पश्चिमाले हामीसँग सिकुन् : विकास र सुख

0
377

आज विकास अर्थशास्त्रमा सुख सूचकांक (Happiness Index) लाई पनि महत्व दिन थालिएको छ जुन मानसिक सन्तुष्टिसँग जोडिएको हुन्छ । प्रतिव्यक्ति आय उच्च हुँदैमा मुलुकको सुख सूचकांक पनि उच्च हुनैपर्छ भन्ने जरूरी छैन ।

शम्भुराम जोशी

शम्भूराम जोशी

अहिले नेपाल कठिन परिस्थितिको सामना गरिरहेको छ । मुलुकको मौलिक चिनारीलाई लोप गर्ने कुत्सित प्रयाशहरू भैराखेका छन् । धेरैले मान्दै आएको हिन्दू दर्शन, संस्कृति, आचार–विचार, जीवन पद्धति र नीति-नियमलाई मुलुकको विकासका लागि बाधकको रूपमा लिनेसम्मका धृष्टता हुँदैछ । यो हिन्दू ग्रन्थहरूको समुचित अध्ययन नगरी विदेशी उग्र भौतिकवादीहरूले घोकाएको पाठ र पश्चिमाहरूले भनेको मात्रै सही हो भन्ने पुर्वाग्रही धारणाभन्दा बढी केही होइन ।

आर्थिक विकास के हो ?

आर्थिक विकास आफैँमा परिवर्तन हुँदै जाने अवधारणा हो । यो चौतर्फी सकारात्मक परिवर्तन हो । केवल आर्थिक वृद्धिलाई मुलुकको विकासको रूपमा लिइनुहुँदैन । आर्थिक वृद्धिका साथै आर्थिक प्रगति, रोजगारी जस्ता पक्षका साथै वातावरण संरक्षणका अतिरिक्त प्रजातन्त्र र स्वतन्त्रता समेत आर्थिक विकासका निमित्त आवश्यक छ ।

यी कुरा प्राप्तिकालागि राज्य लोककल्याणकारी  हुनुपर्छ । हिन्दूहरूको पूजनीय ग्रन्थ रामायणले राम राज्य (लोक कल्याणकारी) को कुरा गर्दै सत्तामा बस्नेहरूले नागरिकको भलाइमा ध्यान दिनुपर्नेमा जोड दिएको छ । अहिले लोककल्याणको सिद्धान्त अवलम्वन गरेका मुलुकहरूमा नै मानव विकास सूचकांक उत्कृष्ट रहेको र नागरिकहरू सुखी छन् ।

परलोक र भौतिकवादका कुरा

अधिकांश हिन्दूहरू पारलौकिक सुखमा विश्वास राख्छन् । हुन त परलोकमा विश्वास नराख्ने चारवाक वा लोकायत मत पनि वैदिक मतसँगै आर्यवर्तमा विकसित भएको हो । वैदिक मत आफैँमा अवैज्ञानिक वा अन्धविश्वासी भने कहिले पनि रहेन । बरू आफ्ना वरपरका भौतिक अवयवहरू सबैलाई देवताका रूपमा पुज्दै वा अनुग्रहित हुँदै उनीहरूको रक्षाका लागि यो अग्रसर रह्यो ।

ऋग्वेदले परलोकको कुरा गरेन, तापनि पछि रचना गरिएका ग्रन्थहरूले भने त्यसको परिकल्पना गरे । त्यसो गर्नुको पछाडि मानव जीवनलाई आदर्श र सार्थक बनाउनु थियो । साथै आफू बसेको समाजप्रति मानव उत्तरदायी हुन्छ र अन्य मानिसहरूका हितका लागि समेत उसले कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने आशय थियो । कमजोर र अशक्तहरूको हितमा काम गर्दा परलोक सप्रिन्छ र अहित गर्दा बिग्रन्छ । अर्थात अरूको हित गर्नु बराबरको धर्म र अहित वा पीडा दिनु जत्तिको पाप अरू केही छैन भन्ने हिन्दू अवधारणाले कसरी विकासमा अवरोध पुर्याउन सक्दछ ? यो कुरा आफ्नो सुखको मात्रै ध्यान राख्नुपर्छ भन्ने पाश्चात्य अवधारणाको विपरीत भने हुन सक्छ । फेरि पारलौकिक हितका लागि गरिने दानले धन र सम्पतिको हस्तान्तरणमा पनि केही हदसम्म भए पनि भूमिका खेल्छन् भन्ने कुरा पश्चिमको ‘मै खाउँ, मै लाउँ’ भन्ने सोचाइसँग मिल्दैन ।

वातावरण र विकासको कुरा

पश्चिमाहरूले केही दशक अघि मात्रै विकासको लागि वातावरण संरक्षण आवश्यक रहेको कुरा बुझे । तर ऋग्वेदले यो तथ्य हजारौँ वर्ष अघि नै भनिसकेको थियो । उक्त ग्रन्थले पृथ्वीको साथसाथै अन्य प्राकृतिक स्रोतहरूको महत्व बुझाउँदै तिनीहरूलाई पवित्र राख्नुपर्ने र प्रदूषित गर्ननहुने भनेकोछ र अनेकौं सूक्तहरूको पनि रचना गरिएको छ । यज्ञ–यज्ञादी कर्महरूको लक्ष्य पनि वातावरणको शुद्धता नै हो । यसैले मानव हितका लागि वातावरणको भूमिका हुन्छ भन्ने कुरा हिन्दूहरूका लागि नौलो कुरा होइन ।

धनको महत्वको कुरा

धनको महिमा गान गर्दै त्यसलाई आर्जन गर्नका लागि ऋग्वेदले अभिप्रेरित गरे पनि कठोपनिषद र वृहद्कारण्योपनिषद (पछाडिको भाग) ले भने धनभन्दा ब्रह्मज्ञानलाई अझ महत्व दिए । यसरी आज भन्दा हजारौं बर्ष अघि नै हाम्रा ग्रन्थहरूले धनका लागि आज भन्दा ज्यादा स्वार्थी नबन्नका लागि मानव जातिलाई निर्देशित गरिसकेका थिए ।

अरूको हित गर्नु बराबरको धर्म र अहित वा पीडा दिनु जत्तिको पाप अरू केही छैन भन्ने हिन्दु अवधारणाले कसरी विकासमा अवरोध पुर्याउन सक्दछ ?

तर पश्चिमा जगतले एडम स्मिथ, जे. एस. मील हुँदै मिल्टन, फ्रिडम्यानका विचार अनुसार राज्यको न्यून भूमिका र वैयक्तिक स्वतन्त्रतालाई मूल रूपमा समर्थन गर्यो र नवउदारवादीहरूले ती अवधारणाहरूलाई आत्मसात गर्दै आर्थिक असमानतालाई समेत जायज मान्ने धृष्टता गरे । यी कुराहरूलाई अवलम्वन गर्ने अमेरिका विश्वमा सवैभन्दा ज्यादा आर्थिक असमानता हुने मुलुकमा गनिन्छ ।

पाश्चात्य विद्वान स्किडेलस्कीले लोभको कारणले देखापरेको आर्थिक समस्याको निराकरण गर्न  पूर्वीय वौद्ध मत अवलम्बन गरिनु पर्ने कुरा गरे, जुन वुद्धले जोड दिनुभन्दा पहिले नै आर्यवर्तमा वैदिक ग्रन्थहरूले व्याख्या गरिसकेको थिए । वौद्ध दर्शनलाई हिन्दू दर्शनबाट पर राखेर हेर्नु हुँदैन भन्ने पनि मत छ ।

मानसिक सुखको कुरा

अर्को कुरा के पनि छ भने हिन्दू ग्रन्थहरूले भौतिक सुख भन्दा आत्मिक सुखलाई महत्व दिँदै आइराखेका हुन् । धनले भौतिक वस्तु किन्न सकिने भए पनि आत्मिक वा मानसिक सुख भने आत्माको सन्तुष्टिबाट मात्रै प्राप्त हुन्छ । उपभोगको तृष्णाको कुनै सीमा नहुने भएकाले हाम्रा ग्रन्थहरूले थोरैबाट मात्र पनि सुखी हुनुपर्ने कुरा सिकाउँछन् । सन्तोषी सधैं सुखी र लोभी वा असन्तोषी (तृष्णा पालिराख्ने) सधैं दुःखी हुने उनीहरूको मत छ ।

आज विकास अर्थशास्त्रमा सुख सूचकांक (Happiness Index) लाई पनि महत्व दिन थालिएको छ, जुन मानसिक सन्तुष्टिसँग जोडिएको हुन्छ । प्रतिव्यक्ति आय उच्च हुँदैमा मुलुकको सुख सूचकांक पनि उच्च हुनैपर्छ भन्ने छैन ।

विश्वको महाशक्ति अमेरिकामा धेरै मानिसहरू विलाशिताको ज्वरोबाट पिडित भएकाले   मानसिक रूपमा दुखी हुने गर्छन् । सन् २०१८ मा प्रकाशित सुख सूचकांकमा ११७ देशहरू मध्ये फिनल्याण्ड सबैभन्दा माथि र अमेरिका अठाह्रौं स्थानमा रहेको छ । अघिल्लो साल त्यो १४ औं स्थानमा थियो । मनको सुखको सम्बन्ध धनसँग मात्र होइन, स्वस्थ्य मनस्थितिसँग पनि छ भन्ने कुरामा अव पश्चिमाहरू पनि सहमत हुँदैछन् ।

आर्थिक विकासमा हामी किन पछाडि ?

आर्थिक विकासको मामलामा हामी पछाडि पर्नाका कारण हिन्दू दर्शन, संस्कृति, आचार–विचार, जीवन पद्धति र नीति-नियम पूर्णरूपमा पालना नगरी, त्याज्य ठानिएका भ्रष्टाचार, अकर्मण्यता, कर्तव्य र ऐन नियमको पालनामा ढिलासुस्ति र बेवास्ता र लोभ जस्ता विकृतिहरू वढेकाले मुलुकको आर्थिक विकास पछाडि धकेलिएको हो ।

चरैवेति-चरैवेतिको पाठ पढाउँदै अघि बढिरहन सिकाउने वेद र फलको आशक्ति नराखेर कर्ममा लाग भन्ने गीताको मर्मलाई बुझेर अघि वढे विकास कसरी अनिश्चित हुन्छ ? हिन्दू दर्शनलाई भाग्यवादको खोल ओढाउनेहरूले भाग्यवादले नै मानवलाई मानसिक अवसाद (मेण्टल डिप्रेसन) बाट बचाँउछ भन्ने पनि बुझ्नुपर्छ ।

श्रम विभाजनको महत्वलाई बोध गरेर जाति व्यवस्था शुरू गरिएकोमा एक जातिबाट अर्को जातिमा कर्मका आधारमा जानसक्ने व्यवस्था र जातीय कट्टरता नभएको हिन्दू समाज पछि गएर जातीय विभेदको भासमा भासिँदै जानु निश्चय पनि कमजोरी हो । त्यो सुधारिनु जरूरी छ । त्यसै गरेर मातृशक्तिको पुजन गर्ने हिन्दू समाजले अबका दिनमा महिलाको थप सशक्तीकरणका लागि पाइला चाल्नुपर्छ ।

वेद, उपनिषद, पुराण र अन्य ग्रन्थहरूको धैर्यतापूर्वक अध्ययन गर्दै अगाडि बढ्ने हो भने हिन्दूहरूले कसैसँग ज्ञान र विज्ञान सापटी माग्नु पर्ने आवश्यकता रहँदैन । र हाम्रा यी निधिहरूले समस्त प्राणीको कल्याण र सुखको चाहना व्यक्त गर्छन् । तसर्थ यिनीहरूबाट निर्दिष्ट वैज्ञानिक हिन्दु दर्शन, संस्कृति, आचार विचार, जीवन पद्धति र नीति-नियमले यस मुलुकको विकासलाई अवरोध पुर्याएको भन्ने कुरा सोह्रै आना झुट हो । यसतर्फ सबैको ध्यान जानुपर्छ ।

जोशी त्रिभूवन विश्वविद्यालयमा अर्थशास्त्री हुन् ।