धार्मिक स्वतन्त्रताको दुरुपयोग

0
549

ध्रुवहरि अधिकारी

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

‘धर्मनिरपेक्षताबारे चीन’ शीर्षकको लेख नेपालको एक प्रमुख अखबारमा छापिंदा (२७ साउन २०६३) लेखक प्राध्यापक डा. माधवप्रसाद पोखरेल चीनमै हुनुहुन्थ्यो ।  र, लेखको सन्दर्भ थियो त्यसैवर्ष अलिक अघि नेपालमा राजाद्वारा पुनःस्थापित प्रतिनिधिसभाद्वारा गरिएको ‘प्रतिनिधिसभाको घोषणा’ (४ जेठ) जसले हिन्दु अधिराज्य रहिआएको मुलुकलाई हठात् ‘धर्मनिरपेक्ष’ तुल्याएको थियो ।  नेपाली जनताले धर्मनिरपेक्षताबारे भारतका विधि, नीति, प्रचलन धेरथोर बुझेका होलान्, तर चीनको व्यवस्थाबारे तिनलाई पर्याप्त जानकारी नहुन सक्छ भन्ने विचारले डा. पोखरेलले त्यस विषयमा कलम चलाउन अग्रसर भएको अनुमान पाठकहरूले त्यतिखेरै गरेका हुन् ।  लेखकले आफू चीनमा छँदै ‘चाइना डेली’ ले प्रकाशित गरेको धर्मसम्बन्धी सरकारी श्वेतपत्रको चर्चा गर्दै चीन प्रवेश गर्ने हरेक विदेशीले पालना गर्नुपर्ने कडा नियमहरूको विस्तृत उल्लेख गर्नुभएको थियो ।  चीन पस्ने विदेशी इसाई रहेछ भने ऊसित एकप्रति बाइबल साथमा रहनु सामान्य मानिने तर दुई वा त्यसभन्दा बढी थान भए त्यो साथमा लैजान नपाइने नियम रहेछ ।  यस्तै नियम क्रिश्चियनबाहेकका अन्य धर्मावलम्बीको हकमा पनि लागू गरिएको रहेछ ।

डा. पोखरेलको लेख पढ्ने पाठकमध्ये एकजनाले चीनको ‘हाउगुजी’ देखाएर नेपालमा धर्मपरिवर्तन अभियान रोक्न मिल्दैन भन्ने तर्क दिएर प्रतिक्रिया छपाए ।  बेल्जियम स्थायी ठेगाना देखाएर काठमाडौंबाट लेखिएको सुभाष शर्माको त्यस पत्रमा नेपालमा करीब एक हजार गिर्जाघर (चर्च), आठ लाख ५० हजार ख्रिष्ट विश्वासीहरू र ३५० जति मिसन संस्था बाइबल कलेज र तालिम केन्द्र रहेको दाबी गरिएको थियो ।  पत्र–लेखकले ‘धर्मनिरपेक्षता’को उल्लेख नेपालमा इसाई (क्रिष्टियन) धर्म विस्तारकै लागि नै हो भन्ने सन्देश दिन खोजेका थिए ।  धर्मनिरपेक्षताको उल्लेखलाई धर्मान्तरण अभियानको इजाजत (लाइसेन्स) मानिएको हो भने त्यस बापतको दस्तुर कहीं–कतै बुझाइएको हुनुपर्छ ।

त्यो भयो ०६३ सालको कुरो ।  सात वर्षपछि अहिलेको स्थिति अर्कै भइसकेको छ ।  गएको वैशाखको शुरुमा ओक्लोहोमाको ग्रोभ चर्चका पादरी नक्सले लेखेका थिए– ‘सन् २००३ तिर नेपालमा २–३ लाख इसाई हुँदा हुन्, दश वर्षपछि त्यो संख्या बढेर २० लाख नाघिसक्यो ।’ यो संख्यावृद्धि मुख्यरूपमा २०६३ सालपछिकै अवधिमा भएको हो र यसबापत युरोप, अमेरिकातिरका चर्च, धर्मप्रचारक संस्थाहरूले ठूलै जश लिन खोजेको कुरा पादरी, प्रचारकहरूले इन्टरनेटमार्फत प्रक्षेपण गरेका दाबी, विवरणहरूबाट छर्लंग हुन्छ ।  एक–दुई थप उदाहरण हेरौं ।  पहिलो, नेब्रास्का क्रिश्चियन कलेज ठेगाना भएका मार्क क्राउसेले गत १४ अप्रिलमा छपाएको आलेख ।  लेख्छन् : ‘कहिलेकाहीं ठूला राष्ट्रहरूको ‘बुद्धिचालको खाल’ (चेसबोर्ड) भनेर पनि चिनिने नेपालमा उग्रपन्थी (माओवादी) कम्युनिस्ट र पुरातन हिन्दू राजतन्त्र र संस्कृतिले क्रिश्चियन धर्मका सुसन्देश र स्नेहका शब्दलाई के ठाउँ छोड्थे र ? तैपनि चर्च ज्यूँदो छ, र त्यति मात्र होइन यस्तो विद्वेषी वातावरणमा पनि इसाई धर्म झाङ्गिदो छ ।  अन्ततोगत्वा येशुको विजय हुनेछ, विरोधीहरूको आवाज निरर्थक हुनेछ ।’  दोस्रो दृष्टान्तमा आउँछ अमेरिकाकै नर्थ क्यारोलिना राज्यबाट नेपाल आएर फर्केका बाइबल अनुवादक क्रिस र उनकी पत्नी केन्डल प्रिभेटको साझा अनुभव ।  १० जुलाई मा इल्किन ट्रिब्युन पत्रिकामा प्रिभेट दम्पतीले १० घण्टाको बसयात्रा र छ घण्टाको पदयात्रापछि पुगेको सानो गाउँमा आफूले गरेको कामको चर्चा गरेका छन् ।  त्यो गाउँको असली नाम सुरक्षाका कारण लेख्न मिल्दैन रे,  लेखाइका क्रममा बहुसंख्यक मानिस बौद्धमार्गी भएको बेहोराचाहिं खुल्न पुगेको छ ।  नेब्रास्काका क्राउसले काठमाडौंको धर्मसभा कहाँ भएको भनेर लुकाएझैँ प्रिभेट दम्पतीले पनि गाउँको परिचय दिएका छैनन् ।  किन होला त ? अनुमान गर्न सकिन्छ ।  यी दुवै धर्मप्रचारक इसाईले नेपालमा आफूले आफ्नो काम गैरकानूनी भएको बुझेका थिए, त्यसैले गोप्यता राख्न खोजेका हुन् ।  वैध क्रियाकलापमा त ढाँट्नु, लुकाउनुपर्ने कुरा हुँदैनन् नि ।

शिक्षा, स्वास्थ्य, महिला अधिकार, बालअधिकार लगायतका क्षेत्रमा ‘समाजसेवा’ गर्न भनेर नेपाल पसेका (र वर्षौंदेखि यहाँ बसेका) कतिपय गैरसरकारी संस्थाले धर्मपरिवर्तनको अभियान चलाएको कुरा यहींका स्वतन्त्र समाचार माध्यमले सार्वजनिक जानकारीमा ल्याएका छन् ।  जस्तो, कारोबार दैनिकले २०६९ माघमा ‘धर्मप्रचारमा आईएनजीओ’ शीर्षक राखेर प्रथम पृष्ठमै विस्तृत समाचार छापेको थियो । कोही समाजकल्याण परिषदमा दर्ता, कोही एआईएन नामक सञ्जालमा आबद्ध ।  अपारदर्शी ढङ्गले धर्मप्रचारमै मात्र करोडौं रुपियाँ खर्च भइरहेको कुरो छापिएको थियो ।  छ वटा संस्थाले त आफ्नो घोषित उद्देश्यमै धर्मप्रचारको काम राखेका रहेछन् ।  तीमध्येको एउटा ‘इन्टरनेशनल नेपाल फेलोशिप’ नामक संस्थाले ‘जिसस क्राइस्टको शुभ समाचारलाई शब्दका माध्यमबाट बाहिर ल्याउने र चर्च विस्तार गर्ने लक्ष्य भएको’ बेहोरा खुलस्त लेखेको पाइयो ।  गएको जेठको अन्त्यतिर कम्युनिस्ट समर्थक माध्यम ‘रातोपाटी’ मा मोरङको कर्सिया बजारमा रहेको चर्चबाट १३ बालकको उद्धार गरिएको खबर आयो ।  ११ बालक हुम्लाका र दुईजना मोरङका रहेछन् ।

यस सन्दर्भको ताजा खबर यही असार ३१ गते गोरखापत्रमा छापिएको छ ।  राष्ट्रिय समाचार समिति (रासस) बाट वितरित त्यस समाचारमा राजधानीकै जोरपाटीमा रहेको बुद्धिस्ट बालगृह सञ्चालन गर्ने महिला दुर्गा मैनालीलाई इसाईहरूको एउटा समूहले बिहान–बेलुका येशुको प्रार्थना गराए प्रतिव्यक्ति, प्रतिमहिना तीन हजार रुपियाँका दरले सहयोग गर्ने प्रस्ताव गरेको कुरा लेखिएको छ ।  तर सञ्चालिका मैनालीले ‘हाम्रो संस्कृतिमाथि आक्रमण’ हुन लागेको देखेर प्रस्ताव अस्वीकार गरिछिन् ।  यो प्रशंसनीय कार्य हो र यसको सन्देश देशैभरि पुग्नुपर्छ ।  अनि आर्थिक रूपमा सबल रहेका नेपालकै संस्था र व्यक्तिहरूले यस्ता संस्थाहरूलाई सघाउन जाँगर चलाउनु आवश्यक छ ।  नेपालीले अघि नसरे विदेशी छिर्ने नै भए ।

प्रचारको प्राथमिकता धर्मान्तरणको अभियानमा लागेका विदेशी र तिनका स्थानीय मतियारहरूले २०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणाको आड लिन खोजे तापनि त्यसैवर्ष माघमा जारी भएको अन्तरिम संविधानले धर्मपरिवर्तनका गतिविधिलाई वर्जित गरेको तथ्य तिनलाई थाहा छैन भन्ने कुरो होइन ।  धारा २३ का प्रावधान आफैं स्पष्ट छन् ।  हो, बरु अन्तरिम संविधान जारी गराउन पहल गर्ने यसै देशका नेतागणले नेपाललाई एकैपल्ट ‘बहुधार्मिक’ र ‘धर्मनिरपेक्ष’ कसरी गराउन सम्भव देखेका हुन् त्यो कुरो बुझ्न सकिएको छैन । अर्को धर्मप्रचारक समूहहरूको ध्यान अहिलेको चरणसम्म बौद्धमार्गी बहुल ठाउँहरूमा केन्द्रित छ ।  जोरपाटीको ‘बुद्धिस्ट’ बालगृह र बाइबल अनुवादक पुगेको नाम नखुलाइएको गाउँमा बौद्धमार्गी बहुसंख्यक रहेको कुरा आउनुले एक प्रकारको झलक उपलब्ध गराउँछ ।  गएको जेठ ३० गते अंग्रेजी छापा राइजिङ नेपालमा प्रकाशित एउटा लेखमा पनि इसाईहरू बौद्धमार्गीतिर बढी लक्षित भएको बुँदा सविस्तार चर्चा भएको थियो । नेपालको हिन्दु चिनारी रहँदा यतिञ्जेल यहाँ भएका अन्य धर्मावलम्बीलाई के हानि पुगेको थियो र इसाईकरणको विस्तारले के लाभ हुने हो ल? आगामी २०–२५ वर्षपछिको जनगणनाले यथार्थ देखाउनेछ भन्ने त्यस लेखको जिकिर भेटिन्छ ।

आखिर इसाई पादरी, प्रचारकहरू किन संसारका सबै मानिसलाई येशुका अनुयायी बनाउन चाहन्छन् र केका लागि नेपाललाई आफ्नो प्राथमिकतामा पारिरहेका छन् ? कुरो सोझो छ र त्यो हो इसाईहरू संसारका सबै मानिसलाई येशुका भक्त बनाउन चाहन्छन् ।  तिनले आफ्नो धर्मबाहेक अरूलाई धर्म नै मान्दैनन्, महत्व दिनुपर्ने मत अथवा मान्यता नै ठान्दैनन् । तिनमा सहनशीलता पटक्कै छैन । कथं सम्मान र सहनशीलता हुँदो हो त बौद्धमार्गी र हिन्दू सनातनीलाई आफ्नो परम्परागत धर्मबाट च्युत गराउने प्रयत्न गर्ने नै थिएनन् ।  मेरो धर्म असल छ, यसमा सामेल हुन आऊ भन्ने क्रममा तिनले तिम्रो धर्म निरर्थक छ, त्याज्य छ भनेकै हुन्छन् ।  तर यता अपौरुषेय वेदबाट निर्देशित, शाश्वत सिद्धान्तमा आधारित हाम्रो सनातन धर्मले अरू धर्मलाई होच्याउँदैन, आफूतिर तान्न कुनै प्रकारको प्रलोभन पनि दिंदैन ।

परन्तु इस्लाम, इसाई मतहरूमा एक प्रकारको अहंकार हुन्छ जसको चर्चा जर्मन विदुषी मारिया विर्थले सविस्तार गरेकी छिन् ।  (यसको उल्लेख मैले यसअघि प्रकाशित लेखमा गरिसकेको छु ।) क्रिश्चियन अहंकारको ताजा दृष्टान्त गणतन्त्र आयरल्यान्डबाट पनि आएको छ ।  बीबीसी अनुसार, डुन्एगल जिल्ला (काउन्टी) का एक पादरीले योगाभ्यासलाई ‘घृणित’ कार्य भनेका छन् । असार २५ गते (९ जुलाई) बीबीसी बुलेटिनमा तिनलाई यसो भन्दै गरेको भनी उद्धृत गरिएको  छः हामी जिसस क्राइस्टका अनुयायी भएको हुनाले हाम्रो धार्मिक मतसित द्वन्द्व भएको मतसितका गतिविधिमा नलाग्नोस् ।  त्यसैले योगका कक्षाहरूमा सामेल हुन नजानोस् । योगकक्षा सञ्चालनमा विगत २० वर्षदेखि संलग्न त्यहाँकी स्थानीय महिला नोराह ग्राहमले योगाभ्यासलाई कुनै धर्म विशेषसित गाँसेर त्यसको साधना, अभ्यास गर्नेलाई बिटुलिएको मान्छे ठान्ने चर्चित पादरीको कथनप्रति आपत्ति जनाइन्, तर पादरीले भने आफ्नो ढिपी छाडेका छैनन् । बीबीसीका तर्फबाट थप कुरा बुझ्न गरिएका फोन सम्पर्कका प्रयास अनुत्तरित छन् ।

सावधानीको खाँचो

माथि चर्चित जर्मन विदुषी (जो क्याथोलिक परिवारमा जन्मेकी थिइन्) मारिया विर्थले धर्मान्तरणका लागि अभियान चलाइआएका इसाई प्रचारकहरूको असली नियत बुझ्न किन नसकिएको हो भनेर आश्चर्य र चिन्ता प्रकट गरेकी छिन् ।  सनातन हिन्दू धर्मावलम्बीको बाहुल्य भएको मुलुक भारतमा पढालेखा मानिसहरूको एउटा जमातचाहिँ धर्मनिरपेक्षताको वकालतमा निरन्तर लागिरहेको देख्दा मारिया दुःखित छिन् । आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्ने प्रवृत्तिलाई के भन्ने ? उनको अध्ययनले पुष्टि गरेको छ : धर्मनिरपेक्षताको पक्षमा लड्नु भनेको इसाई र ईस्लाम मत विस्तार गर्न चाहनेहरूका लागि बाटो फराकिलो गराइदिनु हो ।  यतिखेर भारतमा इसाईको संख्या सानो भएकाले ती अभद्र भैसकेका छैनन्, तर परिस्थिति सधैं एकनास रहँदैन ।  मारियाको यस भनाइमा रहेको सन्देश नेपालमा पनि राम्ररी बुझ्नु जरुरी छ ।  किनभने धर्मप्रचारक इसाईहरू यहाँ आक्रामक रूपमा अघि बढ्दैछन् ।

कट्टर इसाई समुदायको मान्यता रहिआएको छ – बाइबलले काम भयो भयो, भएन बेयनिट् छँदैछ ।  (बेयनिट् भनेको राईफलको टुप्पोमा रहने तीखो, चक्कुजस्तो किरीच हो । ) यो भनाइ सन् १८५२ मा प्रकट गर्ने व्यक्ति थिए जन विन्थ्रोप जो त्यसबखत अमेरिकी प्रतिनिधिसभाका सभामुख थिए ।

साभार : गोरखापत्र दैनिक www.gorkhapatraonline.com