एउटा कुरा निश्चित छ, आगामी दिन यो क्षेत्रलाई ‘शान्त’ रहन दिइने छैन । इतिहास प्रमाण छ, जहाँ अमेरिकाको सामरिक उपस्थिति हुन्छ, त्यो ठाउँ, देश वा क्षेत्र खरानी बन्छ ।

दीपक गजुरेल,

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

सन् १९९१ बाट चलिआएको एक ध्रुवीय विश्व व्यवस्था परिवर्तन हुने सङ्केतहरू देखिन थालेका छन् ।

सोभियत संघको पतन पछि, शीत युद्धको समाप्ति सँगै, संयुक्त राज्य अमेरिकाको नेतृत्व (हैकम) मा झण्डै तीन दशक चलेको विश्व प्रणाली, ‘प्याक्स अमेरिकाना,’ को कार्य शैली तथा स्वरूप आउँदा वर्षहरूमा फरक बन्ने प्रक्षेपण गर्दैछन् दिग्गज रणनीतिकारहरू ।

वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धका ‘मेकियाभेली’ मानिने हेनरी किसिञ्जरले केही हप्ता अघि ‘विश्व व्यवस्था पूरै परिवर्तन हुने’ घोषणा गरे । कसरी ? अब आउने प्रणाली कस्तो हुनेछ ? जस्ता विषयमा उनले प्रष्ट केही भनेनन् । तर, अबको अन्तर्राष्ट्रिय प्रणालीमा पनि वाशिङ्गटनकै नेतृत्व कायम रहने सङ्केत चाहिँ गरेका छन् Realism का अद्वितीय यी रणनीतिकारले ।

अबको ‘प्याक्स अमेरिकाना’ कस्तो हुने हो ? जवाफ सजिलो छैन । विश्व व्यवस्था अराजकता तर्फ जाने स्पष्ट सङ्केतहरू चाहिँ पर्याप्त छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभाव पार्न सक्ने हैसियत भएका शक्ति राष्ट्रहरूले प्रदर्शन गरिराखेका व्यवहार र रणनीतिको विश्लेषणबाट संसार एक पटक डरलाग्दो अराजकतामा धकेलिने लक्षण देखिँदैछ । विश्वलाई केही समय अराजक, अशान्त, र अस्तव्यस्त गराउने, अनि सबै कमजोर भैसके पछि सशक्त हस्तक्षेप गर्ने दीर्घकालीन योजना ‘प्याक्स अमेरिकाना’ का योजनाकारहरूको देखिन्छ ।

यस्तो विश्लेषण गर्ने विद्वानहरू मध्ये एक बेरी गेवेनले ‘मर्गेनथाउ र किसिञ्जरको व्यवहारवाद फेरि सशक्त स्वरूपमा आउँदैछ’ भनेका छन् । दुई महिना अघि, अप्रिलमा प्रकाशित आफ्नो पुस्तक The Inevitability of Tragedy मा गेवेनले शीत युद्ध देखि एक ध्रुवीय व्यवस्थाका अनेक पक्षको विश्लेषण गर्दै अमेरिका अझ बढी सशक्त बन्ने प्रक्षेपण गरेका छन् । तर, त्यस बीच अराजकता लगभग पक्का देख्छन् गेवेन ।

प्रष्ट छन् सङ्केतहरू

यूरोपको रक्षा गर्न बनाइएको NATO बाट वाशिङ्गटन बाहिरिन खोज्दैछ । त्यस पछि के ? यूरोप फेरि आफ्नै हिंस्रक इतिहासको रक्त पिपाषू चरित्रमा फर्कने हो ? १९४५ पछि लगातार ७५ वर्ष सम्म कायम यूरोपको शान्ति अब कतिञ्जेल कायम रहन सक्ला ?

यस सन्दर्भमा पूर्वी तथा पश्चिम यूरोप प्रति स्टालिनको नीति स्मरण गर्नु उपयुक्त हुन्छ । ‘वार्म सी’ प्राप्ति लागि जे सुकै गर्ने मस्कोको विदेश नीतिको मूल लक्ष्य परिवर्तन भएको छैन, हुन सक्तैन पनि । रूसको प्रभाव यूरोपमा कति, कस्तो ? सात दशक देखि ‘एकीकृत’ यूरोप अबका दिनमा सँगै रहला ? लण्डनको ब्रेक्जिट मात्र होइन अरू पनि गतिविधि जारी छन्, वर्लिन र ब्रशेल्समा ।

रूस र यूरोपेलीहरूको सम्बन्ध कस्तो होला अमेरिकी उपस्थितिको अभावमा ? भ्लादिमिर पुटिनको रूस वृहत् यूरेसियाको सपना साकार पार्ने लक्ष्यलाई एक पटक फेरि अगाडि बढाउँदैछ । यसै बेला किन यो रणनीति ?

यूरोपेलीहरूले एउटा पुरानो तर महत्वपूर्ण सन्दर्भ स्मरण गर्नु उपयोगी हुन सक्छ । दोश्रो विश्व युद्ध उत्कर्षमा रहेका बेला, हिटलर ‘अलाइड’ का तुलनामा बलियो बन्दै गएको र समग्र युद्ध जर्मनीले जित्ने स्थिति बनेको समयमा, अमेरिकी राष्ट्रपतिले आफ्नो एउटा आन्तरिक बैठकमा यसो भनेका थिए : ‘यूरोपेलीहरूको यो संहारक युद्धको अन्त्यमा जुन पक्ष कमजोर देखिनेछ र हार्ने स्थितिमा पुग्नेछ अमेरिकाले त्यही पक्षलाई साथ दिनेछ । त्यतिञ्जेल यिनीहरूलाई सिद्धिन दिउँ लडेर ।’ उस बेला गोप्य तर धेरै पछि ‘डिक्लासिफाइड’ यो दस्तावेज यूरोपका राजधानीहरूमा पक्कै पढिएको हुनु पर्छ ।

इतिहास भन्छ, अमेरिकाले लिएको त्यही नीति अनुसार अन्तत: यूरोप ध्वस्त भयो । सूर्य अस्त कहिल्यै नहुने वेलायती साम्राज्यको त्यो महाशक्तिशाली जल सेनालाई कसरी योजनावद्ध ढङ्गले सिध्याइयो ? शताब्दियौँ देखि संसारभर हैकम चलाइराखेको ‘प्याक्स ब्रिटानिका’ दोश्रो विश्व युद्ध टुङ्गिदा सम्म ध्वस्त पारिसकिएको थियो ।

अनि शुरू गराइयो विश्वभर स्वतन्त्रताको लहर, Decolonization र प्रजातान्त्रिक शासन प्रणालीको बिस्तार !

विश्व व्यवस्था अराजकतामा जाकिने छ । युद्ध, अशान्ति सर्वव्याप्त हुने निश्चित छ । प्रजातन्त्र, मानव अधिकार जस्ता अवधारणा शब्द कोषमा मात्र सिमित हुन पुग्ने छन् ।

जटिलता अनेक छन्

‘ट्रम्पको नेतृत्वमा अमेरिकाले विश्व माथि आफ्नो नियन्त्रण गुमाउँदैछ’ भन्दैछन् वाशिङ्गटनका छद्म रणनीतिकारहरू । ‘द एण्ड अफ अमेरिका’ लेख्ने नाओमी उल्फ देखि ‘अबको विश्व नेतृत्व चीनको – प्याक्स सिनिका’ देख्ने विश्लेषकहरू अमेरिका ‘सिद्धिनै लाग्यो’ भनेर त्यसै भनिराखेका छैनन । नयाँ तर अझ सशक्त प्याक्स अमेरिकानाको दीर्घकालीन रणनीति अन्तर्गत यस्ता ‘प्रक्षेपण’ आउँदैछन् ।

यसको ‘चुरो’ बुझ्न तीन दशक अघिको समय तिर फर्कनु पर्ने हुन्छ एक फेरा । सोभियत संघ पतन पछि End of History, Clash of Civilizations जस्ता दर्शनको आवरणमा नयाँ रणनीति किन ल्याइएको थियो भन्ने अब त धेरैले राम्ररी बुझेको हुनु पर्छ । दोश्रो विश्व युद्ध पछि लगातार अशान्त रहेको पश्चिम एशिया र खाडी क्षेत्र किन र कसरी अहिले सम्म अस्तव्यस्त छन् ? बुझ्न गाह्रो छैन ।

अफ्रिकालाई अनेक आवरणमा अशान्त र अराजक बनाइराखिएको छ दशकौँ देखि । त्यहाँ विभिन्न प्रकार तथा स्वरूपका छद्म युद्ध जारी छन् । र, निकट भविष्यमा यो स्थितिमा सुधार आउने संभावना देखिन्न । अफ्रिकाका प्राकृतिक स्रोत कुनै न कुनै रूपमा अमेरिकी वा युरोपेली कम्पनीहरूको नियन्त्रणमा छ । र त्यहाँ उनीहरूका हैकम चल्छ, छद्म रूपमा बढी ।

यूरोपमा आफ्नो उपस्थिति घटाउँदै गर्दा ह्वाइट हाउसले आफ्नो ६० प्रतिशत सैनिक शक्ति एशिया पसिफिकमा केन्द्रित गर्दैछ । सोही नीति अब ‘इण्डो पसिफिक रणनीति’ का रूपमा बिस्तार गरिएको छ । यो के हो, किन, कसका विरूद्ध लक्षित ? जस्ता प्रश्नको जवाफ देखिन अब धेरै समय नलाग्ला । एउटा कुरा निश्चित छ, आगामी दिन यो क्षेत्रलाई ‘शान्त’ रहन दिइने छैन । इतिहास प्रमाण छ, जहाँ अमेरिकाको सामरिक उपस्थिति हुन्छ, त्यो ठाउँ, देश वा क्षेत्र खरानी बन्छ । वाशिङ्गटनको दासता स्वीकार गर्नेले चाहिँ अलि ‘सहुलियत’ पाउँछन् ।

चीन, पूर्वी तथा दक्षिण एशिया क्षेत्रमा शक्ति संघर्षको स्वरूप तीव्र गतिमा फेरिँदैछ । यो शक्ति संघर्ष क्षेत्रीय शक्तिहरूका बीच समेत बिस्तार हुँदैछ ।

विश्व नेतृत्व कसको ?

अराजकता ! अस्तव्यस्तता ! जताततै युद्ध ! अशान्ति ! तानाशाही !

अहिलेका विभिन्न सङ्केतहरूले यस्तै देखाइराखेका छन् ।

प्याक्स अमेरिकाना ‘ब्याक सिट’ मा जान लागेको अलिकता लक्षण देखिना साथ क्षेत्रीय गतिविधि बढेका छन् । तर, ‘रेफ्री’ बन्ने हैसियत कसको छ वाशिङ्गटन बाहेक ?

‘प्याक्स रूसो’ पहिले संभव थिएन र अब पनि छैन । समग्र यूरेसियाको भूराजनीतिका कारण रूसको हैकम विश्वव्यापी हुन सक्ने संभावना छैन । ‘वार्म सी’ को अभाव, त्यसैले बलियो जल सेनाको अभाव, र भूराजनीतिक अवस्थितिका कारण रूस एक छत्र विश्व शक्ति बन्न सक्ने ठाउँ छैन ।

‘प्याक्स सिनिका’ को संभावना ? संभव छैन कम्तिमा अर्को १०० वर्ष । त्यो पनि, यदि अमेरिका आफ्नै कारणले समाप्त, इम्प्लोड, भयो भने मात्र । र अमेरिका समाप्त हुने कुनै पनि स्थिति अर्को १०० वर्षलाई देखिन्न, त्यो महादेशीय राष्ट्रको स्वरूप, अवस्थिति, भूराजनीति, दूरगामी सोचाइको जग, इतिहास आदि कारणले । ‘अटलाण्टिक र पसिफिक हाम्रा ताल हुन्’ त्यसै भनिएको छैन ।

अराजक विश्व

सैनिक बलका आधारमा क्षेत्रीय, अन्तर्राष्ट्रिय, दुई पक्षीय अशान्ति नियन्त्रण गर्ने र विश्व व्यापारको सुरक्षा गर्न सक्ने क्षमता अमेरिका बाहेक अरू कसै सँग छैन । र, आउने अर्को शताब्दि सम्म पनि त्यो हैसियत अरू कसैले प्राप्त गर्न सक्ने स्थिति देखिन्न । संयुक्त राष्ट्र संघ त शक्तिशालीको निर्देशनमा ल्याप्चे लगाएर वैधानिकता प्रदान गर्ने निकाय भन्दा बढी कहिल्यै थिएन र छैन ।

यूरोपको रक्षा गर्न बनाइएको NATO बाट वाशिङ्गटन बाहिरिन खोज्दैछ । त्यस पछि के ? यूरोप फेरि आफ्नै हिंस्रक इतिहासको रक्त पिपाषू चरित्रमा फर्कने हो ? १९४५ पछि लगातार ७५ वर्ष सम्म कायम यूरोपको शान्ति अब कतिञ्जेल कायम रहन सक्ला ?

विश्वभर व्यापार गर्नेहरूलाई थाहा छ, अन्तर्राष्ट्रिय महासागरमा ‘सी लेन’ को सुरक्षा अमेरिकाले गर्न छाडेको भोलि पल्ट अन्तर्राष्ट्रिय व्यापार तहस् नहस् हुनेछ । यो अवस्था आएको खण्डमा को-को डुब्ने छन् भन्ने हिसाब किताब सम्बन्धितहरूले गरिराखेकै हुन्छन् ।

दुई पक्षीय, बहु पक्षीय, क्षेत्रीय, अन्तर्राष्ट्रिय शान्तिको प्रत्याभूति गर्ने विश्व शक्तिको उपस्थितिमा के हुन वा नहुन सक्छ भन्ने हाम्रै छिमेकमा देखिएको हो उस बेला ।

सन् १९७१ मा निक्सन-किसिञ्जरले आँखा चिम्लेको भए, र ढाडो हस्तक्षेप नगरेका भए दक्षिण एशियाको राजनीतिक र सामरिक नक्शा अहिले अर्कै हुने थियो । सन् १९६२ को ‘हिमालयन ब्लण्डर’ र अहिलेको लद्दाख, नाथुला सबै तिर उसैको प्रभाव थियो र छ ।

साउथ चाइना सीको हालत के होला ‘अमेरिका फर्स्ट’ को नाममा ह्वाइट हाउसले बिस्तारै यूरोप र एशिया पसिफिकबाट थोरै मात्र हात झिकेको अवस्थामा ?

विश्व व्यवस्था अराजकतामा जाकिने छ । युद्ध, अशान्ति सर्वव्याप्त हुने निश्चित छ । प्रजातन्त्र, मानव अधिकार जस्ता अवधारणा शब्द कोषमा मात्र सिमित हुन पुग्ने छन् । तानाशाही, निरङ्कूश शासन प्रणाली नयाँ विश्व व्यवस्थाको चरित्र बन्ने छ ।

कमजोर र साना देशहरू क्षेत्रीय शक्तिको निर्देशनमा चल्न बाध्य हुने छन् । कतिको त अस्तित्व नै हराउने खतरा हुन् सक्छ ।

यूरोप, एशिया, यूरेसिया, अफ्रिका, हरेक क्षेत्रमा अशान्ति । अर्थात् युद्ध सामग्रीको अथाहा खपत । हतियार र अन्य युद्ध सामग्रीको विशाल व्यापार ! औपचारिक र गुप्त दुबै । र, धेरै प्रतिशत नाफा हुने यो व्यापारबाट सबै भन्दा बढी फाइदा लिने अमेरिका एक्लो शक्ति बन्नेछ । अमेरिकालाई खर्वौँ डलर चाहिएको छ, र त्यो पनि छिट्टै । कसरी भन्ने चिन्ता रहने छैन उनीहरूलाई ।

अरूलाई युद्धमा होमेर कमजोर पार्ने अनि आफू कमाउने – अन्तत: अहिलेको भन्दा अझ बढी शक्तिशाली ! यूरोप, हिमालयन एशिया, चीन-भारत-पाकिस्तान, चीन-दक्षिण-पूर्वी एशिया, अफ्रिका, पश्चिम एशिया, प्रत्यक्ष र छद्म लडाइँले सबै ध्वस्त ।

त्यस पछि प्रवेश हुनेछ एक्लो ‘उद्धारक’ को । New Deal, New World Order भनिए जस्तै अनेक रणनीतिको प्रयोग । अनि, प्याक्स अमेरिकाना अझ धेरै मजबुत र चुनौति रहित एकल महाशक्ति । र त्यो नेतृत्व स्वीकार्न सबै बाध्य ।

त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक, राजनीति शास्त्री दीपक गजुरेललाई deepakgajurel@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

550 Total Views 1 Views Today

2 COMMENTS

  1. Correct analysis. US will keep pulling strings in world politics even if it apparently retreats behind the stage.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here