नरेन्द्र मोदीको नेपाल प्रति बक्रदृष्टि

0
824

भूकम्पको पीडाले थलिएको छिमेकी प्रति मोदीको त्यो व्यवहारलाई किन अमानवीय कदम नभन्ने ? नाकाबन्दीका कारण नेपालको अर्थव्यवस्था चरमरायो र रु. २२० अर्व भन्दा बढीको नोक्सानी मात्रै भएन कि गरिबी पनि बढ्यो ।

शम्भुराम जोशी, उपप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

शम्भूराम जोशी

गुजरातको आर्थिक प्रगतिमा मुख्य भूमिका खेलेका नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भए पछि उनको ‘छिमेकी पहिला’ नीतिले दक्षिण एशियाका मुलुकहरूमा आशा पलाएको थियो । छिमेकमा लोकप्रिय हुने क्रममा नेपालको पहिलो भ्रमण ताका मोदीले यहाँ सम्मान पाए । उनको भ्रमणभर काठमाण्डौँका सडक मोदीमय बने ।

वि. सं. २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका बेला सबैभन्दा पहिला राहत टोली पठाएर नेपाल माथि गुन लगाउने मोदीका नेपाल प्रतिका कृयाकलाप, पछि नेपालीका पक्षमा रहेनन् । उनको दृष्टिकोण भारतका अन्य राजनीतिज्ञ भन्दा भिन्न नभएको पुष्टि हुँदै गयो । नेपालको संविधान लागू भए पछि ५ महिनासम्म लागेको नाकाबन्दी र नेपालका सीमामा धेरै पटक देखिएका विवादहरू र अन्य समस्याले मोदीको चरित्र देखाए ।

नाकाबन्दीको कष्ट

भारतले नेपाल विरुद्ध वि.सं. २०२७, २०४५ र २०७२ गरेर ३ पटक नाकाबन्दी लगायो । मातृकाप्रसाद कोइरालाको समयदेखि नेपालको उत्तरी सीमाका १८ ठाउँमा राखिएका भारतीय चेक पोष्ट वि.सं. २०२७ सालमा हटाउनु र वि. सं. २०४५ सालमा चीनबाट हतियार खरिद अघिल्ला दुई नाकाबन्दीका कारण बने ।

नेपालप्रति वक्र दृष्ट्रिकोण राख्ने इन्दिरा गान्धी र त्यस्तै प्रवृति भएका उनकै पुत्र राजिव गान्धीले यस मुलुकमा नाकाबन्दी लगाए पनि मोदीको समयमा समेत त्यो दोहरिनु आफैँमा अप्रत्याशित थियो ।

भूकम्पको पीडाले थलिएको छिमेकी प्रति मोदीको त्यो व्यवहारलाई किन अमानवीय कदम नभन्ने ? नाकाबन्दीका कारण नेपालको अर्थव्यवस्था चरमरायो र रु. २२० अर्व भन्दा बढीको नोक्सानी मात्रै भएन कि गरिबी पनि बढ्यो ।

भारतबाट एक शत्रु राष्ट्रलाई भन्दा क्रुर व्यवहार प्रदर्शन गरिँदै तेल, औषधि जस्ता अत्यावश्यक पदार्थहरू बोकेका हजारौं सवारी साधन सिमानामा नै थन्काइए । यस व्यवहारले मोदी प्रति अघिको धारणा र स्नेह एकै झट्कामा पातालमा धसियो । र यहाँ उनी र भारत बिरोधी भावना बढ्यो । विरोध स्वरूप नेपालीहरु भारतीय राजदूतावासमा तेल दान दिन गए । भारतले नेपालमा बढ्दो हिंसा, राजनीतिक अस्थिरता र भेदभावको कुरा संयुक्त राष्ट्र मानव अधिकार परिषदमा उठाएर नेपाललाई अप्ठेरो स्थितिमा पार्न समेत खोज्यो ।

मधेसीको समर्थन गर्ने भारतको समग्र नेपाललाई नाकाबन्दीको अस्त्र प्रयोग गर्दै घुँडा टेक्न लगाउने प्रयासका बाबजुद नेपाली पक्षले लाचारी देखाएन । अन्तर्राष्ट्रिय क्षेत्रमा बदनामी हुने भय र नेपालले चीनलाई आफ्नो विकल्पको रूपमा लिएर नजिकिन जाने र नेपाल स्वार्थमा आघात पुग्ने भयले भारतले नाकाबन्दी खुलाएको हो भन्ने स्पष्ट छ ।

नेपाल सार्वभौमसत्ता सम्पन्न भएकाले यो जोसँग पनि आफ्ना ढंगले सम्वन्ध राख्न सक्दछ भन्ने उनीहरूले बुझ्नुपर्छ ।

सीमा विवाद

नेपाललाई आफ्नो प्रान्तभन्दा बढी नठान्ने भारतको हेपाह चरित्र समय–समयमा देखा परिरहन्छ । नेपालका अतिरिक्त सिमाना जोडिएका सबै मुलुकहरूसँग भारतको सीमा विवाद छ । नेपालको सीमा अतिक्रमण गर्दै यहाँका संरचना भत्काउने र सीमा स्तम्भ भत्काउने वा सार्ने काम हिजो जस्तै आज पनि जारी छ ।

यसै क्रममा भारतीय एस. एस. बि. को गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भए पनि भारतले अहिलेसम्म पनि क्षमायाचना गरेको छैन र क्षतिपूर्ति पनि दिएको छैन । यहाँ नेर वि. सं. २०१७ साल असार १६ गतेका दिन मुस्ताङमा चीन-नेपाल सिमानामा चीनियाँ सुरक्षाकर्मीको गोली लागेर निधन भएका नेपाली सेनाका सुबेदार बमप्रसाद दाहालको हकमा भने चीनका प्रधानमन्त्री चाउ एन लाईले माफी माग्दै रू ५० हजार क्षतिपूर्ति दिएको र मधेसमा अघिल्लो साल भएको आन्दोलनमा मिसिन आएका र नेपाली सुरक्षाकर्मीको गोली लागेर एक जना भारतीय युवक मारिँदा भने नेपाल सरकारले क्षतिपूर्ति दिएको सम्झनु पर्छ ।

केही दिन अघि मात्रै नेपाली पक्षले जंगली जनावर रोक्न लगाएको तारवार भारतीय एस. एस. बि. ले उखेलेर आफ्नो हेपाहा प्रवृत्ति फेरि देखाएको छ । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो भन्ने उसको व्यवहारले नकार्ने गरेको देखिन्छ ।

नोटबन्दी

भारतमा मोदीले चालेको नोटबन्दीको कदमले भारतमा काम गरेर रकम पठाउने गरेका नेपालीहरूको परिवारहरूलाई मर्का परेकोछ । त्यसको समाधान खोज्न भारत सरकारले पहल गरेको छैन । ज्ञातव्य छ, यसको समाधान भारतले चाहेको खण्डमा तत्कालै हुन्छ ।

जल विद्युत : नेपालले सम्पूर्ण तेल भारतबाट आयात गर्ने गरेकोले यसको निर्यात बन्द गर्दा नेपालको घाँटी अठ्याउन सकिने कुरा भारतले बुझेकोछ । निकट भविष्यमा नै ताजा जलको अभाव खप्नु पर्ने त्रास बोकिरहेको भारत नेपालको सम्पूर्ण जलस्रोतमा एकलौटी अधिकार प्राप्त गर्न चाहन्छ । चीनको लगानीमा नेपालमा बन्ने विद्युत परियोजनाको विदयुत नकिन्ने भनेर आफ्नो सानो मन देखाइसकेको भारतको सट्टा चीन र बंगलादेश नेपालको वैकल्पिक बजार हुन सक्छ ।

सानो मन : अन्तर्राष्ट्रिय कानून अनुसार नेपालले पाउने सुविधा नेपाललाई दिन र विश्व व्यापार संगठनका प्रावधान अनुसार नेपाललाई उसले कैयौं व्यापारिक सुविधा नदिन बहाना बनाउने गरेकोछ । नेपालमा बन्दै गरेको निजगढ र भैरहवा विमानस्थलमा विमान अवतरण र उडानका लागि नेपाललाई आवश्यक पर्ने नेपालगञ्ज र भैरहवा आसपास आफ्नो आकासको अनुमति दिन भारतले नचाहेबाट उसले कुन हदसम्म नेपालको आर्थिक प्रगति चाहन्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

नेपालसँग प्रत्यक्ष सरोकार राख्ने साना–साना समस्या समाधानका लागि समेत पहलकदमी मोदीको सरकारबाट भएको छैन र आफ्नो मुलुकको स्वार्थको नाममा मोदी स्थायी समाधानका उपायहरू खोज्न र ठूलो मन देखाउन पनि चाहदैनन् । यी बाहेक मोदीले आफ्नो मुलुकमा चालेका केही कदमका प्रभाव पनि नेपालीहरुमा पर्ने गरेको छ ।

पोखरामा बेलुनमा कालो झन्डा उडाएर केही समय अगाडि नेपालमा आएका भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीलाई देखाइएको धेरै भएको छैन ।

चीनसँग नेपालको सामिप्य बढ्दै गएको भन्ने भारतीय राजनीतिज्ञहरुको मात्रै नभएर त्यहाँका कर्मचारीतन्त्र र मिडियाको समेत भनाइ छ । नेपाल सार्वभौमसत्ता सम्पन्न भएकाले यो जोसँग पनि आफ्ना ढंगले सम्वन्ध राख्न सक्दछ भन्ने उनीहरूले बुझ्नुपर्छ ।

दुई मुलुक बीचको सम्बन्ध बिग्रनुमा भारतले नेपाललाई नै दोष लगाउने गरेकोछ । हालै भारतीय एस. एस. बि. ले तारवार उखेलेर लगेको घटनामा भारतीय पत्रिकाले उल्टो नेपालले भारतीय भूमि कब्जा गर्न खोजेको लेखे । नेपालमा सवैभन्दा पछिल्लो नाकाबन्दी भारतले लगाएको कुरा उनीहरूले अहिलेसम्म पनि स्विकार गरेका छैनन् ।

भारतले भने अनुसार नेपालको आर्थिक विकासका लागि आवश्यक पूर्वाधार साँच्चि नै पूरा गरेको खण्डमा तिनीहरूले कुन हदसम्म नेपाल र भारतको आर्थिक स्वार्थ पूरा गर्लान् त्यो पछि नै थाहा पाइएला । नेपालले शुरू देखि अहिलेसम्मका त्यस्ता हरेक परियोजनामा भारतबाट हण्डर खाँदै आएकोछ, ठगिँदै आएकोछ ।

केही दिनपछि भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण गर्दैछन् । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको मिति भारतले तोके जस्तै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण मिति समेत दिल्लीले नै तोकिसकेको छ ।

मोदीको यो भ्रमण पुरानै उत्साहका साथ, जनताको मनैबाट स्वागत होला भन्ने कुरामा शंका छ । पोखरामा बेलुनमा कालो झन्डा उडाएर केही समय अगाडि नेपालमा आएका भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीलाई देखाइएको धेरै भएको छैन । पाहुनालाई सत्कार गर्ने संस्कृति बोकेका नेपाली भारतीय पक्षले केही समय अघि त्यहाँ भ्रमणमा आएका क्यानडाका प्रधानमन्त्री माथि गरिएको जस्तो चिसो व्यवहार त नगर्लान् । तर उनीहरू मोदीलाई देख्दा पक्कै पनि उनको समयमा नाकाबन्दीका कारणले भोग्नु परेको पीडालाई भने सम्झनेछन् । नेपालसँगका सबै समस्याहरूलाई दुबै पक्ष जित्ने ढंगले हल गरेको खण्डमा मोदीले नेपालमा गुमेको प्रतिष्ठा र माया पाउन सक्नेछन् । तर यसो हुनेमा भने शंकै छ ।

जोशीलाई shambhuramjoshi@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।