नेपालरूपी सफ्ट बेलीको उपयोग गरेर भारत तथा पश्चिमी मुलुकहरूले गर्न सक्ने सामरिक गतिविधिलाई पूर्वप्रतिकारात्मक कारवाही (प्रिएम्पटिभ याक्सन) चिनियाँ जनमुक्ति सेनाबाट हुन सक्ने सम्भावना छ । अनि त्यस्तो प्रिएम्पटिभ याक्सनका लागि विचारधारात्मक बफादारी सहितको शक्ति नेपालमा निर्माण गर्न पनि चीनले प्रयास नगर्ला भन्न सकिन्न ।

विन्देश दाहाल

विन्देश दाहाल

नेपालमा संसद् विघटन र त्यसले ल्याएको तरंगले मानिसको ध्यान आकर्षण गरिरहेको अवस्थामा उत्तरी छिमेकी चीनले गरेको एउटा महत्त्वपूर्ण सामरिक निर्णयका विषयमा खासै चर्चा हुन पाएन ।

शुक्रवार चीनको सर्वोच्च सैन्य निकाय सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्ष तथा देशका राष्ट्रपति सी चिनफिङले चारजना सुरक्षा अधिकृतलाई जनरल पदमा बढुवा गरे । 

तीमध्ये चिनियाँ जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका नयाँ कमान्डर जनरल जाङ सुदोङको नियुक्ति नेपाल, भुटान र भारतका सन्दर्भमा महत्त्वपूर्ण छ । जनरल झाओ जोङ्चीको स्थानमा आएका जनरल जाङले चीनको पाँचवटा थिएटर कमान्डमध्ये सबभन्दा ठूलो अर्थात् वेस्टर्न थिएटर कमान्ड सम्हाल्न लागेका हुन् । 

यस थिएटर कमान्डले तिब्बत र सिन्जियाङ क्षेत्रलाई समेट्छ । भुटान, नेपाल र भारतसँग सीमा जोडिएको तिब्बत हेर्ने जिम्मेवारी जाङले पाएका छन् । विशेषगरी भारतसँग पूर्वी लद्दाखमा सीमाविवाद चर्किरहेको बेलामा जनरल जाङले नयाँ जिम्मेवारी पाएका हुन् । 

जाङले उत्तर कोरिया र रुससँगको सीमा हेर्ने सनयाङ सैन्य क्षेत्रको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

त्यसो त चिनियाँ जनमुक्ति सेना तथा चिनियाँ कम्युनिस्ट पार्टीका सबै अधिकृत तथा सदस्यहरू राष्ट्रपति सीप्रति पूर्ण बफादार छन् तर जनरल झाङले सीप्रति देखाएको बफादारिताको उच्च मूल्यांकन हुने गरेको चीनविज्ञहरू बताउँछन् । सेनाका विभिन्न डिभिजनमा रहँदा उनले चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीको सदस्यको पनि भूमिका निर्वाह गरिसकेका छन् । 

सेनामा चिनियाँ कम्युनिस्ट पार्टीको पकड मजबूत बनाउने जिम्मेवारी राष्ट्रपति सीलाई सन् २०१२ मै दिइएको थियो । राष्ट्रपति बनेलगत्तै सेन्ट्रल मिलिटरी कमिसनको पहिलो विस्तारित बैठकमा सीले राजनीतिक विश्वसनीयता नै बढुवाका लागि सबभन्दा महत्त्वपूर्ण शर्त रहेको बताएका थिए । 

अन्य नेताको तुलनामा सीलाई नै सर्वोच्च पदमा ल्याउनु नै पार्टीप्रतिको बफादारिता सुनिश्चित गराउनका लागि थियो । वास्तवमा तङ श्याओपिङको नेतृत्वमा सुधार र खुलापनको नीति अपनाएर आर्थिक प्रगतिको बाटोमा गएको चीनले धनाढ्य वर्ग जन्माउन थालेपछि चिनियाँ कम्युनिस्ट पार्टीलाई चुनौती दिने वातावरण बन्दै गएको थियो । 

आर्थिक प्रगतिको चमकदमकमा भुलेर पार्टीलाई अवज्ञा गर्ने र पश्च्मिी लोकतन्त्रको पैरवी गर्ने क्रम बढेको थियो । थ्याँआमेन स्क्वेयरको त्रासद घटना पनि त्यसैक्रममा हुन पुग्यो । अनि सन् १९९० र २००० को दशकमा सम्पत्तिमा वृद्धि हुँदै जाँदा भ्रष्टाचार पनि मौलाउँदै गयो, फलस्वरूप पार्टी र जनताको बीचमा क्रमशः खाडल उत्पन्न हुँदै गयो । 

त्यस खाडललाई पुर्न, भ्रष्टाचारमाथि लगाम कस्न तथा पार्टी नै देशमा सर्वोच्च छ भन्ने पुनः स्थापित गर्न पार्टीले सीलाई सैन्य निकायको प्रमुख, पार्टीका केन्द्रीय नेता र देशका राष्ट्रपति बनाएको थियो । अनि पदमा आउनेबित्तिकै उनले विचारधारालाई सर्वोपरि मान्नका लागि जोड दिन थालेका थिए । 

यस सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टीको १८औं राष्ट्रिय भेलाको तेस्रो प्लेनममा वितरित नवौं दस्तावेज अत्यन्त महत्त्वपूर्ण छ । त्यो खासमा पार्टीका सदस्य र नेतालाई बाँडिएको सर्कुलर थियो र सार्वजनिक प्रकाशन गर्ने उद्देश्य थिएन तर महिला पत्रकार गाओ युले त्यसलाई सार्वजनिक गरिन् अनि उनलाई राज्यको गोप्य दस्तावेज प्रकाशन गरेको आरोपमा सात वर्षको सजाय पनि दिइएको थियो । 

त्यसमा उल्लेख गरिएअनुसार, चीनले पश्चिमी बजारमा पहुँच पाएर आर्थिक प्रगति गरेसँगै पश्चिमकै जस्तो लोकतन्त्र वा विधिको शासन अपनाउनुपर्ने भनी चीनमा केही समूहले गरेको माग चीनको बहालवाला नेतृत्व तथा चिनियाँ चरित्रको समाजवादलाई अवमूल्यन गर्ने प्रयास हो र यसको प्रतिकार गर्नुपर्छ । 

अनि विश्वव्यापी मूल्यमान्यताका नाममा पश्चिमी मान्यताको प्रवर्द्धन पनि पार्टीको नेतृत्वलाई कमजोर बनाउने काम हो भनी त्यसमा लेखिएको छ । नागरिक समाजको प्रवर्द्धन पनि सत्तारूढ कम्युनिस्ट पार्टीको सामाजिक आधारशिलालाई ध्वस्त पार्ने प्रयास हो भनी उल्लेख गरिएको छ । 

यी सबैलाई निरस्त पार्नका लागि विचारधारात्मक संघर्षको सुदृढ व्यवस्थापन गर्न मातहतका सबै पार्टी सदस्य तथा नेताहरूलाई निर्देशन पनि दिइएको थियो । अर्थात्, समाजमा पार्टीको पकड नगुमोस् र पश्चिमी विचारधाराहरूले कुनै स्थान नपाऊन् भनी चिनियाँ कम्युनिस्ट पार्टीले कठोर अडान राख्न थालेको थियो । 

चिनियाँ कम्युनिस्ट पार्टीले विचारधारात्मक संघर्षको व्यवस्थापनसँगै विचारधारा निर्यातमा पनि जोड दिन थालेको विभिन्न विश्लेषकहरू बताउँछन् । त्यसो त चीनले कस्तो विचारधारा निर्यात गर्न खोजेको भन्ने स्पष्ट नभएको मत पनि छ ।

तर ब्लूमबर्ग पत्रिकामा अमेरिकी रणनीतिकार हल ब्रान्ड्सले निरंकुश वाणिज्यवाद (अटोक्रेटिक मर्क्यान्टलिजम) फैलाउन चीन उद्यत रहेको भनी लेखेका छन् । चीनमा निरंकुश शासकले पूँजीवाद अपनाएर विकास गर्ने मोडल जसरी अपनाएको छ, त्यस्तै अन्यत्र पनि लागू गर्ने ध्याउन्न चीनको छ भन्ने उनको तर्क हो । द्रुत विकासका लागि बिजनेस क्षेत्रमा आएको नयाँ अवधारणा ब्लिट्जस्केलिङलाई चीनले अपनाएको विश्लेषकहरू बताउँछन् । 

यस सन्दर्भमा श्रीलंकाको सत्तारूढ दल श्रीलंका पोदुजना पेरामुनाका नेता बेसिल राजपक्षेले चिनियाँ कम्युनिस्ट पार्टी जस्तै गरी आफ्नो दललाई तत्काल निर्णय लिन सक्ने बलियो दल बनाउन चाहेको बताएका छन् । अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओले श्रीलंका भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको बदख्वाइँ गर्दा सत्तारूढ दलले त्यसको प्रतिकार गरेको थियो । 

नेपालकै सन्दर्भमा पनि चिनियाँ कम्युनिस्ट पार्टीले सी चिनफिङ विचारधाराका विषयमा पोहोर साल कार्यशाला गोष्ठी सञ्चालन गरिसकेको छ । त्यसपछि पनि उसले विभिन्न जूम मीटिङमा यस विषयमा परिचर्चा गरेको छ । नेपालमा बेल्ट यान्ड रोड परियोजना अन्तर्गतका कामहरू ब्लिट्जस्केलिङको गतिमा अघि नबढेकोमा चीनले चिन्ता व्यक्त गरिसकेको छ ।  

उत्तर कोरियाको जुछे विचारधारामा चल्ने नेपाल मजदूर किसान पार्टी रहेको सन्दर्भमा सी चिनफिङ विचारधारा सहितको कम्युनिस्ट पार्टी बनोस् भन्ने चाहना चिनियाँ कम्युनिस्ट पार्टीमा रहनु अस्वाभाविक हैन । सम्भावित विभाजनको संघारमा रहेको नेपाल कम्युनिस्ट पार्टीको एउटा गुटले सी चिनफिङ विचारधारालाई निर्देशक सिद्धान्त बनाउने सम्भाव्यतालाई नकार्न सकिन्न । 

चीनको कुनै पनि कदमको कुरा गर्दा विचारधारा अनिवार्य रूपमा जोडिएर आउने भएकाले यति विशद चर्चा गर्नुपरेको हो । चीनको विचारधारात्मक अडानलाई अवमूल्यन गरेकाले धोका पाएको अनुभव पश्चिमले पनि गरिरहेको छ । 

यस्तो स्थितिमा जनरल जाङले आफ्नो योग्यता र अनुभवका साथसाथै राष्ट्रपति सीप्रतिको बफादारिता तथा समाजवादी विचारधाराप्रतिको सम्मानको पारितोषिकका रूपमा महत्त्वपूर्ण वेस्टर्न कमान्ड थिएटरको कमान्ड सम्हाल्न पाएका हुन् । 

क्वार्टरमास्टरका रूपमा काम गरिसकेका जनरल झाङले प्राकृतिक स्थानमा शत्रुको नजरबाट लुक्ने सैन्य पोशाक बनाउने कामको निगरानी गरेका थिए । अर्थात्, आधुनिक प्रविधिको उपयोगमा उनी दक्ष छन् । 

सामरिक वृत्तमा प्रविधिको उपयोग सहितको द थर्ड अफसेटको अवधारणा आइरहेको सन्दर्भमा भारतसँगको संघर्षमा चिनियाँ सेनाले नयाँ किसिमको युद्धकौशल देखाउन सक्ने सम्भावना छ र जनरल झाङले त्यसको नेतृत्व गर्नेछन् ।

अनि आफ्ना बफादार जनरल जाङलाई तिब्बत सिन्जियाङ क्षेत्रको जिम्मेवारी दिएर सी आफैंले युद्धको रणनीतिमा संलग्न रहने संकेत पनि यसबाट दिएका छन् । नेपालरूपी सफ्ट बेलीको उपयोग गरेर भारत तथा पश्चिमी मुलुकहरूले गर्न सक्ने सामरिक गतिविधिलाई पूर्वप्रतिकारात्मक कारवाही (प्रिएम्पटिभ याक्सन) चिनियाँ जनमुक्ति सेनाबाट हुन सक्ने सम्भावना छ । अनि त्यस्तो प्रिएम्पटिभ याक्सनका लागि विचारधारात्मक बफादारी सहितको शक्ति नेपालमा निर्माण गर्न पनि चीनले प्रयास नगर्ला भन्न सकिन्न । 

स्रोत : लोकान्तर

531 Total Views 5 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here