विवेक हराएको ‘आधुनिकता’ !

0
1667
दीपकिरण खड्का

अङ्ग्रेजी, हिन्दी बोल्नसके शहरिया र आधुनिक, नेपाली बोले गाउँले, ग्वाले, पाखे ? करेसाबारीमा पौरख र कर्मठले फलाइएका साग/तरकारी खाए गाउँले ? शहरका महङ्गा डिपार्टमेण्टल स्टोरबाट किने आधुनिक ? महङ्गा क्याफेमा गएर कफी खाए, होटलमा गए, पार्टीमा कोट–टाई, सारी, गहना लगाए सभ्य र शहरिया ? बोली पिछे कनीकनी अङ्ग्रेजी र हिन्दीका शब्द घुसाए आधुनिक ? बाटामा कुकुर हगाउँदै हिँडे सभ्य ?

दीपकिरण खड्का

मेरो गाउँप्रति मेरो मनमा प्रेमका निस्वार्थ मूलहरू छन् । कुनै पनि मानव सभ्यताको लहरो तान्ने हो भने त्यसको जरो गाउँमा भेटिन्छ । जीवनका हरेक मोड र घुम्तीहरूमा मन जोडिन्छ, मानवता जोडिन्छ, सहृदयता जोडिन्छ, निस्वार्थता र आत्मीयता जोडिन्छ । अनि म गाउँ सम्झिन्छु ।

गाउँ सम्झिन गाउँले मस्तिष्क चाहिन्छ, गाउँले मन चाहिन्छ । गाउँहरूले जस्तै निस्वार्थ र आत्मीय प्रेम गरिरहने क्षितिजझैं विशाल हृदय लिएर हिँड्न रुचाउँछ मन ।

गाउँप्रति ‘आधुनिक’ दृष्टिकोण

तर आधुनिक र शहरिया बन्ने होडमा कहिले काहिँ गाउँहरु ओझेलमा पर्दारहेछन्, पारिँदारहेछन् । गाउँहरुलाई हेपिएको आभाष धेरैपटक भएको छ । गाउँलेहरु असभ्य भएको प्रतिक्रियाहरु नसुनिएको होइन, कति मौन उत्तरहरु मैले भोगेको छु ।

मलाई प्रश्न गर्न मन लाग्छ, सभ्यता र असभ्यता, अनि गाउँ र शहरको तुलनात्मक छाँटकाँट गरेर आफ्ना मनगढ्न्ते तर्क पोख्ने ती सज्जनवृन्द आधुनिकहरुलाई । आधुनिक हुने वा सभ्य हुने वा शहरीया हुने भन्ने परिभाषाको आधार के ? अङ्ग्रेजी, हिन्दी बोल्नसके शहरिया र आधुनिक, नेपाली बोले गाउँले, ग्वाले, पाखे ?

करेसाबारीमा पौरख र कर्मठले फलाइएका साग/तरकारी खाए गाउँले ? शहरका महङ्गा डिपार्टमेण्टल स्टोरबाट किने आधुनिक ? महङ्गा क्याफेमा गएर कफी खाए, होटलमा गए, पार्टीमा कोट–टाई, सारी, गहना लगाए सभ्य र शहरिया ? बोली पिछे कनीकनी अङ्ग्रेजी र हिन्दीका शब्द घुसाए आधुनिक ? बाटामा कुकुर हगाउँदै हिँडे सभ्य ?

गाई पाल्नेलाई मानिसहरुले हेर्ने दृष्टिकोण मैले प्रष्ट नियालेको छु । कुटो कोदालो, गाईवस्तुको गोबर सोहोरे, अनि माटोमा लडीबुडी गरे त्यो निकृष्ट हुन्छ सभ्यहरुको अगाडि । भर्खरै शहर पसेर गाउँ फर्केकाहरुको छि:छि: र दुर्दुर अचम्मको हुन्छ । अझ भर्खरै शहर पसेकाहरुको स्वाङ्ग अर्कै छ, आधुनिक बन्ने नाममा ढोंग अर्कै छ ।

विदेशमा जबर्जस्ती बाँचेको दुनियाँ देखेको छु । बाँचेरै मरे जस्तो लाग्ने जीवन देखेको छु । जता पनि पाइलै पिच्छे शर्त र सम्झौताहरू भेटेको छु ।

गफ नै गर्दा घर कता भनी सोध्दा धेरैलाई मेरो घर गाउँमा हो भन्दा लाज भएको भाव कति पाएको छु । हिनताबोध अनि लघुताभाष किन आफ्नो गाउँठाउँको नाम भन्न ? बा/आमा अलिक झुत्रे/झाम्रे देखिए भने श्रृङ्गारले लत्पतिएका युवा/युवतीहरुले बा/आमा प्रति देखाएको दया लाग्दो व्यवहार देख्दा आफ्नै मन ग्लानीले भरिन्छ ।

गाउँको सभ्यता

हाम्रा ऋषि, पूर्वज यिनै गाउँहरुबाट विश्वलाई वैदिक सभ्यता दिन सफल भए । वेद, ऋचा मन्त्रहरु यिनै गाउँहरुबाट जन्मिए । ऋषि मनहरु यहिँ सृजना भए । हामी यही एउटा सानो गाउँबाट धेरै गाउँहरुमा फैलियौं ।

आधुनिक र शहरिया बन्ने होडमा मान्छेले आफ्नो अनुशासन, आफ्नो संस्कार भुल्दैछ, उसलाई आफ्नो इतिहासको कुनै वास्ता छैन । यी सारा नालीबेली दिएर पठाउने पूर्खाहरु पाखे हुन्छन् शहर छिर्दा ।

हिजो सभ्यता शुरु गर्ने यिनै गाउँहरु भएको तथ्य किन भुल्दैछौं हामी ? के यी गाउँ र गाउँलेहरु नभएका भए तिम्रा नौटङ्की चल्थ्यो ? यी गाउँका सभ्यता, संस्कार र संस्कृति, अनि चालचलन र मुल्य–मान्यताले तिम्रो शहर टिकेको छ । तर तिम्रो खोक्रो रवाफले गाउँहरु र गाउँलेहरु लाजले भुतुक्क हुन्छन् । र त `वनको चरी वनमै रमाउंछ´ भन्दै मनशान्ति गर्छन् ।

गाउँ घुम्ने आधुनिक शहरिया

धेरै शहरिया र आधुनिकहरु गाउँ घुम्न निस्किएको देखेको छु । कसै प्रति पूर्वाग्रह होइन । घुम्न जानु राम्रो हो । तर गाउँलेलाई अशिक्षित, गरीबीको पगरी गुथाउन पनि पछि नपर्नेहरुको ढोँग अर्कै हुन्छ ।

घुम्न जाँदा पहाड, खोला, नाला, सबै उनीहरुका प्रिय हुन्छन् । तर त्यो गाउँले सभ्यताबाट गाउँलाई गाउँको कोटीमा राख्ने कर्मठ र पौरखी, निधारमा डोका बोक्ने गाउँलेहरु, घाँसपात गर्ने नानीहरु, अनि गाईवस्तुको गोबर सोहोर्नेहरु सधैं तल्लो स्तरका मानिस ठानिन्छन् । बरु ती गाउँहरुमा गएर कहिलेकाहीं आफ्नो सभ्यताको केन्द्र खोज्नुस् । ती मानिसहरूको आर्य मन खोतल्नुस् ।

आधुनिक र शहरिया बन्ने होडमा मान्छेले आफ्नो अनुशासन, आफ्नो संस्कार भुल्दैछ, उसलाई आफ्नो इतिहासको कुनै वास्ता छैन ।

म के गर्छु ?

म गाउँलाई प्रेम गर्छु । माटोसँग प्रेम गर्छु, नदी किनारमा बसेर नदीको पवनलाई महशुस गर्छु । राती आकाशमा जुनसँगै लुकामारी खेल्ने ताराहरु हेर्छु । खेतीकिसानी गर्ने बा/आमालाई कम्तिमा वर्षको ९० दिन सघाउँछु । ऐंचोपैंचो र मेलापर्ममा आफूलाई भिजाउँछु । गाउँमा मानिसहरुसँग बोल्छु, हाँस्छु, नजिकिन्छु । सकेको खेतिपाती गर्छु, गोबर सोहोर्छु, माछाको काम गर्छु अनि म गाउँकै प्रेममा लिन हुन्छु ।

उसो गर्दा म भूमिगत भएको ठानिन्छु । गाउँलेहरु सदा बिहान सबेरै उठेर गाइवस्तुको धन्दा, घाँसपात गर्दाको जांगरले, तिनीहरुको कर्मले आकर्षित गर्छ । काम गर्दा शरीर एकदम चुस्तदुरुस्त देख्छु । घरकै दुध, दही, मही, घ्यू, दाउराको आगोमा पाकेको खानाको स्वाद ! ओहो कुन शब्दले वर्णन होला ?

निष्कर्ष

विदेशमा जबर्जस्ती बाँचेको दुनियाँ देखेको छु । बाँचेरै मरे जस्तो लाग्ने जीवन देखेको छु । जता पनि पाइलै पिच्छे शर्त र सम्झौताहरू भेटेको छु । उदास, अन्यौल र असजिलो जीवन बाँचिरहेकाको छटपटी र पीडा नजिकबाट नियालेको छु । विज्ञान र जीवनको नमिली नहुने सिद्धान्त फेल खाएको देख्छु ।

गाउँ र शहर बीच मैले तुलनात्मक खण्डन गर्न खोजेको होइन । गाउँ र शहरको आफ्नै मूल्य र मान्यता छन् । यद्यपि एउटै उत्थान बिन्दूबाट आएर पनि मानिसहरू आफ्नो सभ्यता-केन्द्र नबिर्सियुन् भन्ने धेय्य हो । गाउँको आफ्नै विशालता छ, गाउँको आफ्नै पर्यावरण छ । शहरको आफ्नै विशिष्टता होला । भन्न खोजिएको यत्ति हो कि, गाउँको त्यो सभ्यता, जहाँबाट शहर पनि उत्थान हुन पुग्यो, लाई पनि सम्मान गरौँ । लघुताभासपूर्ण भावना र अनुभूति कसैले कसैको लागि नल्याउँ भन्ने हो । गाउँको त्यो आर्य जीवन सबैलाई अनुकरणीय बन्न सक्छ, सत्मार्गको पहिलो पाइला पनि । यो जिवन्त गाउँले सभ्यतालाई हृदयमा राखेर विश्वलाई मानवता, इमान्दारी, निस्वार्थता, आत्मियता, अनुशासन र शान्तिको पाठ सिकाउन सफल हुनेछ ।