नेपाल कसरी धर्म निरपेक्ष ?

0
470

जनताको त्यो छटपटाहटले ककसलाई के के गर्ने हो त्यसको अनुमान लगाउन अफगानिस्तानको आजको हालत र त्यसवाट जन्मेको तालिवानले पाकिस्तान, भारत लगायत विश्वलाई नै पोलेको उदाहरण हेरे पुग्छ।

स्वयम्भुनाथ कार्की

SNKमुलुकमा राजनीतिक परिवर्तन हुनासाथ चर्चको लगानीले आफ्नो व्यक्तित्व र बर्चश्व कायम गर्ने सञ्चार जगतले घोषणा गरेका बुद्धिजीवीहरु धर्मनिरपेक्षताको स्वर उराल्न न्वारणदेखिको वल लगाउन थाल्छन। सञ्चारजगतले हमेशा केन्द्रबिन्दुमा राखेका यस्ता बुद्धिजीवीहरुसँग शब्दाडम्बर बाहेक कुनै तर्क हुदैन। सामान्य व्यक्तिले उठाएको सामन्य जिज्ञाशाको उनीहरु आफैलाई पनि चित्त बुझ्ने समाधान उनिहरुसँग हुँदैन। त्यसैकारण भरसक सामान्य जनतासँग दोहोरो सम्बाद नहोस भन्नेमा उनीहरु प्रयत्नशील रहन्छन।

कथंकदाचित प्रत्यक्ष अन्तरक्रिया हुने अबस्था आइपरेमा त्यस्तो कार्यक्रम अनेक बहानाले ढिलो शुरू गरेर वा गराएर जिज्ञाशाहरुलाई समयाभावको कोर्रा लगाउदै धपाउने गर्छन। यस्ता बुद्धिजीवीले कुनै जिज्ञाशा वा प्रश्नको उत्तर दिन शुरू गर्दा अत्यन्त राम्रो प्रश्न, समसामायिक जिज्ञाशा जस्ता आलंकारिक प्रशंसा गरेर उत्तर दिन शुरू गर्‍यो भने बुझेहुन्छ त्यो प्रसंगले उसलाई हल्लाई दियो। अब त्यसको जो समाधान आँउछ त्यो कोरा शब्दाडम्वर बाहेक केही हुँदैन। जिज्ञाशुको पल्लामा त केही पर्दैन नै उसको आफ्नै पल्लामा पनि त्यो पर्दैन।

२०४६ सालको परिवर्तनमा नेपाललाई धर्मनिरपेक्ष बनाउने विदेश पोषित बुद्धिजीवीहरुको प्रयत्न सफल हुन सकेन। तर २०६३ सालको परिवर्तनमा नेपाललाई तथाकथित धर्मनिरपेक्ष मुलुक बनाउन उनीहरु सफल भए।

यस किसिमको शब्दाडंबरबाट युवा पिँढी धेरै प्रभावित हुन्छन। अझ बोल्ने व्यक्ति कुनै दलको नेता वा बुद्धिजीवी रहेछ भने त त्यो त्यस दलका अनुयायीहरुको निमित्त त ब्रह्मवाक्य नै हुन जान्छ। यसमा अरु कसैले शंका गरेमा त्यसले संभव भएमा शारीरिक यातना नै भोग्नु पर्ने हुन्छ। नभए पनि त्यस्ता दलका अनुयायीहरुसँग शंका उब्जाउनेको पानी बाराबार हुन्छ। यसैले सबैसंग सुमधुर सम्वन्ध कायम रहोस भन्नेले तीतो घुडको पिएर चुपलाग्नु नै श्रेयस्कर हुन्छ।

२०४६ सालको परिवर्तनमा नेपाललाई धर्मनिरपेक्ष बनाउने विदेश पोषित बुद्धिजीवीहरुको प्रयत्न सफल हुन सकेन। तर २०६३ सालको परिवर्तनमा नेपाललाई तथाकथित धर्मनिरपेक्ष मुलुक बनाउन उनीहरु सफल भए। सफाई दिन पाउने सामन्य औपचारिक प्रक्रिया पनि नअपनाइ बिदा गरिएको राजतन्त्रसँग नेपालको हिन्दु धर्मसापेक्षतालाई जोडेर विरोधका स्वरहरुलाई बाहुबलले मिचेर नेपालबाट राजतन्त्र र हिन्दू राष्ट्र दुवैलाई विदा गरियो। आफ्नो कुशलताको चिन्तामा जनताले यो टर्रो घुँट निले, तर पचाउन सकेका छैनन। जव यो टर्रो घुँटले सहनै नसक्ने गरेर पेट हुँडल्न थाल्छ त्यसवेलाको जनताको त्यो छटपटाहटले ककसलाई के के गर्ने हो त्यसको अनुमान लगाउन अफगानिस्तानको आजको हालत र त्यसवाट जन्मेको तालिवानले पाकिस्तान, भारत लगायत विश्वलाई नै पोलेको उदाहरण हेरे पुग्छ।

राज्यले कुनै धर्म नमान्ने र कसैको धार्मिक स्वतन्त्रतामा बाधक नबन्ने कुरा धर्मनिरपेक्षताको परिभाषा हो भन्ने गरिन्छ । त्यसो भए धर्मनिरपेक्ष घोषित भईसकेपछि पनि सरकारका मन्त्रिहरु, उच्चाधिकारीहरु, सवैधानिक अंगका प्रमुखहरुको विभिन्न धार्मिक कार्यक्रममा भएको औपचारिक सहभागिताले यो परिभाषको पनि खिल्लि उडाएको छैन त ?

धर्म निरपेक्ष मुलुक हुनु भनेको राज्यले कुनै पनि धर्मसंग सम्बन्ध नराख्नु हो। धर्म निरपेक्ष मुलुकको उदाहरणमा भारतलाई लिने गरिन्छ। तर भारतको अबस्था र त्यसका बिभिन्न धर्म सम्बन्धी नियम कानूनले धर्म निरपेक्ष मुलुकको परिभाषामा पर्न दिदैन। बरु भारत बहुधर्म सापेक्ष मुलुकको परिभाषमा भने अटाउँछ। बिभिन्न धर्मालम्वीहरुलाई अलग अलग कानून दिने, विभिन्न धर्मका पर्वहरुमा सरकारी छुट्टी दिने जस्ता प्रावधानले राज्यले कुनै धर्म नअंगाली निरपेक्ष बसेको छ भन्ने कुरा कसरी सही हुन सक्छ?

मनुले गरेको परिभाषामा धर्मका दशबटा बुँदा छन् । १. धैर्य २. क्षमा ३. अनुत्तेजना ४. चोरी नगर्नु ५. शरीर र मनको पवित्रता ६. इन्द्रीयहरुलाई कावुमा राख्नु ७. उत्कृष्ट मनिषा ८. बिद्या ९. सच्चाइ र १०. क्रोधको परित्याग। हिन्दू धर्मको यो व्याख्याको प्रमुख बुँदाहरु विश्वमा प्रचलित सबै धर्मको आधार हो। धर्मनिरपेक्षता भनेको यो सबै कुरामा निरपेक्षता नै हो। तर के यी सबै कुराबाट कुनै पनि राष्ट्र निरपेक्ष बस्न सक्छ?

यदि कुनै मुलुकले एउटा वा एउटा भन्दा ज्यादा धर्मको निमित्त कानून बनाउँछ र त्यो कानून सबै जनतालाई नभई त्यही धर्म बिषेशको व्यक्तिलाई मात्र लागू हुन्छ भने त्यो मुलुकको संविधानमा जे लेखिएको भए पनि धर्मनिरपेक्ष मुलुक होइन। यदि कुनै मुलुकले धार्मिक चाडपर्वहरुमा सार्वजनिक विदा दिन्छ भने त्यो कसरी धर्मसंग निरपेक्ष भएको मान्ने? धार्मिक आयोजन, अवसर तथा यात्रामा राज्यकोषबाट खर्च गर्ने मुलुकले धर्मनिरपेक्षता कसरी कायम गर्‍यो? बरु त्यस्तो राष्ट्रलाई बहुधर्मसापेक्ष मुलुक भन्न सकिन्छ।

जबसम्म हिन्दु मठान्दिरमा सरकारका अंगहरुको विषेशाधिकार कायम छ, पदेन भएर पुजाआजाको प्रबन्धमा सरकारको उपस्थिति छ तबसम्म जहाँ जेसुकै लेखिएको भए पनि वा लेखिए पनि यो मुलुक हिन्दु राष्ट्र कायम नै छ।

राज्यले कुनै धर्म नमान्ने र कसैको धार्मिक स्वतन्त्रतामा बाधक नबन्ने कुरा धर्म निरपेक्षताको परिभाषा हो भन्ने गरिन्छ । त्यसो भए धर्म निरपेक्ष घोषित भइसकेपछि पनि सरकारका मन्त्रीहरु, उच्चाधिकारीहरु, सवैधानिक अंगका प्रमुखहरुको विभिन्न धार्मिक कार्यक्रममा भएको औपचारिक सहभागिताले यो परिभाषको पनि खिल्लि उडाएको छैन त? त्यसमाथि विश्वभरका हिन्दूहरुका आराध्यदेव श्री पशुपतिनाथसँग सम्बन्धित पशुपति विकास कोषको अध्यक्ष हिन्दु विद्वत समाजबाट नभई नेपाल सरकारका अगुवा प्रधानमन्त्री हुनु के हिन्दु राष्ट्रको उद्धोष हैन?

जुन देशको सरकारको अगुवा नै हिन्दू मठमन्दिरको पदेन सञ्चालक छ त्यो देश जहाँ जे लेखे पनि न बहुधर्मसापेक्ष मुलुक हो न धर्मनिरपेक्ष मुलुक हो। यो त निर्विवाद रुपमा हिन्दु राष्ट्र नै हो। यही अटल सत्य स्वीकार गर्न आनाकानी गर्नु पर्ने किन? राष्ट्रले जुन धर्म साक्षेप छ त्यसै धर्मका मठमन्दिर, धार्मिक अनुष्ठान इत्यादिमा विषेश अधिकार राख्न पाउँछ। तर, उसले आफ्ना नागरिकहरुले मान्ने सबै धर्मको संरक्षण भने गर्नुपर्छ। बहुधर्मसापेक्ष हो भने कुनै पनि धर्मका धार्मिक अनुष्ठानमा विषेश अधिकार हुँदैन, तर संरक्षण सम्वर्धन भने सबैको गर्नुपर्छ। धर्म निरपेक्ष हो भने कुनै पनि धर्मका कुनै पनि कृयाकलापसंग निरपेक्ष रहनु पर्छ।

आफ्नो देशको नियम कानून विपरित हुने काम गर्न रोक्ने कुरामा भने राष्ट्रको धर्म सापेक्षता, बहुधर्मसापेक्षता वा धर्म निरपेक्षता कुनै पनि अबस्थाले बाधा पुर्‍याउँदैन। हाललाई जबसम्म हिन्दु मठान्दिरमा सरकारका अंगहरुको विषेशाधिकार कायम छ, पदेन भएर पुजाआजाको प्रबन्धमा सरकारको उपस्थिति छ तबसम्म जहाँ जेसुकै लेखिएको भए पनि वा लेखिए पनि यो मुलुक हिन्दु राष्ट्र कायम नै छ।