यी विदेशीका खेताला

0
168

राजन कार्की

Rajan Karkiअख्तियारले प्रमाणसहित त्रिवि, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चलदेखि यतिखेर पोखरा विश्वविद्यालयका उपकूलपति, पदाधिकारीदेखि उच्च अधिकारीसम्मलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तर, ती विश्वविद्यालय हाँक्ने विद्वानहरु ठाडो शीर लगाएर अदालतमा उभिएका छन् । एकसेएक ठूला वकिल हायर गरेर जमानतमा छुट्ने र मुद्दा जितेर समाजमा सम्मानित जीवन स्थापित गर्ने चक्करमा लागेका छन् । जव विद्वानहरुकै यस्तो हालत छ भने कर्मचारी प्रशासनमा भ्रष्टाचारी चरित्र बढ्नु र तिनको हालीमुहाली बढ्नु स्वभाविक हो । यी सबैको कारण अति राजनीतिकरण हो । जति पनि अनैतिक कामहरु पन्पिएका छन्, ती सबैमा राजनीतिक संरक्षण देखिन्छ ।

मूल खराव भएपछि बहाव प्रदूषित हुनु स्वभाविक छ । चाणक्यले भनेका छन्– धनवानको होइन, विद्वानको प्रशंसा हुनुपर्छ । हाम्रो समाजमा विद्वानको होइन, भ्रष्टाचारी धनवानको इज्जत हुन थालेकाले जो जसरी पनि धन कमाउनतिर लागेका छन् । तिनै चाणक्यले भनेका छन्– जुन देशमा आदरसम्मान छैन, गरिखान पाइँदैन, बन्धुवान्धव छैनन, न शिक्षा प्राप्त गर्ने सम्भावना छ, त्यो देशलाई छाडिदिनुपर्छ ।

भर्खरै सरकारले समाचार दियो– ३ महिनामा नै सवालाख युवा विदेशिएका छन् । चाणक्य नीति र युवाको पलायनको यो बाढीप्रति राजनीतिक नेताहरुमा कुनै चिन्ता नै देखिँदैन । युवा पलायन हुनु देश खोक्रो हुनु हो भन्ने नबुझ्ने नेता खोटा सिक्कासरह हुन् भन्न हिचकिचाइरहनु पर्दैन ।

सिसेरोले उहिल्यै लेखेका थिए– बुद्धिमान विवेकबाट, साधारण अनुभवबाट, अज्ञानी आवश्यकताबाट र पशु स्वभावबाट सिक्छ । हाम्रा नेताले त ८ वर्षदेखिको स्वभावबाट पनि सिक्न सकेनन् र अहिले पनि रिसोर्ट जान्न भन्नेहरु रिसोर्ट गइरहेका छन्, हुनै नसक्ने सहमतिको खोजि गरिरहेका छन् । लोकतन्त्रवादी हुँ भन्छन्, लोकतन्त्रका महिमा र मर्यादा स्थापित गर्न सकिरहेका छैनन् । केन्द्रीय तथ्याङ्क विभागले नेपालमा १ सय २५ जाति छन् भनिसकेको छ । त्यसको अर्थ, औचित्य र सम्मान समेत गर्न सकिरहेका छैनन् ।

हामीले खोटा सिक्कालाई नेता बनाएछौं । तैपनि हामीसँग विकल्प छैन । यिनैलाई घोटघाट पारेर चलाउनु पर्ने भएको छ । यिनले शान्ति, संविधान, स्थिरता, प्रगतिका लागि के चाहिने रहेछ भन्ने तत्ववोध गरुन् भनेर अव जनताले हस्तक्षेप गर्नुपर्ने र मुलुकलाई संक्रमणबाट मुक्त पार्न स्वार्थभन्दा माथि उठ भनेर दबाब दिनुपर्ने भएको छ । आत्मकेन्द्रित होइन, मुलुककेन्द्रित होउ भन्नुपर्ने भएको छ । अन्यथा संविधान र शान्ति वीरवलको खिचडीकै रुपमा कहिल्यै नपाक्ने निश्चित छ ।

चौथो शक्ति राप्रपा नेपाललाई प्रतिगामीको प्रतिनिधि मान्छन् ठूला दलहरु । त्यही दलले समेत खुला चुनौती दिदै भनेको छ– ठूला तीन दलको सिण्डिकेटका कारण, भागबण्डे राजनीतिका कारण संविधान निर्माण हुन नसकेको हो । अलिकति मात्र नैतिकता र लोकतन्त्रप्रति निष्ठा बाँकी छ भने ठूला दलहरुलाई योभन्दा मर्नु न बाँच्नुको आरोप अरु के हुनसक्छ ?

सीके राउतले राष्ट्रलाई वेश्यासमेत भने । मधेस अलग राज्य हुनुपर्छ भन्दा समेत तिनकै पक्षमा उभिने राजनीतिक दलहरु संविधान निर्माणका निर्णायक तहमा छन् । आमालाई वेश्या भन्दा मन नदुखाउने नेताहरु कस्ता होलान ? मुलुकका ठाउँ ठाउँमा बुढी अवलाहरुलाई बोक्सी भनेर मलमुत्र खुवाएर, कुटपिट गरेर समाज निकाला गर्ने प्रचलन जारी छ । जब नेताहरु नै राष्ट्रआमालाई बोक्सी, वेश्या भन्न हिचकिचाउँदैनन्, भन्नेहरुको संरक्षण गरिरहेका छन्, यो मुलुकबाट अन्धविश्वास कहिले हट्ने ?

अन्धा धृतराष्ट्रजस्ता नेता रहेसम्म मुलुकमा लोकतन्त्रको उज्यालो हुन्छ भनेर मान्न सकिन्न । चल्दैन, कुनै हालतमा यस्ता खोटा सिक्का चल्दैनन् । यिनलाई लोकले लत्याउनै पर्छ, नभए सच्याउनै पर्छ । अन्यथा प्रशासन, उद्यम, आर्थिक क्षेत्र जताततै ट्रेडयुनियनको गुण्डागर्दी जारी रहनेछ । राजनीतिमा डन संस्कार र शासनमा माफियाको प्रभाव हट्नेछैन, न्याय भ्रष्टाचारीको हातमा रहिरहनेछ, समाजमा अपराध र घर घरमा बलात्कार बढ्दै जानेछ । जंगलमा मंगल र शासनमा मंगलसेन हावी भइरहनेछ ।

माघ ८ मा संविधान आउने छ र मुलुकले शान्ति र स्थिरता पाउनेछ भन्ने अपेक्षा छ लोकको । संविधानसभा सत्तल बनेको छ, सभासदहरु व्यापार, विदेश भ्रमणतिर लागेका छन् । केही ठूला नेताहरु कहिले गोकर्ण रिसोर्ट त कहिले अँध्यारो कोठामा सहमतिका सूत्रहरु खोज्न थालेका छन् । लोकमतले बनेको संविधानसभामा संविधान लेखिदैछैन । कस्तो संविधान बनाउने छलफल भइरहेको छैन ।

कतै दिल्लीमा भएको १२ बुँदे सहमतिबाट सुरु भएको शान्ति प्रक्रिया दिल्लीका नयाँ चक्रवर्ती बनेका नरेन्द्र मोदी जानकीको दर्शन गरेर काठमाडौं आएर यिनलाई थचारेर लुम्बिनी भएर फर्केपछि संविधानपर्व सम्पन्न हुने त होइन । यसो भयो भने हाम्रा खोटा सिक्का मोदीको छाप लागेपछि मात्र चलनचल्तीमा आउनेछन् । त्यो स्थितिमा हाम्रा नेताहरु हाम्रा प्रतिनिधि होइनन्, विदेशीका खेतालामात्र साबित हुनपुग्नेछन् । हामीले यतिबिघ्न विवेकहीनहरुलाई नेतृत्वदायिनी, भाग्यविधाता बनाएका रहेछौं त !