राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाली जाति र हाम्रो स्वधर्मको रक्षाका लागि पनि नेपाल एकीकरण अपरिहार्य ठानेका थिए।

प्रभात अधिकारी

Prabhat Adhikariइतिहासको नेपाल राज्य कश्मीरदेखि आसामसम्म र हिमालय पर्वतश्रेणीदेखि गङ्गासम्म फैलिएको थियो। हामीले स्कन्द पुराणको ८१औँ अध्याय हेर्यौँ भने यो कुरा छर्लङ्ग हुन्छ। कौटिल्यको अर्थशास्त्र हेर्यौँ भने नेपाल कत्रो थियो र यसको आर्थिक भौगोलिक अवस्था कस्तो थियो भन्ने अझ स्पष्ट हुन्छ।

इतिहासमा देशहरू टुक्रने र बन्ने प्रक्रिया भैरहन्छन्। विश्वका धेरै राष्ट्रहरू टुक्रँदै, जोडिँदै आजको स्थितिमा आइपुगेका हुन्। किराँत शासनको अन्त्य र लिच्छबी शासनको आरम्भमा नेपाल ५३ टुक्रामा विभाजित थियो। कैयौँ भूरे–टाकुरे राज्यहरूको जन्म भयो। पछि ती साना राज्यहरू पनि टुक्रँदै, आपसी वैमनश्य बढ्दै गयो र ती आपसमा लडाइँ गरिरहन्थे।

यसरी विभाजित राज्यहरू पुन: एकीकृत हुनुपर्छ र एउटा विशाल नेपाल राष्ट्र बन्नुपर्छ भन्ने धारणा गोरखाका राजा पृथ्वीनारायण शाहमा मात्र आएको हुनाले आज हामी पृथ्वीनारायणलाई राष्ट्र निर्माताका रूपमा सम्मान गर्छौँ। उनका वाणीलाई दिव्योपदेशका रूपमा स्वीकार्छौँ।

हुन त पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले पनि विशाल नेपाल राष्ट्र बनाउने सपना नदेखेका होइनन्। यही क्रममा उनले नुवाकोटमाथि तीन पटक आक्रमण गरे। तर तीनै पटक पराजीत भए।

 राजा, भारदार, साहू–महाजन, किसान लगायत सम्पूर्ण जनताको साथ पाएर नै नेपाल एकीकरण सम्भव भएको हो। यो राजाको मात्र प्रयाशले पार पाउने कुरा थिएन।

बाबुको निधन पश्चात् गद्दीमा बसेका २० वर्षे पृथ्वीनारायणले बाबुका यी प्रयाशलाई राम्ररी नियालिरहेका थिए। उनी वीर र दूरदर्शी थिए। त्यसैको परिणाम आज सिङ्गो नेपाल राष्ट्र अस्तित्वमा छ।

हुन त पृथ्वीनारायण शाहकै पालामा काङ्गडामा नेपाली झण्डा फहराएको थिएन। तैपनि उनको शासनकालमा काठमाडौँ उपत्यकाका सबै स–साना राज्य, बालकोट, नुवाकोट, मकवानपुर लगायत भने नेपालको सिमानभित्र आइसकेका थिए।

पृथ्वीनारायण शाहपछिका शासकहरूले पनि नेपाल एकीकरणको महान योजनालाई साकार रूप दिन दत्तचित्त भै लागिपरे। राजा, भारदार, साहू–महाजन, किसान लगायत सम्पूर्ण जनताको साथ पाएर नै नेपाल एकीकरण सम्भव भएको हो। यो राजाको मात्र प्रयाशले पार पाउने कुरा थिएन।

यता पृथ्वीनारायण शाह आफ्ना भूभागहरू एकीकृत गर्दै सिङ्गो नेपाल निर्माण गर्दैथिए, उता भारतमा व्यापारिक उद्देश्य देखाएर छिरेका युरोपेलीहरू त्यहाँका साना राज्यहरूमाथि विजय प्राप्त गर्दै उपनिवेश खडा गर्दैथिए। एकपछि अर्को गर्दै बृटिशहरूले भारतीय भूभागमा विशाल साम्राज्य खडा गरिसकेका थिए। यस्तो परिस्थितिमा नेपाललाई समेत खतरा हुनसक्ने भएकाले नेपालका दूरदृष्टी भएका शासकहरू नेपाल एकीकरणमा तल्लीन भै लागे।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाली जाति र हाम्रो स्वधर्मको रक्षाका लागि पनि नेपाल एकीकरण अपरिहार्य ठानेका थिए। अङ्ग्रेजहरूले नेपालको आन्तरिक राजनीति बुझ्न केही बाइबलधारी पाष्टरहरूलाई नेपाल पठाएका थिए। तर पृथ्वीनारायण शाहले अङ्ग्रेजको कूनियत राम्ररी बुझेकाले ती पाष्टरहरूलाई नेपालबाट निष्कासन गरिदिए। अङ्ग्रेजहरू धर्म प्रचारका माध्यमबाट नेपाल पस्न चाहन्थे। तर दूरदर्शी राजा पृथ्वीनारायण ‘गोराहरू मुलुक पस्या भने कङ्गाल बनाइ छाड्न्याछन्’ भन्थे।

 अहिलेका शासक र सम्पूर्ण नेपाली जनताले एकपटक इतिहास हेरेर पुर्खाको त्याग, बलिदान र देनको उचित सम्मान गर्नैपर्छ। यसबाट मात्र राष्ट्र निर्माता र हाम्रा महान पुर्खाहरूको सम्मान हुनेछ।

पृथ्वीनारायण शाहपछिका बहादुर शाह, भक्ति थापा, भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर लगायतले राष्ट्रिय एकीकरणलाई आत्मसात गर्दै लगे। महान नेपाली सेना, देशभक्त भारदारहरूको अटल राष्ट्रप्रेम र धैर्य तथा नेपाली जनताको शाहसका कारण नेपाल पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म फैलिन सफल भयो।

तर बुटवल र शिवराजमा उठेको सीमा विवादलाई लिएर उब्जेको दुईदेशीय बैमनश्यका कारण अङ्ग्रेजले ई. १८१४ मा नेपालमाथि आक्रमण गरे। गोरखालीले यो नेपाल–अङ्ग्रेज युद्धमा वीरतापूर्वक लडे। बलिया हतियारले सुसज्जीत करीब चार हजार अङ्ग्रेज फौजसँग ४०० भन्दा कम नेपाली सेनाले बहादुरीका साथ लडे। यस्तो असमान युद्धमा पनि नेपाली योद्धाहरूले अङ्ग्रेज सेनालाई आच्छु–आच्छु पारे।

कतै जीत र कतै हारको परिणामस्वरुप १८१६ मार्चमा मकवानपुरको सुगौलीमा राजगुरू चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले सन्धिमा हस्ताक्षर गरेपछि वर्तमान नेपाल राष्ट्रको सिमाना मेची–महाकाली बनेको हो।

भारतमा उठेको सिपाही विद्रोह दबाउन जङ्गबहादुर राणाले सेनासहित सहयोग गरेकाले सुगौली सन्धिबाट गुमेको भूभागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ४४ वर्षपछि नेपालले फिर्ता पायो। पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूबाट निरन्तरता दिइएको नेपाल एकीकरण अभियान सुगौली सन्धिका कारण सदाका लागि रोकिनुकासाथै नेपालले एक तिहाइ भूभागसमेत गुम्यो।

सन् १८१६ मा नेपाल र बृटिश इष्ट इण्डिया कम्पनीबीच भएको सुगौलीको सन्धिलाई सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धिले खारेज गर्यो। नेपालको सीमा खुम्च्याउने सुगौली सन्धि खारेज भएको र सो सम्बन्धमा अन्य व्यवस्था नगरिएकाले १९५० को नेपाल–भारत सन्धिका प्रावधान अनुसार सुगौली सन्धिबाट गुमेको र अहिले भारतको नियन्त्रणमा रहेको नेपाली भूभाग नेपालले फिर्ता पाउनुपर्छ। अन्तर्राष्ट्रिय अदालतमा नेपालले आफूसँग भएका ठोस प्रमाण प्रस्तुत गर्दै भारतमाथि मुद्दा हाल्ने हो भने नेपालले आफ्नो भूभाग पाउनेछ भन्ने कुरामा शंका छैन।

त्यसैले अहिलेका शासक र सम्पूर्ण नेपाली जनताले एकपटक इतिहास हेरेर पुर्खाको त्याग, बलिदान र देनको उचित सम्मान गर्नैपर्छ। यसबाट मात्र राष्ट्र निर्माता र हाम्रा महान पुर्खाहरूको सम्मान हुनेछ।

 

2424 Total Views 1 Views Today

1 COMMENT

  1. Enjoyed reading Prabhat Adhikari’s article on Badamaharaja Prithvinarayan Shah who was a visionary king and unified several principalities into a nation. But was maligned with his statue disfigured after the so-called April revolution of 2006.

    An ungrateful nation is bound to suffer. But recent movements are encouraging. A petition has also been submitted to GoN to declare Pausha 27 a national or public holiday.

    Let us see how the govt. responds.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here