विदेशी दासतामा चलेको नेपाली राजनीति

0
425

द्वन्द्वलाई अनेक वुद्धि र बल लगाएर दस / पन्ध्र बर्ष रोक्न त सकिएला तर त्यसपछि त्यो द्वन्द्व  ज्वालामुखी भएर आउने छ । अहिले त्यो एउटा आगोको सामान्य फिलुङ्गोको रूपमा छ ।

निरक्षर निरौला

निरक्षर निरौला

नेपालको वर्तमान संविधान नेपालका लागि धेग्नै नसक्ने भारी हो ।

तपाईँ कल्पना गर्न सक्नु हुन्छ – एउटा ४/५ बर्षको बालक छ । उसको टाउकोमा ५०/६० केजीको भारी बोकाइदिइयो । अब भन्नुस् त्यो बालकको हबिगत के हुन्छ ? हो, त्यस्तै हविगत नेपालको भएको छ । एक त धान्नै नसक्ने ७ प्रदेश, त्यस माथि यो सात प्रदेश पनि हचुवाको भरमा गरिएको सिमाङ्कन ।

बि.सं. २०६२/६३ देखि यता १० बर्ष हामी संघीयतामा जाने प्रक्रियामा छौँ । त्यस यता सर्वसाधारण नागरिक देखि वौद्धिक बर्गमा समेत सबै भन्दा वढी प्रयोग गरिएको शब्द शायद  यही “संघीयता” र “प्रदेश सिमाङकन” हो ।

यो दश बर्षमा हामीले दुई वटा संविधानसभा बनायौँ । पहिलो संविधानसभा त्यतिकै तुहियो । त्यो तुहिनुका पछाडिको प्रमुख र एक मात्र कारण भनेको ‘प्रदेश सिमाङ्कन’ नै थियो, सतहमा देखिँदा । दोश्रो संविधानसभाले पनि कबोल गरेको समय भन्दा बढी समय लिँदै अन्ततः एक थान संविधान जारी गर्‍यो ।

तर संविधान जारी भए पनि समस्या भने उस्तै छ । वर्तमान संविधानको एउटा ठूलो उपलब्धि भनेकै ‘संघीयता’ हो । संघीयता भन्ने बित्तिकै प्रदेशको सिमाङकन र यसको नामाङ्कन पनि सँगै जोडिएर आउँछ । तर दूर्भाग्य, हामीले संविधान तैयार गरे पनि यी दुई मुद्दालाई टुङ्गो लगाउन सकेनौँ ।

बर्तमान प्रदेश सिमाङकनमा न ब्राह्मण क्षेत्रीले अपनत्व ग्रहण गर्न सकेका छन्, न त जनजाति, थारु, मधेसी लगायतले नै । आखिर कुन चै सम्प्रदाय यो संविधान प्रति खुसी छ भनेर खोज्दै जाने हो भने कुनै पनि सन्तुष्ट समुदाय देखिँदैन । सकारात्मक देखिँदैन । आखिर यसमा कसको चै अपनत्व छ ? सोच्नै पर्ने भएको छ ।

नेपाली समाजमा बिगतमा जुन एकता थियो, भ्रातृत्व थियो, त्यो अब रहेन । नेपाली समाज मेलमिलाप र एकीकृत होइन, ध्रुबिकृत र विखण्डन तर्फ उन्न्मुख देखिन्छ । ध्रुवीकरण र विखण्डनलाई मलजल गर्न नै बर्तमान संविधान ल्याइए झैँ लाग्छ।

नेपाली समाजमा बिगतमा जुन एकता थियो, भ्रातृत्व थियो, त्यो अब रहेन । आजको ब्राह्मण केवल ‘ब्राह्मणवाद’ को कुरा गर्छ ।  जनजाति मात्र ‘जनजाति’ का बारेमा सोच्ने भएको छ । मधेसी, मुस्लिम, आदिवासी लगायत सबैको हालत यस्तै छ ।

आफ्नो जात, सम्प्रदाय / समुदाय भन्दा पर गएर सोच्ने वातावरण नै छैन । यसो भनौं- हामीलाई केवल आफ्नै जाति विशेषका बारेमा सोच्न बाध्य गराइयो । जात भन्दा माथि उठेर ‘मेरो समाज’ ‘मेरो देश’ भन्ने परिस्थिति / सम्भावनाको अन्त्य गराइएको छ । नेपाली समाज मेलमिलाप र एकीकृत होइन, ध्रुबिकृत र विखण्डन तर्फ उन्न्मुख देखिन्छ । ध्रुवीकरण र विखण्डनलाई मलजल गर्न नै बर्तमान संविधान ल्याइए झैँ लाग्छ।

संविधान कार्यान्वयनको प्रश्न

पहिलो कुरा त यो संविधान लागू हुनै सक्दैन । संविधानमा उल्लेखित प्रदेश संख्याको भार यो देशले थेग्न सक्ने छैन ।  दोश्रो, संविधान लागू गर्न / गराउन खोजियो भने पनि यसले मुलुकमा द्वन्द्व निम्त्याउने निश्चित देखिँदैछ । त्यस्तो द्वन्द्वलाई अनेक वुद्धि र बल लगाएर दस / पन्ध्र बर्ष रोक्न त सकिएला तर त्यसपछि त्यो द्वन्द्व  ज्वालामुखी भएर आउने छ । अहिले त्यो एउटा आगोको सामान्य फिलुङ्गोको रूपमा छ ।

त्यसैले, अब यो मुलुकको ‘सेफ ल्यान्डिङ’ भनेको बर्तमान संविधान खारेज गर्नु हो । तर त्यस्तो गर्ने हिम्मत नेतृत्वमा देखिँदैन । आशाको कुरो के भने माओवादी, काङ्ग्रेस र एमाले यी तीनै वटा प्रमुख दलका नेतृत्वलाई “संघीयताले  यो मुलुकको हित गर्दैन” भन्ने कुराको ज्ञान भैसकेको छ । तर यिनीहरु यही यथार्थ भन्न सकिरहेका छैनन् ।

दलहरूमा विदेशीको दासता

हिजो भारतले मधेसी दललाई मोहरा बनाएर संघीयताको एजेण्डा उठाइ दियो । मधेसी दलको मागमा भारत लुकेको छ भन्ने जानेरै माओवादी, काङ्ग्रेस र एमाले संघीयताको भारी बोक्न बाध्य भए । ‘सबका मालिक एक’ भनेझैं आखिर माओवादी, काङ्ग्रेस र एमालेको मालिक पनि त भारत नै थियो । हो । आफ्नै मालिकका बिरुद्धमा जान सक्ने हिम्मत निक्कै कममा हुन्छ ।

‘सबका मालिक एक’ भनेझैं आखिर माओवादी, काङ्ग्रेस र एमालेको मालिक पनि त भारत नै थियो । हो ।

कहिलेकाहिँ मालिकको हातबाट फुत्किए पनि दासलाई ढिलोचाँडो मालिकले आफ्नो पकडमा लिन्छ लिन्छ । यसैको नतिजा हो – संविधान जारी गर्ने बेलाको रस्साकस्सी । मालिकको फन्दाबाट दासहरु एकै क्षण फुत्किए । त्यतिबेला दासदासीहरु खुब गर्जिए – “अब हामी आफ्नो निर्णय आफैँ गर्छौँ” भन्दै । “म त्यो मालिकको यस-म्यान हैन” सम्म भन्न भ्याए ।

तर संविधान जारी गरे पश्चात् तिनै दल र तिनका नेताहरूले देखाएको व्यवहारले के सङ्केत गर्छ भने दासदासीहरु फेरि मालिकको चङुलमा फसेछन् । अथवा यसो भनौं, चङ्गुलबाट उम्किन सकेनछ्न् । मालिकको चङ्गुलमा परिसके पछि मालिकबाट जस्तो इशारा आउँछ, त्यसै अनुरुप नाच देखाउनु ‘सच्चा र इमान्दार दास’ को धर्म हो । कर्तव्य हो । हाम्रा दलहरूले त्यही प्रवृत्ति देखाए । देखाइरहेका छन् ।

केही दलले  ‘मालिक’ सँग भित्रभित्रै मिलेर बाहिर नमिलेको जस्तो देखाउने गरेको आभाष पाइन्छ । यही नाटकका बीच ‘मालिक’ को अर्को चाल पनि हुन सक्ला । ‘मालिक’ निक्कै शक्तिशाली र चलाख छ । उसले आफ्ना दासहरुलाई सजिलै उम्किन दिँदैन । दिएको छैन ।

यहाँ दलहरू ‘मालिक’ का दास हुन भनिरहँदा ती दलले लिएका संस्थागत निर्णय र रणनीतिलाई आधार मानिएको हो । ती दलका संस्थागत् चरित्रको मूल्यांङ्कन हो ।  तर ती दलमा दुई / चार जना यस्ता व्यक्ति पनि छन, जो दास होइनन् । ती दासका असल मित्र हुन् ।  उनीहरु  ती दासदासीलाई छोड्न पनि सक्दैनन् र आफ्नै मित्रको विरोध गर्न पनि सक्दैनन् । केही दल चाहिँ ‘सिजनल दास’ छन् ।

बि.सं. २००७ सालदेखि नेपालमा जेजति राजनीतिक परिवर्तन भए ती सबै मालिक र दास बीचको मिलोमतोका परिणाम हुन् । यिनै द्वन्द्वको परिणाम हो, नेपालमा बारम्बार संविधान बन्नु र केही समयपछि खारेज हुनु / गरिनु । वर्तमान संविधान पनि उनै  मालिकको इशारा अनुसार संशोधन भएर परिमार्जन भएन भने यसको पनि आयु धेरै लामो नहोला ।

निरौला अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता हुन् ।