भ्रष्टाचार नियन्त्रण : आध्यात्मिक चिन्तनको आवश्यकता

0
301

हिजो फाटेका लुगा र जुत्ता लगाउनेहरू विश्वका अर्वपतिका जस्तै जीवनयापन गरिरहेका छन् । अब राजनीति सेवाको रूपमा नरहेर कालो उद्योगमा परिणत भैसकेको छ ।

शम्भुराम जोशी

शम्भूराम जोशी

मुलुकको दीर्घकालीन हितमा आघात पुर्‍याउने कुनै पनि क्रियाकलाप भ्रष्टाचार हो । भ्रष्टाचार दुर्भाग्यवश् गरीब मुलुकहरूको नियति बनेको छ । उनीहरूले आफ्नो प्रगति चाहने हो भने यस माथि सशक्त र गम्भीर प्रहार हुन जरूरी छ । यसो भन्दै गर्दा भ्रष्टाचारजन्य प्रवृत्ति किन जन्मन्छ र यसका निराकरणका के कस्ता उपाय छन् व्यापक खोजिनीति आवश्यक छ ।

वि. सं. २०४६ पश्चात नेपालमा भ्रष्टाचार निर्मूल गर्न भनेर अनेकौं राजनीतिक परिवर्तनहरू हुँदै आए पनि अद्यापि भ्रष्ट प्रवृत्तिको श्रृङ्खला कायमै छ । बरू यसका नयाँ नयाँ तौरतरिकाहरू देखिँदै छन् । यो संस्थागत् भैसकेको अवस्थामा राजनीतिक दलका नेताहरूको जीवनस्तरमा अस्वाभाविक परिवर्तन आएको छ । हिजो फाटेका लुगा र जुत्ता लगाउनेहरू विश्वका अर्वपतिका जस्तै जीवनयापन गरिरहेका छन् । अब राजनीति सेवाको रूपमा नरहेर कालो उद्योगमा परिणत भैसकेको छ ।

यस बाहेक नेपालका राजनीतिज्ञ, नेपाल सरकारका प्रशासक र व्यापारीको गहिरो गठबन्धनले मुलुकलाई भ्रष्टाचारको जालोमा बेर्दै लगिराखेको छ । आज कुनै पनि यस्तो क्षेत्र बाँकी छैन जहाँ भ्रष्टाचार नभएको होस् । शिक्षा, स्वास्थ जस्ता लोककल्याणका लागि जरूरी क्षेत्रमा अझ बढी भ्रष्टाचार भएको र नेपाली समाज यसबाट झन क्लान्त हुँदै गएको अवस्था छ ।

भ्रष्टाचारको कारक तत्व

गरीब मुलुकहरूमा मन्द गतिको आर्थिक प्रगतिको प्रमुख कारक तत्वको रूपमा लिइने भ्रष्टाचारको कारक तत्व गरीबी, अशिक्षा, कमजोर कानून र कार्यान्वयन जस्ता अनेकौं कुराहरू लिइए पनि पूर्वीय दर्शनका मूल्य र मान्यताहरूलाई तिलाञ्जली दिनु नै प्रमुख कारण हो ।

नेपाली समाजको कुरा गर्दा पुरानो जीवन पद्धति प्रकृतिको नजिक र मूल्य र मान्यता धर्म र संस्कृतिमा आधारित भएकाले पहिले भ्रष्टाचार कम हुने गरेको थियो ।तर अहिले आधुनिकीकरणको नाममा भित्र्याइएको पाश्चात्यकरण र देखावटीपनले नेपाली समाजलाई भौतिकवादतर्फ धकेल्दै लगेको छ । भौतिकवादलाई नै सभ्यता ठानिएको यो अवस्थामा नेपाली समाज पैसा र शक्तिमुखी बन्नु अनौठो भएन । त्यसैले, जसरी भए पनि पैसा कमाउनै पर्ने र यसका लागि शक्ति आर्जन गर्नैपर्ने अवस्था सृजना हुँदै गएको छ । धेरै हदसम्म शक्ति र पैसा एकअर्काका पर्याय बन्ने र यिनीहरूका स्वामी नै समाजमा पूजित हुने र भ्रष्टाचार मौलाउँदै जाने, भ्रष्टाचारीहरू प्रोत्साहित हुँदै जाने क्रम निरन्तर छ । भ्रष्टाचारीहरू सामाजिक बहिष्करणमा पर्नुको सट्टा उल्टो समाजमा सम्मानित हुँदै जानु मात्रै नभएर अझ राजनीतिमा वर्चश्व कायम हुनुले सर्वसाधारण समेत भ्रष्टाचारलाई बढावा दिन उत्तरदायी छैन भन्ने आधार छैन ।

नैतिक चरित्रको प्रश्न

भ्रष्टाचारलाई गम्भीर अपराधको रूपमा लिइनु पर्छ र यसलाई रोक्नुपर्छ । यसका निमित्त केवल कडा ऐन र कानून तर्जुमा र कार्यान्वयन गरेर मात्रै पुग्दैन भन्ने कुरा विभिन्न मुलुकहरूको उदाहरणहरुले पुष्टि गरिसकेका छन् ।

उदाहरणका लागि, चीनमा भ्रष्टाचारीहरूलाई मृत्युदण्डको कानुनी व्यवस्था भए पनि पूर्ण नियन्त्रणमा आउनसकेको छैन । त्यसै गरेर इतिहासको कुनै कालखण्डमा बेलायतमा पकेटमाराहरूलाई सार्वजनिक स्थलमा ल्याएर झुण्ड्याइन्थ्यो र त्यो हेर्न मानिसहरूको भीड लाग्ने गर्थ्यो । तर त्यसैबेला अर्को पकेटमाराले त्यहाँ आएको कुनै रमितेको पकेट मारिसकेको हुन्थ्यो । यसैले कडा ऐन र कानून मात्रै पर्याप्त छैनन् ।

भ्रष्टाचार निर्मूल पार्नका लागि सम्बन्धित अधिकारीहरूमा उच्च नैतिकताको भावना हुनु आवश्यक भएकाले उनीहरूका दृष्टिकोणमा परिवर्तन जरूरी छ । यो त्यतिवेला मात्रै सम्भव छ, जतिवेला उनीहरूमा आध्यात्मिक चेत खुल्छ ।

शारीरिक सुख र वैभव मात्रै सवै कुरा होइनन् । यिनीहरूभन्दा पनि पर मानव जीवनका केही उद्येश्य र लक्ष्यहरू छन् भन्ने कुराको ज्ञान नभएसम्म र उग्र भौतिकवादले गाँजेसम्म समाज भ्रष्टाचारको भुँमरीमा फसि नै राख्नेछ र यसबाट पार पाउन सम्भव हुनेछैन ।

शिक्षा, स्वास्थ जस्ता लोककल्याणका लागि जरूरी क्षेत्रमा अझ बढी भ्रष्टाचार भएको र नेपाली समाज यसबाट झन क्लान्त हुँदै गएको अवस्था छ ।

आध्यात्मिक चिन्तन जरूरी छ

आर्यवर्तमा परापूर्व कालदेखि चल्दैआएको दर्शनले सन्न्यास जस्तै गृहस्थ आश्रमलाई पनि महत्वपूर्ण मानेको छ । आध्यात्मवाद र भौतिकवादका बीच सन्तुलन गराएको देखिन्छ । यसैले गौतम वुद्धले मध्य मार्गको कुरा गरेका हुन् ।

अन्य दर्शनहरूले पनि शरीर रक्षाको कुरा छुटाएका छैनन् । ज्ञान प्राप्ति र ईश्वर प्राप्ति शरीर रहे मात्रै सम्भव भएको कुरामा सबैको सहमति छ । ‘ऋण लिएर पनि घ्यू खाउ, जतिन्जेल सम्म बाँच्छौ, त्यतिन्जेलसम्म सुखले बाँच’ भन्ने चार्वाक दर्शनलाई छोडिदिने हो भने शरीरको सुख प्राप्तिमा नै लागिरहँदा जीवन पतीत हुने कुरामा कुनै दर्शनको पनि विमति छैन । आध्यात्मको ध्येय जीवनलाई नैतिकवान वनाउनु पनि हो भन्ने अर्थमा लिइनुपर्छ । तसर्थ नैतिकता र जीवन रक्षाका आवश्यकताका परिपूर्तिमा सन्तुलित भएर अगाडि बढेको खण्डमा मात्रै भ्रष्टाचार जस्ता सामाजिक विकृति र विसंगतिहरू हट्न सक्दछन् । अन्यथा समस्याहरू ज्यूँ का त्यूँ रहनेछन् अथवा ती बढ्दै जानेछन् ।

वुद्धले तृष्णानै सवै दुःखको जड भएको कुरा व्यक्त गर्दै यसलाई जित्न सक्नुपर्ने कुरा सिकाए । वास्तवमा मानवले आफ्ना जरूरी आवश्यकता र विलाशिताका बीचमा विभेद गर्न सक्नुपर्छ । आवश्यकतालाई सिमित बनाउन सक्ने कला जानेको र त्यसलाई दैनिक जीवनमा लागू गर्न सकेको खण्डमा मानव समाजका अधिकांश विसंगति आफैँ निर्मूल भएर जानेछन् । यस्तो कला जानेका मानिसहरू नै वास्तवमा सन्न्यासी हुन् र यिनीहरूलाई गृहस्थ सन्न्यासीको उपाधी दिइँदा फरक पर्दैन । यिनीहरूले नै समाजलाई सही मार्गमा डोर्‍याउन सक्ने क्षमता राखेका हुन्छन् ।

भ्रष्टाचार निर्मूल पार्नका लागि विशेष गरेर नेपाल जस्ता गरीब मुलुकका जुनसुकै सरकारले कुरा उठाए पनि त्यस समस्याका निराकरणका लागि आशा गरिए अनुसारको सफलता प्राप्त गर्न सकेको देखिँदैन किनभने शासन सत्ता सम्हाल्नेहरूको यससम्बन्धमा इच्छा शक्ति नै छैन । मुलुक र सर्वसाधारणका हित भन्दा आफ्ना र आसेपासेका हितलाई महत्व दिने आचरणबाट सत्तामा बस्नेहरू मुक्त हुन सकेका छैनन् । भौतिक सुखसुबिधालाई नै सर्वोपरी ठान्ने समाजमा भ्रष्टाचार निर्मूल होला भन्ने कुरामा सन्देह छ नै ।