यस्तो सम्भावनाका संकेतहरु प्रष्ट देखेको छु।

तीनवटा परिस्थिति

पछिल्लो केही महिना यताका तीनवटा घटनालाई म बडो सुक्ष्म ढंगले विश्लेषण गरिरहेको छु।

पहिलो- माओवादी, मधेसवादी दलको मोर्चा र कांग्रेस र एमालेको सत्तारुढ गठवन्धनको बीचमा संविधानका अन्तरवस्तुहरुमा त्यति धेरै ठूलो सैद्धान्तिक मतभेदहरु देखिँदैनन्। सैद्धान्तिक मतभेदहरु त आधारभूत रुपमै हामीसँग छ। तर, माओवादी मधेसी मोर्चा र सत्तारुढ दलहरुका बीचमा शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका बारेमा करिव करिव सहमति बनिसकेको हो।

हामीले यो पनि बिर्सन सकिँदैन कि माओवादीको जनयुद्ध सुरु हुँदा एउटा भरुवा, बन्दुक र सयजना ‘र्‍याक ट्याक’ गुरिल्लाको समूहले सुरु गरेको हो।

राज्य पुनःसंरचनामा पनि कतिवटा प्रान्त बनाउने र तराईका जिल्लालाई कहाँ राख्ने भन्ने मतभेद हो। यो ठूलो सैद्धान्तिक मतभेद होइन। तर, यति झिनो असैद्धान्तिक मतभेद, जसलाई केही घन्टा अथवा केही दिन धैर्यतापूर्वक छलफल गरेको भए शायद सहमतिको विन्दुमा पुग्न सकिन्थ्यो। तर, त्यसको विपरीत अहिले मुलुक ठूलो द्वन्द्वको भूँवरीमा फस्न लागेको अवस्था छ।

दोस्रो- अप्रत्याशित ढंगबाट माघ ८ को आसपास र त्यसपछि बाहृय शक्तिहरुको चलखेल तीव्र रुपमा बढेर गयो। भित्र कोठामा भेट्दा प्रक्रियाबाट अगाडि बढ भन्ने, सार्वजनिकरुपमा सहमति गरेर मात्र संविधान बनाउने भन्ने। यो द्वैध चरित्र प्रदर्शन भइरहेको छ।

तेस्रो- राप्रपा नेपाल, जसले आफ्नो एजेण्डा स्थापित नभए पनि विधि र प्रक्रिया मान्छु भनेर सकारात्मकरुपमा अगाडि बढेको पार्टीलाई अनायाश असंवैधानिक र अप्रजातान्त्रिक बखेडा झिकेर संविधान निर्माणको प्रक्रियाबाट अलग गर्न खोजिएको छ।

यी तीनवटै घटनाक्रमलाई हेर्दा म के देख्छु भने संविधान निर्माण ‘सेबोटेज’मा पर्‍यो। अब संविधान बन्ने सम्भावना कम हुँदै गयो। बन्यो भने पनि टिक्न नदिने खेल सुरु भयो जस्तो मलाई लाग्छ।

यही पृष्ठभूमिमा जिम्मेवार दलका जिम्मेवार नेताहरुले विवेक र वुद्धिमतापूवर्क अगाडि नबढ्ने हो भने आगामी चैत वैशाखमा राजनीतिक दुर्घटना अवश्यमभावी रुपमा म प्रष्टरुपमा देख्छु।

जनआन्दोलनको सम्भावना र नियन्त्रण बाहिर जाने खतरा

राप्रपा नेपालले जुन जनआन्दोलनको सम्भावना देखेको हो, त्यसको व्यापक परिवेश छ। त्यो ढीलो-चाँडो अवश्यम्भावी छ।

त्यो जनआन्दोलनको चरित्र कस्तो हुन्छ, म अहिले भन्न सक्दिँन। शान्तिपूर्ण प्रजातान्त्रिक ढंगबाट पनि कहिलेकाँही परिर्वतन गर्न सक्ने हुन्छ वा ध्वंसात्मक हुन पनि सक्छ।

तर, अहिले जुन किसिमको द्वन्द्वका चरित्रहरु देखा परेका छन्, त्यो मैले भनेको भन्दा फरक ढंगले आएको छ।

अहिले जुन अन्योल, अनिश्चितता र अराजकताको स्थिति सिर्जना भएको छ र जुन ढंगबाट राजनीतिक दलहरु अघि बढेका छन्, यो मुठभेडले परिस्थिति अब दलहरुको नियन्त्रणभन्दा बाहिर जान्छ भन्ने खतरा देखेको छु।

नबिर्सौं, जनयुद्ध भरुवा बन्दुकबाट सुरु भएको थियो

विपक्षीसँग जनमत छैन भनेर कांग्रेस र एमालेले भनेको बैधानिकरुपमा सही हो। उहाँहरुसँग दुई तिहाइ बहुमत छ र संविधान निर्माणका लागि यो संख्या पर्याप्त हुन्छ। तर, जनयुद्धको विद्रोह र जनआन्दोलनका केही मान्यता संस्थागत गर्ने पृष्ठभूमिका रुपमा यो संविधानसभाको चुनाव भएको हो।

आन्दोलनमा अहिले जनता आउँदै आउँदैनन्। तर, एमाओवादी र मधेसवादी दलहरुसँग देशभरिबाट ३०/४० हजार कार्यकर्ता ल्याउन सक्ने क्षमता छ। त्यो ३०/४० हजार कार्यकर्ता सडकमा उतारेपछि स्वभाविक रुपले डरलाग्दो परिस्थिति बन्न सक्छ।

कांग्रेस र एमाले र सूर्यबहादुरजीहरुको राप्रपाको मात्र कुरा गर्ने हो भने त ०४७ को संविधान नै पर्याप्त थियो नि। त्यो पर्याप्त छैन भनेर विद्रोह र आन्दोलनमा आएको शक्तिलाई पूर्ण निषेध गरेर संविधान प्रविधिकरुपमा बन्यो भने पनि अहिले तत्काल त जनबल छैन भन्ने आधारमा निषेध गर्न सकिएला।

तर, हामीले यो पनि बिर्सन सकिँदैन कि माओवादीको जनयुद्ध सुरु हुँदा एउटा भरुवा बन्दुक र सयजना ‘र्‍याक ट्याक’ गुरिल्लाको समूहले सुरु गरेको हो।

यो पनि बर्सिन हुँदैन। इतिहास बडो कठोर हुन्छ। माओवादी जन्माउने, हुर्काउने र यहाँसम्म ल्याएर पालेर पोषित गराउने काम पनि कांग्रेस र एमालेले नै गरेका हुन्। आज फेरि नयाँ ढंगबाट परिस्थितिलाई बिगार्ने काम पनि कांग्रेस र एमाले नै अग्रपंक्तिमा देखिएका छन्।

विसं. २००७ सालदेखि अहिलेसम्मको इतिहास हेर्दा प्रजातन्त्र संस्थागत हुन नसक्नुमा घटनाक्रमका विभिन्न पात्रहरु पनि जिम्मेवार होलान्। तर, मूलरुपमा प्रजातन्त्रलाई संस्थागत गर्न असक्षम हुनेमा कांग्रेस र एमाले नै जिम्मेवार छन्।

चाहे १७ सालको घटना होस्, चाहे ०६१ माघ १९ को होस्। ठीक थियो वा थिएन बहस गर्न सकिएला। तर, त्यो परिस्थिति कांग्रेस र एमालेले बनाएका हुन्।

फेरि प्रजातन्त्र त आयो तर, उनीहरुले कहिँ अन्त लगेर बुझाइदिने हुन् कि ? यसपटक त्यो बुझ्नेमा राजसंस्था त छैन। भनेपछि कुनचाहिँ त्यस्तो शक्ति आउने हो, जसलाई कांग्रेस र एमालेले बुझाउँछन् ? यो खतरा देखेको छु।

चैतमा डरलाग्दो स्थिति आउन सक्छ

सत्तामा बसेका व्यक्तिहरुले आन्दोलनलाई नियन्त्रित बनाउन र कमजोर पार्न प्रहरी, सरकारी फोर्सको परिचालन गर्नुका साथै वाक शक्तिको पनि प्रदर्शन गर्नुपर्छ। त्यसलाई म स्वभाविक मान्छु।

मेरो आफ्नो अनुभवले के भन्छ भने अहिले अधिकांश मान्छे संविधान बनोस् भन्ने पक्षमा छन्। त्यो संविधान कस्तो बन्नुपर्छ भन्ने चासो र चिन्ता पनि हुन छाडिसक्यो। यो अस्थिरता, अराजकताको श्रृंखलाको अन्त्य होस् र त्यो अन्त्य हुने आधार संविधान हो भनेर जनताले बुझेका छन्। त्यसकारण संविधान बन्न नदिने ढंगको आन्दोलनमा जनता स्वतःस्फुर्त सहभागी हुन्छन् भन्ने मलाई लाग्दैन।

अहिले यही कुरा बुझेर एमाओवादी र मधेस केन्द्रित दलहरु तत्काल संघर्षमा गइहालेनन्, हेर्नुस् त कति चलाखीपूर्ण काम गरेका छन् ?

अहिले जनता आउँदै आउँदैनन्। त्यसमाथि काठमाडौंको जनता झन आउँदैनन्। त्यही भएर उनीहरु देशभर विकेन्द्रितरुपमा गइरहेका छन्। मेरो अनुमानमा उहाँहरुले कार्यक्रम नै चैतदेखि राख्नुभएको छ।

काठमाडौंको मात्र नभएको हुनाले एमाओवादी र मधेसवादी दलहरुले चैतमा हुने आन्दोलनलाई निर्णायक बनाउन देशभरिबाट ३०/४० हजार कार्यकर्ता ल्याउन सक्ने क्षमता छ। त्यो ३०/४० हजार कार्यकर्ता सडकमा उतारेपछि स्वभाविक रुपले डरलाग्दो परिस्थिति बन्न सक्छ।

अनुभवकै कुरा गर्दा ०६२/०६३ को आन्दोलनका बेला बैशाख ८ गतेपछि जनता पनि सडकमा उत्रिएका हुन्। त्योभन्दा अगाडि जतिबेला हामीले रिङरोडभित्र कफ्र्यू लगाएका थियौं, नारायणगोपाल चोक, गोंगबु चोक लगायतका ८/९ ठाउँमा हजार, १५ सय, ५ सय, २ सय मान्छे जम्मा हुन्थे।

बैशाख ८ गते राजाबाट आहृवान भयो र हामीले कफ्र्यू हटायौं। अब राजाले छोड्ने भए भनेपछि जनता सडकमा उत्रिएका हुन् र ८ गतेदेखि अप्रत्यासित बन्यो।

भोलिपर्सी हुने पनि त्यही हो। यदि ३०/४० हजार कार्यकर्ता ल्याएर सडकमा ताण्डव नृत्य नचाए र अब यिनीहरुले जित्यो जित्यो भन्ने भयो भने जनता सडकमा आउँछन्। किनभने त्यो ३०/४० हजार आयो भने पनि गोली हानेर मार्न त सकिँदैन। ३०/४० हजारले भोलि सिंहदरबार, संविधानसभा भवन, राष्ट्रपति भवन कहीँ पनि प्रवेश गर्न खोज्यो भने गोली हान्न त सकिँदैन।

हाम्रो स्टेट मेसिनरी यति कमजोर र राजनीतिकरण भइसकेका छन् कि अनि त्योबेला कोल्याप्स हुन्छ र काम गर्न छाड्छ।

थापासँगको अन्तर्वार्ता पढ्नुस् 

कांग्रेस र एमालेको रिसले जनतासँग बेइमानी गर्न त भएन नि !

अनलाइन खबरबाट

http://www.onlinekhabar.com/2015/02/238272/