संकटमोचनको एउटै मन्त्र राष्ट्रवाद

0
36

राष्ट्रवादीलाई स्वभिमानले आफै वरण गर्दछ, अनि स्वभिमानीलाई आत्मबलले कसै गरेर पनि छोडन सक्दैन।

भविष्यमा अग्रगमन हुन्छ भन्ने नाममा उन्नति वा प्रगति हुन्छ भन्ने बिरवलको खिचडी देखाएर भड्खालोमा जाकिएको मुलुक सन्ततिलाई छोडने अधिकार यो पुस्तालाई पट्क्कै छैन।

स्वयम्भुनाथ कार्की

SN Karkiघाम झै छर्लङ्ग छ, सबैले बुझेकै कुरा हो जस्ता वाक्यांशको प्रयोगबाट नेपालमा विगतमा अन्याय तथ अत्याचार छ भनेर जनता दिग्भ्रमित गराउने बुध्दिजीबीहरू हुन वा नागरिक समाजको ठेक्का लिएर आफूले मात्र नागरिक तथा नागरिक समाजका अगुवाको पगरी गुँथ्ने सभ्रान्तहरु हुन्। चाहे मिसन पत्रकारिता गरेर आफ्नो मिसन विपरितका आवाजलाई दवाउन न्वारनदेखिको बल झिकेर काम गर्ने पत्रकारहरु हुन।

उनीहरुले सबैको सामुन्ने स्वीकार गर्न नसके पनि र दोष अरूको थाप्लोमा हालेर म बबुराले के गर्न सक्छु र भनेर लाचरी प्रकट गरे पनि आजको सर्वमान्य तथ्य हो नेपालीले नेपाललाई भड्खालोमा जाक्यो। अव फेरि तुरन्त भड्खालोबाट निक्लेला कि अर्को एक यूग पर्खनु पर्ला? यस कुरामा चिन्तन मनन गर्नुको कुनै अर्थ छैन।

आत्मबल भएका, स्वभिमानी र राष्ट्रवादीहरुको सानै पनि जमात जुर्मुरायो भने मुलुक जस्तोसुकै कठिन परिस्थितिबाट पनि निक्लेर प्रगतिपथमा बढ्न कुनै बेर नै लाग्दैन। यत्तिमात्र नभएर असफल राष्ट्र भयो भन्नेहरुलाई लोप्पा खुवाउँदै विश्व मै उल्लेख्यनीय राष्ट्र बन्ने संभावना पनि छ। त्यसको निमित्त प्रमुख आवश्यकता भनेको आजको अवस्थामा मुलुक पुग्नुमा आफ्नो अंशमा परेको जिम्मेवारी इमानदारीपूर्वक लिनु र फेरि त्यसकिसिमको आलोकाँचो काम नगर्नु नै हो। यसको निमित्त नेताहरुले भाषणमा आत्मालोचना गरेको झैँ गर्नु पनि पर्दैन। एकान्तमा आफैले मात्र मनन गरे पुग्छ, पछुतोको आगोमा मनमनै जले पुग्छ। अनेकौं पटक सार्वजनिक रूपले गल्ति स्वीकार गर्ने अनि तुरन्तै फेरि सोही गल्ति गर्ने नकच्चरो काम नत्यागेसम्म मुलुक भड्खालोमा जाकिनबाट रोकिनेछैन।

परमाणु बमले पनि ध्वस्त गर्न नसकेको कुरा जापानको राष्ट्रवाद नै थियो। यसैको आधारभूमिबाट आज जापानको कुनै रेष्टुरेण्टमा अण्डा छोडाउने काम पाउँदा नेपाल जस्ता मुलुकका उपसचिवहरु आफूलाई भाग्यमानी संझिन्छन।

मुलुकको एकमात्र सर्वशक्तिमान औजार भनेको राष्ट्रवाद हो। राष्ट्रवादीलाई स्वभिमानले आफै वरण गर्दछ, अनि स्वभिमानीलाई आत्मबलले कसै गरेर पनि छोडन सक्दैन। यही नै एक मात्र मूलमन्त्र हो दूई–दूई वटा परमाणुबमको मारले खरानी भएको जापानको सम्पन्नताको। परमाणु बमले पनि ध्वस्त गर्न नसकेको कुरा जापानको राष्ट्रवाद नै थियो। यसैको आधारभूमिबाट आज जापानको कुनै रेष्टुरेण्टमा अण्डा छोडाउने काम पाउँदा नेपाल जस्ता मुलुकका उपसचिवहरु आफूलाई भाग्यमानी संझिन्छन।

मानवबाट गल्ति हुनु अस्वभाविक पटक्कै होइन। सबैको सामुन्ने गल्ति स्वीकार गर्न र त्यसलाई नदोहर्‍याउन ठूलो बहादूरीको आवश्यकता पर्दछ। स्वाङ्ग पारेर गल्ति स्वीकार गर्न र त्यस स्वीकारोक्तिलाई भुल्न भने बहादूरी हैन नकच्चरोपनको आवश्यकता हुन्छ। यो दुबै कुरा सबैमा नहुन सक्छ। आत्माले गल्ति स्वीकार गर्दा भने त्यसले फेरि गल्ति गर्ने आँट सितिमिति गर्न सक्दैन चाहे त्यो बहादुर होस वा नकच्चरो। गल्ति गर्दै जानु, त्यसलाई मनन् पनि गर्नु र फेरि त्यसैको पुनरावृत्ति गर्नैलाई भने मानव हैन दानव भन्नुपर्ने हुन्छ। आफ्नो गल्ति मनन् गरेर त्यसबाट भएको हानी न्यून गर्ने काम गर्नु भनेकोनै प्रायश्चित हो।

हाम्रा पुर्खाहरुले हामीलाई अखण्ड नेपाल सुम्पेर गएका थिए। आजका मुलुक संचालकहरु विदेशी प्रभुको इसारामा चले वा नचलेका जे भए पनि हाम्रा पुर्खाहरुले स्वतन्त्र र स्वभिमान विरासतमा दिएका थिए। भविष्यमा अग्रगमन हुन्छ भन्ने नाममा उन्नति वा प्रगति हुन्छ भन्ने बिरवलको खिचडी देखाएर भड्खालोमा जाकिएको मुलुक सन्ततिलाई छोडने अधिकार यो पुस्तालाई पट्क्कै छैन। पुर्खाले छोडे भन्दा राम्रो बनाउन नसकेमा केही छैन तर नराम्रो पर्ने त अधिकारै पुग्दैन।

एकान्तमा बसेका बेला पनि भड्खालोमा देश जाकिनुमा हिजो आफूले गरेको काम जिम्मेवार थियो भनेर पोल्दैन भने त्यो के बुध्दिजीबी? माछा देख्दा दूला हात सर्प देख्दा पाखा हात गर्ने के नागरिक समाजका अगुवा? हिजो आफूले सोचेको मात्र राम्रो हो भनेर आज मुलुक यो अवस्थामा ल्याइपुर्‍याएको हेक्का रहँदैन भने त्यो के पत्रकार?

मै खांउ मै लांउ भन्ने शैलीमा एकपटक जसरी भए पनि जनताको मत पोल्टामा पारेर चीरकालसम्म त्यसैको आडमा जनताको थाप्लोमा गीर खेल्ने नेताहरुलाइ त दिने संज्ञा नै छैन।

माछा देख्दा दूला हात सर्प देख्दा पाखा हात गर्ने के नागरिक समाजका अगुवा? हिजो आफूले सोचेको मात्र राम्रो हो भनेर आज मुलुक यो अवस्थामा ल्याइपुर्याएको हेक्का रहँदैन भने त्यो के पत्रकार?

सनातन शास्त्रले भन्दछ, राष्ट्र हुन स्वामी चहिन्छ, जो शासक हो। त्यस्तै गरेर अमात्य चाहिन्छ जसको मन्त्रणाले शासकले सही काम गर्न सकोस। जनपद वा जनता अर्को आवश्यक तत्व हो राष्ट्र हुन, विना जनता राष्ट्रको कल्पनासम्म हुन सक्दैन। दुर्ग, जसको अर्थ सुरक्षा लाग्छ, नभएमा राष्ट्र कायम हुन सक्दैन। कोष नै नभएमा हमेशा अनुदानमा बाँच्नुपर्ने हुन्छ त्यो राष्ट्र स्वतन्त्र राष्ट्र नै हुन सक्दैन। दण्ड अर्को अपरिहार्य तत्व हो राष्ट्रको निमित्त। यदि दण्ड नै छैन मत्स्य न्याय प्रवल हुन्छ, आज आफू भन्दा सानो माछालाई खाने माछालाई भोलि त्यो भन्दा ठूलोले खाई दिन्छ। यस्तै सनातन शास्त्रले मित्र बिनाको राष्ट्रको पनि कल्पना गर्दैन। यी सात तत्व नभएको राष्ट्र राष्ट्र नै होइन भन्ने मान्यता सनातन हिन्दु धर्मको हो।

अझ सनातन हिन्दु धर्मले त जनता बिष्णु हो अनि जनताको पालन गर्ने राजा बिष्णुको अवतार हो भन्दछ। यदि जनतलाई कष्ट दिन्छ भने त्यो राजा बिष्णुको नभएर राक्षसको अवतार भन्न चुकेको छैन। तसर्थ भनाई के छ भने व्यक्तिले पहले राजा (शासक) कमाओस अनि त्यसपछि पत्नी प्राप्त गरोस अनि मात्र आफ्नो परिवार पालनको निमित्त धन कमाओस। यदि राजा (शासक) नभएमा न पत्नी नै रहन्छिन न धन नै। यो मापदण्डमा एकान्त चिन्तन गर्दा जो निर्णय हातलाग्छ त्यो नै इमानदार बिश्लेषण हो मुलुकले प्रगति गर्दै छ वा भडखालोमा जाँदै छ भन्ने।

यदि मुलुक भडखालोमा जाँदैछ भन्ने निश्कर्ष हो भने त्यसको एक मात्र औषधि राष्ट्रवादलाई अस्वीकार हैन अपनाउनु नै हो। अर्काको मुलुकमा ज्यामी भएर जाने सबै देशवासीलाई राष्ट्रवादको महत्व बोध भै सकेको छ। मुलुक भित्रै बस्नेहरुले राष्ट्रवादको ज्योति जगाएर प्रगति गरेर उनीहरुलाई स्वदेश बोलाउने बेला यही हो।