सुध्रेलान् पारस ?

0
162

आम सञ्चारमा आएको सत्य हो भने

पारसको मासिक खर्च १० लाख रुपिञाँ भन्दा बढी छ ।

त्यत्रो पैसा पारसका पिता ज्ञानेन्द्रले नदिका भए कसले व्यहोरेको छ ?

दीपक गजुरेल

दीपक गजुरेल
दीपक गजुरेल

युवराज पारस थाइल्याण्डमा गिरफ्तार भएको समाचारलार्इ एकथरीले खुच्चिङ गर्ने अवसरका रुपमा लिएका छन् । ओरालो लागेको मृगलार्इ बाच्छाले खेद्‍छ भने झैँ राजसंस्थाप्रति बीष वमन गरिँदैछ ।

पारसलार्इ ‘राक्षसीकरण’ गरेर उनलार्इ संसारकै सबैभन्दा दूष्ट, नालायक अनि धुन्धकारी व्यक्तिका रुपमा प्रस्तुत गरिँदैछ, आमसञ्चारका माध्यम र ‘सोसल मिडिया’ मा ।

विदेश गएर घरेलु नोकरका रुपमा काम गर्नेले मालिककै बच्चाको घाँटी रेटेर हत्या गर्ने अपराधी नेपालीकालागि ‘ब्लड मनी’ जुटाउन आकाश–पाताल एक गर्नेहरु यतिबेला युवराजबाट सामान्य नागरिक बनाइएका पारसका बिरुद्ध खनिनु स्वभाविक मान्न सकिन्न ।

पारसको ‘राक्षसीकरण’

‘मूलधार’ का सञ्चार माध्यम र ‘सोसल मिडिया’ मा आएका पारस सम्बन्धी ‘टिप्पणी’ का प्रस्तुति लगभग समान हुनुले यो सब प्रायोजित त होइन भन्ने प्रश्न उठेको छ ।

‘दूर्भाग्य ले पारसलार्इ नेपालमा बस्न समेत नसक्ने बनायो’ भन्नेहरुले खेदो खनेकै कारण युवराज पारस पलायन हुनुपरेको पट्‍टी ‘सहानुभूति’ राख्नेहरुले समेत ध्यान दिएको पाइन्न । नेपाल राष्ट्रप्रति घात गर्नेहरुको भीड रहेको र राष्ट्र, समाज, संस्कृति, इतिहास, धर्म लगायत सबै पक्षलार्इ क्षतविक्षत पार्ने राजनीतिक ‘वाद’ को खोल ओढ्‍नेहरुको कूकृत्यलार्इ ढाकछोप गर्ने असफल प्रयाशमा पारसको प्रयोग गरिएको प्रष्ट हुँदै गएको छ ।

बैङ्ककबाट प्रकाशित हुने अखबार र काठमाडौँमा छापिने पत्रिकामा आएका ‘समाचार’ को प्रस्तुति शब्दश: मेल खानु, वाक्य–वाक्य ‘कपी–पेष्ट’ देखिनुले पत्रकारिताको कुन सिद्धान्त बोल्छ ? अनि समाचार प्रस्तुतिको यो ‘अनौठो संयोग’ ले कुन ‘सत्य’ देखाउँछ ?Paras

पिता ज्ञानेन्द्रको भूमिका

पारसलार्इ सार्वजनिक रुपमा राक्षसीकरण गर्दै राजा तथा राजपरिवारलार्इ ‘डिफेम’ गरिँदा, अनि ‘बेबी किङ्ग’ को नाटक मञ्चन गरी वितण्डा मच्चाइँदा समेत राजा ज्ञानेन्द्र विचलित भएनन् / भएका छैनन् । षडयन्त्रको जालका हरेक प्रतिकूल अवस्थामा समेत छोराप्रतिको दायित्व निर्वाह गरे । उनलार्इ युवराज घोषणा गरिँदाको समय र परिस्थिति कम सकसपूर्ण थिएन, देशी–विदेशी षडयन्त्रकाबीच ।

युवराज पारसलार्इ उनको परिवारले उचित शिक्षा, संस्कार र संगत दिएन, त्यसैले उनी गलत बाटोमा लागे भन्ने आरोप लगाउनेहरु नेपाली राजसंस्थाको शालीनता, धैर्य अनि नेपाल राष्ट्रप्रतिको माया सम्झन आवश्यक ठान्दैनन् ।

पारसका पिता–माता र राजपरिवारका अन्य सदस्यहरुले उनको शिक्षा–दीक्षा, शालीन संस्कार, उपयुक्त तालिम अनि उचित सङ्गत दिएको हो भन्ने कुरामा शङ्का गर्नु त्यो परिवारप्रति अन्याय हुन्छ ।

आफ्ना सन्तानप्रतिको माया–ममता तथा जिम्मेवारीको भावना राजा ज्ञानेन्द्रमा अलिकता पनि कम देखिन्न । छोराले विदेशमा अनेक हण्डर खाएका बेला, खास गरी गम्भीर बिरामी पर्दा, छोराप्रति पिता राजा ज्ञानेन्द्रले निर्वाह गरेको जिम्मेवारी, उपचार र अन्य व्यवस्थामा प्रदर्शन गरेको तत्परतालार्इ कम आँक्न मिल्दैन ।

अवैधानिक ढङ्गले राजतन्त्र अन्त्य गरी ‘गणतन्त्र’ घोषणा गरिए पछिका दिन निश्चित रुपमा राजपरिवारकालागि सकसपूर्ण रहे । तर राजपरिवारले आफ्ना सन्तानप्रतिको जिम्मेवारीमा कमी आउन दिएन । लामो समयदेखि सिङ्गापुर र थाइल्याण्डमा बस्दैआएका पारसले ती महङ्गा शहरको खर्च कसरी जुटाए ? उनको आम्दानीको कुनै स्रोत देखिन्न । आम सञ्चारमा आएको सत्य हो भने पारसको मासिक खर्च १० लाख रुपिञाँ भन्दा बढी छ । त्यत्रो पैसा पारसका पिता ज्ञानेन्द्रले नदिका भए कसले व्यहोरेको छ ?

अनुशासन मा बस्दैनौ, मनपरी गर्छौ र परिवारको
माया–ममतामाथि कुठाराघात् गर्छौ भने खर्च
पाउँदैनौ भन्न सक्नुपथ्र्यो राजाले ।

बदमासी गर्न समेत बाउले खर्च दिएका कारण
पनि पुल्पुलिएर पारसले मनपरी गरेका हुन् ।

लागू पदार्थ र अनेक थोक खाएर बिरामी पर्दा उपचार खर्चमा दशौँ लाख रुपिञाँ कसले व्यहोर्‍यो ? केही समय अघि ‘झणडै सिद्यिएको’ स्तरमा बिरामी पर्दा पिता ज्ञानेन्द्र आफैँ गएर उपचारको सम्पूर्ण व्यवस्था मिलाएका हुन् । उपचार पछि पुनस्थापना केन्द्रमा पारसलार्इ राखियो । सो पुनस्थापना केन्द्रमा तीन महिना बसेर उपचार गराउने सबै प्रबन्ध मिलाएर बाबु स्वदेश फर्के । तर छोराले उपचार समेत पूरा नगरार्इ ३ महिनाको उपचार बीचैमा छोडेर एक महिनामै पुनस्थापना केन्द्रबाट हिँडेका हुन् ।

उपयुक्त उपचार समेत नगराउने, बाहिर निस्केर फेरि चाहिँदो–नचाहिँदो खाँदै हिँड्‍ने गर्दा समेत पारसको ‘विदेश बसाइ’ को खर्च पिता ज्ञान्‍न्द्रले नै व्यहोरेका हुन् । पिताले खर्च व्यहोरेका होइनन्‍ भने कहाँबाट बाँचे पारस त्यो बिलाशी जीवन, ती महङ्गा शहरमा ?

हो, यहाँनेर राजा ज्ञानेन्द्रले असल पिताका रुपमा गर्नु पर्ने सही निर्णय गरेनन्, शायद सन्तानको मायाले । कुभक्ष खाएर हिँड्‍ने, आमा–बाउ, श्रीमती, छोरा–छोरी कसैलार्इ पनि वास्ता नगर्ने, विदेशीसँग रल्लिएर बाउको सम्पत्ति उडाउने र शालीन पिताको प्रतिष्ठामा रच्छान खन्याउने पुत्रलार्इ यसरी बेरोकटोक खर्च दिनु हुँदैनथ्यो ।

अनुशासन मा बस्दैनौ, मनपरी गर्छौ र परिवारको माया–ममतामाथि कुठाराघात् गर्छौ भने खर्च पाउँदैनौ भन्न सक्नुपथ्र्यो राजाले । बदमासी गर्न समेत बाउले खर्च दिएका कारण पनि पुल्पुलिएर पारसले मनपरी गरेका हुन् ।

खर्च धानेका मात्र होइन, स्वदेश फर्केर आऊ, परिवारसँग शालीन र प्रतिष्ठाको जीवन बाँच भनेर कैयौँ पटक पारसलार्इ परिवारले अनुनय–विनय गरेकै हो । यसकालागि पारसका माता–पिता, श्रीमती, छोरा–छोरी, बहिनीहरु समेत पटक–पटक उनलार्इ भेट्‍न गएका हुन् र यो कुरा सार्वजनिक जानकारीमा आएकै हो ।

अहिले थाइल्याण्डमा पक्राउ परे पछि पनि पारसलार्इ भेट्‍न उनका काकाकी छोरीहरु पुगेका छन् । अब पनि सुध्रेर परिवारसँग स्वदेशमै बस भन्ने आग्रह बहिनीहरु मार्फत उनका बाबुले नै पठाएका हुन् भन्ने कुरामा शंदेह छैन । पारसका पिताको स्वीकृति र निर्देशनबिना शीताष्माहरु थाइल्याण्ड गएका हुन् भन्ने मान्न सकिन्न ।

‘बल’ पारसको कोर्टमा

बाउलार्इ ह्रदयाघात हुँदा समेत उनलार्इ हेर्न पनि आएनन् राजा ज्ञानेन्द्रका एक्लो छोरा पारस । यति भैसक्दा पनि छोरो सुध्रिएर आओस्, माता–पिता, श्रीमती, छोरा–छोरी र समग्र परिवार अनि राष्ट्रप्रति आफ्नो जिम्मेवारी निर्वाह गरोस् भन्ने चाहनाले प्रेरित भएरै होला, पिता ज्ञानेन्द्रले अनेक ‘उपाय’ जारी राखेका ।

यसबेला बहिनीहरु मार्फत पारसलार्इ सुधार्ने प्रयास ज्ञानेन्द्रले फेरि गरेको देखिन्छ । अब ‘बल’ पारसको कोर्टमा छ । चिकित्सकको सल्लाह बमोजिम कति महिना वा वर्ष औषधि खानु पर्ने हो कि पुनस्थापना केन्द्रमा बस्नु पर्ने हो, त्यो पारसले गर्नै पर्छ, उनको आफ्नै कल्याणका लागि पनि ।

एक्लो छोरोका बाबु–आमा, स्वास्नी, छोरा–छोरीप्रति उनले अलिकता भए पनि दायित्व निर्वाह गर्नै पर्छ । र अब सुध्रेर मात्र पुग्दैन, पारसले आफू सुध्रेको कुरामा आफ्नो परिवारलार्इ मात्र होइन, आम नेपाली जनतालार्इ समेत आश्वस्त पार्नै पर्छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित