भाषा र धर्म मात्रै पहिचान हो ?

0
252

अमेरिकी सरकारका सामाजिक/राजनीतिक रणनीतिकार
स्याम्युअल पि. हण्टिङटनले ‘भाषा र धर्मको जगमा मात्रै राष्ट्र खडा हुन सक्छ’
भने पछि ‘फुटाउ र राज गर’ को साम्राज्यवादी नीतिअनुरुप नेपालको
मूल धर्म र भाषालार्इ कमजोर गराउने योजनाका साथ
पश्चिमी मुलुकले नेपालको सामाजिक आन्दोलनमा
‘सहयोग’ त गरेको होइन ?

सुजित मैनाली

सुजित मैनाली

दोस्रो संविधानसभा नयाँ संविधान निर्माणको क्रममा जुटेपछि ‘पहिचान’ पक्षधरहरू पुन: सल्बलाउन थालेका छन् । ‘पहिचान’ पक्षधरहरूको बाहुल्य रहेको भनिएको पहिलो संविधानसभाले संविधान दिन नसकेपछि भएको दोस्रो संविधानसभाको निर्वाचनमा पहिचानको व्याख्याप्रति आम जनता विश्वस्त हुन नसकेको देखियो । यसको सिधा असर पर्यो, संविधानसभाको दोस्रो निर्वाचनमा जहाँ आफूलार्इ पहिचान पक्षधर भन्नेहरूले नराम्रो धक्का बेहोरे ।

पहिचानका तह

खासगरी राजसंस्थाको अन्त्यपछि पहिचानको सवालले गति लिएको हो । पहिचानको पक्षमा अनेकन भाषण सुनेपछि तथा आलेख पढेपछि यो शब्दप्रति सबैमा उत्सुकता र यसबारे जान्ने अभिलाषा स्वभाविक रुपमा पैदा भएको छ ।

तर, पहिचानको सैद्दान्तिक पक्षतर्फ आँखा डुलाउँदा अहिले नेपालमा भइरहेको पहिचानको चर्चा पर्याप्त लाग्दैन । पहिचान शब्दलार्इ यसका प्रयोगकर्ताहरूले चित्तबुझ्‍दो पाराले व्याख्या गर्न नसक्दा यो शब्द जातीयताको पर्याय बन्न पुगेको छ ।

समाजशाष्त्री जिएच मिडले ‘सेल्फ’, ‘आइ’ र ‘मि’ को व्याख्या गर्दै किताबहरू लेख्नुभएको छ । मानिसको स्वत्व समाज निर्मित कुरा हो, यो कुनै जैविक विषय होइन भन्ने मिडले बताउनुभएको छ । पहिचान पनि समाज निर्मित कुरा हो । यो सँधै एकैनाश रहने चिज होइन । र, एउटै पहिचानको आवरणमा स्थिर रहन खोज्नेको अस्तित्व इतिहासको गर्तमा विलिन हुने गरेको तितो सत्य हाम्रोसामू छ ।

पहिचानबारे विषद अध्ययन–अनुसन्धान गरेका अन्य मानवशाष्त्री, समाजशाष्त्रीहरूको टिप्पणी पढ्‍दा अहिले नेपालमा भइरहेको पहिचानको चर्चासँग यसको मेल देखिँदैन । पहिचानको सामाजिक तथा राजनीतिक पक्षबारे केही पढेपछि पङ्‍तिकारलार्इ थाहा भयो– पहिचानका विभिन्न तह हुँदा रहेछन्।

दोस्रो व्यक्तिसँग जम्काभेट हुँदा ‘म’ को पहिचान अस्तित्वमा आउँदो रहेछ । अर्कै राष्ट्रका मानिससँग भेट भएपछि राष्ट्रिय पहिचान अस्तित्वमा आउँदो रहेछ । जस्तो की चिनियाँसँग भेट भएपछि ‘म नेपाली हुँ’ भन्ने पहिचानले जन्म लिन्छ । अर्कै धर्म, जात, भाषा, थर, वर्ण, लिंङ्ग, वर्ग आदिका मानिससँग भेट भएपछि आफ्‍नो धर्म, जात, भाषा, थर, वर्ण, लिंङ्ग आदिको पहिचानले जन्म लिँदो रहेछ ।

लिम्बुले तामाङसँग भेटेपछि ‘म लिम्बु हुँ’ भन्ने बोध गर्दो रहेछ । पूँजीपतिहरूसँगको निरन्तर सम्पर्कले श्रमिक वर्गमा वर्गीय पहिचान विकास हुने चर्चा मार्क्स गर्नुभएको छ । तर, नेपालमा भाषा र धर्म गरी पहिचानका दुर्इ वटा तह मात्र हुन्छन् भन्ने व्याख्या भइरहेको छ । कसले, कसरी र कुन नियतका साथ यस्तो व्याख्या गरिरहेको छ भन्नेतफ ध्यान दिनुपर्ने बेला आएको छ ।

साम्राज्यवादी सूत्र अमेरिकी सरकारका सामाजिक/राजनीतिक रणनीतिकार स्याम्युअल पि. हन्टिङटनले ‘भाषा र धर्मको जगमा मात्रै राष्ट्र खडा हुन सक्छ’ भने पछि ‘फुटाउ र राज गर’ को साम्राज्यवादी नीति अनुरुप मूल धर्म र भाषालार्इ कमजोर गराउने योजनाका साथ पश्चिमी मुलुकले नेपालको सामाजिक आन्दोलनमा ‘सहयोग’ त गरेको होइन ?

हन्टिङटनकै स्कुलिङमा हुर्किएका फरिद जकारियाले ‘द पोस्ट अमेरिकी वल्ड’ किताबमा राज्यभित्रका विभिन्न राष्ट्रियताहरूको ‘प्राइमोर्डियल (आदिकालीन) सेन्टिमेन्ट’ सतहमा आए त्यो राज्यले एकीकृत र व्यवस्थित ढंगले आफूलार्इ अघि बढाउन नसक्ने र यसले उत्तर अमेरिकी विश्व व्यवस्थामा चुनौती खडा गर्न नसक्ने बताएका छन् ।

‘प्राइमोर्डियल सेन्टिमेन्ट’लार्इ उद्वेलित गराएर बाँकी विश्वलार्इ यसैमा अल्झार्इ अमेरिकी प्रभुत्वलार्इ निरन्तरता दिलाउने जकारियाको सूत्र अन्तर्गत अमेरिकालगायत उसका साझेदारहरूले अन्य राष्ट्रमा ‘प्राइमोर्डियल सेन्टिमेन्ट’को मुख्य आधार भाषा र धर्म सम्बन्धी इस्युमा लगानी ओइराएका त होइनन् ?

‘एथ्नीसिटी एन्ड नेसनालिज्म इन अ हिन्दु किङ्गडम्’ किताबमा नेपाल र भारतका मैथिलीहरुलार्इ तथा तिब्बती (भोटे) हरुसँग भाषिक तथा धार्मिक निकटता भएका नेपालको हिमाली भेगका जनतालार्इ भोट पहिचानमा गोलबन्द हुन गरिएको आह्‍वानले नेपाललार्इ केन्द्र बनाएर साम्राज्यवादी सूत्रको प्रयोग भइरहेको त छैन भन्ने गम्भीर आशंकालार्इ थप बल पुर्याएको छ ।

यस्ता जायज आशङ्‍काहरुको चित्त बुझ्‍दो उत्तर नदिइकन पहिचान पक्षधरहरूले जनमानसलार्इ विश्वासमा लिन सक्दैनन् भन्ने दोस्रो संविधानसभाको निर्वाचनले देखाएको छ । पहिचानको कुरा गर्नेहरूले राष्ट्रिय र वर्गीय पहिचानको कुरा नउठाएको देख्दा पहिचान शब्द जातीयताको पर्याय बन्नपुगेको तर्फ पनि ‘पहिचान’ पक्षधरहरूले ध्यान पुर्याउन आवश्यक छ ।

इतिहासको निर्मम पाठ

संसारका हरेक राज्यको जग त्यहाँका बहुसंख्यक जनताले बोल्ने भाषा अथवा बहुसंख्यक जनताले मान्ने धर्ममा आधारित हुन्छ । धर्म अथवा भाषालार्इ बेवास्ता गरी कम्युनिस्ट दर्शनलार्इ राष्ट्रिय एकताको आधार बनाउन खोज्दा सोभियत संघ पतन भएको हामी सबैले देखेकै हौ । इतिहासको त्यो गल्तीबाट पाठ सिकेर चीनले चिनियाँ दार्शनिक कन्फुसियसको वैचारिक छाता मुनी बहुसंख्यक हान जातीलार्इ समेटेर राज्यको बलियो आधार बनाएको पनि देखेकै हौं ।

यस्तोमा नेपालका बहुसंख्यक जनताले बोल्ने भाषा (नेपाली) र मान्ने धर्म (हिन्दु) सँग शत्रुता उत्पन्न गराउनेगरी अन्य भाषिक तथा धार्मिक समूहलार्इ उतार्न खोजिन्छ भने यसको अर्थ प्रष्ट हुन्छ– नेपाल राज्यको जगलार्इ कमजोर बनाउने ठूलै खेल पर्दा पछाडि जारी छ । यो खेलमा क–कसले होस्टेमा हैँसे गर्दैछन्‍ भन्ने बुझ्‍न हिन्दु धर्म र नेपाली भाषालार्इ प्रकारान्तरमा दानवीकरण गर्ने प्रयोजनमा कसले ‘पहिचान’ पक्षधरहरूलार्इ सहयोग गरिरहेका छन्‍ भन्ने मात्रै नियाले पर्याप्त हुन्छ ।

 पत्रकार मैनालीलाई sujitmainali@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।