नेताहरुले आफूलाई गर्न मनलागेको जे पायो त्यही काम गर्न रोक्ने कसैलाई पनि निरंकूशको नाम दिएर त्यसको विरोध गर्ने काम गरे। विभिन्न क्षेत्रमा भएका तिनका भरौटे चाकरहरुले त्यसलाई उत्कर्षमा पुर्‍याए।

स्वयम्भुनाथ कार्की

SN Karkiनेपालीमा एउटा उखान छ ‘कागले आफ्नै नाम काढ्छ’। यो उखान नेपाली नेताहरु, तिनका भरौटे चाकर बुद्धिजीबी अनि नेताहरुका भजने सञ्चारकर्मीहरुका ठ्याम्मै लागू हुनेरहेछ। हुनत श्रद्धेय बालकृष्ण पोखरेलले पनि नेपाली शब्दकोष संपादन गर्ने क्रममा ‘मण्डले’ शब्दको अर्थ आफूखुशी राखेर आफूले आस्था राखेको राजनीतिक दलको सानो भए पनि चाकरी गर्नु भएकै हो। उहाँले पनि निरंकूशको अर्थ फलानाले गरेको कुनै काम चाहिँ निरंकूश अन्यले गरेको त्यही काम चै निरंकूश हैन भनेर शब्दकोषमा ले‍ख्‍नुभएको छैन। यो बुड्यौलीमा अब संभवत त्यसो गर्नु पनि हुन्नहोला। तसर्थ अहिलेलाई निरंकूशको अर्थ कुनै किसिमको अंकूश नभएको वा नमान्ने नै हो भन्ने मान्नपर्छ।

नेताहरुले आफूलाई गर्न मनलागेको जे पायो त्यही काम गर्न रोक्ने कसैलाई पनि निरंकूशको नाम दिएर त्यसको विरोध गर्ने काम गरे। विभिन्न क्षेत्रमा भएका तिनका भरौटे चाकरहरुले त्यसलाई उत्कर्षमा पुर्‍याए।

उनीहरुले निरंकुश भन्ने गरेको राजसंस्था अहिले किनारा लागेको छ। जनताले आफ्नो निमित्त आफैँ संविधान बनाउने भनेर देखाइएको चारो बेकार रहेछ भन्ने कुरा साबित भएको छ। संविधान निर्माणमा सर्वसाधारणको सहभागिता त परै जाओस त्यही संविधान बनाउन भनेर जनताले चुनेर (?) पठाएका सभासदहरुले समेत सबै कुरा थाहा नपाउने अवस्था छ। जनताका प्रतिनिधि भनिएका यी जोकरहरुको काम भने आफ्नो आत्मा बेचेर आफ्ना नेताको चरणमा चिल्लो घस्नु मात्र बनेको छ। यही काम गरे वापत जनताको रगत निचोरेर जम्मा गरेको पैसाबाट तलव पाउँछन्।

सर्वोच्च अदालतले पनि यो भएन भन्न पाउँदैन। अख्तियारले नेताको मनमौजी काम गरेको भएन भन्न पाउँदैन। मुखै कानुन भएको कालखण्डमा पनि हुन नसकेको सत्ताधारीको मनमौजी उत्कर्षमा छ। मज्जाको कुरा के छ भने आफूलाई सर्वज्ञ, सवै जनताको आवाज भनिने गरेको सञ्चारजगत जनतामाथि भएको यो अन्यायलाई युगले मारेको फड्को, नेताहरुको अतियोग्य काम भनेर साबित गर्न लागिपरेका छन्। अब चाकर विज्ञहरुको हुलले सञ्चारमाध्यममा कब्जा जमाउने छ। कुनै जमानामा डर, धाकले चुनावमा ल्याएको स्थानको आधारमा भएको ठूलो दलका प्रमुख नेताहरुको विरुदावली गाउन तल्लिन हुनेछन्।

मुखै कानुन भएको कालखण्डमा पनि हुन नसकेको सत्ताधारीको मनमौजी उत्कर्षमा छ।

निरंकूश नेताहरुको गोजीका दल, तिनका चाकर बुद्धिजीबी तथा सञ्चारकर्मीहरुको आतंकबाट जनतालाई त्राण दिने शक्ति हाललाई देखिएको छैन। आर्थिक उपार्जन शून्य सरह भएको नेपाली समाजमा कसरी नयाँ–नयाँ तरिकाले जनता निचोर्न सकिन्छ त्यसैमा सरकार भनिएको संरचना व्यस्त छ। सञ्चारमाध्यमहरु यो अन्याय भयो भन्न होइन बरु अझ जनता कसरी निचोरिन्छन्, पुन निचोरिनबाट बचे तिनीहरुलाई पनि निचोर्न मद्धत गर्न लागिपरेका छन्। हिजो कालो कानुन भन्नेहरुको निमित्त जनता निसास्सिने आजको कानुनलाई संसारको उत्कृष्ट कानुन भन्न लागेका छन।

नेताहरुको निरंकूश कामको पक्षपोषण गर्ने काममा लागेका यस्ता जनताका अपराधी बुद्धिजीबी, सञ्चारकर्मीहरुले सम्पूर्ण क्षेत्रलाई नै घृणाको पात्र बनाउनु भन्दा पहिले मानवीय सम्बेदनाहीन आफ्ना यस्ता सदस्यहरुलाई रोक लगाउन जरुरी छ। नत्र भोलि बालकृष्ण गुरूले जसरी ‘मण्डले’ शब्दको अर्थ लगाउनुभएको थियो त्यसै गरेर बुद्धिजीबी तथा सञ्चारकर्मी शब्दको पनि अर्थ गर्न नपरोस्। आफैँ निरंकूश भएर अरुलाई निरंकूश भन्ने कागले नाम काढ्ने काम अब बन्द हु पर्छ। जुन कानुन जनताको हितमा छैन त्यो कालो कानुन हो ।

जुन कानुन जनताको हितमा छैन त्यो कालो कानुन हो ।

त्यसैले कालो कानुन र नेताहरुको निरंकूशता विरुद्ध आन्दोलन आवश्यक भइसकेको छ। हिजो निरंकूश आरोप मात्रको पनि त्यत्रो विरोध भएको थियो भने आजका निरंकूश जनता चुसाहाको दिन गन्ती शुरु भइसकेको छ। बुद्धिजीबी सञ्चारकर्मी होसियार गहूँसंग घून सरह बन्नबाट बच्ने हो कि?

 

1090 Total Views 1 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here