रिम्पोचेको समाधि : नेपाललाई संभाव्य जोखिम

0
434

www.nepalpolity.com अनुसन्धान टोली

nepal_polity_bannerभुटानी नागरिक, बुद्ध धर्मका तिब्बती गुरु, श्यामर रिम्पोचेको लाश नेपाली भूमिमा ‘समाधिस्त’ गरिने जानकारी सञ्चार माध्यमहरुले दिएका छन् । नेपाल सरकारले यस सम्बन्धमा निर्णय गरिसकेको कुरा सार्वजनिक भएको छ। ‘छिमेकी चीनले यसबारे कुनै सरोकार नरहेको स्पष्ट पारेपछि सरकारले रानीवनस्थित सर्मिनाभ गुम्बामा समाधिका लागि अनुमति दिन लागेको’ एक दैनिक अखबारले लेख्यो ।

कुनै नेपाली नागरिकको विदेशमा मृत्यु भयो भने, उसको लाश स्वदेश ल्याएर आफ्नो मातृभूमिमा अन्तिम संस्कार गरिनु स्वभाविक, र आवश्यक पनि, छ । तर यहाँ यस्तो अवस्था देखिएन । रिम्पोचेको सन्दर्भमा उनी नेपाली नागरिक नभएर भूटानी भएको बताइएको छ ।

नेपाल सरकारले नेपाली भूमिमा समाधिस्त गर्न अनुमति दिएको भनिएका यी विदेशी धार्मिक नेताको मृत शरीर नेपालमै ल्याएर समाधिस्त गर्नु पर्ने कारण के हो ? नेपाली सञ्चार माध्यममा यस प्रश्नको उत्तर कतै पाइएन । अर्को पक्ष, ‘अनुमति दिने’ सरकारले पनि यसबारेमा केही बताउन आवश्यक ठानेको छैन । रिम्पोचेको मृत्यू जर्मनीमा भएको बताइएको छ । उनको मृत शरीर सो यूरोपेली राष्ट्रबाट भारतीय भूमि, बंगाल राज्यको कालिङ्पोङ ल्याएर राखिएको जानकारी सार्वजनिक भएको छ ।

यस सन्दर्भमा ध्यान दिनु पर्ने गम्भीर केही पक्ष देखा पर्छन् । पहिलो पक्ष, नेपालमा ल्याएर समाधिस्थ गरिने भनिएका यी व्यक्ति विदेशी नागरिक हुन् । दोश्रो, उनको मृत्यु नेपाली भूमिमा नभएर अर्कै राष्ट्रमा भएको हो । तेश्रो तथा अझ महत्वपूर्ण कुरा, तिब्बती बौद्ध धर्मसँग सम्बन्धित परस्पर द्वेष / विवाद अनि एक अर्काको आलोचना गरिआएका अनेक सम्प्रदाय मध्ये यी रिम्पोचे एक हुन् भन्ने सर्वविदित छ ।

यस्तो पृष्ठभूमिमा नेपाली माटोमै उनलाई ‘समाधिस्थ’ गर्न जोडबल गर्नु पर्ने आधार र कारण शंकाष्पद् लाग्छ । धार्मिक आस्था र पवित्रताका दृष्टिले हेर्ने हो भने, भगवान वुद्धको जन्मस्थल नेपालको भूमि अति पवित्र भएकाले विश्वका सम्पूर्ण बौद्धमार्गीको इच्छा आफ्नो परिनिर्वाण पछि यही पवित्र माटोमा विलिन हुने हुनसक्छ । यो अवस्था उल्लेखित रिम्पोचेका सन्दर्भमा देखिन्न, अथवा भनौँ, सम्बन्धित पक्षले यस्तो कुरा सार्वजनिक रुपमा बताएको सुनिएको छैन । त्यसैले, सो धार्मिक आस्थाका कारण यिनलाई यहाँ समाधिस्त गर्न खोजिएको हो भन्ने पनि देखिन्न ।

अर्को एउटा आधार हुनसक्छ, विश्वका कुनै पनि देशले यी धार्मिक नेतालाई समाधिकालागि आफ्नो भूमि उपलब्ध गराउन नमानेको कारण भूमिको खोजीमा नेपाललाई गुहारेको हुन सक्छ । रिम्पोचेका सन्दर्भमा, सरोकारवाला, नेपाल सरकार वा नेपाली सञ्चार माध्यम कसैले पनि यसो भएको उल्लेख गरेका छैनन् ।

विदेशी धार्मिक नेतालाई पवित्र नेपाली माटोमा समाधिस्त गर्न ठूलै बल र दबाव दिनु पर्ने अर्को संभाव्य कारण, यिनी नेपाललाई कर्मभूमि बनाएर उदाएका धर्म गुरु भएको हुनुपर्यो । तर यसप्रकारको सूचना वा जानकारी पनि कतै पाइएको छैन ।

बिना कारण कुनै घटना वा प्रकृया यसरी आउनै सक्तैन । हरेक घटनाका निश्चित कारक तत्व हुन्छन्, प्रत्यक्ष देखिने वा लुकाइएका । र राजनीतिक स्तरमा समेत एक तहको विवाद र मतभेदमा रहेका यी तिब्बती धार्मिक नेतासँग सम्बन्धित यसबेलाको यो जोडबल अनि ‘चीनले यसबारे कुनै सरोकार नरहेको जानकारी गराएको’ बताउने नेपाल सरकारमा रहेका राजनतिक नेताहरुको अन्तर्निहीत स्वार्थ (Hidden interests) प्रति शंका उठ्नु स्वभाविक छ ।

तसर्थ, यस घटनाले भोलिका दिनमा नेपाल राष्ट्रलाई अप्ठ्यारोमा पार्न सक्ने संभाव्य जोखिमप्रति कुनै निर्णय गर्नु अघि नै सजग रहनु कल्याणकारी हुनेछ । होइन भने, अहिले ‘सामान्य’ देखिने यस प्रकरणले भविष्यमा कठिन अवस्था सिर्जना गराउन सक्ने छ, खासगरी हाम्रो कूटनीति तथा परराष्ट्र सम्बन्ध सञ्चालनमा । उरन्ठेउलो शैलीमा कूटनीति सञ्चालन गरिराखिएको ‘लोकतान्त्रिक गणतन्त्र’ नेपालका अहिलेका शासकहरुले यस विषयमा कत्तिको गंभीरता देखाउँछन्, त्यो हेर्न बाँकी छ ।