नेपालमा चीन–भारत छद्म युद्ध

0
184
दीपक गजुरेल, राजनीति शास्त्री, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ
प्रश्न: नेपालको राजनीतिमा अब भारतको मात्र होइन् चीनको प्रभाव बढ्न थाल्यो भन्ने विश्लेषण हुन थालको छ । के त्यस्तै हो ?
– चीनको स्वार्थ हिमालय दक्षिण पहिले पनि थियो । अहिले पनि छ । राष्ट्रिय सुरक्षा, व्यापार र कुटनीतिक हिसाबमा स्वार्थ जोडिएको हुन्छ । चीनले पहिला पनि बेलाबेलामा नेपालप्रति चासो देखाउँदै आएको हो । सन् १९६१ मा त्यहाँका रक्षामन्त्री चेन यी ले नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्यो भने चीनले आफूमाथिको आक्रमण ठान्ने छ भनेका थिए । र त्यसपछिका दिनमा चीनले आफ्नो स्वार्थ हेरेकै हो । तर, चीन खुलेर र देखिने गरी काम गर्दैनथ्यो, पहिला । जे चाहेको हो चुप लागेर भित्रभित्रै गर्थ्यो । कतिपय अवस्थामा चीन चुप लागेर बस्दथ्यो । वि. सं. २०४५ सालमा भारतले नेपालमाथी नाकाबन्दी लगाउँदा चीनले हामीलाई सहयोग गर्छ भन्ने एकखालको चर्चा थियो, काठमाडौँमा । त्यसबेला यहाँबाट चीन गएको सरकारी टोलीलाई चिनियाँहरुले ‘तिमीहरूको भौगोलिक निकटता भारतसँग छ, हामीले धेरै सहयोग गर्न सक्दैनौं’ भन्ने जवाफ दिएको थियो भनेर अनौपचारिक रुपमा बाहिर पनि आयो । यसको अर्थ विगतमा चीन खुलेर अगाडि आउने गर्दैनथ्यो भन्ने बुझिन्छ । ऊ अप्ठ्यारो अवस्थामा मात्रै बोल्थ्यो । पहिलाको त्यो कार्यशैलीमा अहिले परिवर्तन आएको छ । चार वर्ष अधि नेपालमा भएको राजनीतिक परिर्वतनपछि चीनले आफ्नो पुरानो रणनीतिलाई परिर्वतन गर्यो । गएको तीन/चार वर्ष यता चीनको २०/२१ वटा उच्चस्तरीय टोली नेपाल भ्रमणमा आइसक्यो । नेपालमा आउँदा मात्र होइन चिनियाँहरु बेइजिङमा बसेर पनि बोलिरहेका छन्, प्रष्टसँग । मौन कुटनीति छाडेर नेपालको सन्दर्भमा आक्रामक रुपमा आउन थालेको छ चीन ।
प्रश्न: चीनले नेपाल नीति परिर्वतन गर्नुको पछाडि के कारण छन् ?
– यसमा दुई/तीन वटा कारण छन् । एउटा क्षेत्रीय हिसाबमा लिन सकिन्छ । म ‘हिमालयन एसिया’ भन्ने गर्छु, दक्षिण एसिया र चीन रहेको यस क्षेत्रलाई । सामरिक र रणनीतिक हिसाबमा चीनलाई समेत जोडेर हेर्नुपर्ने हुन्छ । यो क्षेत्रमा आएको परिवर्तनका कारण चीन आक्रामक हुनुपर्ने अवस्था आयो । नेपाली भूमि प्रयोग गरेर दक्षिण, भारतबाट वा भारतमा बसेर वा नेपालमा बसेर अरु कसैले चीनविरुद्ध विभिन्न गतिविधि गरिरहेका छन् । यस्ता गतिविधि एकदमै बढेर गइरहेको छ । तीन दशक पछि नेपालका सडकमा चीनविरुद्ध नारा लागे । चीनविरुद्धका गतिविधि देखिने गरी र नदेखिने गरी ह्वात्तै बढ्यो, विगत् केही समय यता । त्यसबाट चीनले आफूलाई खतरा महसुस गर्यो । दोस्रो, नेपालको राजनीति अस्थिर हुदै गयो भने यहाँको सरकार, समाज प्रणाली कमजोर भएर जान्छ र विदेशी शक्तिहरूले नेपाली भूमिबाट बढी खेल्छन् । यस्तो बेला नेपालको राष्ट्रियता प्रतिको चासो होइन्, चीनलाई बढी खतरा हुन्छ भनेर बेइजिङ्गले हेरेको हुन्छ ।
प्रश्न: नेपालको राजनीतिक अस्थिरताले चीनलाई कत्तिको खतरा पुर्याउँछ ?
– अन्तर्राष्ट्रिय शक्ति समीकरणमा महाशक्ति राष्ट्र बन्दै गएको देशलाई कमजोर ठाउँमा कसैले हिर्काइदेला भन्ने डर हुन्छ । त्यसमा ऊ सर्तक हुनैपर्छ । जस्तो, तिव्बत चीनको कमजोर क्षेत्रको रुपमा रहेको छ । यो क्षेत्र नेपालको सीमामा रहेकाले पनि चीन बढी सतर्क हुनुपर्ने अवस्था छ । त्यसकारण नेपालमा स्थिरता हुनुपर्छ र यहाँ विदेशीको चलखेल कम हुनुपर्छ भन्ने उसको पहिलादेखिको नीतिलाई बढी आक्रामक रुपमा कार्यान्वयनमा लानु पर्ने महसुस बेइजिङ्गले गरेको देखिँदैछ । नेपालमा विदेशीले यति दबाब दिन थाले, त्यसमा पनि भारतले यति दबाब दिन थाल्यो कि, चीनलाई खतरा महसुस भयो । त्यही कारण रक्षात्मक होइन्, आक्रामक हुनुपर्छ भन्ने चीनको नीति आएको छ अहिले । सन् १९९१ मा सोभियत संघको पतन भएपछि अमेरिका विश्वको एकमात्र महाशक्ति राष्ट्रका रुपमा रह्यो । उसले मध्यपूर्व, कोरियाली प्रायद्विप, अफ्रिका, दक्षिण एसिया जस्ता क्षेत्रमा प्रभाव बिस्तार गर्दै लग्यो । रणनीतिक रुपमा चिनियाँ भूभागको वरिपरि विभिन्न ठाउँमा अमेरिकाले आफ्नो उपस्थिति बढाउँदै लगेको छ । ताइवान, दक्षिण कोरिया, पूर्व सोभियत गणराज्यहरु, अफगानिस्तान, इराकमा अमेरिकाको उपस्थिति बढेको छ । नेपाल कमजोर भएको अवस्थामा दक्षिण एसियालाई केन्द्र मानेर अमेरिकाको उपस्थिति अझ वृद्धि भयो भने मलाई बढी खतरा हुन्छ भनेर चीनले बुझेको छ । एउटा क्षेत्रीय हिसाबले र अर्को अन्तर्राष्ट्रिय हिसाबले नेपालमा यस्तो शासन प्रणाली होस्, जसले मलाई खतरा तथा बाधा नहुने किसिमले शासन चलाओस् भन्ने चीन चाहन्छ ।
प्रश्न: नेपाल भारतवेष्ठित मुलुककै रुपमा छ । होइन् र ?
– हिजोसम्म थियो । आज चीनले त्यो स्वीकार गर्दिन भनिसक्यो । पहिला पनि स्वीकार गर्दिन भनेको चाहिं हो । तर, मौन तरिकाले । अब मौन तरिकाले हुँदैन भन्ने निष्कर्षमा पुगेको छ चीन । चीनले सकेसम्म, र सक्छ पनि, भारतको हालीमुहाली नेपालमा हुन दिंदैन । ‘अब तिम्रो हालीमुहाली हुँदैन, तिमी मेरो स्वार्थ विपरीत नेपालमा मनपरी नगर’ भनेर हालैको चिनियाँहरूको भ्रमण टोलीले पनि भारतलाई सन्देश दिएको छ । भारतले चीनको त्यो सन्देश बुझिसक्यो । भारतका प्रधानमन्त्रीले अघिल्लो हप्ताको सुरुमै चीन हाम्रो लागि खतरा हो भनेर बोलिसके ।
प्रश्न: भारत क्षेत्रीय शक्ति मात्रै हो, चीन सुपर पावर भएकोले नेपालप्रति चिनियाँ चासो कम हुन्छ भन्ने पनि विश्लेषण गरिन्छ नि ?
– होइन । पहिला ‘मलाई नकारात्मक असर नपर्ने गरी हिमालय दक्षिण तिमीलाई जे मनलाग्छ गर’ को नीति लिएको देखिन्छ चीनले । तर, अहिले चीनले विश्वभरी नै सामरिक, आर्थिक तथा रणनीतिक रुपमा आफ्नो प्रभाव विस्तार गर्न थालिसक्यो । यता, नेपाली भूमिबाट चीनविरुद्ध पहिला सोचिएभन्दा बढी गतिविधि हुन थाले । सुपर पावर हो भन्दैमा उसले जे पनि गर्न सक्छ भन्ने होइन । आक्रामक रुपमा जे पनि गर्न सक्ला । तर पहिला आफनो सुरक्षा त गर्नुपर्छ नि । चीनले भारतलाई अहिले रोकेको हो । ‘तिमी जे गर्दै थियौ अब चाहिं नगर’ भनेको हो ।
प्रश्न: अहिले नेपालमा भारतको प्रभाव कम गर्दै चीन प्रभाव विस्तार गर्ने लडाईँमा हो ?
– यहाँ तीनवटा शक्तिबीच छद्म युद्ध चलिरहेको छ । तीनवटा शक्ति भनेको चीन, भारत र अमेरिका हुन् । चीनको स्वार्थ आफ्नो सुरक्षा हेर्ने, त्यसका लागि, नेपालमा आइसकेका वा आउनसक्ने कुनै पनि शक्तिलाई रोक्ने हो । भारतको स्वार्थ नेपाल मेरो प्रभाव क्षेत्र हो, हिमालय दक्षिण मेरो सीमा हो भनेर जवाहरलाल नेहरूले उतिबेलै भनेका थिए, त्यसलाई कायम राख्दै सके सिक्कमीकरण नसके भुटानीकरण गर्ने हो । नेपालमाथि रहेको आफ्नो पुरानो प्रभाव नछोड्ने चाहना भारतको हो । अमेरिकाको उद्देश्य भनेको नेपालमा बसेर भावी महाशक्ति राष्ट्र चीनलाई कसरी हुन्छ ‘डिस्टर्ब’ गरेर हैरान पारिरहने र कमजोर पार्ने । नेपाल यस्तो रणनीतिक स्थानमा छ, जसको दुईपट्टी भावी महाशक्ति राष्ट्र छन् । भारत र चीनले अहिलेकै गतिमा विकास गर्दै गए भने भोलि अमेरिकालाई अमेरिकी भूमिमै चुनौती दिन सक्छन् । त्यो जोखिम अहिले नै रोक्न र समाप्त पार्न चाहन्छ अमेरिका । भारतले जे भन्यो त्यही गर्नुपर्छ भन्ने यहाँका (नेपालका) शासकको मानसिकता थियो, र अझै छ, विशेषत विगतको करिब चार वर्ष यता । त्यो अवस्थालाई अहिलेको छद्म युद्धले परिवर्तन गर्दै लगेको छ ।
प्रश्न: दक्षिण एसियाका देशसँग चीनको बढ्दो निकटता र छिमेकीसँग राम्रो सम्बन्ध नभएको भारतले आफू घेराबन्दीमा परेको महसुस गर्दैछ भन्ने विश्लेषण पनि गरिन्छ नि ?
– हो । ‘स्ट्रिङ अफ पर्ल्स’ भन्छन् उनीहरू । भारतीयहरू चीनले मोतीको मालाजस्तो बनाईसक्यो भन्छन् । पाकिस्तानमा बसेर चीनले ठूल्ठूला हाइड्रोपावर, सडक बनाउँदैछ र पाकिस्तानलाई अत्याधुनिक हातहतियारको प्रविधि हस्तान्तरण गरिरहेको छ । श्रीलंकाका राष्ट्रपतिले भारतबाट हतियार ल्याउन छाडेर चीनबाट ल्याउन थालेपछि एकै वर्षमा तमिल टाइगरलाई सिध्याइदिए । अहिले चीनले त्यहाँ ‘पोर्ट’ बनाउँदैछ हामबनतोला भन्ने भारतको भाग पट्टी । बगंलादेशमा वन्दरगाह बनाउँदैछ । चीन त आफ्नो सेना लिएर अफ्रिका सम्म पुगिसक्यो नि ।
प्रश्न: यसरी भारत र चीनको भिडन्तमा नेपाल कहाँ रहन्छ ?
– अहिले हामी किंकर्तव्यविमुढताको अवस्थामा छौँ । भारतले यसो गर भन्ने निर्देशन दिन्छ । मिडियामै आइरहेको छ, फलानोलाई धम्क्यायो भनेर । चीनले त्यसो नगर भन्छ । हाम्रो समस्या वा कमजोरी भनेको एउटाको निर्देशनमा हिड्ने बानी परेकोले यसले भनेको मानौं त्यो रिसाउँछ, त्यसले भनेको मानौं यो रिसाउँछ । यहाँ जसजसका बीच छद्म युद्ध भइरहेको छ, ती सबै शक्तिशाली छन् र ती मध्ये कसैको पनि निर्देशनलाई टार्न सक्ने अबस्थामा हामी छैनौँ । यस्तो अवस्थामा दुईवटा कुरा हुनसक्छ । कि त भारतले स्वीकार गर्नुपर्यो, मेरो पहिलाको प्रभाव क्षेत्र नेपालमा अब कम हस्तक्षेप गर्छु भनेर । व्यवहारमै हस्तक्षेप कम भएको देखिनुपर्यो । नेपालको राजीनीतिक स्थिरतामा चीनको चाहना अनुसार भारतले काम गर्यो भने भारतलाई पनि राम्रै हुन्छ । तर, त्यो छाँट देखिँदैन । चीनलाई चुनौती दिन खोजिरहेको छ भारत । तर, अहिले भारत शक्तिको हिसाबले चीनभन्दा ६० वर्ष पछाडि छ । केही महिना यता, भारतमा फरक ढंगले अशान्ति बढ्दै गएको छ । कश्मिरको जुलुसमा महिला र केटाकेटी समेत देखेर चिन्तित भएँ भनेर भारतका प्रधानमन्त्रीले भनेको समाचार आएको छ ।
प्रश्न: भारतको अहिलेको प्रभाव नघट्ने हो भने मात्रै खतरा हो ?
– नेपालमा भारतको प्रभाव घट्नुपर्छ । त्यसो भए, नेपाल, भारत र चीनलाई पनि राम्रो हुन्छ । भारतको प्रभाव घट्नुको अर्थ चीनको हालीमुहाली हुनु पर्छ भन्ने होइन । भारत र चीनले पर्दा पछाडि सम्झौता गरुन् । तर, त्यस्तो सम्भावना कम छ । भारतले आफ्नो भूमिका घटाउने होइन् अझ बढाउने कोसिस गरिरहेको छ । शक्तिको हिसावमा चीन प्रभावशाली छ । भारतको भूमिका कम गर्नका लागि चीनले आफू नदेखिने गरी काम गर्नसक्छ जसले भारतलाई अगाडि जान पनि नसक्ने र पछाडि फर्किन पनि नसक्ने अवस्थामा पुर्याइ दिनेछ । जस्तो प्रधानमन्त्रीको निर्वाचनलाई नै हेर्नोस् । हाम्रा नेताले स्वेच्छाले यो सब गरेका हुन र ? एउटाले एउटालाई भोट हाल भन्छ अर्कोले अर्कोलाई भोट हाल भन्छ । पहिला त पैसाको खेल मात्रै थियो । अहिले कुरा पैसाको मात्रै छैन । अब सुरक्षाको कुरा छ नेताहरूको । यदि यो शक्ति भिडन्तमा नेपालका नेताहरुले पैसाको मुखमात्रै हेरे, र राष्ट्रको हित हेरेनन् भने ज्यानमा खतरासमेत हुनसक्छ । कुनै पनि शक्ति राष्ट्रले आफ्नो राष्ट्रि स्वार्थ पूरा गर्नका लागि जुनसुकै हदसम्म गएको इतिहास छ ।
प्रश्न: अहिलेको प्रधानमन्त्री भिडन्त भारत र चीनकै हो ?
– चीनले एउटा कसैलाई बनाउन खोजेको छैन । भारतले जसलाई प्रधानमन्त्री बनाउन खोजेको छ, त्यसलाई चीन रोक्न खोज्दैछ । जोसुकै आओस् तर उसले नेपालबाट चीनविरुद्ध गतिविधि हुन नदेओस् भन्ने चीनको चाहना देखिन्छ । यदि त्यसो हुन सकेन भने चीनले दबाब कायम राख्छ । तर भारत पछाडि हट्न चाहेको छैन् । यस्तो बेला नेपालका नेताहरुमाथि बढी दबाब पर्छ । अहिले त फोनबाट धम्क्याउने कुरा मात्रै आएको छ । भोलि आफूले भनेको नमान्नेलाई सिध्याइदिन पनि सक्छन् ।
प्रश्न: भारतीय राजदूतावासबाट चीनलाई मुछ्ने गरी माओवादी नेतासँग भएको कुरा भन्दै जुन अडियो टेप सार्वजनिक भयो, त्यसले ती दुई देशवीच हुने कुटनीतिक सम्बन्धमा कस्तो असर पार्ला ?
– सांसद किन्न चीनसँग ५० करोड रुपैयाँ माओवादीले मागेको भन्ने जुन टेप आयो, त्यो नेपालको राजनीतिमा नौलो कुरा होइन् । तर, त्यो टेपले चीनलाई मुछेको छ । त्यसको प्रतिक्रियामा यहाँको चिनियाँ राजदूतावासले हाम्रो संलग्नता छैन भन्यो । त्यसपछि चीन चुप लागेको छ । चीनले अहिले यति ठूलो आरोप खेप्नुपर्यो भारतीय पक्षबाट, त्यो त बेइजिङ्गले पक्कै ‘नोटिस’ मा राखेको छ । चीनजस्तो शक्तिलाई अहिलेसम्म अमेरिकाले समेत यति ठूलो आरोप लगाएको थिएन । त्यसको जवाफ चीनले नेपालमा देखिने गरी भारतलाई दिंदैन । यो टेप प्रकरणको जवाफ हो भनेर नबुझिने गरी भारतलाई जवाफ दिन सक्छ । भारतले त्यो टेपको ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ । विश्वभरी चीनलाई बद्नाम गरेर भारतले गरेको भयंकर ठूलो गल्ती हो यो ।
प्रश्न: यी दुईको द्वन्द्वबाट हामी कहाँ पुग्छौ ?
– यी दुईको द्वन्द्वले एउटा विध्वंशको स्थिति सिर्जना गर्छ । एउटा ठूलो विध्वंश हुन्छ, जसको कसैले कल्पना पनि गरेको छैन । त्यसपछि नेपालले स्थिरता पाउँछ । त्यो विध्वंश हुने क्रममा यिनीहरूको रुप छद्म नै रहन्छ । त्यतिबेला भारतले ह्युमिलिएट हुने अवस्था आउनसक्छ । त्यसकारण नेपालको आन्तरिक राजनीति र वाह्य शक्तिको रणनीतिले एउटा भिडन्तको अवस्था ल्याउनै लागेको छ । कहिले, कसरी र कस्तो भन्ने मात्रै बाँकी छ ।
(साँघु साप्ताहिकमा प्रकाशित, असोज ०४, २०६७ (सेप्टेम्बर २०, २०१०)
Nepalpolity.blogspot.com
Deepak Gajurel