महिलाको काँधमा यति मात्र जिम्मेवारी छैन । बालबच्चाको हेरबिचार देखि घर परिवारका अन्य सदस्यहरू सम्मको हेरचाह गर्नु पर्ने दायित्व हुन्छ महिलाका जिम्मेवारीमा ।

चुना थापा

चुना थापा

यति बेला विश्व कोरोना भाइरस अर्थात् कोभिड–१९ को महामारी सँग जुधिरहेको छ । यसबाट सिङ्गो मानव जीवन त्रसित बनेको छ । यसले मानिसहरुको जनजीवनलाई निकै ठूलो चुनौती दिएको छ । मानिसलाई दिन काट्न असहज परिस्थिति बनाइदिएको छ । चलिरहेको जनजीवनलाई यसले लथालिङ्ग पारिदिएको छ ।

मानिसको जीवन मात्र होइन यसले देशको समग्र आर्थिक, राजनीतिक र सामाजिक परिवेशलाई नराम्रो सँग बिथोलेको छ । गत वर्ष डिसेम्बरको मध्यतिर चीनबाट शुरू भएर संसारैभर फैलिएको यो भाइरस अहिले संसारका २०० भन्दा बढी देशहरुमा फैलिसकेको छ र अहिले सम्म लाखौँ मानिसको ज्यानै गैसकेको छ, यो महामारीका कारण ।

आजसम्म यसको कुनै औषधि पत्ता नलागेको स्थितिमा यो अझ कति फैलिने हो, कति नोक्सान पुर्‍याउने हो निश्चित छैन । डिसेम्बर देखि आज सम्मको अवस्था हेर्दा यो एउटा सामान्य भाइरस हो । तर, यसको संक्रमण क्षमता निकै धेरै छ । त्यसैले यो भाइरस तत्काल नियन्त्रण हुने सम्भावना पनि देखिँदैन । तसर्थ यो अनिश्चितताको अवस्थाबाट हामी बिस्तारै बाहिर निस्कनु आवश्यक छ ।

सामाजिक मनोवैज्ञानिक असर

धेरै मानिसको रोजी-रोटी खोसिएको छ । आम्दानी ठप्प भएको छ । खास गरी दैनिक ज्यालादारीमा काम गरेर जिविका चलाउने मानिसहरूको जीवन अत्यन्त कष्टकर बन्न पुगेको छ । यसको परिणाम स्वरूप मानिसहरुलाई मनोवैज्ञानिक रूपमा ठूलो असर परेको छ ।

सामाजिक, आर्थिक, मनोवैज्ञानिक जटिलता लगायत अनेकौँ समस्याले गर्दा झण्डै तीन महिनाको यो बन्दाबन्दीको अवधिमा, नेपालमा मात्रै एघार सय भन्दा बढी ब्यक्तिहरूले आत्महत्या गरेका छन् । विश्वभर यसरी आत्महत्या गर्नेहरूको संख्या लाखौँ पुगिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

अर्कातिर, कतिपय मानिस आम्दानीको स्रोत बन्द भएर, खान नपाएर, भोकले मरेका छन । दैनिक काम गरेर आफ्नो परिवार चलाउने वर्ग रोजगारी गुमेको कारणले समस्यामा परेका छन् ।

स्कूल, कलेज बन्द भएकाले बिद्यार्थीहरू मानसिक दवावमा छन भने वृद्ध-वृद्धाहरु बिरामी हुँदा अस्पताल गएर उपचार गर्ने नपाइने भयले गर्दा मानसिक तनावमा छन् । गृहणीहरू दैनिक घर गृहस्थी चलाउन निकै कठिनाई भोग्दैछन् । अविभावकहरू आफ्ना बालबच्चाको भविष्य प्रति चिन्तित छन् ।

त्यस सँगै, आजको इण्टरनेटको जमानामा किशोर किशोरीहरू अश्लिल साइटको भिडियो लगायतका कूलतमा फस्ने उत्तिकै डर पनि रहेको छ । लामो समय सम्म, बलजफ्ती जस्तो गरी, घर भित्रै बस्दा मानिसहरूमा नकारात्मक सोचाइको विकास भएको छ । यसरी अझै कतिदिन घरमै बस्ने ? बाहिर जाउँ भाइरस सर्छ भन्ने उत्तिकै मनोवैज्ञानिक डर छ । यसरी घर भित्रै बसिरहँदा आर्थिक स्रोतहरू बन्द हुँदा दैनिक भान्सा कसरी चलाउने ? यो खालको समस्याले उत्तिकै पिरोलिरहेको छ ।

महिला माथि थपिएको छ बोझ

महिलाहरू पनि पहिलाको जस्तो घरायसी काममा मात्र सिमित छैनन् । अहिलेका शहरिया महिलाहरू विभिन्न प्रकारका रोजगारीमा संलग्न छन् । आत्मनिर्भरता तर्फ अग्रसर छन् । यसरी महिलाहरूले दोहोरो भूमिका निर्वाह गर्दै आएका छन् । बिहान बेलुकी घरको काम पनि महिलाले गर्छन् र दिउँसो कार्यालयमा पनि कर्तव्य पालना गरैकै छन् । दिनभरी कार्यालयमा काम गर्दाको थकाइ मार्न नपाउँदै घर पुग्ना साथ भान्सामा पस्नु पर्ने बाध्यता हुन्छ उनीहरूका लागि ।

महिलाको काँधमा यति मात्र जिम्मेवारी छैन । बालबच्चाको हेरबिचार देखि घर परिवारका अन्य सदस्यहरू सम्मको हेरचाह गर्नु पर्ने दायित्व हुन्छ महिलाका जिम्मेवारीमा ।

यति मात्र होइन । महिलाहरू धेरै खाले समस्यामा पनि परेका छन् । खुसी सँगै उनीहरूका लागि दुःख पनि सिर्जना भएका छन् । कार्यालय जान नपाउनुले आर्थिक समस्या परेको छ । आय आर्जनमा नकारात्मक असर परेको छ । यसको फलस्वरूप, महिलालाई चिन्ता छ, मनोवैज्ञानिक असर परेको छ ।

कतै हिडँडुल गर्न नपाएका कारण मानसिक रूपमा असर परेको छ । घरमा अरू बेला भन्दा बढी परिकार पकाउनु परेको छ । त्यसले गर्दा खर्च बढिरहेको छ । आम्दानीका स्रोतहरू बन्द भएका छन् । खर्चका बाटोहरू बढिरहेका छन् । सबै जना घरमा बसेको बेला महिलालाई शारीरिक रुपमा बढी परिश्रम गर्नु परेको छ । यसले पनि समस्या ल्याएको छ । यसो बाहिर तिर किनेर खाँउ भन्यो भने जताततै बन्द ! किनेर खाने  स्थिति छैन । त्यसैले जे खाने हो घरैमा आफैँ परिश्रम गर्ने अनि खाने गर्नु परेको छ ।

लामो समय देखि माइती जान नपाएर पीडामा रहेका छन कतिपय महिला । सिनेमा हल, ब्यूटी पार्लर जान नपाएर तनावमा छन् । त्यस्तै विद्यालय, कलेजहरू बन्द भएकाले पनि महिलालाई समस्या भएको छ । आफ्ना बालबालिकाको भबिष्यको बारेमा पनि उत्तिकै चिन्तामा छन् उनीहरू । विद्यालय पठाउन नपाउँदा साना बच्चाले गर्ने बदमासी, एक छिनमा कताकता पुग्ने, यस्तो बेला छ, बाहिर निस्कन दिने परिस्थिति छैन । यसरी केटाकेटीका पछि लाग्दा समेत महिलाहरू दिक्क भएका छन् ।

महिलाहरू धेरै खाले समस्यामा पनि परेका छन् । खुसी सँगै उनीहरूका लागि दुःख पनि सिर्जना भएका छन् । कार्यालय जान नपाउनुले आर्थिक समस्या परेको छ । आय आर्जनमा नकारात्मक असर परेको छ । यसको फलस्वरूप, महिलालाई चिन्ता छ, मनोवैज्ञानिक असर परेको छ ।

बच्चाहरूलाई धेरै समय दिनु पर्ने, उनीहरूका आवश्यकता पूरा गरिदिनु पर्ने जस्ता बाध्यताहरु पनि महिलाले नै भोग्नु परेको छ । यो बन्दाबन्दीको अवस्थाले गर्दा महिलाहरूलाई शारीरिक दुख त भएको छ नै यसका साथै आर्थिक र मनोवैज्ञानिक असर पनि परेको छ । 

राम्रा पक्ष पनि छन्

तर अहिले कोरोना भाइरसको सङ्कटका कारणले कार्यालय जाने महिला घरमै बस्नु परेको र यसले गर्दा घर परिवारसँग घुलमिल बढेको छ । एक आपसमा दुःख सुख साट्न पाएका छन् । विभिन्न प्रकारका परिकारहरु बनाएर ख्वाउन र खान समय मिलेको छ । बालबालिकालाई समय दिन पाएका छन् ।

यत्रो फुर्सद छ तर कहि कतै निस्कनु छैन । आफन्तसँग भेटघाट हुनु छैन कतै जान नपाउनुको फाइदा नयाँ लुगा, जुत्ता, चप्पल किन्नु परेको छैन । ब्यूटी पार्लर जानु परेको छैन । खर्च कम भएको छ ।

चुना थापा नेपाली भाषामा स्नातकोत्तर (MA) की विद्यार्थी हुनुहुन्छ ।

260 Total Views 1 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here