श्रीलंका : विद्रोही मास्दाको परिणाम

0
285

बबिता बस्नेत

बबिता बस्नेत
बबिता बस्नेत

सन् २००२ मा पहिलोपल्ट श्रीलंका आउँदा साँझ ६ बजेपछि सधैँ कर्फ्यु लागेको हुन्थ्यो । कर्फ्यु नलागे पनि ६ बजेपछि सडक सुनसान हुन्थ्यो । केटाहरूलाई मोटरसाइकल चढ्न बन्देजजस्तै थियो । २६ वर्षसम्म लगातारको युद्धपछि मुक्ति पाएको श्रीलंकामा अहिले धेरै कुरामा परिवर्तन आएको रहेछ । राति १० बजेसम्म बजार घुम्नु, किनमेल गर्नु, समुद्रवरिपरि आनन्दले बस्नु अहिले राजधानी कोलम्बो शहरवासी र पर्यटकका लागि सामान्य कुरा हो । पहिला र अहिलेको फरकको कुरा गर्दा धेरैको भनाइ उस्तै हुने गर्छ – ‘विकासका लागि शान्ति ठूलो कुरा रहेछ, हामीले शान्ति र विकास दुवै पाएका छौँ ।’

लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे) ले सन् १९८३ मा स्वतन्त्र तमिल राज्यको माग राख्दै गरेको आन्दोलनमा विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी करिब एक लाख मानिस मारिएका थिए । सन् २००९ मा विद्रोहीका नेता भेलुपिल्लाई प्रभाकरण तथा उनका प्रमुख सहयोगीहरूलाई मारेपछि श्रीलंकामा युद्ध अन्त्य भएको घोषणा गरिएको थियो । विद्रोही नेताहरूको हत्यालाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट विरोध भए पनि यसलाई राज्यले गरेको आतङ्कवादको राजनीतिक समाधान भन्दै सो घटनाबारे कुनै पनि अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घ तथा बाह्य पक्षलाई प्रवेश गर्न दिइएको छैन ।

शान्ति स्थापनाका लागि राष्ट्रपति महेन्द्रा राजापक्षेले चालेको यो कदमलाई ठीक भनेर समर्थन गर्नेहरू मुलुकमा करिब ६० प्रतिशत छन् भनिन्छ । घटनाको पाँच वर्ष बितिसक्दा अहिले पनि मानव अधिकारवादी तथा विदेशी पत्रकारहरूका लागि श्रीलंका प्रवेश त्यति सहज छैन । विशेष गरी पश्चिमा पत्रकारहरूको भिसाका लागि राष्ट्रपति आफैँले निर्णय गर्छन् भनिन्छ । मुलुक द्वन्द्वमा रहेको बेला मुलुकको विकास बजेट सबै हातहतियार तथा युद्ध सामग्री खरिद तथा युद्ध–व्यवस्थापनमा सकिने गरेको थियो । अहिले श्रीलंका वरिपरि बग्दै गरेको समुद्रजस्तै शान्त छ । विद्रोही हत्याका कतिपय विरोधीहरूले भने यसलाई शान्ति नभएर मूर्दाशान्ति छाएको प्रतिक्रिया दिने गरेका छन् । तर, यस्ता प्रतिक्रिया पनि औपचारिक रूपमा भने दिइँदैन ।

नेपालमा जन्मिएका बुद्धको सम्मान विश्वमै छ । श्रीलंकामा बुद्धप्रतिको सम्मान र बुद्धका थरीथरीका प्रतिमा देख्दा मनै ढक्क फुलेर आउँछ । हजारौँ थरीका बुद्धका प्रतिमा श्रीलंकामा छन् । बुद्धधर्मलाई उनीहरू यति मान्छन् कि बुद्ध जन्मिएको तिथि हरेक महिनाको पूर्णिमाको दिन श्रीलंकामा अफिसियल छुट्टी नै दिइन्छ । पूर्णिमाका दिन कोलम्बो शहर तथा अन्य स्थानमा माछा, मासु र रक्सी बेच्न पाइँदैन । मानिसहरू पनि धूर्त खालका छैनन् । आफ्नै तालमा काम गर्ने उनीहरू सकेसम्म धेरै बोल्न पनि चाहँदैनन् । कोलम्बो सहरको सडक र घरहरू हेर्दा आफूलाई दक्षिण एसियामा छु जस्तो पनि लाग्दैन ।

मानिसहरू भन्छन्—‘श्रीलंकाको अभिशाप विद्रोही थिए, विद्रोहीलाई मासेपछि धेरै कुरा ठीक भएको छ ।’ यति हुँदा हुँदै पनि धनी र गरिबको खाडल भने मुलुकमा ठूलो छ । शहरलाई शहरजस्तो बनाउन सुकुम्बासीहरूलाई गाउँमा स्थापित गरिएको छ । राजापक्षे सरकारले भ्रष्टाचारको अन्त्य गर्न नसकेको, महँगी बढेको र नातावादलाई महत्व दिएको आरोप राष्ट्रपतिमाथि छ । युद्ध अन्त्य भएपछि तमिललाई आरक्षणको व्यवस्था गरिएको छ । आरक्षण बढाइनुपर्ने माग पनि उनीहरूको छ ।

श्रीलंकामा सिंघाली र तमिलको बसोबास छ । यी दुवै भाषा एक–अर्काले बुझ्दैनन् । यद्यपि सिंघाली, तमिल र अङ्ग्रेजी तीनवटै भाषा अफिसियल भाषा हुन् । एक–अर्काको भाषा नबुझ्ने भएकाले सिंघाली र तमिल एक–अर्कामा अङ्ग्रेजी बोल्छन् । कुनै बेला मुलुक अधीनस्थ हुनुको फाइदा भाषा, शिक्षा, विकास र सभ्यता अन्य कतिपय मुलुकमा जस्तै श्रीलंकनहरूले पनि उपभोग गरिरहेका छन् ।

साभार : घटना र बिचार साप्ताहिक

SHARE
Previous articleChina’s Nepal game
Next articleState and utopia
A forum for the analysis of Nepal's domestic affairs, Policy Research, Himalayan Asia affairs and International Relations with special focus on South Asia and China.