भारतीयप्रति समान व्यवहारको प्रश्न

0
476

नेपालतर्फ भारतको ३ प्रतिशतभन्दा थोरै मात्रै जनसंख्या आउँदा पनि नेपालको जनसंख्या करीब दोब्बर हुने तर नेपालको जनसंख्या पूराका पूरा भारतमा जाँदा त्यस मुलुकको जनसंख्यामा ३ प्रतिशतले मात्रै वृद्धि हुने परिस्थितिमा भारतीय नागरिकलाई नेपाली सरह समान आर्थिक हक प्रदान गर्ने कुरा सोच्न सकिँदैन ।

शम्भुराम जोशी

शम्भूराम जोशी

सन् १९५० मा नेपालका राणा प्रधानमन्त्री र नेपालका लागि भारतका राजदूतले सही गरेको सन्धिको धारा ७ मा व्यबस्था भए अनुसार नेपालमा बसोबास तथा सम्पतिको भोगचलन गर्न, उद्योग र व्यापारिक कारोवारमा भाग लिन र यस्तै प्रकारका विशेषाधिकार भारतीयहरूलाई पनि दिँदै उनीहरूलाई पनि नेपालीलाई जस्तै  समान व्यवहार गरिनु पर्ने कुरा भारतले उठाउँदै आएको छ ।

हुन त नेपालको अर्थतन्त्रमा भारतीय नागरिक तथा भारतीय मूलका नेपाली नागरिकहरूकै हालिमुहाली छ । नेपालको नागरिकता लिइसकेका मधेसका नागरिकहरू समेतलाई आफ्नै मानिस ठान्ने भारतका अधिकारीहरू किन त्यस्तो माग गर्दछन् त भन्ने कुराले नेपालीहरूलाई सशंकित पार्ने गर्छ ।

समान व्यवहारको कुरा किन उठ्छ ?

दीर्घकालीन उद्येश्य बोकेर भारतका अधिकारीहरू समान व्यवहारको कुरा उठाउने गर्छन् जसको पछाडि नेपालको अर्थतन्त्रमा आफ्नो पकड अझै दरिलो बनाउँदै भारतकै आर्थिक छत्रछायाँमा सधैंभरि राख्ने र छिट्टै नभए पनि दीर्घकालमा नेपाललाई फिजीकरणतिर लैजाने उनीहरूको  अभीष्ट छ भन्ने आम नेपालीको बुझाइ छ ।

नेपाललाई आफ्ना कम गुणस्तरका उत्पादनका बजारभन्दा बढी नठान्ने भारतले यहाँको आर्थिक क्षेत्रलाई अझै बलियोसँग कब्जा गरेर, राजनीतिमा पनि यथेष्ट प्रभाव, पार्दै चाहे अनुसारको आर्थिक नीति–नियमहरू तर्जुमा र कार्यान्वयन गरी यहाँका सम्पूर्ण प्राकृतिक साधनहरूको आफ्नो हितमा उपयोग गर्ने र नेपाललाई गरीब बनाउने उसको लक्ष्य छ भन्ने धेरै नेपालीहरूले बुझेका छन् ।

जुनसुकै मुलुक आफ्नो स्वार्थ परिपूर्तिका उद्येश्यबाट परिचालित हुन्छ । साम्राज्यवादी मानसिकताका कारण नेपाल र आफू दोहरै पक्षको जित हुनुपर्छ भन्ने कुरामा भारत विश्वास गर्दैन । त्यहाँका राजनीतिज्ञ र मिडियाले भारतको एकतर्फि हित पक्षपोषण गर्नु स्वाभाविकै भए पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालका नागरिकताधारी तर भारतका पक्षधर तथाकथित बद्धिजीविहरू र नेताहरूका अतिरिक्त केही मिडियाको समेत त्यस्तै प्रवृति छ जसले नेपाललाई फिजीकरणतिर गर्ने भारतीय प्रयाशलाई जानेर वा नजानेर सघाउ पुर्याइराखेको छन् जुन मुलुकका लागि घातक छ ।

भारतीयलाई समान अधिकार किन दिनु हुँदैन ?

नेपालको तुलना विशाल भूखन्ड, जनसंख्या र अर्थव्यवस्था रहेको तथा विश्वको सवैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भएको दावी गर्ने भारतका आफ्नै आर्थिक समस्याहरू छन् । भारत विश्वमा सवैभन्दा धेरै गरीब र अपाङ्ग बसोबास गर्ने देश हो । जतिसुकै कुरा गरे पनि उत्तर प्रदेश, बिहार, झारखण्ड, उडिसा जस्ता क्षेत्रहरूमा व्यापक बेरोजगारी र गरीबी विद्यमान छ । ‘मोदीको उदय पछि त्यस मुलुकमा आर्थिक असमानता वढ्दै गइराखेको छ’ भन्नेहरू पनि छन् ।

भारतीयहरू नेपालमा व्यापारिक र प्राविधिक कामहरू गर्ने गर्छन् । र नेपालीहरूले भारतमा कमाएको भन्दा उनीहरू नेपालमा धैरै कमाउँछन् । त्यसैले नेपालको धेरै पैसा भारततिर प्रवाहित भइराखेको परिस्थिति छ ।

आफ्ना ती क्षेत्रका निम्न शीप भएका र निम्न वौद्धिक स्तरका जनशक्ति नेपालतर्फ स्थान्तरित हुँदै जाउन् भन्ने भारतको पहिलेदेखि नै चाहना रहेको छ । भारतमा तिनीहरूलाई अवसर र प्रगतिको सम्भावना कम छ । तर नेपालमा भने त्यो तुलनात्मक रूपले सजिलो भएकोले उनीहरू नेपालतर्फ स्थान्तरित हुन रूचाउँछन् ।

व्यापार व्यवशायको नाममा अरू नै अभीष्ट बोकेर पनि विदेशी नआएका होलान् भन्न सकिन्न । नेपालको सार्वभौमसत्तालाई नै आँच पुर्याउने काम उनीहरूबाट हुनेछैन भन्ने कुराको आधार के ?

भारतीयहरूलाई पनि व्यापार व्यवशायको समान अधिकार प्रदान गरिएको खण्डमा यसले नेपालको अर्थव्यवस्थामा पुर्याउन सक्ने समस्याका बारेमा पनि सचेतना आवश्यक छ । नेपालको अर्थव्यवस्थामा भारतीय मूलका व्यापारीकै हालीमुहाली रहेको अहिलेको अवस्थामा भारतीयहरू प्रति समान व्यवहार भए त्यो नेपाललाई थप कंगाल बनाउन सहायक हुनेछ । किनभने पहिलो कुरा त त्यस्ता नवप्रवेशीहरूको वफादारिता नेपाल प्रति नरहेर स्वाभाविक रूपमा भारत प्रति नै कायम रहिरहनेछ । र भारतीयहरूबाट नेपालीका लगानी र रोजगारीका अवसर खोसिँदै जानेछन् । किनकि नेपालीहरूको प्रतिस्पर्धात्मक क्षमता निश्चय पनि भारतीय पूँजिपति र श्रमिकहरूको भन्दा कम छ । यसले फिजीमा जस्तै नेपालीहरूलाई भारतीयहरूको आर्थिक दासत्व स्वीकार्न बिवश पार्नेछ ।

भारतमा नेपाली रोजगार

भारतीयहरू मात्रै नेपालमा काम गर्ने होइन । ठूलो संख्यामा नेपालीहरू समेत भारतमा रोजगारीमा रहेको कुरा सत्य हो । तापनि नेपालीहरूले भारतमा र भारतीयहरूले नेपालमा प्राप्त गर्ने रोजगारीको प्रकृति फरक छ । भारतमा गएर प्राविधिक, दक्ष श्रमिकको रूपमा वा व्यापारको काम गर्ने नेपालीको संख्या निश्चय पनि कम छ । धेरैले त्यहाँ गर्ने काम भनेको घरेलु नोकर, चौकिदार वा हेल्परभन्दा माथि हुँदैन । तर भारतीयहरू नेपालमा व्यापारिक र प्राविधिक कामहरू गर्ने गर्छन् । र नेपालीहरूले भारतमा कमाएको भन्दा उनीहरू नेपालमा धैरै कमाउँछन् । त्यसैले नेपालको धेरै पैसा भारततिर प्रवाहित भइराखेको परिस्थिति छ । अहिलेकै अवस्थामा समेत भारतका लागि नेपाल रेमिट्यान्स प्राप्त गर्ने सातौं मुलुक हो भन्ने तथ्य मनन गर्नु आवश्यक छ । नेपालबाट ठूलो मात्रामा रकम भारततिर स्थान्तरित हुदै गइराखेको कुरालाई तलको तालिकाले प्रष्ट गर्छ ।

काठमाण्डौं उपत्यकामा र्याण्डम स्याम्पलिङ (Random Sampling) प्रयोग गरेर प्राप्त गरिएको तथ्याङ्कको आधारमा डा. शास्त्रदत्त पन्तले (वि .सं .२०६० सालमा) आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

नेपालतर्फ भारतको ३ प्रतिशतभन्दा थोरै मात्रै जनसंख्या आउँदा पनि नेपालको जनसंख्या करीब दोब्बर हुने तर नेपालको जनसंख्या पूराका पूरा भारतमा जाँदा त्यस मुलुकको जनसंख्यामा ३ प्रतिशतले मात्रै वृद्धि हुने परिस्थितिमा भारतीय नागरिकलाई नेपाली सरह समान आर्थिक हक प्रदान गर्ने कुरा सोच्न सकिँदैन । नेपालका अधिकारीहरूले भारतीय अधिकारीहरूसँग यस सम्बन्धमा कुरा राख्दा सजकता अप्नाउनु जरूरी हुन्छ किन भने यदि उनीहरू यसमा चुके भने मुलुकले दीर्घकालमा गएर ठूलो समस्या भोग्नु पर्नेछ ।