दलीय ‘विद्वान’ ले मुलुकको भलो गर्दैनन्

0
662

दलीय विद्वानहरूको वोलवाला हावि भईराखेको यस परिस्थितिमा भोलि यस्तो प्रवृतिले मुलुकलाई कतातिर डोर्याउला भन्न गाह्रो छ ।

शम्भुराम जोशी

शम्भूराम जोशी

आर्यवर्तका विचारकहरूले ‘राजा आफ्नो देशमा मात्रै पुजिन्छन् तर विद्वान त सर्वत्र पुजिन्छन्’ भन्दै विद्वत वर्गलाई सर्वोपरि स्थान दिए । यसो हुनुको मुख्य कारण विद्वानहरूले सत्यको खोजीमा आफूलाई समर्पित गर्नु, ज्ञान र विज्ञानको खोजीमा लीन रहनुका अतिरिक्त मातृभूमिको दीर्घकालीन हितका लागि अग्रसर हुनु र आफ्ना शासकलाई पनि त्यसका लागि अभिप्रेरित पार्न सक्ने उनीहरूको विशिष्ट योग्यता थियो । प्राचीन कालमा शासकले विद्वानलाई सम्मानित स्थान प्रदान गर्दै पुरोहित, मन्त्री, सेनापति र सल्लाहकारको पदमा समेत नियुक्त गर्थे ।

लामो कालखण्ड सम्म नेपाल लगायत यस भूखण्डका राज्यहरूले प्राचीन मूल्य र मान्यताहरुलाई बचाएर राखे पनि अहिले ती खण्डित वा दूषित हुँदै गइराखेका छन् । वास्तविक विद्वानहरूका गरीमा र मूल्य स्खलित हुँदैछ । विद्वानका नाममा नेपालको राजनीतिलाई दूषित पार्न भूमिका निर्वाह गर्ने अवसरवादी र नेताका चाकरीबाज र चाटुककारहरूको वर्चश्व कायम हुँदैछ । हाल यस मुलुकमा विभिन्न रङ्ग र ढङ्गका विद्वानहरू देखिँन्छन् ।

विदेशी स्वार्थ पूरा गर्ने ‘वुद्धिजीवी’

नेपालका धेरै कहलिएका विद्वान विदेशी शक्ति केन्द्र र खुफिया एजेन्सीसँग निकटतम् सम्बन्ध राख्दै तीनबाट आर्थिक शुभ-लाभ प्राप्त गर्ने गरेको कुरा समय–समय बाहिर आएकै हो । यदि यस कुरामा सत्यता छैन भने आफूहरू माथि लागेको गम्भीर आरोप कथित विद्वानबाट खण्डन वा विरोध हुनु पर्नेमा त्यस्तो भएको देखिँदैन, सुनिँदैन । फलस्वरूप उनीहरू प्रति गम्भीर आशंकालाई साँचो मान्न कर लगाएको छ । मुलुकको अल्पकालीन र दीर्घकालीन दुबै हितका लागि यस्ता खालका विद्वानहरू ‘मन्द वीष‍’ जस्तै खतरनाक हुन्छन् । किनभने आफ्नो व्यक्तिगत् हितका लागि राष्ट्रिय हितलाई बलिमा चढाउन पछि नपर्ने उनीहरूको प्रवृति हुन्छ ।

दलीय विद्वानहरू

कुनै दल वा नेतासँग नजोडिए आफ्नो अस्तित्व नै समाप्त हुन्छ र सम्भाव्य शुभ-लाभबाट बन्चित हुनुपर्छ भन्ने ग्रन्थि पाल्दै आफूलाई वुद्धिजीवी भन्न रूचाउनेहरू मुलुकमा धेरै छन् । यी दलीय विद्वानहरूको नै अहिले मुलुकमा वर्चश्व छ । स्वार्थका कारण आफ्ना अभिव्यक्ति स्वतन्त्र र निडर भएर पस्कने सक्ने नैतिक वलको उनीहरूमा अभाव र आफ्ना नेताहरूको जस्तासुकै कदमलाई जायज सिद्ध गर्नमा न्वारन देखिको बल लगाउने प्रवृति उनीहरूमा देखिन्छ । आफ्ना दलसँग सम्बन्धित विद्वानहरूलाई पनि दलका सारथिहरूले उनीहरूको योगदान अनुरूपका पुरष्कार कृपा गर्ने गरेका छन् । यस क्रममा कयौं पटक दलभित्र नै गुणवत्ता (मेरिटोक्र्यासी) र बरिष्ठता (सिनियोरिटी) को मान्यता उल्लंघन हुने गरेको कुरा प्रष्टै देखिने गरेको छ ।

दलका नेताहरूले साँच्चिकै विद्वत होइन भजन मण्डली आवश्यकता महसूस गर्ने गरेको देखिन्छ । मुलुक र तिनीहरू स्वयमका लागि दीर्घकालमा यो प्रवृति हानिकारक हुन्छ ।

अवसर नपाएका विद्वानहरू

आफूलाई विशिष्ट योग्यताधारी सम्झने तर आफ्नो चाहना हुँदाहुँदै पनि कुनै दल वा शक्ति केन्द्रद्वारा नपत्याइएका, हरबखत असन्तुष्ट भैराख्ने र अवसर पाएमा जुनसुकै दलमा प्रवेश गर्ने अवसरवादी विद्वान यस अन्तर्गत पर्दन् । यी पनि मुलुकको दीर्घकालीक हितकालागि खतरनाक हुन्छन् । यिनीका प्रवृति प्रति सावधान हुनु जरूरी हुन्छ ।

नेताहरूमा अहम् र आफूलाई सर्वज्ञ सम्झँदै आफ्ना दल निकटका तथाकथित विद्वान बाहेक तटस्थको कुरा नसुन्ने वा ग्रहण नगर्ने भावनाको विकास हुन गएकोछ । यस बाहेक विदेशी शक्ति केन्द्रलाई चलखेल गर्ने अवसर प्रदान गर्दै विदेशी दान दातव्यबाट पालित पोषित र उनीहरूकै हितमा समर्पित नेपाली नागरिकताधारीहरूलाई यस मुलुकमा ठूलो स्वरले बोल्ने बल पनि यसै मुलुकका नेताहरूले प्रदान गरे । यो अत्यन्त दुःखद परिस्थिति हो ।

तटस्थ विद्वानहरू

मुलुकमा सकारात्मक परिवर्तनको आशा राख्ने विद्वानहरू कमै भए पनि हुँदै नभएका भने होइनन् । तर तिनीहरू अल्पमतमा छन् । यो परिस्थिति तटस्थहरूको आवाज अरण्य रोदन भइदिने परिस्थिति छ जसले गर्दा उनीहरू आफ्ना आवाज वन्द राख्न वाध्य छन् । तिनी र तिनका अभिव्यक्तिलाई प्रतिगमनकारीको पगरी गुथाएर पछाडि थन्क्याइने प्रवृति आम हुँदैछ । त्यसैले तिनीहरू आफ्ना कुरा पत्रपत्रिका लेखका माध्यमबाट अभिव्यक्त गर्ने र कहिलेकाहिँ मञ्च पाएका अवसरमा तौलेर बोल्नमा मात्रै आफ्नो भूमिका सिमित गर्न वाध्य छन् । यसका अतिरिक्त नेपालमा देखिँदै गरेको तमाशा हेरेर बस्ने बाहेक अरू केही पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

त्यस्ता विद्वानहरू मुलुकका अमूल्य निधि भएकाले मुलुकले तिनीहरूको सदुपयोग गर्नसक्नुपर्छ भन्ने धारणा नेताहरूमा विकास हुन सकेको छैन । सच्चा विद्वान तटस्थ हुन्छ । तटस्थ विद्वानले नै साँचो अर्थमा देशको राजनीतिलाई बाटो देखाउँछन् । उनीहरू नेताको चाकरीवाजको रूपमा आफूलाई चिन्हाउन चाहदैँनन् र त्यस्तालाई नेताहरू चिन्दा पनि चिन्दैनन् ।

हिजोको परिस्थिति के थियो ?

यो कुरा निश्चित हो कि पञ्चायत व्यवस्थामा पनि शासक वर्गले व्यवस्थाका पक्षधरहरूलाई रूचाए पनि तिनीहरूमध्ये उत्कृष्टलाई अवसर प्रदान गर्ने उनीहरूको प्रवृति थियो । सकेसम्म मुलुकको हितलाई अगाडि बढाउने विश्वास गरिएका विद्वान हस्तिहरूलाई नै दायित्व प्रदान गर्न उनीहरू छान्ने गर्थे । त्यसैले मुलुकमा त्यस कालखण्डमा विकृति र विसंगति अहिलेको जति मौलाउन सकेको थिएन । तर अहिले यो समस्याले विकराल रूप लिइसकेको छ ।

यस्तो किन भयो ?

विक्रम संवत २०४६ साल पछि लगभग ३० बर्षको अवधिमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना देखि गणतन्त्र हुदै संघीयताको अभ्याससम्म नेपालमा अनेकौं राजनीतिक शासन पद्धतिहरू अभ्यासमा आए वा आउँदैछन् । यी सवै परिवर्तनले नागरिकको जीवनमा न्यूनतम् मात्रै सकारात्मक परिवर्तन ल्याए पनि नेताहरू महान् राजनैतिक सफलताका रूपमा लिने गर्दन् । यसबाट नेताहरूमा अहम् र आफूलाई सर्वज्ञ सम्झँदै आफ्ना दल निकटका तथाकथित विद्वान बाहेक तटस्थको कुरा नसुन्ने वा ग्रहण नगर्ने भावनाको विकास हुन गएकोछ । यस बाहेक विदेशी शक्ति केन्द्रलाई चलखेल गर्ने अवसर प्रदान गर्दै विदेशी दान दातव्यबाट पालित पोषित र उनीहरूकै हितमा समर्पित नेपाली नागरिकताधारीहरूलाई यस मुलुकमा ठूलो स्वरले बोल्ने बल पनि यसै मुलुकका नेताहरूले प्रदान गरे । यो अत्यन्त दुःखद परिस्थिति हो ।

जननी र जन्मभूमी स्वर्गभन्दा पनि ठूली छन् भन्ने विद्वानका त्यतिवेलाका कालजयी बिचारको सान्दर्भिकता आज पनि नेपाल जस्ता मुलुकहरूमा घटेको होइन कि बढ्दै गैराखेको अनुभव हुँदैछ । तर शासन सत्ता सम्हालेर बस्ने नेताहरूले साँघुरो घेराबाट आफूलाई माथि राखेर सोचबिचार गर्ने प्रवृतिको विकास गर्नै सकिराखेका छैनन् र भविष्यमा त्यसो गर्ने छाँटकाँट समेत देखिँदैन । दलीय विद्वानहरूको वोलवाला हावि भईराखेको यस परिस्थितिमा भोलि यस्तो प्रवृतिले मुलुकलाई कतातिर डोर्याउला भन्न गाह्रो छ ।

जोशी त्रिभूवन विश्वविद्यालयमा अर्थशास्त्रका उपप्राध्यापक हुन् ।