बुद्धको जन्मभूमिमा लडाइँ गर्ने मेरो देश

0
412

सबैलाई शान्तिको पाठ सिकाउने गौतम बुद्धको विषयलाई लिएर अझ लड़ाइँ गर्न अघि सर्छ मेरो देश । विश्वको छानो भनिएको सगरमाथाको विषयमा अझ विवाद गर्छ मेरो देश ।

बिनोद काफ्ले

बिनोद काफ्ले

सडकका माग्नेहरुलाई लत्याउँदै मन्दिरमा सयौं खर्च गरेर भगवान् खुसी पार्दै गरेको पापी हुँ म । आफ्नो अन्धकारमय जीवनमा छटपटाउँदै नेपाललाई जलस्रोतको धनी देश बताउँने पशु हुँ म । भोको पेटमा छटपटाइरहेकाको भीडमा पाँच तारे होटेल खोज्दै गरेको स्वार्थी हुँ म ।

दक्षताको सर्टिफिकेट हातमा बोकेर जागीरको नाममा धेरै ठगिएको अनपढ हुँ म । कायरहरुका माझमा वीरताको इतिहास पढाइरहेको बेवकुफ हुँ म । आफैँले चुनेको मान्छेलाई देश बेचेको आरोप लगाउने पापी हूँ म । छिमेकीहरु सँग डराएर हात जोड्दै वीरहरुको वीरता बिर्सिएर इतिहासको हत्या गर्ने हत्यारा हुँ म । आफ्नो कर्तव्य भुलेर सिद्धान्तको पूजा गर्ने पुजारी हुँ म ।

दुई दिनको जिन्दगी भन्दै उन्मत्त भएर विदेशीको सिको सिक्दै स्वदेशी संस्कृतिको बलात्कार गरिरहेको बलात्कारी हुँ म । कुनामा कुँजिएर देश विकासको योजना बनाइरहेको अशक्त हुँ म । लोकतन्त्र र गणतन्त्रको चर्को नारा लागेको ठाउँमा बसेर आफूलाई ठूलै राजा सम्झने पागल हुँ म…

तर म यस्तो हुनुमा मेरो कुनै गल्ति छैन, न त कुनै खिन्नता नै छ, किनकि मलाई यो सब सिकाएको छ नेपाली समाजले । र म यदि उनीहरूले सिकाएको बाटो हिँड्न सकिन भने मलाई उनीहरूले यो समाजमा टिक्न दिने छैनन् । यसर्थ आफ्ना विचारहरुलाई दबाएर पनि म यो समाजमा टिक्न बाध्य छु ।

यदि भोलि मलेसिया, दुबइ, कतार जानु छ भने अहिले किन पढाइको नाममा खर्च गरिरहने ? र पढाउने नै हो भने पनि ६ कक्षाबाट नै मलेसिया, दुबइ, कतार, कोरिया र जापानका भाषाहरू पढाई होस्…।

पढाईले मेरो भविष्य निर्धारण गर्ने कुरामा अलिकति पनि विश्वास दिलाउन नसक्ने देशमा रहँदा पनि मेरो क्षमतालाई किनारा लगाइदिएर पढाइमा लादिको छ मलाई मेरो समाजले…।

म सँग पनि त्यस्ता क्षमता छन् जसले गर्दा मेरो भविष्य उज्ज्वल हुन सक्थ्यो, म सँग पनि त्यस्ता योजनाहरु छन् जुन योजनाहरुको प्रयोगले म यो समाजलाई सकारात्मकता तिर लैजान सक्छु ।

तर ती योजनाहरु मैले लुकाएर राखेका छु किनकि यदि मैले मेरा योजनाहरु प्रस्फूटन गर्न लागेँ भने मलाई यो समाजले पागल भनेर लखेट्न सक्छ । किनकी मेरो आफ्नै विचार छ र यहाँ अरूको सिद्धान्तलाई नपूजे टिक्न सकिँदैन ।

आफ्नै विचारमा अडिक रहनेहरू कुनामा कुँजिएर बसेका छन्…।

सबैलाई शान्तिको पाठ सिकाउने गौतम बुद्धको विषयलाई लिएर अझ लड़ाइँ गर्न अघि सर्छ मेरो देश । विश्वको छानो भनिएको सगरमाथाको विषयमा अझ विवाद गर्छ मेरो देश । प्रकृतिले हामीलाई धनी बनाएको छ भन्दै बहुमूल्य जडीबुटी विदेशीलाई बेच्न अघि सर्छ मेरो देश । अनि नेपाली भएकोमा आफूलाई भाग्यमानी ठान्दै चिसो पेटीमा रात बिताउन विवस छन् नेपाली जनता…।

जलस्रोतको धनी मेरो देश अझ पनि अन्धकारमा बस्न बाध्य छ । अनि देशमा पानीको कमी भएको सोचेर हावाबाट विजुली निकाल्ने योजना बनाउँदै छन् सरकारमा बसेकाहरु ।

चार घण्टा पैदल हिँडेर पानी बोक्दैछन् जनता । सदरमुकाममा पनि पानीको हाहाकार छ भने अरू ठाउँमा के के समस्या होलान् अन्दाज लगाउन गाह्रो छ । अव्यवस्थित शहरीकरणको कारण एउटा राजधानी हुँदा त यति धेरै समस्याहरू जन्मिएका छन् भने अब सात प्रदेशमा सात राजधानी भए पछि हालत के हुने हो ?

देशको यस्तो हालतमा म सामाजिक सञ्जालमा कराउन बाहेक अरु के नै गर्न सक्छु र ।

फोहोरमैला व्यवस्थापनको लागि कस्तो कदम चालिने हो ? के का आधारमा विकासका योजनाहरु बनाइने हुन् ? अथवा अब पनि सत्ताको लागि जनता ठग्ने काम मात्र गरिने हो ? यही विषयमा जनता अझ पनि अलमल छन् मेरो देशमा…।

खुबीको त कमी थिएन म मा । तर पनि देशको यस्तो हालतमा म सामाजिक सञ्जालमा कराउन बाहेक अरु के नै गर्न सक्छु र । सबै मान्छेमा सबै कुराको क्षमता बढाउँछु भन्नु असम्भव कुरा हो । तर पनि सबैलाई एकै ठाउँमा लादिएको छ, मान्छेहरू सबैको चाहना फरक छ ।

तर त्यो बुझ्न सकिएको छैन। यस्तो अवस्थामा म के गर्न सक्छु जबकि मेरो इच्छा दायाँको छ अनि मलाई बायाँ धकेलिएको छ । अब मैले कस्तो सपना देख्ने ..? मैले अरुको सिद्धान्त छोडेर आफ्नो विचारलाई अगाडि बढाउन खोजेँ भने म यही टिक्न सक्दिन अब मैले मेरा विचारहरू दबाएर राखें भने भोलि म खाडीको तातो घाममा जलिरहेको हुनेछु…।

यदि भोलि मलेसिया, दुबइ, कतार जानु छ भने अहिले किन पढाइको नाममा खर्च गरिरहने ? र पढाउने नै हो भने पनि ६ कक्षाबाट नै मलेसिया, दुबइ, कतार, कोरिया र जापानका भाषाहरू पढाई होस्…।

मेरो छोरोले एक छाक टार्न हामीले जस्तो रगत पसिना बगाउन नपरोस् भन्दै दिनरात मेहनत गरिरहेका मेरा बुबा आमालाई मैले के दिन सक्छु भन्ने कुरामा म अझै दोधारमा छु । जति नयाँ पुस्ता आउँछन् त्यति नै धेरै पसिना बगाउनु पर्ने अवस्था छ । जबकि विश्वले दोश्रो विश्व बनाइसक्यो । अब कहिले हुने हाम्रो मस्तिष्कको विकास ? जबसम्म मैले आफ्नो जीवन आफ्नो इच्छा अनुसार जीउन सक्ने वातावरण सिर्जना हुँदैन तबसम्म मेरो भविष्य अन्योलमा नै हुनेछ…।

लेखक काफ्लेलाई binodkafle@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।