संघीयता : फ्रान्सेली क्रान्तिको पूर्णाहुती सम्झ

0
322

स्वयम्भुनाथ कार्की

अहिले संघीयता माग्ने दवाव समूह र शीर्ष नेताहरु दिन रात संघीयता दिने कसरतमा लागेका स्वघोषित मेठ दलहरुको कुरामा नै भिमकाय अन्तर छ । ‘म गर्छु आग्राको कुरा, सम्धी गर्छन् गाग्राको कुरा’ भने जस्तै माग र त्यसलाई संबोधन गर्न छलफल भैरहेको खाकामा फरक छ ।

संघीयता माग्ने हरेक दबाव समूहले नेपाल एकीकरण भन्दा पहिलेको भूभाग, त्यसको नाम सहितको राज्य मागेका छन । जसलाई उनीहरु ‘पहिचान’ भन्दैछन भने ‘दिने’ हरुको प्रस्ताव चाँहि हाल कायम भइरहेको प्रशासनिक इकाईको सीमा तथा नाम फेरवदल गरेर दिने कुरामा आधारित छ । विषयबाट ध्यान हटाउन जातीय, जातजातिको कुरा सबै तर्फबाट उग्ररुपले उठाइएको छ । जो नेपालीको सौहार्दताको निमित्त बीष भइरहेको छ ।

एकीकरण भन्दा पहिले पनि ती राज्यहरुमा सबै किसिमको बिविधता कायम थियो । तत्कालीन प्रचलन, परम्परा आदिले कोही तल माथि भएको भए पनि त्यस भूभागमा बस्ने बिविध जात जाति, परम्परा संस्कृति बीच समन्वय थियो ।

प्रमाणको निमित्त दुई तीन शताब्दीलाई पिंढीमा परिवर्तन गर्ने हो भने आठदेखि बाह्र पिंढी जति पर्छ । यस्तोमा आफ्ना कति पिंढी माथिका पुस्ताको बसोवास त्यहाँ थियो भन्ने नै खुट्याउन नसकेर परम्परादेखि नै भएको भन्नु पर्ने स्थिति छ । यस्ता परिवारमा सबै किसिमका जातजाति पर्छन । त्यसैले अहिलेको ‘पहिचान’ को माग मेरो जात वा थर भनिएको पटक्कै होइन । यो पहिचान भनेको नेपाल एकीकरण भन्दा पहिलेको त्यहाँको पहिचान हो । यो कुरा सर्वसाधारणले बुझ्न कठिन हुन्छ भन्ने मान्दा पनि मुलुक हाँक्ने क्षमता भएका, अझ विश्वलाई नै एक नयाँ सोच दियौं भन्ने दावी गर्न सक्नेहरुले नबुझेका पक्कै होइन ।

हुन सक्छ जो नेतृत्वले पहिले यो कुरा निकाल्यो त्यसले संघीयताको कुरा केवल शासकीय, प्रशासनिक, भौगोलिक क्षेत्र कायम गरेर ससाना भूभाग बनाउँदा आफ्नो बर्चस्व धेरै स्थानमा कायम रहन्छ भनेर सोचेको होस । यदि यस्तो सोचिएको भए उनीहरुले बुझ्नुपर्ने कुरा के हो भने अव यो बिषय उनीहरुको हातबाट फुस्किसक्यो ।

यसै पनि यो विषय अव केवल नेपालको आन्तरिक विषय मात्र रहेन । नेपालको नजीर लिएर विश्वका अनेकौँ मुलुकहरुमा आफ्नो एकीकरण भन्दा पहिलेको ‘पहिचान’ खोज्ने युग शुरु हुनेछ अब । शुरु हुन्छ भन्नु भन्दा झलक देखिइसक्यो भन्दा अझ उपयुक्त हुन्छ ।

विश्वका धेरै स्थानमा यसका निमित्त आन्दोलन भैरहेका छन, हुँदैछन । कँहिकहिँ त्यसै आधारमा प्रान्त मात्र छेट्टिने हैन मुलुक पनि छुट्टिने काम भैसकेको छ । त्यसैले यो केवल तीन दलका शीर्ष भनिने केही नेताहरुले रिसोर्टमा कित्ताकाट गरेर गरेको सिमाङ्कनले समाधान हुने बिषय हैन । यसमा बृहद विचार मन्थन आवश्यक छ ।

अझै भ्रममा नै परिवर्तनका मसिहाहरु रहने हो भने फ्रान्सेली राज्यक्रान्तिको पूर्णाहुती सम्झे हुन्छ जहाँ जुन ‘गिलोटिनमा’ उनीहरुले अभिजात्य वर्गलाई चढाएका थिए त्यसैमा आफ्नो पनि जीवन अहुति दिन परेको थियो ।