रणनीतिक साझेदारी चाहन्छ चीन

1
129

ध्रुवहरि अधिकारी

Dhruba Hari Adhikari photoआगे साल २०७२ मा नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा हुँदैछ। चीनसितको सम्बन्धको आधारशीला राख्ने श्रेय प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई जान्छ यद्यपि यो तथ्यगत कुरो नेपाली कांग्रेसका सभासद् एवं बिपी कोइरालाका सुपुत्र शशांक कोइरालाले मङ्सिर ५ गतेको एक कार्यक्रममा बोल्दा स्पष्टसंग उल्लेख गर्नु भएन।

हो, निर्वाचित प्रधानमन्त्रीको हैसियतले चीनको भ्रमण गर्ने र द्विपक्षीय सम्बधलाई विशिष्ट आयाम दिने काममा चाहिं बीपीकै योगदान उल्लेख्य रहेको अभिलेखहरुबाट थाहा हुन्छ। श्रोता/दर्शकगणको समूहमा बीपीका जेठा पुत्र प्रकाश कोइराला पनि देखिनुभएको थियो।

नेपाल-चीन सम्बन्ध ‘समस्यामुक्त’ रहेको कुरामा चीन अध्ययन केन्द्रको मञ्च उपयोग गर्ने अन्य राजनीतिक दलका नेताहरुको पनि जोड थियो। एमालेका प्रदीप ज्ञवाली, एमाओवादीका नारायणकाजी श्रेष्ठ, माओवादीका सिपि गजुरेल सबै यसबारे उस्तै-उस्तै विचार राख्ने नेता परे।  यसको अनुमान सभामुख नेम्बाङ्गले पहिले नै गर्नुभएको अनुभव भयो, किनभने चीनको नयाँ  कूटनीतिको पहिलो वर्षको सन्दर्भमा प्रकाशित लेखहरुको सङ्ग्रह लोकार्पण सक्नासाथको मन्तव्यमा उहाँले संविधानबारे सहमतिमा पुग्न नसकेका नेता त्यहाँ एकठाउँमा देखिनुलाई ‘उपलब्धि’ को परिचायकसरह मानिदिनुभयो।

चीनका राजदूत उ चुनताईको मन्तव्यमा चीन नेपाललाई अहिलेको साझेदार स्तरबाट उठाएर भारत, श्रीलंका र पाकिस्तान सरहको ‘रणनीतिक साझेदार’ गराउन इच्छुक रहेको प्रसङ्ग आयो। कुरो महत्वपूर्ण हो, तर सञ्चार माध्यमका प्रतिनिधि लगायत कतिपय मानिसले यसको हेक्का गरेको अनुभव भएन। सार्क सम्मेलनको पूर्वसन्ध्यामा ‘पर्यवेक्षक’ राष्ट्रका कुटनीतिक प्रतिनिधिले चर्चा गरेको त्यो बुँदाको उल्लेख भोलिपल्टका अखबारहरुले गरेको देखिएन।

लोकार्पण गरिएको सङ्ग्रहमा गहकिला लेख भएको अनुमान त्यसको सम्पादन व्यबस्थापन प्रोफेसर मोहन लोहनी र श्रीधर गौतमबाट भएको हुनाले गर्न सकिन्छ। माधवकुमार नेपाल, प्रकाशचन्द्र लोहनी, जयराज आचार्य, उपेन्द्र गौतम सुन्दरनाथ भट्टराई समेतका विशिष्ट र विद्वान् लेखकका रचना गहन हुनु अपरिहार्य छ। यो सङ्ग्रह र त्यस दिनको अन्तर्क्रियाको चाँजो मिलाएको श्रेय मदन रेग्मीले पाउनु स्वाभाविक हुन्छ नै।

 

1 COMMENT

  1. In my understanding Chairman Nembang’s relevant remark was more sarcastic. The Nepali so-called leaders “were not seeing eye to eye so far the nation’s current highest priority of constitution making was concerned.” But they could comfortably share a foreign country related forum. How a so-called leader or leaders who do not serve the needs of the motherland, love and uphold her dignity and integrity, can sincerely stick to “One-China policy?” Indeed, they can excel in making lip service to such policy.