बेवास्ता गरिएको राष्ट्रिय सुरक्षा

0
63

दामोदर कोइराला, राजनीति शास्त्री

दामोदर कोइराला

राष्ट्रको सुरक्षालाई अत्यन्त ठूलो महत्व दिनु पर्ने हुन्छ । सेना, प्रहरी मात्र हैन, मुलुकको सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक, कूटनीतिक, राजनीतिक लगायत हरेक क्षेत्र र पक्ष सवल रह्यो भने मात्र राष्ट्र सुरक्षित रहन सक्छ । यी मध्ये कुनै एउटा पक्ष मात्र पनि कमजोर भयो भने राष्ट्र अप्ठ्यारो अवस्थामा पर्ने खतरा हुन्छ ।

राष्ट्रलाई सवल तथा प्रभावकारी बनाउन मुलुक सञ्चालकहरूले / शासकहरूले राष्ट्रिय सुरक्षा नीति बनाएर त्यसलाई सही ढङ्गले कार्यान्वयन गर्छन् । त्यसैले जुन सुकै मुलुकले पनि राष्ट्रिय सुरक्षा नीतिलाई ठूलो महत्व दिएको पाइन्छ ।

नेपालको सन्दर्भमा, पृथ्वी नारायण शाहले नेपाल राष्ट्रको एकीकरण आरम्भ गरे देखि, राणा शासन काल, २००७ सालको राजनीतिक परिवर्तन र त्यस पछिको एक दशक सम्म नेपालले पृथ्वी नारायण शाहको मार्ग निर्देशन र उनको दिव्य उपदेशको आधारमा राष्ट्रिय सुरक्षा नीति अवलम्बन गरेको थियो । ‘राष्ट्रिय सुरक्षा नीति’ का रूपमा लिपीवद्ध छुट्टै कुनै दस्तावेज नभए पनि त्यो काल खण्डमा नेपालका शासकहरूले यो राष्ट्रको सुरक्षा प्रभावकारी रूपले गरेको पाइन्छ ।

राजनीतिक दलहरूलाई काम गर्न नदिइएको, निर्दलीय पञ्चायती शासन व्यबस्थाको समयमा राष्ट्रिय नीति तयार पारिएको थियो । त्यही लिपीवद्ध, व्यबस्थित नीति अन्तर्गत राष्ट्रिय सुरक्षा नीति सञ्चालन गरिएको थियो । र २०४६ सालको परिवर्तन सम्म नेपालले राष्ट्रिय सुरक्षाका दृष्टिले प्रभावकारी काम गरेको थियो ।

त्यस बेलाका शासकहरू मुलुकलाई आन्तरिक मामलामा मात्र होइन, अन्तरराष्ट्रिय मञ्चमा समेत नेपाललाई एउटा सक्षम् तथा सशक्त राष्ट्रका रूपमा स्थापित गर्न सफल भएका थिए ।

तर, २०४६ सालमा जब नेपालमा बहुदलीय शासन प्रणाली आरम्भ गरियो र राजनीतिक दलहरूको चाहना अनुरूप देश चलाउन थालियो, नेपालको राष्ट्रिय सुरक्षालाई गौँण बनाइयो । २०४६ को परिवर्तन पछि लामो समय सम्म राष्ट्रिय सुरक्षा नीति नै नरहेको अवस्थालाई मुलुकको सुरक्षालाई पटक्कै महत्व नदिइएको प्रमाणको रूपमा लिन सकिन्छ ।

राष्ट्रिय सुरक्षा जस्तो सम्वेदनशील विषयलाई महत्वहीन तरिकाले, जहिले पनि संक्रमणकाल जस्तो गरी व्यवहार गरियो । धेरै वर्ष यस्तै भद्रगोल रहे पछि २०६६ सालमा बल्ल राष्ट्रिय सुरक्षा नीति बनाउने प्रयास गरियो । तर त्यो प्रयास सफल भएन । मुलुकले राष्ट्रिय सुरक्षा सम्बन्धी कुनै नीति पाउन सकेन । फेरि पनि देश तदर्थ शैली मै चलाइराखियो, राष्ट्रिय सुरक्षाका दृष्टिले समेत ।

साढे दुई दशक भन्दा वढी समय राष्ट्रिय सुरक्षा नीति विहीन रहेको नेपाल राष्ट्रले, २७ पर्ष पछि, २०७३ सालमा बल्ल राष्ट्रिय सुरक्षा नीति बनायो । सरकारले अनुमोदन गरेर यस बेला कार्यान्वयनमा रहेको सो नीतिको प्रभावकारिताको परीक्षण चाहिँ हुनै बाँकी नै छ ।