देश बचाउन ‘प्रतिगामी’ नै चाहिने भयो

0
29

स्वयम्भुनाथ कार्की

आफुखुशी कसैको रोकटोक बेगर हालीमुहाली चलाउन नपाएको रन्कोमा विदेशीहरुको मन, धन र निर्देशनमा कठपुतली झैँ नाच्नेहरुलाई पनि यदाकदा देश दुख्दो रहेछ । यो खुशी कै कुरा हो, विदेशी राजदूतको अध्यक्षतामा मुलुक तथा दल चलाउने बैठक गर्ने, सानो समस्या पर्‍यो कि विदेशी प्रभुहरुको शरणमा जानेहरुले आज नेपालमा विदेशी पैसाको चलखेलले मुलुक विखण्डन तर्फ लाग्न लागेको देखेजस्तो गरेको पनि निकै भयो । यो नेपाललाई माया गर्ने तर उनीहरुद्वारा प्रतिगामी नाम दिइएका नेपालीहरुको निमित्त राम्रो खबर थियो । यदि यो कुरा तिनका मनले देखेको भए प्रतिगामीहरुको (?) नेपाल बचाउने अभियानमा साथ हुनेथियो । तर यिनका विगत हेर्दा भर पर्न सकिन्न थियो र भर पनि भएन नै ।

विदेशी सरकारी तथा गैर सरकारी संस्थाद्वारा पोषित केही नागरिक समाजका अगुवा भएर सत्ता र शक्तिका भोका नेताहरुको अगाडि जनतालाई पस्किन उद्धत भएका थिए । उनीहरुको त्यही प्रयत्नको फल हो नेपालको आजको अवस्था । त्यतिखेर ए यसो नगरौँ न मुलुकको हित हुदैन भन्दा त्यसो भन्नेलाई प्रतिगामी भनेर सकेसम्म लतार्ने नागरिक समाजका अगुवाहरु आज लुकेर बसेका छन ।

दीक्षित, पाहाडी, पाण्डेको त्यो सुपरहिट तिकडी आफैँ दोष अर्काको थाप्लोमा हालेर आफू पानी माथिको ओभानो बन्ने प्रयत्न गर्दागर्दै बिलाए सरह भएकाछन । सात सालदेखी जुन सत्ता भए पनि हमेशा तर मारेका राजनीतिकर्मीहरुको पार्टी भनिने जमातले कुनै स्वदेशी शक्ति केन्द्रको अंकुश नभएको निष्कण्टक सत्ता भोग गरेको पनि दशक छुनै थाल्यो ।

आफुलाई अग्रगामी भन्नेहरु विदेशी शक्ति तथा पैसाको तालमा नाच्दा केही समयसम्म त उनीहरुलाई रमाइलै अनुभव भयो होला । आफ्नो अनुकुल लागुन्जेल त्यो विदेशी मित्रहरुको सदायशता कायम रह्यो । विदेशीहरुको यस्तो आन्तरिक पहुँचलाई हस्तक्षेप भन्नेहरुलाई प्रतिगामी, यथास्थितिवादी, प्रगति विरोधी जस्ता अनेकौँ बिल्ला भिराइयो ।

तर, जव बिस्तारै यसको मात्रा बढदै गयो, आफूलाई पनि पोल्ने गरेर विदेशी चासो बढदै गयो अनि मुलुक गृहयुद्धको संघारमा आयो, बल्ल केही कनिष्ट नेता, तल्ला तहका नागरिक अगुवा, छेउछाउका अधिकारकर्मीले हिजो आफैँले प्रतिगामी भनेर हुक्कापानी बारेकाहरुले बेलैमा औँल्याएको खतरा अनुभव गरे । यो खतरा अझै शीर्षस्थ भनिएकाहरुले दखेका छैनन, जीवन पर्यन्त देख्ने पनि छैनन । उनीहरु अझै त्यही विदेशी निर्देशनमा हुट्टिट्याउँले सगर थाम्न गरेको झैँ प्रयत्ल गदैछन । उनीहरुको यो दम्भ नेपालमा गृहयुद्ध नचम्केसम्म टुटनेवाला छैन । मुलुकमा एक अर्काको विपरित अडान राखेर सडकमा जनता आइसकेका छन । यो अब उनीहरुले आपसमा जस्तो किसिमको सहमति गरेपनि नमान्ने र त्यसको सशक्त बिरोध गर्ने संकेत हो ।

अग्रगमनकारीहरुको शासन व्यवस्थामा नेपालको सरकार ढाल्ने, बनाउने काम विदेशी राजदूतको निर्देशनमा भएको देखियो । नेपाल एकीकरण भन्दा पहिलेको अबस्थामा जाने छेकछन्द देखियो । पृथ्वीनारायण शाहको ताम्रपत्र देखाएर अब यसको औचित्य सकियो लिम्बुवान छोड भन्ने आवाज तीखो गरेर उठ्न थाल्यो । यसलाई अग्रगमन भन्ने हो भने नेपाल स्वतन्त्र राष्ट्र राख्न प्रतिगामी नै चाहिने रहेछ ।

नागरिक समाजका अगुवा भनाउँदाहरु अँध्यारो कुना खोज्दै लुक्दैछन । केही समय पछि आज नेपालको हाली मुहाली चलाउने ठूला भनिएका दलका मालिक नेताहरु पनि त्यसै गरेर अँध्यारो कुना खोज्नेछन । तिनीहरुले मुलुकप्रति गरेका अपराधको भागी त्यो दलका अन्य सबै हुन सक्दैन ।

नेपाली रगतले मुलुक वा दल रोज्नु पर्दा पक्कै मुलुक नै रोज्नेछन । अव नेताले जे भन्यो, जता भन्यो त्यसैमा भेडा जस्तो लुरुलुरु पछि लाग्न नेपाली रगतको पुकारले दिने छैन । हरेक जसो दलभित्र नेतृत्वको तानाशाही विरुद्ध विद्रोहको शंखघोष सुनिन थालिसकेको छ ।

त्यसै पनि शब्दार्थ खोज्ने हो भने अग्रगमन भनेको अगाडि बढनु र प्रतिगमन भनेको पछाडि हिंड्नु हो । आफूलाई अग्रगामी भन्नेहरुले मुलुकको अस्तित्वमा नै प्रश्नचिन्ह लाग्ने अबस्थामा पुर्‍याए । नेपाललाई एकीकरण भन्दा पहिलेको अवस्थामा लैजाने र त्यहाँबाट फेरि शुरु गर्ने पृथ्वीनारायण शाहद्वारा निष्काशित तत्वले कोरेको मार्गचित्रमा मुलुक लैजाने अभियान शुरु गरे ।

त्यसै अभियान अन्तर्गत नेपाल स्वतन्त्र, आत्मगौरवले भरिएको रहोस सवै नेपाली एकसमान रहुन भन्नेहरुलाई उनीहरुद्वारा प्रतिगामी भनिएको छ । मुलुकको समग्र हित चिन्तन गर्नेहरु प्रतिगामी तथा मुलुकलाई विदेशीको दास बनाउन खोज्ने र त्यसको निमित्त कहिल्यै पराधिन नभएको नेपाललाई अघोषित उपनिवेश भन्नेहरु अग्रगामी भन्ने नै परिभाषा हो भने नेपालीले आफू प्रतिगामी भएकोमा नै गर्व गर्नु पर्दछ ।