वैदिक सनातन हिन्दू राष्ट्रका पक्षमा जुट्न आह्वान

0
339

– नेपाल पोलिटी डेष्क

‘मातृभूमिका लागि नेपाली’ राष्ट्रिय अभियानले सम्पूर्ण नेपालीलाई वैदिक सनातन हिन्दू राष्ट्रका पक्षमा एक जुट हुन आह्वान गरेको छ ।

नेपाललाई पुन: हिन्दू राष्ट्र बनाउन दबाव सिर्जना गर्ने उद्देश्यले, २०७६ कार्तिक २३ गते, शनिबार, बिहान ११ बजेदेखि विश्वव्यापी हस्ताक्षर अभियान आरम्भ गर्न लागेको जानकारी सो अभियानका प्रवक्ता डा. राजेश अहिराजले दिनुभएको छ ।

अभियानका अनुसार, राजधानी काठमाडौँ लगायत मुलुकभर सबै जिल्ला, नगर, तथा गाउँ स्तरमा समेत सो हस्ताक्षर अभियान सोही दिन र समयमा शुरू गरिने छ ।

विदेशमा रहेका नेपालीहरू पनि सोही समयमा हस्ताक्षर अभियानमा सहभागी हुने जानकारी डा. अहिराजले दिनु भयो ।

हिन्दू राष्ट्र किन ?

धर्म नरहे संस्कार रहँदैन ।

संस्कार नरहे संस्कृति रहँदैन ।

संस्कृति नरहे देश रहँदैन ।

अनि,

देश नरहे हामी नेपाली रहँदैनौँ ।

यही कुरालाई मनन् गरेर २०७६ कार्तिक २३ गते, शनिबार, बिहान ११ बजे,  बसन्तपुरमा ‘मातृभूमिका लागि नेपाली’ अभियानले वैदिक सनातन हिन्दू राष्ट्र नेपालका लागि संसारभर हस्ताक्षर अभियानको शुभारम्भ गर्दैछ ।

  • आराध्य देव श्री पशुपतिनाथ र भगवान वुद्धको जन्म भूमि नेपाल आध्यात्मिक उर्जाको केन्द्रका रूपमा अनादि काल देखि रहेको तथ्य इतिहासले पुष्टि गरेको छ ।
  • नेपालको मौलिक धर्म-संस्कृति, परम्परा र सभ्यता विरूद्ध विदेशी शक्तिहरू शदियौँ देखि सक्रिय रहंदै आएका छन् ।
  • छिमेकी मित्र राष्ट्रहरू भारत र चीन विरूद्ध यो पावन भूमिलाई दुरुपयोग गर्ने नियतले धर्म बिस्तारको आवरणमा अनेक राजनीतिक गतिविधि यहाँ सञ्चालन गरिँदै छ ।
  • ९४ प्रतिशत् ॐकार परिवार सम्बद्ध तथा करीब ८२ प्रतिशत् सनातनी वैदिक हिन्दूहरूको बसोबास रहेको वुद्ध जन्म भूमि यो मुलुक प्राकृतिक रूपमै धर्म सापेक्ष छ । नेपाललाई संविधानत: धर्म निरपेक्ष बनाइनु विदेशी षडयन्त्रको परिणाम हो ।
  • जनताको भावना विपरित लादिएको धर्म निरपेक्षतालाई स्वीकार गर्न सकिने कुनै आधार छैन । राजनीतिक नेतृत्व नेपाली जनताको भावना प्रति बक्रदृष्टि राख्छ भन्ने यो एक दृष्टान्त हो ।
  • परापूर्व काल देखि इस्लाम धर्म अनुशरण गर्दै आएका नेपाली मुसलमान समेत धर्म सापेक्ष हिन्दू राष्ट्र प्रति अपनत्व बोध गर्छन् । उनीहरूले सुरक्षाको अनुभूति पनि हिन्दू रष्ट्रमै गरिआएका छन् ।
  • विश्वमा ७३ घोषित् इसाइ र ५२ इस्लामिक मुलुक अस्तित्वमा छन् । बेलायतमा प्रोटेष्टेण्ट धर्म मान्ने मानिस मात्र प्रधानमन्त्री र राजा बन्न पाउने व्यवस्था छ । बाइबलमा हात राखेर शपथ लिने परम्परा विश्वको सबै (अघोषित समेत ११४) इसाइ मुलुकमा कायम छ ।
  • नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्रका रूपमा रहँदा विशिष्ट पहिचान कायम रहेको मात्र नभइ हिमाल, पहाड र तराइ जोड्ने बलियो सूत्र पनि हिन्दूत्व नै बनेको थियो ।

‘मातृभूभिका लागि नेपाली’ भन्छ :

  • नेपालमा, २०७३ सालमा करीब ७०० चर्चहरू रहेकोमा तेह्र वर्ष भित्र यो संख्या बढेर झण्डै १४,००० (चौध हजार) पुगिसकेको छ । अशिक्षित, गरीब, र कुनै न कुनै रूपले पछाडि परेका समुदायलाई लक्षित गरी इसाइहरू द्वारा धर्म परिवर्तन अभियानले, खास गरी दरिद्र मानसिकताका मानिसलाई प्रभावित पारेको छ । वार्षिक १०.६ प्रतिशतका दरले इसाइकरण भैराखेको तथ्याङ्कले देखाउँछन् । यही गतिमा इसाइकरण हुँदै जाने हो भने नेपालको मौलिक धर्म संस्कृति संकटमा पर्ने मात्र नभइ त्यसले सामाजिक एवम् धार्मिक द्वन्द्व निम्त्याउने गम्भीर खतरा छ । इसाइकरणको यो गतिलाई नियन्त्रण गर्न सकिएन भने कालान्तरमा यिनले ‘कि गाउँ छोड, कि धर्म छोड’ भन्ने दवावमूलक अवस्थ सिर्जना गर्न सक्ने खतरा छ ।
  • मुसलमान धर्मावलम्बीहरूको मक्का मदिना र इसाइहरूको भ्याटिकन सिटीलाई उनीहरूको आस्थाको केन्द्र भूभिका रूपमा लिइन्छ । नेपाल विश्वभरीका सनातनीहरूको केन्द्र भूभि रहेको र वैधानिक रूपमा समेत यसले सनातनी मुलुकका रूपमा आफ्नो परिचय स्थापित गरेकोमा राजनीतिक षडयन्त्रको चक्रब्युहमा यसलाई किन पारियो ? कसको, कुन स्वार्थका निम्ति नेपाललाई धर्म निरपेक्ष बनाइयो ? यसको जवाफ खोज्न अब बिलम्ब भैसकेको छ । हामी जवाफ खोज्न अगाडि आएका छौँ ।
  • हामी नेपाली राष्ट्रियताका मौलिक आधारहरूको रक्षा र संरक्षण गर्न चाहन्छौँ । किराँत, बौद्ध, बोन, शिख, जैन तथा परापूर्व काल देखि नेपालीहरूले मान्दै आएका इस्लाम लगायतका धर्म संस्कृति संरक्षण गर्ने वैदिक सनातन हिन्दू राष्ट्रको वैधानिक हैसियतमा नेपाललाई राख्न चाहन्छौँ । यसले नेपालको विश्व पहिचान बनाउने र राष्ट्रको आन्तरिक एकता मजबूत तुल्याउने विश्वास हामीले लिएका छौँ ।

त्यसैले, नेपाललाई यो धरामा अनन्त काल सम्म जीवित रहोस् भन्ने कामना गर्ने हरेक देश भक्त एवम् राष्ट्र प्रेमी दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई संसारव्यापी हस्ताक्षर अभियानमा सहभागी हुन विनम्रतापूर्वक आग्रह गर्दछौँ ।

देश प्रति जिम्मेवारीबोध गरी सम्पूर्ण नेपाली नागरिक सो अवसरमा उपस्थित भै हस्ताक्षर गर्न हार्दिक अनुरोध गर्दछौँ ।

मिति :- २३ कार्तिक, २०७६, शनिबार

समय :- ११ बजे

स्थान :- बसन्तपुर, काठमाडौँ

 

मातृभूमिका लागि नेपाली

केन्द्रीय कार्यालय,

काठमाडौँ

सम्पर्क :

भवानी शर्मा :९८५७६३००४६,

सनत् आचार्य : ९८५१०५२५२६

नरोत्तम श्रेष्ठ : ९८४१२८७२५३

इमेल : motherland@gmail.com