अब संबन्धित अधिकारीहरूले मुलुकको बेरोजगारी समस्या हल गर्न साँच्चि नै कटिवद्ध हुनु पर्ने वेला आएकोछ । अन्यथा मुलुकमा उत्पन्न हुन सक्ने आर्थिक समस्याले बढारेर कसलाई कहाँ पुगाउने हो केही भन्न सकिने अवस्था छैन ।

शम्भुराम जोशी

शम्भूराम जोशी

कोभिड – १९ का कारण विश्व अर्थतन्त्र संकटमा छ । निकट भविष्यमा विश्वमा आर्थिक मन्दीको समस्या उत्पन्न हुने देखिन्छ । विश्व अर्थतन्त्र सँग भने थोरै मात्रै गाँसिएको र पहिले देखि नै आर्थिक परिसूचकहरू सन्तोषजनक नरहेको नेपालमा समेत विश्व आर्थिक मन्दीका कारण रोजगारीका अवसरहरू आगामी दिनहरूमा कम हुँदै जाने र त्यसबाट उत्पन्न हुने अन्य राजनीतिक, सामाजिक तथा आर्थिक परिणाम भयावह हुनसक्ने त्रास छ ।

नेपालमा रोजगारीको अवस्था :

कुनै पनि मुलुकको अर्थतन्त्रको स्वास्थ्यलाई त्यहाँको रोजगारीको अवस्थाले पनि मापन गर्छ । नेपालमा प्रति वर्ष ५ लाख नयाँ श्रम शक्ति श्रम बजारमा प्रवेश गर्छ । विगत देखि नै श्रमको माग र आपूर्तिको बीचमा ठूलो खाडल देखिँदै आइराखेको र नेपाल भित्र रोजगारीको अवसर पर्याप्त सृजना हुन नसकेको कुरामा दुई मत छैन । यसका पछाडि वैदेशिक रोजगारीबाट बार्षिक रु. ९ खर्ब रेमिट्यान्सको रूपमा मुलुक भित्रिए पनि विगत देखि नै मुलुकलाई आर्थिक रूपमा स्वावलम्बी बनाउँदै नेपाल भित्रै स्वदेशी श्रमिकहरूलाई खपत गर्ने कदमलाई कार्यरूप दिने कुरामा नेपाली नीति निर्माताहरू चुक्नु र वस्तुको निर्यात होइन श्रमिक निर्यातमा रमाउनु नै मूल कारण रहेका छन् ।

नेपाल भित्रै रोजगारीका अवसरको कमीका कारण दैनिक १,५०० देखि २,००० सम्म नेपाली युवाहरू रोजगारीका लागि विदेशिनु पर्ने वाध्यता छ । नेपाल सरकारले संस्थागत् रूपमा ११० देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको र व्यक्तिगत् रोजगारीमा जाने प्रयोजनका लागि खुला गरेका देशहरू १७२ छन् । विक्रम संबत् २०७६ \ ७७ सालको फाल्गुन महिना सम्म ४७ लाख ९२ हजार नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

Photo: THT

कोभिड -१९ र वेरोजगारीको त्रास :

यो विश्व महामारीका कारण मुलुक भित्रै आन्तरिक रोजगारीका अवसरहरू खुम्चिँदै गइराखेका छन् । नेपालको अर्थतन्त्रमा सन् २०१८ मा ७.९ प्रतिशत योगदान गरेको पर्यटन पूर्णतया धराशायी अवस्थामा छ । उता कूल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान गर्ने र दुई तिहाई भन्दा बढीलाई रोजगारी प्रदान गर्ने कृषि क्षेत्रमा पनि नकारात्मक असर पुग्ने छ ।

पहिले देखि नै कूल गार्हस्थ्य उत्पादनमा ६ प्रतिशत मात्रै योगदान रहने गरेको र शिथिल अवस्थामा रहेको उत्पादनमूलक उद्योग (Manufacturing Industry ) क्षेत्र अझै नकारात्मक चरणमा पुग्ने देखिएको छ । विदेशबाट हुने कच्चा पदार्थको आयात ठप्प छ र विदेशमा हुने निर्यातमा कमीका कारण घरेलू तथा कुटीर उद्योगहरूको अवस्था थप निराशाजनक छ । मुलुकको अर्थतन्त्रमा ७.७ प्रतिशत सम्मको योगदान रहने गरेको निर्माण व्यवशाय प्रायः बन्द रहेको छ । व्यापार तथा विनिमयका क्रियाकलाप पनि अझै ओह्रालो लाग्ने देखिँदैछ । नेपालको मेरुदण्डको रुपमा रहेको कृषि विदेशबाट कृषि सामग्रीको आयातका न्यूनताका कारण थला पर्ने अवस्थामा पुग्नेछ । यो महामारीले गर्दा मुलुकको आर्थिक बृद्धि दर २.३ प्रतिशतमा खुम्चने भनिएबाट पनि रोजगारीका अवसरमा परेको प्रतिकूल असरका बारेमा सहजै अनुमान गर्न सकिन्छ । यो महामारी आउँदो वर्ष पनि कायमै रहे आर्थिक वृद्धि दर ऋणात्मक नहोला भन्न सकिन्त । यसरी मुलुक भित्र बेरोजगारीको अवस्था भयावह हुने निश्चित छ ।

बेरोजगारहरूको संख्या अत्याधिक रहेको अवस्थामा शासन सत्तामा बस्नेहरूका बिरूद्ध विद्रोह हुन सक्ने समेत संभावना रहन्छ ।

कोभिड-१९ को महामारीले गर्दा विश्वका प्रायजसो मुलुकमा आर्थिक उत्पादनको गतिविधि न्यून वा बन्द नै भएका कारण उत्पन्न परिस्थितिले गर्दा विदेशमा श्रमिकका रूपमा गएका नेपाली श्रमिकहरूको रोजगारी र मुलुकलाई रेमिट्यान्स बापत प्राप्त हुने रकम गुम्ने भएकाले नेपालमा गरिबी बढ्ने, धेरै नेपालीहरूको चुल्होमा आगो नबल्ने जस्ता तत्कालीन समस्याहरु देखा पर्ने छन् ।

यो महामारीका कारणहरूले विदेशमा गएका श्रमिकहरूले एकै चोटी स्वदेश फर्कनु पर्ने वाध्यता सृजना भएको छ । ती श्रमिकहरूको र  मुलुक भित्रै रहेका बेरोजगारहरूको व्यवस्थापन कसरी गर्ने भन्ने यहाँका अधिकारीहरूलाई समस्या हुनेछ । केही समय पछि कोरोनाको भरपर्दो खोप प्रयोगमा आइहाले पनि विश्व अर्थतन्त्रको अवस्था सुध्रन निकै समय लाग्नेछ । वैदेशिक रोजगारीका अवसर पहिलेकै जसरी विस्तारित हुने निश्चित छैन ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य खस्किँदै गएको परिस्थितिमा खाडी मुलुकहरूमा हुने न्यून  आयका कारण यो महामारीको अन्त्य पछि पनि त्यहाँ कमै संख्यामा नेपाली श्रमिकको माग हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । नेपाल भित्र अर्थतन्त्रका आधार स्तम्भ ठानिएका कृषि, उत्पादनमूलक उद्योग र पर्यटन उद्योग धराशायी भएको यस घडीमा अर्थतन्त्रलाई पहिलेकै अवस्थामा उठाउनु र त्यसमा पनि बेरोजगारीका समस्या हल गर्नु निश्चय पनि चुनौतिपूर्ण छन् ।

विकराल बेरोजगारीको परिणाम के होला ?

बेरोजगारहरूलाई रोजगारीका अवसर प्रदान गर्न नसकिएमा सामाजिक उथल-पुथल वा अराजक स्थिति मात्रै होइन, अझ आतङ्कवादी कृयाकलापमा समेत तिनीहरूको संलग्नता हुने सम्भावना अर्थशास्त्री जेफ्रि साचले आफ्नो पुस्तक ‘द कमन वेल्थ’ भन्ने पुस्तकमा उल्लेख गरेका छन् । यस बाहेक बेरोजगारहरूको संख्या अत्याधिक रहेको अवस्थामा शासन सत्तामा बस्नेहरूका बिरूद्ध विद्रोह हुन सक्ने समेत संभावना रहन्छ ।

केही समय अगाडि ट्यूनिसियाबाट शुरू भएर लिबिया, इजिप्ट, यमन, बहराइ र अन्य धेरै मुलुकहरूमा ‘अरब स्प्रिङ’ ले उथल-पुथल मच्चाएको थियो । यति मात्रै होइन, त्यस विद्रोहका कारण ट्यूनिसिया, लिबिया, इजिप्ट र यमनका राष्ट्रपतिहरूमध्ये कसैले शासन सत्ता छोडेर भाग्नु परेको, र कसैले मारिनु परेको थियो । विद्रोह सल्कनुका अनेकौं कारणहरू मध्ये बेरोजगारीको समस्या पनि महत्वपूर्ण थियो ।

यो महामारी आउँदो वर्ष पनि कायमै रहे आर्थिक वृद्धि दर ऋणात्मक नहोला भन्न सकिन्त । यसरी मुलुक भित्र बेरोजगारीको अवस्था भयावह हुने निश्चित छ ।

अब के गर्नु पर्ला हामीले ?

स्वदेश भित्रै रोजगारीका अवसरहरू खोजिनु पर्ने आजको आवश्यकता हो । लोक कल्याण तर्फ अग्रसर हुँदै सरकारले केही महत्वपूर्ण कामहरू गर्नु आवश्यक देखिन्छ ।

  • भविष्यमा देखा पर्न सक्ने बेरोजगारीको समस्या हल गर्नका लागि नेपालका सम्बन्धित अधिकारीहरूमा दृढ इच्छा शक्ति जरूरी छ ।
  • वैदेशिक रोजगारी र त्यसबाट प्राप्त रेमिट्यान्स मुलुकको आर्थिक प्रगति गर्ने स्थायी आधार होइन भन्ने कुरा अहिले कै समस्याले स्पष्ट गरिसकेको छ । यद्यपि यस सम्बन्धमा विज्ञहरूले समय-समयमा यो धारणा पेस नगरेका भने होइनन् ।
  • स्वदेशी श्रम शक्तिलाई आफ्नै मुलुकमा खपत गर्न आवश्यक नीति-नियमहरू तर्जुमा गर्ने मात्रै होइन, तिनीहरूको इमान्दारीपूर्वक कार्यान्वयनमा समेत सरकारी अधिकारीहरूको अग्रसरता अपरिहार्य छ ।
  • औद्योगिक उत्पादनको अभिवृद्धिमा सरकार सहजकर्ता मात्रै भएर पुग्दैन । यसका लागि आफै सक्रिय रूपमा अग्रसर हुनु पर्छ । बन्द सरकारी कलकारखाना खोल्नु आजको आवश्यकता हो ।
  • घाइते निजी क्षेत्रलाई राहत दिनका लागि सरकारले कदम चाल्नु जायज भए जस्तै राहत प्राप्त गर्नेले बेरोजगारी समस्यालाई हल गर्न अधिकतम् भूमिका खेल्दै अर्थतन्त्रको पुनरुत्थानका लागि पनि अग्रसर हुनु जरूरी हुन्छ ।
  • रोजगारीको अवसर प्रदान गर्न सक्ने हैसियतका आधारमा सरकारले निजी क्षेत्रलाई राहत प्रदान गर्नु जरूरी देखिन्छ ।
  • सकेसम्म श्रममूलक प्रविधि अपनाउनका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनु पर्दछ ।
  • कृषि पेशामा आकर्षण गर्न न्यून ब्याजमा सहज ऋणको व्यवस्था ।
  • कृषि सामग्रीको समयमै सहज आपूर्तिका लागि सरकार नै लागिपर्नु पर्दछ ।
  • कृषि उपजलाई बजार सम्म पुर्याउन सरकारले भूमिका निर्वाह गर्नु पर्छ ।
  • आन्तरिक पर्यटन विकासका लागि गन्तव्य स्थलमा पर्यटनका पूर्वाधार विकास गर्न सके सम्म निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ । त्यो अनिच्छुक वा असमर्थ भए सरकार आफै अग्रसर हुनु पर्छ ।
  • विगतका नीति, नियमहरूको मूल्याङ्कन गर्दै त्यसबाट शिक्षा लिनु पर्छ ।
  • भ्रष्टाचारको अन्त्य र विधिको शासनको अभ्यास आजको आवश्यकता हो भन्ने कुरामा कसैको पनि शंका रहनु हुँदैन ।

अब संबन्धित अधिकारीहरूले मुलुकको बेरोजगारी समस्या हल गर्न साँच्चि नै कटिवद्ध हुनु पर्ने वेला आएकोछ । अन्यथा मुलुकमा उत्पन्न हुन सक्ने आर्थिक समस्याले बढारेर कसलाई कहाँ पुगाउने हो केही भन्न सकिने अवस्था छैन ।

त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक,

अर्थशास्त्री शम्भुराम जोशीलाई shambhuramjoshi1964@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

 

121 Total Views 2 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here