बिपीको बिचारमा राजसंस्था

0
418

टीका धमला

टीका धमला
टीका धमला

नेपालको राजनीतिक परिवेशमा पृथ्वीनारायण शाहको पालादेखि विभिन्न उतारचढाव पार गर्दै आएको नेपालको राजसंस्थालाई ०६२/६३ को आन्दोलनपछि किनारा लगाइयो । तर, त्यो निर्णय वैधानिक नै थियो या नेपाली जनताको चाहना नै त्यही थियो त ? भन्ने विषयमा भने आजसम्म बहस जारी नै छ ।

पृथ्वीनारायण शाहदेखि भूतपूर्व राजा ज्ञानेन्द्रसम्म नेपालको राजसंस्थाको इतिहास हेर्ने हो भने नेपालका राजामध्ये केही व्यक्तिगत रूपमा सुखसयलमा लागे पनि त्यसबाट उनीहरू स्वयंलाई बाहेक नेपाल र नेपालीलाई दु:ख दिएको इतिहास पाइँदैन । अप्रत्यासित रूपमा आफूले नचाहँदा नचाहँदै पनि दुईपटक राजा भएका पूर्वराजा ज्ञानेन्द्रलाई नेपालमा २००७ साल र ०५८ को संक्रमणकालमा तत्कालीन नेपालको राष्ट्रियतामाथि कुनै आँच आउन नदिनमा एउटा मुख्य पात्रका रूपमा प्रयोग गरिएको इतिहास छ । यदि दुवैपटक ज्ञानेन्द्रले म राजा हुन्नँ भनेको भए नेपाल आज के हुन्थ्यो, कस्तो हुन्थ्यो, के–कस्ता द्वन्द्वमा नेपाल फस्थ्यो, खोजको विषय हुन सक्छ ।

हालसम्म संसारमा भएका राजसंस्थाबारे वा राजसंस्था हटेका, हटाइएका बारे विभिन्न किताब लेखिएका छन् । जुन–जुन देशमा जनताको भावनाविपरीत कुनै आन्तरिक वा बाह्य राजनीतिक उद्देश्यपूर्तिका लागि राजसंस्था हटाइएको छ, त्यहाँ आन्तरिक द्वन्द्वले उग्ररूप लिनुका साथै कुनैकुनै देशको त अस्तित्व नै मेटिएको इतिहास छ । यसको टड्कारो उदाहरण अफगानिस्तान, लेबनान, कम्बोडिया आदि हुन् । नजिककै उदाहरण लिने हो भने सिक्किमको उदाहरण लिन सकिन्छ । सिक्किमको चर्चा गर्दा यहाँ बिपी कोइरालाको विचार प्रस्ट पार्नु युक्तिसंगत हुन्छ ।

जब सिक्किममा राजा चोघ्याल र मन्त्री लेन्डुप दोर्जेबीच शक्ति र स्वार्थको आपसी द्वन्द्व भयो, तब सिक्किम र सिक्किमबासी साँढेको जुधाइमा मिचिए । राजा चोघ्याल र मन्त्री लेन्डुप दोर्जे एक–अर्कालाई समाप्त गर्ने बाटोमा लागे । त्यसताका नेपालमा पञ्चायत व्यवस्था आइसकेको थियो र बिपी कोइराला भारतको वनारसमा निर्वासित थिए । लेन्डुप दोर्जे बिपीलाई भेट्न वनारस पुगे र आपसी कुराकानी भयो । लेन्डुप दोर्जेले बिपीलाई भनेका थिए, नेपालमा अब प्रजातन्त्र गयो र पञ्चायती व्यवस्था आयो ।

आन्दोलनविना अब नेपालमा प्रजातन्त्र पुनर्स्थापना हुन सक्दैन । सिक्किममा त हामीले अब चोघ्याललाई हटाएर गणतन्त्र स्थापना गर्न लागेका छौँ । यसको नेतृत्व म आफैँले लिन लागेको छु । तपाईँ पनि अब नेपालका राजालाई हटाएर गणतन्त्र स्थापना गर्न नेतृत्व गर्नुहोस्, हामी सँगसँगै अघि बढौं भनेर उनले आग्रह गरेका थिए । त्यसको जवाफमा बिपीले लेन्डुप दोर्जेलाई भनेका थिए, चोघ्यालसँग सिक्किममा प्रजातन्त्र ल्याउन संघर्ष गर्नुहोस् तर राजालाई हटाउनेतर्फ नलाग्नुहोला । यदि तपाईंहरूले राजा हटाउनुभयो भने सिक्किमबाट राजा मात्र हट्नेछैनन्, सिक्किमको अस्तित्व नै मेटिनेछ । यसका साथै, नेपालबारे उनले लेन्डुप दोर्जेलाई भनेका थिए, नेपालबारे म स्पष्ट छु ।

राजा महेन्द्रसँग मेरो नेपालमा प्रजातन्त्र स्थापना गर्न केही द्वन्द्व छ न कि राजसंस्था हटाउन । हामीले अहिले आन्दोलन गरेर राजसंस्था हटाउन सक्यौँ भने पनि त्यहाँ ठूलो राजनीतिक खाडल बन्नेछ र नेपालको राष्ट्रियतामा ठूलो संकट आउनेछ, त्यो टार्न हामी सक्दैनौँ । जसले गर्दा नेपालको अस्तित्व मेटिन सक्छ र मबाट यो हुँदैन । मैले मेरा साथीलाई यही भन्ने गरेको छु । यसरी लेन्डुप दोर्जेसँग भएका कुरा सुन्नेमध्ये कांग्रेसका केही नेता अझै जिउँदै छन् । पछि सिक्किमको अस्तित्व मेटिएपछि लेन्डुप दोर्जे काठमाडौं आएर कुनै एक गुम्बामा बस्दा कांग्रेसका केही नेतालाई भेटी बिपीसँग वनारसमा भएका कुरा स्मरण गर्दै पछुतो मानेका थिए भन्ने पनि आएको थियो ।

बिपीले ०१७ सालपछिको कुनै एक राजनीतिक जमघटमा भनेका थिए रे, तुलसी गिरीले राजा महेन्द्रलाई धम्कीको भावमा भनेछन्– अब नेपालबाट पञ्चायत व्यवस्था राजाले पनि हटाउन सक्दैनन् तर मैले त राजालाई कहिल्यै धम्क्याइनँ । गिरी एकाउन्न प्रतिशतभन्दा माथिका नेपालीले मात्र राजा माने पनि म राजसंस्था बचाउँछु भन्ने व्यक्ति तर म शतप्रतिशत नेपालीले राजा मान्नुपर्छ भन्ने व्यक्ति । त्यसैले नेपालीले चिन्नुपर्छ, म बढी राजावादी कि तुलसी गिरी ? यसका साथै बिपीले ‘राजा, राष्ट्रियता र राजनीति’ भन्ने किताबमा भनेका छन्, राजामाथि कसैको प्रभाव पर्नु हुँदैन । त्यो पद सुरक्षित हुनुपर्छ । भोटमा त्यो पद निर्भर हुनु हुँदैन । तर, राजनीतिज्ञको कुरा अर्को हुन्छ । हामी जस्तो राजनीतिज्ञ एकपटक हारे पनि फेरि जितेर आउन सक्छौँ तर राजामा त्यो हुँदैन । राजाको ध्यान देशको कानुनमा सबैलाई न्यायको व्यवस्था छ कि छैन, कानुनबमोजिम काम भइरहेको छ कि छैन, त्यसमा केन्द्रित हुनुपर्छ ।

राजाका काममध्ये प्रधानमन्त्रीलाई नियालिरहनु पनि हो । यो–यो काम त योजनाबमोजिम भएन नि भन्न सक्नुपर्छ । यदि प्रधानमन्त्रीले सही काम नगरेमा नसिहत पनि दिन सक्नुपर्छ । बिपीले नेपालको राजाको मात्र कुरा नगरी विश्वका राजाबारे पनि भनेका छन् । राजाको एउटा गुण र धर्म हुन्छ र उनीहरू सोच्छन्, देशको गौरव बढ्यो भने राजाको पनि गौरव बढ्छ । आफ्नो स्वार्थ देशको स्वार्थसँग जोडेका हुन्छन् । यत्रो ठूलो गौरवलाई छाडेर बनियाँ जस्तो पैसा मात्रै जुटाउन खोज्छन् भन्ने मलाई लाग्दैन । बिपीले उल्लिखित किताबमा नेपालको राजसंस्थाबारे एउटा उदाहरण दिँदै भनेका छन्, पानी फोहोर छ भनेर बाथटबको पानी फ्याँक्दा त्यहाँ नुहाउन लागेको बालकलाई समेत फाल्न हुन्न । राजासँग हाम्रो झगडा छ भनेर राजतन्त्रलाई नै फ्याँक्ने उद्यम हामीले गर्न हुन्न । बाथटबको पानी फोहोर छ भने फ्याँकेर अर्को सफा पानी राख्नुपर्छ र त्यो नुहाइराखेको शिशुलाई बचाउनुपर्छ ।

बिपीले संसारका राजाबारे सोचे जस्तै विश्वको राजनीतिक इतिहासमा राजसंस्थाबारे आर्नोल्ड टोयन वी र दाइसाकु इकेदाको रोचक वार्तालाप (जीवन रोज्नुहोस्, नेपाल र एसियाली अनुसन्धान केन्द्र त्रिवि किर्तिपुरबाट अनूदित) नियाल्दा उहाँहरूको निष्कर्षमा प्रथम र द्वितीय विश्वयुद्धको असर राजतन्त्रमाथि परेको छ । प्रथम विश्वयुद्धको पराजयपछि अस्ट्रिया, हंगेरी, जर्मनी, टर्की आदि देशमा राजतन्त्र उन्मूलन गरियो । अरब मुलुकमा पनि द्वितीय विश्वयुद्धपछि इजिप्ट, इराक, लिबिया आदि देशमा राजतन्त्र हट्यो । केही देशमा एकपटक राजतन्त्र हटेपछि फेरि पुनर्स्थापना पनि भए जस्तै बेलायत, स्पेन, कम्बोडिया आदि ।

दुवै विद्वानबाट बेलायत र जापानको राजसंस्थाबारे खुलेरै सकारात्मक विश्लेषण गरेका छन् र हालसम्म स्थापित भएका विशेषगरी युरोपका राजसंस्थाको भविष्यबारे रोचक भविष्यवाणी गरेका छन् कि अब ती राजसंस्था सत्ताच्युत गरिएर हट्नेछैनन् । सम्भवत: यो कुरा राजा वा सम्राटको परिवारको कुनै सदस्यले यस्तो अरुचिकर कामको जिम्मेवारी हातमा लिने चाहना नगर्नाको कारणले नै हुनेछ । यसको मतलब द्वन्द्वरहित रूपमा राजसंस्था हट्नेछ । त्यहाँ कुनै समस्या हुनेछैन । यी माथिका कुरा पंक्तिकारले स्वर्गवासी राजा वीरेन्द्रसँगै हुँदाका क्षण राख्दा उहाँबाट यो एउटा भारी हो, जुन सधैँ बोकेर हिँड्न एक्लैले गाह्रो हुन्छ र भनेको ठाउँ र समयमा बिसाउन पनि पाइँदैन । तर, यसलाई मिलाएर लैजान सक्नुपर्छ, जसले गर्दा सबैको भलाइ हुन्छ भन्नुभएको थियो ।

०४६ को जनआन्दोलनको अन्त्यतिर सडकमा राजतन्त्रको विरोधमा आवाज आएलगत्तै राजा वीरेन्द्रबाट तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहमार्फत त्यसवेलाका जनआन्दोलनका कमान्डर गणेशमान सिंहलाई सडकमा राजाको विरोधमा नारा लाग्न थाल्यो, के म नेपाली जनतासामु राजाबाट हटौँ भनेर कुरा राखौँ त भनेर खबर पठाउँदा गणेशमानले मरिचमानलाई ‘राजालाई भनिदिनुस् यो आन्दोलन राजसंस्थाको विरोधमा होइन, सिर्फ निरंकुश राजतन्त्रको विरोध र राजासहितको प्रजातन्त्र स्थापनाका लागि भएको हो’ भनेका थिए । यस सन्दर्भमा जुन दिनदेखि कांग्रेसको विधानबाट राजतन्त्र हटाइयो, त्यसै दिनदेखि कृष्णप्रसाद भट्टराईले कांग्रेस अब नक्कली भयो भनेका थिए ।

अब हामीलाई सिर्फ त्यस्तो तन्त्र चाहिएको छ, जसमा हामी सबै अटाउन सकौँ । झापाका धिमालले महाकाली हाम्रै हो भन्न पाओस्, कैलालीका थारूले सगरमाथा हाम्रै हो भन्न पाओस्, सोलुका शेर्पाले लुम्बिनी हाम्रै हो भन्न पाओस् र यहाँभित्रका सबै भाषाभाषी, जातजातिले सम्पूर्ण नेपाल हाम्रै हो भन्न पाओस् । कोही कतै कुनै पनि मामिलामा अछुतो हुन नपरोस्, यही नै सच्चा राष्ट्रवाद र नेपालवाद हो ।

(धमला नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुन्)

साभार : नयाँ पत्रिका दैनिक