नाङ्गो बादशाहको भ्रामक पोशाक

1
305

भरत दाहाल

Bharat-Dahalभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई दिल्लीको सत्ता र त्यसका ‘नेपाली’ दलालहरुले सार्क शिखर सम्मेलनलाई आझेलमा पार्ने, सार्कको अर्थ भारतीय सत्ता हो भन्ने वातावरण सिर्जना गर्ने र नेपालभित्र खस्कँदो भारतीय प्रभूत्वलाई सुदृढ गर्ने हतियारका रुपमा दुरुपयोग गर्न थालेका छन्। दलालहरुको कहिल्यै नसुध्रिने कमारो चरित्रले अन्य मित्रराष्ट्रहरुमा नेपालको छवि झनपछि झन् गिर्दै गएको छ।

यो सुपरिचित तथ्य हो कि नेपालमाथि भारतीय सत्ताले गर्दै आएको अत्याचारबाट त्यसका विरुद्धको जनमत बढ्दै गएपछि सो बद्नामीबाट बचेर आफ्नो प्रभूत्वलाई निरन्तरता दिन भाजपाको सत्ताले नव औपनिवेशिक हैकमलाई साँस्कृतिक–मनोबैज्ञानिक हतियारका रुपमा संगठित गर्न थालेको छ। ‘धर्म निरपेक्षता’ का बहानामा पश्चिमी शक्तिहरुले नेपालमाथि साँस्कृतिक हमला शुरु गरेको घटनाका विरुद्ध बढ्दो हिन्दु रोषलाई भजाएर नेपाली जनमत आफ्नो रणनीतिको पक्षमा पार्नु भाजपाको मूख्य नेपाल नीति हो।

कथित हिन्दुत्वका आडमा नेपालीहरुलाई बरालेर यहाँका प्राकृतिक स्रोत–साधनहरु लुट्ने र नेपाललाई आफ्नो सुरक्षा घेराभित्र नियन्त्रण गर्ने चालबाजी अनुरुपका केही भद्दा दृष्यहरु मोदीको गत साउन महिनाको भ्रमणमैं देखापरेका थिए। त्यसबेला सुरक्षाको हौवा खडा गरेर पुलिसहरुलाई सडकमैं ‘प्रतिआतङ्कवादी’ तालिम दिएर मोदीप्रति आकर्षण पैदागर्ने प्रयास गरिएको थियो। मोदी भ्रमणका दिन काठमाडौं उपत्यकाका शैक्षिक संस्था र यातायात बन्द गरेर मानिसहरुलाई सडकमा हिँड्न बाध्य पारेर मोदीलाई चोकचोकमा उतार्ने र लोकप्रियता बढाउने चाल चलिएको थियो।

अर्को दृष्य थियो पशुपति पूजाको।  संसदमा पौने घन्टासम्म उभिएर दलालहरुलाई अर्ति दिनसक्ने मोदीले पूजा गर्दा उभिन नसक्ने बहाना बनाएर नेपालका राजाहरुले मात्र प्रयोग गर्ने गरेको र अब इतिहास बनिसकेको चाँदीको पिर्का मागेर पूजा गरेका थिए। यसको सिधा अर्थ थियो, आफूले हिन्दु राजाको स्थान लिनु र हिन्दु राजाका रुपमा सदासयता राख्ने नेपाली जनमतलाई आफ्नो दलाल बनाउनु।

अहिले जनकपुरमा त्यही शैलीको दृष्य अझ कुरुप रुपमा देखापरेको छ। मोदीको हौवा खडा गरेर सार्क शिखर सम्मेलनलाई ओझेलमा पार्ने र हिन्दुत्वको आवरणमा नेपालमा आफ्नो प्रभुत्वलाई कसिलो बनाउने दूरासयबाट आयोजना गरिएको कथित धार्मिक भ्रमणमा सत्ताभित्र र बाहिरका दलालहरुलाई लडाएर दिल्लीले सभास्थलका बारेमा भुकाभुक गर्न त लगाइरहेको थियो नै। त्यपछि त्यसले सत्ताभित्रै दलालहरुमध्ये एकथरीलाई जनकपुर भ्रमण रद्द भएको सूचना दिएर र अर्कोथरी चाटुकारहरुलाई सार्वजनिक रुपमैं टोकाटोक गर्न लगायो।

‘मोदी चर्चा’ का लागि प्रयोग गरिएका यी हत्कण्डामा कुनै नयाँपन छैन। भारतको लोकसभा चुनावमा भाजपाको पक्षमा बहुराष्ट्रिय कम्पनीहरुले चलाएको ‘मिडीया फोविया’ कै अङ्ग हो। यस्तो फोविया चलाउने धन्धा विश्वभरीकै साम्राज्यवादीहरुले गर्दैआएका छन्। तर मोदीको चर्चासँग नेपालका आफ्ना सरोकारहरु जोडिएका छन्, जसलाई त्यसका दलालहरुले हमेसा ओझेलमा राख्ने प्रयास गर्दैआएका छन्। यो सरोकार नेपालमाथि भारतीय सत्ताले सैयौँ बर्षदेखि गर्दै आएको अत्याचारसँग संबन्धित छ।

नेपालीहरु चाहन्छन् कि नेपालसँगको सम्बन्ध सुधार्ने हो भने मोदीको सत्ताले तत्काल कालापानीबाट आफ्ना फौजहरु ह्टाउनु पर्छ। सुस्ता लगायतका अतिक्रमित भूमिहरु छोड्नु पर्छ। भरतद्वारा चोरिएका सीमा स्तम्भहरु यथास्थानमा राख्नुपर्छ। जमीम, फैजान र मिर्जाका हत्यारा भारतीयहरुलाई नेपाल समक्ष सुपुर्द गर्नुपर्छ। खुला सिमाना बन्द गरेर जनसंख्या अतिक्रमणको षडयन्त्रलाई बन्द गर्नुपर्छ। अन्तर्राष्ट्रिय कानून विपरित एकलौटी ढंगले बनाएका सीमावर्ती बाँधहरु भत्काएर त्यसबाट भएको आजसम्मको क्षतिको भर्पाइ गर्नुपर्छ। आफूले प्रयोग गरेका गुप्तचर, अपराधी, एजेन्ट र दलालहरुलाई नेपाल विरुद्ध प्रयोग गर्न तत्काल बन्द गरेर अपमानजनक सन्धि–संझौताहरु खारेज वा परिमार्जन गर्न तयार हुनुपर्छ।

मोदीको साधु आवरणको भेषबाट नेपालीहरु झुक्किने अवस्था छैन। एकाध दलालहरुको आरतीलाई नेपालीहरुको सहानुभूति ठान्नु हुँदैन। मोदीले आफूलाई नाङ्गो रुपमा प्रस्तुत गरेर पोशाकमा ठाँटिएको भ्रम पाले भने नेपालीहरुको उनी र उनको सत्ताप्रतिको दृष्टिकोणमा पहिलेका तुलनामा तात्विक अन्तर आउने छैन। हामी भारतसँग मैत्रिपूर्ण सम्बन्ध चाहन्छौं। तर यसका नाममा लादिने दासत्वलाई स्वीकार गर्दैनौं।

 

1 COMMENT

  1. नेपालीहरु चाहन्छन् कि नेपालसँगको सम्बन्ध सुधार्ने हो भने मोदीको सत्ताले तत्काल कालापानीबाट आफ्ना फौजहरु ह्टाउनु पर्छ। सुस्ता लगायतका अतिक्रमित भूमिहरु छोड्नु पर्छ। भरतद्वारा चोरिएका सीमा स्तम्भहरु यथास्थानमा राख्नुपर्छ। जमीम, फैजान र मिर्जाका हत्यारा भारतीयहरुलाई नेपाल समक्ष सुपुर्द गर्नुपर्छ। खुला सिमाना बन्द गरेर जनसंख्या अतिक्रमणको षडयन्त्रलाई बन्द गर्नुपर्छ। अन्तर्राष्ट्रिय कानून विपरित एकलौटी ढंगले बनाएका सीमावर्ती बाँधहरु भत्काएर त्यसबाट भएको आजसम्मको क्षतिको भर्पाइ गर्नुपर्छ। आफूले प्रयोग गरेका गुप्तचर, अपराधी, एजेन्ट र दलालहरुलाई नेपाल विरुद्ध प्रयोग गर्न तत्काल बन्द गरेर अपमानजनक सन्धि–संझौताहरु खारेज वा परिमार्जन गर्न तयार हुनुपर्छ।

    अाम नेपालीका यी धारणा पस्किनु भएकोमा धन्यवाद ।