प्रायोजित आरोप : दूईसय चालीस बर्ष

0
436

स्वयम्भुनाथ कार्की

SNनेपाललाई मायाँ गर्ने, देशको गौरवमा कसैले कुनै किसिमको चोट वा आँच पुर्‍याएको सहन नसक्ने देशप्रेमीलाई राष्ट्रविरोधी बनाउन सक्नु देशका शत्रुहरुको ठूलो सफलता हो। नेपाल निर्माण भएको काललाई शोषण, उत्पीडनको चरमको रुपमा चित्रित गर्ने काम देशप्रेमीहरुबाटै गराउन सफल हुँदा नेपालको अस्तित्व मटियामेट गर्न खोज्ने विदेशी षडयन्त्रकारी र तिनीहरुका नेपाली दलालहरुले एक अर्कालाई पक्कै पनि बधाई दिए होलान।

आज सबै जातजाति, क्षेत्र तथा वर्गका हितार्थ गठित भएका समूहले विगत दूईसय चालीस बर्षदेखि शोषण , उत्पीडन भएको भन्दा प्रष्ट बुझिने कुरा नेपालको एकीकरण नै यो कथित अत्याचारको कारक हो भन्ने नै हो।

उनीहरुको यो भनाईले नेपालको एकीकरण नै बेठीक थियो भन्ने जनाउँछ। नेपालको एकीकरण भन्दा पहिले शोषण, उत्पीडन, अन्याय वा अत्याचर केही थिएन भन्ने यो कथनको आशय बुझिन्छ। यदि यो कुरा नभएको भए दूईसय चालीस बर्ष नभनेर यूगौं यूग भनिने थियो।

दूईसय चालीस बर्ष अगाडी भएको काम नेपालको एकीकरण थियो। विसे नगर्चीदेखि कालु पाण्डे हुँदै पृथ्वीनारायण शाह कै भाइसम्मको बलिदान र योगदानले एकीकरण भएको थियो। अमरसिंह, बलभद्र कुंवर जस्ता कयौँ नेपाली सपुतहरुले आफ्नो ज्यान भन्दा देश ठूलो भनेर बहादुरी देखाए।

नालापानीको किल्लामा बलभद्रसँगै कांधमा कांध मिलाएर लडने आईमाइ तथा केटाकेटीहरू जब ज्यानको माया नगरी हातमा खुँडा खुकुरी ढुँगा मुडा लिएर अंग्रेजको तोपको मोहरी सामुन्ने परे उनीहरुसंग स्वदेशको माया थियो। अहिले भनिए झैँ देशवासीलाई अन्याय अत्याचारको भुमरीमा फसाउने षडयन्त्रकारी भएका भए संभवत उनीहरु भोकै र प्यासै लडने थिएनन, बरु अंग्रेज सँगै मिलेर भारतबर्षका मीर जाफर वा जयचन्दले झैँ मोज गर्ने थिए।

दूईसय चालीस बर्षलाई गाली गर्नेहरुले हेक्का राख्नु पर्ने कुरा के हो भने उनीहरुले सोझै नभए पनि अप्रत्यक्ष रूपमा नेपालको अस्तित्वलाई गाली गरिरहेका छन, त्यस कालखण्डका राष्ट्रिय बिभूतिहरूलाई गाली गर्दैछन।

त्यस कालखण्डमा केवल राजाहरुमात्र थिएनन् जनताबाट पनि उल्लेख्य व्यक्तित्व थिए। थोकमा दूईसय चालीस बर्षलाई गरिएको गालीले उनीहरुलाई पनि छुन्छ। आफैले मानेका कतिपय राजा बाहेकका राष्ट्रप्रमीहरुको उनीहरूबाट अपमान हुँदैछ। यसको उदाहरणको निमित्त राजाहरुका शालिकसँगै फोरिएका भानुभक्त लगायत अरु शालिक प्रयाप्त छन।

अझ बढी खोज्ने हो भने विभिन्न समूहले जलाएको नेपालको राष्ट्रिय झण्डा , जाति तथा वर्ग विषेशलाई क्षेत्र बिषेशमा गरिएको निषेधले पनि आंखा खुल्दैन भने त्यसलाई देशप्रेमी भनाउने कुरो त धेरै पर छ, नेपाली भनाउने पनि अधिकार छ त?

आफ्नै अस्तित्व इतिहास तथा पुर्खालाई आफैँमार्फत गाली गराएको पनि नबुझ्ने वा बुझ्न नचाहने नेपालीको यो प्रवृतिले नेपाल विश्व मानचित्रमा कहिलेसम्म स्वतन्त्र, अखण्ड र सार्वभौमरुपमा रहन सक्ला? कि उनीहरुलाई आफू नेपाली भएकोमा ग्लानी पो महशुस भएको छ कि? यो अप्रिय सोच्दा पनि मुटु काम्ने प्रश्न उठाउन आज देशप्रेमीहरुको कर्तव्य भइसकेको छ। यदि यो प्रश्न उठाउन हिचकिचाउने हो भने निकट भविष्यमा नै देशप्रेमीहरु नेपाली त रहने छन तर उनीहरुको नेपाल भने रहन मुस्किल हुनेछ। आफ्नो भूमि खोज्दै गरेका प्यालेस्टाइनीको नियति ती देशप्रेमीहरुको हुनेछ।

कसैलाई भित्रैबाट कमजोर पार्न उसको गौरव गर्न सक्ने कुराहरुलाई नष्ट गर्नुपर्छ। आज एकएक गरेर बिस्तारै बिस्तारै नेपालीले गौरव गरेका चिजहरु नष्ट गरिँदै छन। नेपालीहरुको मष्तिष्क बिस्तारै बिस्तारै पखाल्दै त्यसबाट उनीहरुले गौरव गरेका कुरा हटाएर त्यसमा त्यसै प्रति धृणा भरिँदैछ।

नेपालीका विभिन्न क्षेत्रका अगुवा कहलिएकाहरु जानेर वा नजानेर कसैको यो षडयन्त्रका सहायक हुँदैछन। अन्तर्क्रियाका नाममा सुनाइएका प्रवचन हुन वा विभिन्न सञचारमाध्यम मार्फत उनीहरुका विवाद गर्न नपाइने तर्कहरु यस्ता एकतर्फी संवादमार्फत उनीहरु नेपालीले गौरव गरेका प्रतीक चिन्हमाथि चोट गरिरहेका छन। उनीहरु सर्वसाधारणले गर्न सक्ने प्रश्नहरुबाट सुरक्षित छन।

दूईसय चालीस बर्ष पहिले यो भूभाग समतामूलक थियो, कुनै पनि थिचोमिचो थिएन। अनि जनता सुखी सम्पन्न थिए। दूईसय चालीस बर्षमा नै भेदभाव, थिचोमिचो भयो, जनता दुखी र विपन्न भए भन्ने अर्थलाग्ने गरेर विगत दूईसय चालीस बर्षलाई गाली गर्दा शाहवंशलाई प्रत्यक्ष गाली त पुग्ला तर त्यससँगै नेपालको एकीकरण अन्याय अत्याचारको जननी हो भन्ने सन्देश पनि आफैँले फैलाई रहेका व्यक्तिहरु आफैले आफैसँग सोधुन उनीहरु राष्ट्रप्रेमी हुन वा राष्ट्रद्रोही?

आफ्नै आत्मालाई न्यायधीश बनाएर आफैँले फैसला गरुन दूईसय चालीस बर्ष पहिले भएको नेपाल राष्ट्रको जन्म यूगान्तकारी थियो वा कुनै आततायीको लिप्सा? यदि नेपालको जन्म आततायीको लिप्साको परिणाम थियो भन्छन भने उनीहरुलाई आफूलाई नेपाली भनाउने कुनै हधिकार छैन। होइन भने दूईसय चालीस बर्षलाई गाली गर्ने आफ्नो कार्य गलत थियो भनेर नेपाल र नेपालीसँग माफी मागुन र भविष्यमा दूईसय चालीस बर्षलाई गाली नगरुन।

यदि नेपाली नै बनेर नेपालको जन्मलाई नै गाली गर्छन भने देशप्रैमी नेपालीहरुले उनीहरुलाई माफी दिने छैनन्। बरु दण्ड दिन तम्सिए भने उनीहरु र उनीहरुलाई सहायता गर्नेहरुको कुन गत हुने हो त्यो सहजै कल्पना गर्न सकिन्छ।