माओवादी–एमाले–काँङ्ग्रेस : विदेशीका लागि आफैँ सिद्धिने राजनीति

0
3573
दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।

हामी विदेशीको स्वार्थका लागि आपसमा लड्दैछौँ । अबको लडाइँ कसका विरुद्ध, कसलाई हतियार बनाएर, कसरी गराइन्छ भन्ने थाहा पाइञ्ज्याल हामी अझ कमजोर भैसक्ने निश्चित छ ।

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

नेपाली–नेपाली लडाइँ गर्ने, प्रजातन्त्र / लोकतन्त्र, अधिकार जस्ता वहानामा जहिल्यै पनि अशान्ति, अस्थिरता जारी राख्ने, आपसमा कहिल्यै नमिल्ने । स्थिरता, अनुशासन, विकास, कानूनको शासन जस्ता सभ्य समाजका लागि अत्यावश्यक चरित्र नेपाली राजनीतिमा सधैँ मृगमरिचिका ।

नेपाली राजनीतिका शक्तिहरू बीच मेल र शत्रुता विचित्रको अनि अप्राकृतिक छ । एउटा सन्दर्भमा एक–अर्काका कट्टर शत्रु अर्को परिवेशमा घनिष्ठ मित्र बनेर अर्का विरुद्ध जाइलाग्ने प्रवृत्ति गज्जबको देखिएको छ यहाँ ।

हामी आफू मिल्न पनि र एक–अर्का विरुद्ध शत्रुता गर्न पनि आफ्नै वुद्धि र बुताले नसक्ने / नगर्ने । जे गर्न पनि हामीलाई पराइले सिकाइदिनु पर्ने, सञ्चालन गरिदिनु पर्ने । जसरी पनि सत्तामा जाने चाहनाले हाम्रा राजनीतिक शक्तिहरूलाई अराजनीतिक मात्र होइन, लगभग आपराधिक बनाइदिने गरेको छ ।

नेपाल विरुद्ध नेपाली

राष्ट्र तथा समाजको वृहत्तर हितमा दूरगामी लक्ष्यका साथ काम गर्ने चरित्र छैन नेपालका राजनीतिक खेलाडीहरूमा । व्यक्तिगत्, समूह–गुटगत् फाइदाका लागि विदेशीको स्वार्थ पूरा हुने गरी सञ्चालन भैराखेको छ हाम्रो राजनीति । र यो चरित्र वि. सं. २००६ साल देखि आज सम्म लगातार जारी छ ।

विगत् ७० वर्ष देखि नेपालको राजनीति राष्ट्रलाई क्रमश: कमजोर पार्ने बाटोमा सञ्चालित छ । अनेक नाम र वहानामा, विदेशी स्वार्थमा हामी आफैँ नेपाल राष्ट्र सिध्याउँदैछौँ ।

आधुनिक नेपालमा नेपाली विरुद्ध नेपाली लडाउने प्रवृत्ति राणा शासन विरुद्ध देखा पर्यो, प्रष्ट सँग पहिलो पटक । राणा शासन फाल्न राजा र राजनीतिक दलहरूको गठबन्धन बन्यो । भारतमा गठन भएका दलहरूले भर्खरै जन्मेको भारतका शासकहरूको प्रत्यक्ष साथ तथा सहयोगमा राजा सँग मिलेर राणा शासन विरुद्ध सफल ‘क्रान्ति’ गरे । देशमा राजाको नेतृत्वमा प्रजातान्त्रिक शासन प्रणाली स्थापना गरियो ।

जसरी पनि सत्तामा जाने चाहनाले हाम्रा राजनीतिक शक्तिहरूलाई अराजनीतिक मात्र होइन, लगभग आपराधिक बनाइदिने गरेको छ ।

राजनीतिक दल र राजाको शासन धेरै समय चल्न सकेन । अघि सँगै हिँडेका राजा र राजनीतिज्ञ एक अर्काका शत्रु बने । राजनीतिक दलहरू पनि ‘सिद्धान्त’ का नाममा फरक बाटो हिँड्न थाले । राष्ट्रिय हितका मुद्दामा समेत राजा र दलहरू एक ठाउँमा आएनन्, आउन चाहेनन् । राजाले २०१७ सालमा सत्ता नियन्त्रणमा लिएर ‘दल विहीन’ शासन लागू गरे ।

‘प्रजातन्त्रका लागि’ राजनीतिक दलहरू राजाको शासन पञ्चायती व्यवस्था विरुद्ध जाइलागे । कहिले शान्तिपूर्ण, कहिले हिँसात्मक गतिविधि लामो समय जारी रह्यो । अन्तत: भारतको साथ र सहयोगमा, कहिल्यै नमिल्ने, काँङ्ग्रेस र कम्यूनिष्टको मिलाप गराइयो २०४६ मा, राजा विरूद्ध । स्थापना काल, २००६ साल देखि एक–अर्काका शत्रु रहँदै आएका काँङ्ग्रेस र कम्यूनिष्ट मिलेर राजालाई कमजोर पारे ।

विश्वकै उत्कृष्ठ दावी गरिएको २०४७ सालको संविधान अलि समय एक प्रकारले ‘सर्व स्वीकार्य’ जस्तो देखियो । तर त्यो अवस्था धेरै वर्ष चल्न सकेन, अथवा भनौँ चल्न दिइएन । राजा विरुद्ध विपरित ध्रुवका दलहरूको ‘मोर्चा’ मार्फत् विदेशी शक्तिको सहयोगमा गराइएको २०४६ को परिवर्तन दिगो हुन सकेन ।

संसदीय प्रणालीमा सहभागी तिनै काँङ्ग्रेस र कम्यूनिष्ट विरूद्ध अर्को कम्यूनिष्ट उठाएर हिँसा गराइयो २०५२ देखि १० वर्ष सम्म । ‘जनयुद्ध’ का नाममा राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु पर्यो ।

संसदीय शासन प्रणाली विरुद्ध गरिएको त्यो एक दशक लामो पीडादायी हिँसा बाहिरी शक्तिकै सहयोगमा गराइएको थियो । भारतका त्यस बेलाका विदेश मन्त्रीले सार्वजनिक रूपमै स्वीकार गरेबाट त्यो हिँसा कसले गराएको थियो भन्ने प्रमाणित भैसकेको छ । ‘१० वर्षे अवधि मध्ये साढे ८ वर्ष भारतमा बसेर नेपालमा जनयुद्ध गरेको,’ ‘भारतको हित विपरित केही नगर्ने’ वाचा आदि केहि उदाहरण हुन्, कसले, कसलाई, कसरी सञ्चालन गरेको रहेछ भन्ने यथार्थको ।

प्रजातान्त्रिक संसदीय शासन प्रणाली र मतपत्रमा विश्वास गरी शान्तिपूर्ण प्रजातान्त्रिक अभ्यास गरिराखेका दलहरू विरुद्ध बन्दूक, बम र बारुद पड्काइराखेको, व्यापक हिँसा गरिराखेको, नेपाल, भारत र अमेरिकाले समेत आतङ्ककारी घोषणा गरेको, माओवादी, अनि काँङ्ग्रेस सहित अन्य संसदीय दलहरूलाई एक ठाउँ मिलाएर राजा विरूद्ध ‘आन्दोलन’ गर्न १२ बुँदे दिल्ली सम्झौता गराइयो २०६२ मा । भारत सरकारको प्रत्यक्ष निर्देशनमा भएको सो सम्झौताले राजालाई एक्ल्याएर अन्तत: नेपालबाट राजसंस्था नै समाप्त पार्यो ।

राष्ट्रिय संस्थाहरू सिध्याइए

यस क्रममा एक पछि अर्को गर्दै हाम्रा सबै महत्वपूर्ण राष्ट्रिय संस्थाहरू कमजोर पारिए, समाप्त पारिए, हामीलाई नै हतियार बनाएर । लोकतन्त्रका नारा उरालेर राष्ट्रिय एकताको प्रतीक राजसंस्था समाप्त पारियो, सबै भन्दा पहिला ।

त्यस पछि प्रहरी, प्रशासन, व्यवस्थापिका, सेना, न्यायपालिका, राजनीतिक दलहरू, नेताहरू, संस्कृति, धर्म, परम्परा, सबैलाई कमजोर पारियो वा मासियो नै, केही गर्नै नसक्ने गरी, फेरि उठ्नै नसक्ने गरी ।

यस क्रममा एक पछि अर्को गर्दै हाम्रा सबै महत्वपूर्ण राष्ट्रिय संस्थाहरू कमजोर पारिए, समाप्त पारिए, हामीलाई नै हतियार बनाएर ।

प्रहरी, प्रशासन, व्यवस्थापिका, सेना, न्यायपालिका, राजनीतिक दलहरू, नेताहरू, संस्कृति, धर्म, परम्परा, सबैलाई कमजोर पारियो वा मासियो नै, केही गर्नै नसक्ने गरी, फेरि उठ्नै नसक्ने गरी ।

राजसंस्था उन्मूलन गरी, गणतन्त्र स्थापना गरिए सँगै हाम्रो सामाजिक एकता र सद्भावमा खलल् पुर्याइयो । आज नेपाल सामाजिक, धार्मिक, साम्प्रदायिक, हरेक हिसाबले विखण्डित अवस्थामा छ ।

यही क्रममा सुनियोजित ढंगबाट राष्ट्रका अन्य संस्था र निकायहरू माथि पनि आक्रमण गरियो, गराइयो ।

प्रहरी, प्रशासन, विश्वविद्यालय मात्र होइन, व्यवस्थापिकालाई समेत कमजोर बनाइयो । राष्ट्रको कान, आँखा मानिने राष्ट्रिय गुप्तचर विभागलाई त कहिल्यै राम्रो सँग काम गर्नै नदिएर पङ्गु बनाइयो ।

‘राजनीतिक सहमति’ का नाममा केही व्यक्तिले गरेको निर्णय सदर गर्न टेबल ठटाउने बेकम्मा भीडमा परिणत गरियो, “व्यवस्थापिका संसद” भन्ने उदेक लाग्दो नामाकरण गरिएको संसदलाई ।

कार्यपालिका, प्रधानमन्त्री, मन्त्री, कसैको पनि मर्यादा छैन । राज्यका सञ्चालक यी जिम्मेवार पदाधिकारीले कुनै नीतिगत् कुरा बोल्दा समेत आम नागरिकले पत्याउन छाडिसकेको अवस्था छ । सरकार सञ्चालकहरू प्रतिको अनास्थाले सरकार, सरकारी निकाय तथा जिम्मेवार पदका कसै प्रति पनि विश्वसनीयता रहेन ।

राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील राष्ट्रिय सेनालाई समेत ध्वस्त पार्ने प्रयाश केही समय अघि गरियो । र पुनः त्यस्तो दूश्प्रयाश हुने छैन भन्न सकिन्न ।

अलि सग्लो देखिएको न्यायपालिका माथि समेत आक्रमण भएको छ । फलस्वरूप, आम नागरिकमा न्याय प्रतिको विश्वास खस्केको छ । र राष्ट्रिय एकता, क्षेत्रीय अखण्डता तथा मुलुकको सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने परिस्थिति निर्माण गरिएको छ ।

एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।

भारतले नमिलाइदिए सम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर, तालमेल गरेर चुनावमा जाँदा काँग्रेस कमजोर भयो चुनावका हिसाबले । यी दुई कम्यूनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।

इतिहासले पटक पटक प्रमाणित गरिसकेको, नेपाली–नेपाली लडाएर नेपाल राष्ट्र तथा समाज कमजोर मार्ने विदेशी खेल अझै जारी छ । र हामी विदेशीको स्वार्थका लागि आपसमा लड्दैछौँ । अबको लडाइँ कसका विरुद्ध, कसलाई हतियार बनाएर, कसरी गराइन्छ भन्ने थाहा पाइञ्ज्याल हामी अझ कमजोर भैसक्ने निश्चित छ ।

कम्तिमा आफू सिद्धिनबाट जोगिन पनि गम्भीर भएर सोच्नु पर्ने हो हाम्रा राजनीतिक दल र नेताहरूले ।

राजनीति शास्त्री गजुरेललाई deepakgajurel@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।