देशद्रोहीहरूबाट राष्ट्रिय एकतामा खतरा

0
446

केही नेता वा व्यक्तिहरूको समूह मात्रै पनि गद्दार भैदिँदा कसरी मुलुकको अस्तित्व नै गुम्न पुग्छ भन्ने कुरा त सिक्किमको घटनाले स्पष्ट गरिसकेको छ ।

नेपालको संस्कृति, भाषा र सभ्यतामाथि प्रहार गर्ने अक्षम्य अपराध केही स्वघोषित विद्वानहरूबाट समेत भैरहेको छ । यी देशद्रोही कार्यहरू हुन् ।

शम्भुराम जोशी

शम्भूराम जोशी

हाम्रा ग्रन्थहरूले मातृभूमिलाई आमा तुल्य मानेका छन् । नेपालीहरू ‘जननी र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन्छन्’ भन्ने आदर्शबाट प्रेरित छन् । उटा अंग्रेज कविले लेखेका थिए ‘आफ्नो देशलाई प्रेम नगर्नेहरू दुई पटक मर्छन् ।’ हुन त सवै आफूलाई देशप्रेमी भन्छन् तर देशप्रेम हृदयमा अंकित र व्यवहारमा प्रदर्शित हुनुपर्दछ । र यो देशको आर्थिक प्रगति, अखण्डता र अन्तर्राष्ट्रिय व्यक्तित्वको सम्वर्द्धनका लागि समेत अपरिहार्य हुन्छ ।

राष्ट्रिय एकताका लागि राष्ट्रप्रेम

देशको प्रगतिका लागि शासक वर्ग, नेता र सर्वसाधारण नागरिकहरू समेत कटिबद्ध हुनुपर्छ भन्ने जापान, दक्षिण कोरिया, अमेरिका जस्ता विकसित मुलुकहरूको इतिहासले स्पष्ट गर्छ । मुलुक प्रति कर्तव्यको भावना भएकाले नै उनीहरूले आफ्नो मुलुकको अस्मितालाई अक्षुण राख्न सके र शक्तिशाली र आर्थिक रूपमा सम्पन्न बनाउन सकेका हुन् ।

राष्ट्रिय एकता, आफ्नो मुलुकप्रति गौरवको अनुभूति, इतिहास प्रतिको अटुट विश्वासका अतिरिक्त मुलुकमा रहेका सवै जाति, धर्मावलम्बी र समुदायका मानिसहरूमा आपसी भाइचारामा अडेको हुन्छ । यो विना आर्थिक प्रगति असम्भव हुन्छ ।

विगतमा सत्तामा बस्नेहरूमा प्रवल देशप्रेम भएकाले नै नेपाल जस्ता मुलुकले समेत आर्थिक स्वावलम्बनको जग बसाउन, सार्वभौमसत्ताको रक्षा गर्न र आफ्नो अन्तर्राष्ट्रिय व्यक्तित्व उच्च पार्न सफल भएका हुन् । यसका विपरित केही नेता वा व्यक्तिहरूको समूह मात्रै पनि गद्दार भैदिँदा कसरी मुलुकको अस्तित्व नै गुम्न पुग्छ भन्ने कुरा त सिक्किमको घटनाले स्पष्ट गरिसकेको छ ।

मासिँदो देशप्रेम

सर्वसाधारणले नेता र अगुवाहरूको अनुसरण गर्ने भएकाले देशप्रेमको पाठ उनीहरूले सिकाउनु जरूरी हुन्छ । नेपालको सन्दर्भमा राष्ट्रप्रेम क्रमश: भत्किने क्रममा रहेको जस्तो देखिन थालेको छ । वि. सं. २०४६ साल र त्यसमा पनि वि. सं. २०६२/०६३ साल पछि धेरै नेता र अगुवाहरूमा उग्र नश्लवादी, जातिवादी, धार्मिक अतिवाद वढ्दै गइराखेको र देशप्रेम ओझेलमा परेको छ ।

हाम्रा धेरै जसो नेताहरूमा मुलुकको हितभन्दा आफ्नो र आफ्नो दलको हितलाई प्राथमिकता दिने प्रवृत्ति छ । नेपालीको हितभन्दा विदेशबाट प्राप्त हुने शुभलाभ र पदमा बसिरहने लोभमा देशको स्वार्थलाई तिलाञ्जली दिने र वैदेशिक शक्तिहरूलाई यहाँ खेल्न सजिलो बनाउने जस्ता काम सबै जसो नेता र अगुवाहरूबाट हुँदै आएको छ र नेपाल ‘नेताहरूले बिगारेको मुलुक’ को रूपमा चिनिएको छ ।

नाकाबन्दी गर्ने वा भारतलाई गर्न लगाउने र भारतकै आडभरोसामा सीमामा बसेर नेपालतिर ढुङ्गा हान्ने नेपालीहरूलाई दुःख दिनको काम निश्चय पनि देशप्रति गद्दारी हो ।

नाकाबन्दी र राष्ट्रद्रोह

राष्ट्रिय हितलाई बेवास्ता गर्दै भारतको हित हुने ढंगले जलस्रोतसँग सम्बन्धित र अन्य सन्धि र सम्झौताहरू गर्ने क्रम जारी छ । अर्कोतिर, केही मधेस केन्द्रित दलका नेताहरूमा देशप्रति प्रेमको दायरा साँघुरिँदै क्षेत्रीय र नश्लवादमा सिमित रहन पुगेको छ । उनीहरू आफूलाई पहिले मधेसी र त्यसपछि मात्रै नेपाली भन्न रूचाउँछन् ।

कतिपय यस्ता नेताहरूका अभिव्यक्ति र प्रवृत्ति हेर्दा उनीहरूको सद्भाव र विश्वास नेपालप्रति नभएर भारतप्रति रहेको देखिन्छ । एक जना नेताले नेपालमा नाकाबन्दी लगाएकोले भारतीय प्रधानमन्त्रीले माफ माग्नु पर्ने कुराको विरोध गर्दै नाकाबन्दी भारतले नभई आफूहरूले लगाएको भन्नुले यो पुष्टि हुन्छ ।

नेपालको राजनीतिकर्मीको रूपमा आफ्नो परिचय बनाएर, नेपाली नागरिकले तिरेको करबाट तलव भत्ता लिएर नेपालीहरूलाई दुःख दिनको लागि नाकाबन्दी गर्ने वा भारतलाई गर्न लगाउने र भारतकै आडभरोसामा सीमामा बसेर नेपालतिर ढुङ्गा हान्ने काम निश्चय पनि देशप्रति गद्दारी हो ।

मोदीको हालैको नेपाल भ्रमणको अवसरमा जनकपुरमा गरिएको अभिनन्दन समारोहमा फोरमका नेताहरूहरूद्वारा अभिव्यक्त पंक्तिहरूलाई गम्भीर ढंगले केलाउने हो भने कसरी उनीहरूलाई देशभक्त मान्ने ? नेपालको संविधानलाई विभेदकारी भनिरहँदा कतै भारतको प्रत्यक्ष हस्तक्षेपको माग त गरिराखिएका छैनन् भन्ने शंका उठेको छ ।

सीमा र सिमावर्ती बाँधका समस्या

भारतले नेपालको ६० हजार हेक्टरभन्दा बढी जमीन मिचेको र सो क्रम अझै जारी रहे पनि र भारतीय सुरक्षाकर्मीले नेपाली मारिरहँदा पनि नेपालका ठूला भनिएका दल र नेता विरोध गर्दैनन् । यही कुरा सिमावर्ती बाँधको कारण हरेक वर्ष हुने डुवानको समस्याको हकमा पनि लागू हुन्छ । सीमा क्षेत्रमा भारतद्वारा निर्मित २२ भन्दा बढी वाँधले बर्षेनी ढुवानको समस्या ल्याउने र हजारौँ हेक्टरमा लगाइएको बाली नष्ट हुने गरेको तथ्यले उनीहरूलाई नछोएको देखिन्छ ।

केही नेता र अगुवाहरू, खास गरेर जनजातिका नेताहरू मुलुकको इतिहासका विरूद्धमा अनर्गल कुराहरू फैलाउने कामका अतिरिक्त राष्ट्रिय विभूतिहरूको अपमान र उनीहरूप्रति घृणा फैलाउँदै समाजलाई दिग्भ्रमित गरिरहेका छन् ।

जनकपुर फिर्ताको कुरा

अंग्रेजसँग भएको सुगौली सन्धिका कारण नेपालको गुमेको भूमी भारतले फिर्ता गर्नु पर्ने आवाज उठिराखेको बेला भारतको सत्ताधारी दलका एक सांसदले जनकपुर ब्रिटिश इन्डियाले नेपाललाई दिएकोले अब भारतलाई फिर्ता गर्नुपर्छ भन्ने निर्लज्ज अभिव्यक्ति दिए । यो कुरा कुनै पनि नेपाली देशभक्तका लागि अपाच्य छ । यस्ता अभिव्यक्ति प्रति जसरी विरोध सबै पक्षबाट आउनु पर्थ्यो त्यो नआउनु दुखद कुरो हो । तर नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले भने विरोध गरेका छन् ।

धरोहरहरूको अपमान

केही नेता र अगुवाहरू, खास गरेर जनजातिका नेताहरू मुलुकको इतिहासका विरूद्धमा अनर्गल कुराहरू फैलाउने कामका अतिरिक्त राष्ट्रिय विभूतिहरूको अपमान र उनीहरूप्रति घृणा फैलाउँदै समाजलाई दिग्भ्रमित गरिरहेका छन् ।

यी बाहेक नेपालको संस्कृति, भाषा र सभ्यतामाथि प्रहार गर्ने अक्षम्य अपराध केही स्वघोषित विद्वानहरूबाट समेत भैरहेको छ । यी देशद्रोही कार्यहरू हुन् ।

सबैले बुझ्नुपर्ने कुरा

विभिन्न क्षेत्र वा जातिको सरकारसँग केही कुरामा असन्तुष्टि हुनु अनौठो होइन । तिनीहरूलाई कानुनी र लोकतान्त्रिक उपायद्वारा देशको अहित नहुने गरी समझदारीद्वारा हल गर्न सकिन्छ । आफ्ना घरका कुरामा बाहिरी शक्तिलाई नचाहिँदो ठाउँ दिँदा उनीहरूले अनेक खेल खेलेर मुलुकलाई अप्ठेरोमा पार्न सक्छन् भन्ने कुरामा स्पष्ट हुनुपर्छ । यहाँ खेल्न चाहनुको पछाडि उनीहरूका आफ्नै स्वार्थ हुन्छन् ।

हाम्रो दक्षिणको छिमेकी भारत लगायत पश्चिमा शक्तिहरूलाई चीनको तीव्र आर्थिक प्रगति पचेको छैन । नेपालमा विखण्डनको नारा उरालेर र अशान्ति मच्चाएर त्यसको प्रभाव तिब्बतमा पार्दै  चीनलाई कम्जोर पार्ने उनीहरूको ध्येय छ ।

विखण्डनको नारा मानव अधिकार होइन

केही मानव अधिकारवादीहरू विखण्डनकारी अभिव्यक्तिलाई मानव अधिकारको रूपमा परिभाषित गर्ने दुस्साहस गरिरहेका छन् । त्यस्ता अभिव्यक्ति किमार्थ मानव अधिकारमा पर्दैनन् ।

नेपाली भूमिको दुरूपयोग गर्न विदेशीलाई रोकिएन भने भारत वा पाश्चात्य मुलुक समर्थित जुनसुकै दल वा समूहको कृयाकलापले नेपाललाई दीर्घकालीन समस्याको भुँमरीमा फसाउने निश्चित छ । त्यसै गरेर क्रिश्चियन धर्मको गलत तरिकाले भैराखेको तीव्र प्रसारले निम्त्याउन सक्ने धार्मिक द्वन्द्वका बारेमा पनि समयमै सचेत हुनु जरूरी छ ।

विदेशी शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न विना रोकटोक चलखेल गर्न पाइराखे भने नेपाल उनीहरूको रणमैदान र दोस्रो रूवान्डा बन्न समय लाग्ने छैन । यस्तो हुन नदिन नेपालका सबै नेता र अगुवाहरूले देशभक्तिको आदर्श अवलम्वन गर्दै निजी होइन राष्ट्रिय स्वार्थलाई प्रमुखता दिएर नेपालको सार्वभौमसत्तालाई चुनौती दिन खोज्ने कुनै पनि विदेशी शक्तिको चाललाई परास्त गर्दै अघि बढ्नु पर्छ । यसो भएको खन्डमा मात्रै सबैको दीर्घकालीन हित सम्भव छ र त्यो सच्चा देशप्रेम ठहरिने छ ।

त्रिभूवन विश्वविद्यालयका अर्थशास्त्री जोशीलाई shambhuramjoshi@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।