नेपाल : भारत र चीन समेत धरापमा

0
2426

विदेशी हस्तक्षेपको पक्ष र विपक्षमा नेपालीहरूलाई आमने – सामने खडा गराइएको छ । र कुन बेला, कुन रूपमा हिंसा शुरु गराइने हो भन्ने त्रासको अवस्था छ ।

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

दीपक गजुरेल, सहप्राध्यापक

नेपालको राजनीति जटिल बन्दैछ । राजनीतिक प्रणालीमा सुधार गर्ने यो वा त्यो मागका बहानामा मुलुकलाई द्वन्द्वको भासमा धकेल्ने प्रयाश भैराखेको छ ।

‘देशलाई जात र धर्मका नाममा अशान्त हुन नदिने’ दावी प्रधान मन्त्रीले गरे भर्खरै । प्रधान मन्त्रीले यसो भन्नुको आशय ‘स्थिति ठीक छैन’ भन्ने मूल्याङ्कन सरकारले समेत गरेको बुझ्नु पर्ने हुन्छ ।

हिंसा उन्मूख राजनीति

जातका आधारमा नेपाली – नेपाली बीच फाटो मात्र देखिएको थियो अहिले सम्म । अब त हामी बीच शत्रुता समेत शुरू गराइन थालेको आभाष पाइँदैछ । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण टोलीले दिएको सुझावलाई सरकार, केही पार्टी, वुद्धिजीवी र अन्य केहीले विरोध जनाए, वक्तव्य मार्फत् । साँच्चै नेपालीहरू विदेशीको हस्तक्षेप सहँदैनन् भन्ने देखाइएको छ सतहमा ।

तर स्थिति विदेशी हस्तक्षेपमा मात्र सिमित छैन । नेपाल राष्ट्रलाई कहिल्यै नटुङ्गिने हिंसाको श्रृङ्खलामा जाक्ने काम नेपालीहरूले नै गरिराखेका छन् । विदेशीका टाउकामा दोष थोपरेर उम्कने अवस्थामा कोही छैन ।

धर्म निरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रका बाहकहरू वास्तिवकतालाई ‌ओझेल (Overshadow) मा पार्ने दूष्प्रयाश गर्दैछन् ।

सर्पले आधा निलिसकेको भ्यागुतोले नजिकै आएको झिँगालाई झम्टिएर खाने प्रयाश गर्न छाड्दैन ।

यदि कुनै नेपालीले विदेशीको स्वार्थ अनुसार काम नगरेको भए, पराइको सुझाव शिरोपर गरेर सामाजिक विभाजन नल्याएको भए, अहिलेको अवस्था आउने नै थिएन ।

विगतमा अनेक बहाना तथा स्वरुपमा नेपाली – नेपालीलाई विभाजन गरियो । त्यही विभाजनलाई उपयोग गरेर अब द्वन्द्व गराउन खोजिँदैछ । र त्यसका लागि, विदेशी हस्तक्षेपको पक्ष र विपक्षमा नेपालीहरूलाई आमने – सामने खडा गराइएको छ । र कुन बेला, कुन रूपमा हिंसा शुरु गराइने हो भन्ने त्रासको अवस्था छ ।

परिस्थितिको गम्भीरता बुझेर सबै सरोकारवालाहरू समाधानका लागि तत्काल जुट्नु जरूरी भैसक्यो । ढिला गर्ने हो भने, हामीलाई ठूलो, भयङ्कर हिंसामा होम्ने निश्चित छ ।

दायित्वको प्रश्न

मुलुक र समाज प्रति पहिलो दायित्व सरकारको हो । सरकारले तुरुन्तै स्वेत पत्र जारी गरी विगतमा क–कसले विदेशीको एजेण्डामा कसरी काम गरे भन्ने जानकारी सार्वजनिक गर्नु पर्छ । विदेशी सहयोग व्यक्ति, समूह, संगठन, महासंघ, सरकारी – गैरसरकारी निकाय / संस्था, व्यापारी, वुद्धिजीवी, सबै क्षेत्रकाले लिएका छन् ।

बाहिर देखाउने नाम र काम चाहिँ विकास, प्रगति, अभिवृद्धि जस्ता कुरा होलान् । यी सम्पूर्णका भित्री नियत (Hidden agenda) र नेपाल विरूद्धका गतिविधि सरकारलाई जानकारी हुनै पर्छ । सो जानकारी तत्काल सार्वजनिक गरेर देशी–विदेशी सबैलाई नङ्ग्याऊ ।

दोश्रो दायित्व राजनीतिक दल र तिनका नेताहरूको हो । पुराना, नयाँ, साना, ठूला सबै दल र नेताहरूले एक–अर्काको ‘पोल’ खोल । र त्यो पनि तुरुन्तै । सर्पको खुट्टा सर्पले देख्छ !

स्थितिको गम्भीरता बुझ सबैले, र उठाऊ कदम राष्ट्रका लागि, निजी / निहित स्वार्थ हेर्ने समय छैन । आ–आफू सँग उपलब्ध सूचना, जानकारी प्रयोग गर राष्ट्रका हितमा ।

माथि दिइएका सुझावलाई एउटा निरीह नागरिकको आग्रह मात्र ठान्ने गल्ति नगर्नु राम्रो हुन्छ, राजनीतिज्ञहरूको निजी स्वार्थ र यिनका अस्तित्व रक्षाका लागि समेत । हैन भने, आगामी दिनमा, एउटा बिन्दूमा पुगेर सबै भन्दा ठूलो र डरलाग्दो धक्का यिनीहरूले नै खप्नु पर्नेछ । र त्यस्तो धक्का नेपालका राजनीतिज्ञहरूका लागि असह्य मात्र होइन ज्यानमारा (Fatal) नै हुने संभावना प्रवल छ ।

सरकार र राजनीतिज्ञ सँगै राष्ट्रको पक्षमा उपर्युक्त काम गर्ने जिम्मेवारी मुलुक भित्रका सम्बन्धित संस्था र निकायहरूको पनि हो । स्थितिको गम्भीरता बुझ सबैले, र उठाऊ कदम राष्ट्रका लागि, निजी / निहित स्वार्थ हेर्ने समय छैन । आ–आफू सँग उपलब्ध सूचना, जानकारी प्रयोग गर राष्ट्रका हितमा ।

नेपाल धरापमा छ, कसरी ? भन्ने प्रश्नको जवाफ खोज्न चाहनेले Realistic Approach बाट विश्व शक्ति संघर्षको स्वरुप, प्रक्रिया र परिणाम अध्ययन गर्नु । रुवाण्डा, सिरिया, इराक, सुडान ‘केस स्टडी’ हुन सक्छन् । तर त्यतिले मात्र नपुग्ला ।

चीन र भारत समेत धरापमा

हिमालयको काखमा रहेको यो सुन्दर, शान्त राष्ट्रलाई विदेशीको इशारामा चलेर, योजनावद्ध ढङ्गले यो डरलाग्दो अवस्थामा पुर्याएका यी राजनीतिज्ञहरूबाट धेरै आशा गर्न सकिन्न ।

सर्पले आधा निलिसकेको भ्यागुतोले नजिकै आएको झिँगालाई झम्टिएर खाने प्रयाश गर्न छाड्दैन ।

सन् २००५–०६ को जस्तो खेलाँची गर्न खोजियो भने त्यो उनीहरूकै लागि आत्मघाती हुने निश्चित छ ।

अहिलेको अवस्था र प्रवृत्ति जारी रहने हो भने नेपाल भयानक दावनलमा पोलिन थाल्नेछ । र त्यो आगोले हाम्रा छिमेकी भारत र चीनलाई समेत छोड्ने छैन ।

पश्चिमाहरूको लक्ष्य नेपाल होइन, चीन र भारत हो । नेपाल त माध्यम, Unsinkable Aircraft Carrier, मात्र हो ।

त्यसैले अब होस् गर्नु पर्ने, गम्भीरतापूर्वक काम गर्नु पर्ने बेला दिल्ली र बेइजिङ्गको हो । क्षेत्रीय शक्तिबाट विश्व शक्ति बन्न द्रूत गतिमा अघि बढिराखेका चीन र भारतलाई कमजोर पार्न नेपाली भूमि कति महत्वपूर्ण छ, र यो ठाउँ आफ्ना लागि कति खतरनाक बनाइन सक्छ भन्ने यथार्थ बेइजिङ्ग र दिल्लीका शासकहरूले अब चाहिँ बुझेको हुनु पर्छ ।

सन् २००५–०६ को जस्तो खेलाँची गर्न खोजियो भने त्यो उनीहरूकै लागि आत्मघाती हुने निश्चित छ ।

त्यसैले भारत र चीन दुबै, संयुक्त रूपमा वा एक्ला एक्लै, तत्काल सक्रिय हुनु जरुरी छ । र त्यो सक्रियता नेपाली राजनीतिज्ञ, वुद्धिजीवी, मिडिया, संघ–महासंघ, संगठन जस्ता प्रति लक्षित हुनु पर्छ । यसको अर्थ नेपालमा प्रभाव बिस्तार भन्ने होइन । बेइजिङ्ग र दिल्लीले अभूतपूर्व कदम चाल्नु पर्छ, सूचना युद्ध थालेर ।

बेइजिङ्ग र दिल्लीले अभूतपूर्व कदम चाल्नु पर्छ, सूचना युद्ध थालेर ।

नेपाललाई क–कसले, किन, कसरी, कहिले, कुन तरिकाले यो धरापमा पुर्याए भन्ने सम्पूर्ण सूचना / जानकारी, तथ्याङ्क चीन र भारत सँग नहुने हुनै सक्तैन । अहिले सम्म नेपालमा ‘प्रभाव बिस्तार’ गर्न गोप्य रूपमा प्रयोग गरिएका त्यस्ता सबै सूचना अब दिल्ली र बेइजिङ्गले सार्वजनिक गर्नु पर्छ । सके सम्म, मिले सम्म आधिकारिक रूपमा, नमिल्ने अवस्थामा ‘लिक’ का बाटो अपनाएर, तर आधिकारिकतामा असर नपर्ने गरी ।

यो प्रक्रियामा, विगतमा आफूले गरेका, गराएका गलत कामको फेहरिस्त समेत बाहिर ल्याइनु पर्छ सम्बन्धितहरूले । पानी मुनीको ओभानो बन्ने प्रयाश प्रत्यूत्पादक हुनेछ ।

नेपालमा गरिएको, गराइएको भाँडभैलो, अराजकता, अस्थिरताका वास्तविक भित्री, गुदी सूचना बाहिर ल्याइयो भने अहिले विभाजित नेपाली एकजुट हुनेछन् । र मनपरी गर्नेहरूलाई नेपाली नागरिकहरूले मिलेर ठेगान लगाउने छन् । हो, यो प्रक्रियामा केही समय खलबल हुनेछ । तर राष्ट्रका शत्रुको संख्या केही सय वा केही हजार हुने भएकाले ‘शत्रुनाश’ पश्चात राष्ट्र तथा नेपाली समाज स्वभाविक अवस्थामा फर्कनेछ केही समयको भद्रगोल पछि । र त्यो स्थिरता दिगो हुनेछ ।

बाटो सजिलो छैन

नेपाल भित्रका, चीन वा भारत जहाँ, जो भए पनि, यसरी सूचना युद्ध लड्न र जित्न सजिलो चाहिँ हुने छैन । जस्ले दुई दशक भन्दा बढी लामो समय देखि ठूलो स्रोत र समय लगानी गरेको छ हिमालयन एशियालाई ध्वस्त पार्न, त्यसले सजिलै हार मान्नेवाला छैन ।

र अत्यधिक शक्तिशाली पश्चिमाहरूलाई ‘पाठ सिकाउनु’ नेपाली राजनीतिज्ञहरूलाई खरिद गरे जस्तो सजिलो हुने छैन । खतरा ठूलो छ, काठमाडौँ, बेइजिङ्ग र दिल्ली सबैका लागि ।

मर्नु र बहुलाउनुमा कुन निको ? छनौट गर्न अब ढिला गर्नु आत्मघाती हुनेछ, यी तीनै पक्षका लागि ।

मर्नु र बहुलाउनुमा कुन निको ? छनौट गर्न अब ढिला गर्नु आत्मघाती हुनेछ, यी तीनै पक्षका लागि ।

स्मरणका लागि नमूना

सन् २०१४ को भारतीय आम चुनावमा कुन पार्टीले जितेर कुन व्यक्ति भारतका प्रधान मन्त्री बन्नेछ भन्ने ‘प्रक्षेपण’ अमेरिकाको सरकारी ‘सुरक्षा विज्ञ’ ले सन् २०१० मै किन, कसरी गरेका थिए ? र २०१४ को भारतीय आम चुनावको परिणाम के आयो ? भारतीयहरूले बुझेका छन् ?

बेइजिङ्गले पनि स्मरण गर्नु पर्ने गम्भीर पक्ष छन् यस सन्दर्भमा । सन् २००१ मा अमेरिकी कँङ्ग्रेसले तिब्बत सम्बन्धी ‘विशेष प्रस्ताव’ पारित गर्नुको पछाडि कुन उद्देश्य लुकेको थियो ? चिनियाँ कम्यूनिष्ट शासकहरूले अब चाहिँ बुझ्ने बेला भयो कि ?

सहप्राध्यापक गजुरेल राजनीति शास्त्री हुन् ।