राष्ट्रिय गौरवको संरक्षण गरौँ

1
648

शिक्षाको नाममा, प्रगतिको नाममा, त्यस्तै धर्मको नाममा आफ्नो संस्कृति लाद्न पाएमा त जनताको राष्ट्रियताको दियो निभ्नेछ र उसले इङ्गल्याण्डको साम्राटको वफादारी गर्नु र बेलायतको हित चिताउनुलाई नै राष्ट्रवाद ठान्नेछ भन्ने उनीहरुको प्रक्षेपण शतप्रतिशत सही भयो।

स्वयम्भुनाथ कार्की

SN Karkiथपना सम्राटको मुलुक बेलायतले राज गरेर छोडेका मुलुकहरुमा आफ्नो संस्कृति कायम रहन पाएन। बेलायती संस्कार र संस्कृतिको लामो समयाबधिसम्मको गुलामीले ती मुलुकमा भौतिक विकास त गर्‍यो तर त्यसको मोल आफ्नो संस्कृति, परंपरा तथा ज्ञानको विनासको रुपमा चुकाउनु पर्‍यो।

सभ्यता र संस्कृतिको धनी भुखण्ड भारतवर्ष (भारत देश होइन) थियो। भारतवर्षको बाटोको खोजी यूरोपेली मुलुकको ठूलो अनुसन्धानको बिषय भएको कुरा त कोलम्बस भारतवर्षको बाटो पहिल्याउने क्रममा अमेरिकाको बाटो पहिल्याउन पुग्नुले नै साबित गर्दछ। यो यूरोपेली सभ्यताको हाराहारी मात्र नभएर त्यस भन्दा उन्नत सम्यता यस भेगमा विद्यमान रहेछ भन्ने कुराको पनि बलियो प्रमाण हो।

कालान्तरमा बेलायतको इष्ट इन्डिया कम्पनीले जुनजुन देशका राजाहरुमा बिलाशितापूर्ण जीवन यापनको चहाना बढदै गयो त्यससँग राज्य संचालनको ठेक्का लिँदै गयो। यो नै बेलायती उपनिवेशको प्रारम्भ थियो। शक्तिसंचय भैसकेपछि त्यसै शक्तिको भरमा छिमेकका मुलुकहरु कव्जा गर्न इष्ट इन्डिया कम्पनीलाई गाह्रो परेन। वनको चरो वनको ढुँगो गरेर बेलायती साम्राज्यको यत्रो बिस्तार भयो कि त्यो साम्राज्यमा कहिल्यै सूर्य अस्त नहुने भयो।

साधनस्रोत त्यसै देशका जनताबाट प्रयोग गरे पनि कुटील बुध्दि भने उनीहरुको आफ्नै थियो। आफैँ आफ्ना सैनिकहरु संगै यूध्दमोर्चामा जाने पृथ्वीनारायण शाह जस्तै शासक जुनजुन मुलुकमा रहे ती मुलुकमा अंग्रेजको दाल गलेन। यूध्दमोर्चामा हार ब्यहोर्ने राष्ट्रका जनताको मनको राष्ट्रियता माथि भने अंग्रेजहरुले कब्जा गर्न सकेनन्। आफ्नो धर्म, परम्परा तथा इतिहासबाट जनताले राष्ट्रियताको ज्वाला जगाउने इन्धन पाउने गरेको तथ्य अग्रजहरुले फेला पारे।

शिक्षाको नाममा, प्रगतिको नाममा, त्यस्तै धर्मको नाममा आफ्नो संस्कृति लाद्न पाएमा त जनताको राष्ट्रियताको दियो निभ्नेछ र उसले इङ्गल्याण्डको साम्राटको वफादारी गर्नु र बेलायतको हित चिताउनुलाई नै राष्ट्रवाद ठान्नेछ भन्ने उनीहरुको प्रक्षेपण शतप्रतिशत सही भयो।

कमजोर आत्मवल भएकाहरु उपर शासन गर्न सजिलो हुन्छ भन्ने तथ्य नै बेलायती उपनिवेशको आधार थियो।

आफूले गौरव गर्ने कुराहरु गौरवशाली नभएर त्रुटीपूर्ण वा अन्याय तथा अत्याचारको जननी हो भन्ने मान्छेमा परेमा उसको आत्मवल कमजोर हुन्छ र कमजोर आत्मवल भएकाहरु उपर शासन गर्न सजिलो हुन्छ भन्ने तथ्य नै बेलायती उपनिवेशको आधार थियो। उनीहरुबाट प्रशिक्षित आफ्ना जाति कै मान्छेले भनेको कुरा मान्दैजाँदा यस भेकका बासिन्दाहरुले आफ्नो आत्मा दास भएको पत्तै पाएनन्। फलत, भारतवर्षका कतिपय मुलुकहरु शताव्दियौंसम्म उनीहरुका दास भए। झन आश्चर्यको कुरा त के छ भने उनीहरु बेलायत मुलुकका दास थिएनन् बरु त्यस मुलुकको एक व्यापारिक कम्पनीको दास थिए।

अहिलेको भारत संघ चक्रवर्ती सम्राट अशोकको पालामा बाहेक एउटै मुलुक कहिल्यै पनि थिएन। त्यस पछिको इतिहासमा भने अहिलेका भारत संघमा संलग्न सबै मुलुकहरु एकै समयमा एक देश भएनन्। कहिले कुनै देश जोडिने र कहिले टुट्ने क्रम चलिरह्यो। जब इष्ट इन्डिया कम्पनीले यो भूभाग छोड्नु पर्‍यो त्यसबेला संगै स्वतन्त्रताको लडाई लडेकाहरु एकै देशको रुपमा रहन चाहे। तर त्यो पनि संभव भएन र अंग्रेजले छोड्दा यो भूभागमा दुई राष्ट्र कायम भए।

समान रितिथिति तथा परम्परा भएका धेरै मुलुकहरु जोडेर एउटा प्रान्त र यस्तै प्रान्तहरुको दूई संघीय राज्य पाकिस्तान सन् १९४७ अगस्त १४ मा र भारत सन् १९४७ अगस्त १५ मा कायम भए।

अलगअलग राष्ट्रकारुपमा भएका देशहरु एउटा एकात्मक मुलुककारुपमा रहन संभव पनि थिएन। संघीय मुलुकको रुपमा पनि एक रहन आधा शताव्दि भन्दा ज्यादा बितिसक्दा पनि प्रसस्त मेहनत गर्नु पर्दैछ। त्यसमाथि पनि हालै अरुणाचल प्रदेशमा चीनले आफ्नो अधिकार भएको उद्घोष गर्दैछ भने काश्मिर अझै समस्या कै रुपमा रहेको छ।

राष्ट्रवादसँग जोडिएका गौरव गर्ने कुराको खोइरो खन्ने र आत्मवल समाप्त पार्ने कुटील विदेशी चालको संवाहक हुन हाम्रै अगुवाहरु गौरव मान्दैछन।

विदेशीको उपनिवेश भएर आफ्नो राष्ट्रवाद गुमाउनुको पीडा भोगेका हाम्रा छिमेकीको पिडा भुलेर हाम्रो राष्ट्रवादसँग जोडिएका गौरव गर्ने कुराको खोइरो खन्ने र आत्मवल समाप्त पार्ने कुटील विदेशी चालको संवाहक हुन हाम्रै अगुवाहरु गौरव मान्दैछन।

जुन झण्डाको गौरव रक्षाको निमित्त पुर्खाहरुले आफ्नो ज्यान उत्सर्ग गरे त्यसलाई कपडाको एक टुक्रा मात्र मान्ने हो भने हामीले हाम्रा पुर्खालाई गौरवशाली मान्न सक्दैनौ। आफ्नो अस्तित्वलाई नै तुच्छ मान्दा आफू भन्दा गौरवशाली विदेशलाई श्रेष्ट मान्नुपर्ने हुन्छ। यो नै दासताको लक्षण हो। आधुनिक उपनिवेश बनाउने यो इष्ट इन्डिया कम्पनीबाट प्रतिपादित अचुक हतियार हो।

स्त्रीहरुलाई आदर गर्ने तथा शक्ति पूजनमा देवीको उपासना गर्ने पूर्वीय संस्कार केही दशक अगाडि मात्र स्त्रीलाई मताधिकार दिने मुलुकहरुले स्त्रीमाथि अत्याचार गर्ने संस्कार हो भन्छन् भने त्यो भन्दा हास्यास्पद कुरा अरु के हुन सक्छ? अझ त्यो कुरा हाम्रै अगुवाहरुले प्रचार गर्दछन भने उनीहरुलाई उपनिवेशका पक्षपाती भन्दा फरक नै पो के पर्ला र।

यसर्थ सावधान, आफ्ना गौरव गर्ने कुराहरु मास्दै जाने हो भने राष्ट्रवाद खतरामा पर्दछ। राष्ट्रवाद कमजोर भएमा राष्ट्रको अस्तित्व कायम गर्न अत्यन्त कठिन छ। यदि नेपाली भएर नेपालमै बाँच्न चाहाने हो भने आफ्ना गौरवको संरक्षण गरौ। अनि अखण्ड नेपाल भनौं।

 

1 COMMENT