पुनर्निर्माणको नाममा रानीपोखरीसँग जोडिएका हाम्रा संस्कृति र सम्पदा मात्र होइन यहाँको प्रकृतिलाई समेत ध्वस्त पारिएको छ । हाम्रो अद्वितीय रैथाने ज्ञानको अपमान गरिएको छ ।

सिमेण्ट, इँट र कंक्रिटको ‘स्वीमिङ पुल’ मा परिणत गरियो, प्राकृतिक रूपमै आफैँ पानी ‘रिचार्ज’ भैराख्ने, कहिल्यै नसुक्ने यो पोखरीलाई । बाहिरवाट पानी ओसारेर पोखरी भर्नुपर्ने स्थिति बनाइयो सधैँका लागि । तर सधैँभरी यसरी बाहिरवाट पानी ल्याएर हाल्न सम्भव होला कि नहोला भनेर कसैले सोचेका छन् ?

केदार सिटौला

केदार सिटौला

इण्डियाको महाराष्ट्र राज्यमा बग्ने प्रख्यात गोदावरी नदी किनार रहेको पवित्र धार्मिक स्थल रामकुण्ड केही बर्ष अघि सुक्यो । खडेरीकै कारणले वा अन्य कुनै प्राकृतिक कारणले त्यो कुण्ड सुकेको होइन । विकासका नाममा मानिसले गरेका जथाभावीले गर्दा रामकुण्डको पानी सुकेको थियो ।

रामकुण्डको ‘दिगो विकास’ गर्न र कुण्डलाई आकर्षक तथा ‘सुन्दर’ बनाउन सम्बन्धित सरकारी निकायले त्यहाँ अनेक विध्वंश मच्याए । रामकुण्ड वरिपरी रहेको, प्राकृतिक चट्टानले बनेको घाट भत्काइयो । ती चट्टानहरु लाखौँ बर्ष देखि त्यहाँ जमेर बसेका थिए ।

प्राकृतिक प्रक्रियावाट बनेको त्यो चट्टानी घाट र वरपरको वनावटले रामकुण्डको वातावरणीय सन्तुलन कायम राखेका थिए । यही प्रकृतिका कारण रामकुण्ड निरन्तर, अविरल, स्वच्छ, तथा सफा रहन सकेको थियो । यसैमा यसको सुन्दरता अनि पवित्रता अकाट्य ढङ्गले जोडिएको थियो ।

ध्वस्त पारियो त्यो प्रकृति, त्यो स्वच्छता, त्यो पवित्रता, त्यो सुन्दरता । अनि, पुनर्निर्माण गरियो घाटलाई सिमेण्ट र मार्बलले । आधुनिक विकासका नाममा रामकुण्ड र त्यहाँको घाटलाई ‘सुन्दर’ वनाइयो ! सिमेण्ट र मार्बलको त्यो पुनर्निर्माण लगत्तै पछि, त्यसै वर्ष सुख्खा याममा रामकुण्डको पानी सुक्यो ।

रामकुण्ड सुकेर मुनीको भुइँ देखिने वित्तिकै, शताब्दिऔँ देखि त्यहाँ रहेका मानव अवशेषहरुको अथाह थुप्रो देखा पर्‍यो । सरकारी प्रशासनले ती मानव अवशेषहरुलाई त्यहाँवाट हटाउने कोशीश गर्‍यो ।

ती मानव अवशेष खन्दै झिक्दै करीब २० ट्रक बाहिर निकालियो । तर यत्तिले एक छेउ पनि सफा भएन कुण्ड ! अरु अनगिन्ति मानव अवशेषहरु बाँकि नै रहे ।

स्थिति अथाह देखे पछि प्रशासनले अर्को जुक्ति लगायो । ती मानव कंकाललाई त्यहिँ रहन दिने र कुण्डमा पानी भरिदिने ! रामकुण्डमा पानी भर्ने योजना बनाइयो । नासिक नगरपालिकाले दैनिक ९० ट्याँकर पानी लगातार ४ महिना सम्म रामकुण्डमा खन्यायो । तर कुण्ड सतहको माटो पनि छोप्न सकेन त्यो पानीले !

संभवत: इन्डिया नै विश्वमा त्यस्तो एउटा देश हो जसले ट्याँकरको पानी नदीमा खन्याएर कुण्ड भर्ने कोशीश गरिराखेको थियो । गोदावरी किनारमा रहेको यो कुण्ड मुनीको जल प्रणाली गोदावरी नदीसँग जोडिएको हुनाले कुण्डमा हालिएको सबै पानी नदीमा पुग्नु स्वभाविक थियो । स्थिति ‘वालुवामा पानी’ भन्दा पनि बिजोग बन्यो ।

‘विकास’ का नाममा सत्यानाश पार्ने मामिलामा नेपाली पनि कम छैनन् इण्डियन भन्दा ।

तस्बीर : प्राध्यापक प्रदीप शाह

रानीपोखरी : सम्पदा र प्रकृतिको सत्यानाश

पुनर्निर्माणको नाममा रानीपोखरीसँग जोडिएका हाम्रा संस्कृति र सम्पदा मात्र होइन यहाँको प्रकृतिलाई समेत ध्वस्त पारिएको छ । हाम्रो अद्वितीय रैथाने ज्ञानको अपमान गरिएको छ ।

हाम्रो देश नेपाल दुनियाँको त्यस्तो एक मात्र देश होला जहाँका शासकहरू पाइपवाट पानी खन्याएर पहिले प्राकृतिक रूपमै सधैँ भरिएको रहने पोखरी भर्दैछन् !

रानीपोखरी पुनर्निर्माण पछि अहिले पाइपबाट पानी ल्याएर सो पोखरीमा भरे पछि त्यसको चर्चा भैरहेको छ । एक थरीले प्रसंशा गरिरहेका छन् । साच्चै सुन्दर पनि देखिएको छ रानीपोखरी !

सिमेण्ट, इँट र कंक्रिटको ‘स्वीमिङ पुल’ मा परिणत गरियो, प्राकृतिक रूपमै आफैँ पानी ‘रिचार्ज’ भैराख्ने, कहिल्यै नसुक्ने यो पोखरीलाई । बाहिरवाट पानी ओसारेर पोखरी भर्नुपर्ने स्थिति बनाइयो सधैँका लागि । तर सधैँभरी यसरी बाहिरवाट पानी ल्याएर हाल्न सम्भव होला कि नहोला भनेर कसैले सोचेका छन् ?

कसरी बन्यो यो स्थिति ?

यो अवस्था किन आयो भनेर एक चोटी पछाडि फर्केर हेर्नुपर्ने हुन्छ ।

२०७२ सालको भूकम्पले यो पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरलाई क्षति पुर्‍याए पनि पोखरीलाई केही बिगार गरेको थिएन । यही मन्दिर पुनर्निर्माणको क्रममा महानगरपालिकाले रानीपोखरीलाई ‘म्युजिकल वाटर फाउण्टेन’ सहितको पोखरी र छेउछाउमा बगैँचा र ‘कफी शप’ सहितको पार्क बनाउन खोजेको थियो । यसै क्रममा पोखरीलाई सुकाइएको थियो ।

अब यो पोखरीमा प्राकृतिक रूपमा पानी रिचार्ज हुन सम्भव हुन्न भन्दैछन् विशेषज्ञहरू । त्यसैले रानीपोखरी भर्न बाह्य स्रोतवाट पानी ल्याउनु परेको छ ।

त्यसबेला सम्म पोखरीलाई कंक्रिटको स्विमिङ्ग पुल बनाउन डोजर लगाएर खन्ने काम भैसकेको थियो । जसका कारण रानीपोखरीको पानी आपूर्ति र निकास प्रणाली बिग्रिसकेको थियो । डोजरले रैथाने ज्ञानको भण्डारलाई सत्यानाश पारिसकेको थियो ।

धन्न काठमाडौँका केही सचेत सम्पदाविद्हरूको अथक प्रयासका कारण त्यो अनर्थ हुन् पाएन । तर त्यसबेला सम्म पोखरीलाई कंक्रिटको स्विमिङ्ग पुल बनाउन डोजर लगाएर खन्ने काम भैसकेको थियो । जसका कारण रानीपोखरीको पानी आपूर्ति र निकास प्रणाली बिग्रिसकेको थियो । डोजरले रैथाने ज्ञानको भण्डारलाई सत्यानाश पारिसकेको थियो ।

पुरानो रानीपोखरीमा राज कूलो र सो पोखरी भित्र रहेका इनारवाट पानी आउँथ्यो। त्यसैवाट पोखरीमा निरन्तर पानी रिचार्ज भइरहन्थ्यो । त्यसको लागि एक पैसा पनि कसैले खर्च गर्नु पर्दैनथ्यो ।

किंबदन्ति अनुसार राजा प्रताप मल्लले हनुमान ढोका भित्र सानो बूढानीलकण्ठको स्थापना गरे पछि उनलाई भगवानले अब उपरान्त यहाँ दर्शन गर्न नआउनु भनेका थिए रे, सपनामा । त्यस पछि प्रताप मल्लले बालाजुमा अर्को बूढानीलकण्ठ स्थापना गरेका हुन् ।

लेखक सौरभका अनुसार प्रताप मल्लले बूढानीलकण्ठवाट हनुमान ढोका भित्र्याएको कूलोवाट आउने बढी भएको पानी असन, भोटाहिटी हुँदै रानीपोखरीमा झर्थ्यो । र रानीपोखरी भरिएर बढी भएको पानी टुँडिखेलवाट बग्दै अहिले दशरथ रंगशाला बनेको ठाउँमा झर्थ्यो । र सो ठाउँमा रहेको पोखरीमा फुलेको कमल त्रिपुरेश्वर महादेवलाई चढाउनु पर्थ्यो । अन्त्यमा त्यो पोखरीमा पनि बढी भएको पानी वागमतीमा झर्थ्यो ।

शताब्दिऔँ पुरानो यो राज कूलो अहिले अस्तित्वमा पनि छैन । त्यस्तै रानीपोखरीको पानीको अर्को स्रोत थियो त्यहाँ भित्र रहेका इनारहरु । जमिन भित्र रहेको भूमिगत जलस्रोत (aquifer) वाट ती इनार मार्फत पानी आइरहन्थ्यो । ती इनारहरु अहिले रानीपोखरीको पुनर्निर्माण गर्दा पत्ता लगाउन सकिएन वा त्यसो गर्न कोशीश नै गरिएन ।

पुनर्निर्माणको क्रममा रानीपोखरीको सतह खने पछि अहिले पानी अड्याउन त्यसमा कालो माटो बिछ्याएर त्यस माथि ठूलो आकारको इँटा (माअप्पा) र त्यस माथि पनि फेरि कालो माटो राखिएको छ ।

अब यो पोखरीमा प्राकृतिक रूपमा पानी रिचार्ज हुन सम्भव हुन्न भन्दैछन् विशेषज्ञहरू । त्यसैले रानीपोखरी भर्न बाह्य स्रोतवाट पानी ल्याउनु परेको छ ।

रानीपोखरीको क्षेत्रफ़ल दुई लाख २० हजार वर्ग फिट रहेको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार यसलाई भर्न ३ करोड २२ लाख लिटर पानी आवश्यक पर्दछ । केही दिन अगाडि रानीपोखरीमा पौने ३ करोड लिटर पानी भरिएको थियो । जसमध्ये १ करोड लिटर आकासे पानी हो । बाकी १ करोड ७५ लाख लिटर पानी मेलम्ची खानेपानी कार्यालयसँगको सहकार्यमा सुन्दरीजलवाट ल्याइएको बागमती नदीको पानी थियो ।

यसरी पोखरीमा पानी बाहिरवाट ल्याएर भर्ने काम कति दिगो होला ? किनकी नेपालमा ४ महिना जति पानी पर्छ । बाकिँ ८ महिना त्यति पानी पर्दैन । त्यसमाथि अचेल जलवायु परिवर्तनका कारण हिउँदे बर्षात पनि कम हुँदै गएको छ । राम्रोसँग घाम लाग्ने समयमा अब रानीपोखरीवाट कति पानी वाष्पीकरण भएर जान्छ त्यो बराबरको पानी दैनिक थप्नु पर्ने हुन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुमान अनुसार वर्षात नभए रानीपोखरीमा एक महिनामा पानीको सतह चार इन्चसम्म घट्न सक्छ । र पूरा वर्षभर नै पानी नपरेको खण्डमा चार फिट पानी सुक्नेछ । यस हिसाबले रानीपोखरीमा पानी भर्न करोडौँ खर्च लाग्ने देखियो । यसरी सधैँभरी पाइपवाट पोखरीमा पानी हाल्ने काम कति दिन सम्म सम्भव होला ?

परम्परागत ज्ञानको तिरस्कार र संस्कृतिको उपेक्षाको मूल्य निक्कै चर्को नै हुन्छ ।

अधिवक्ता केदार सिटौला भूराजनीतिक यथार्थवादका अध्येता हुनुहुन्छ ।

उहाँलाई sitaulakedar85@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

421 Total Views 2 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here