भ्रष्टाचार बिरोधी कि त्यसका प्रसंशक ?

कतै “भ्रष्टाचार बिरोधी” तपाईं हामी र हाम्रो समाज “भ्रष्टाचारी कर्म प्रसंशक” त होइनौं ? “भ्रष्टाचार” ले सामाजिक मान्यता मात्र होइन प्रशंसा नै पाइसकेको त होइन ?

सरोज मिश्र

Saroj Mishraहामी “भ्रष्टाचार” का बिरुद्ध निक्कै चर्का कुरा गर्छौं । “भ्रष्टाचारीलाई कीरा परोस्” र “भ्रष्टाचारीलाई जेल हालौं” भन्ने लेखिएको सेतो सुकिलो टीशर्ट लगाउँदै हातमा मैनबत्ती लिएर माइतीघर मण्डलमा जम्मा पनि हुन्छौं ! यो जागरुकता र भ्रष्टाचारी बिरुद्धको यो असहिष्णुता वास्तब मै सह्राहनीय छ, स्तुत्य छ !

अब एउटा परिस्थितिको कल्पना गरौं !

पहाडको कुनै गाउँको दुई सहोदर दाजुभाइका दुई सन्तान, रामेका छोरा हर्के र श्यामेका छोरा बिर्खे, गाउँको स्कूलबाट एसएलसी पास गरे पश्चात् उच्च शिक्षाका लागि काठमाडौ झर्छ्न् । दुबै जनाले ठूलो दुख-कष्ट सहेर अर्काको भाँडा सम्म माझेर स्नातक उतिर्ण पनि गर्छन् । लगत्तै दुबै जनाको एउटै कूलका कन्याहरूसँग विवाह हुन्छ । दुबैले लोकसेवा परीक्षा दिन्छन् र शाखा अधिकृत एकै दिन बन्दछ्न् । अब भने बाटो अलि छुट्टिन्छ । हर्केको पदस्थापन भन्सार सेवा बिभागमा हुन्छ र बिर्खे चाहिँ हुलाक सेवा विभागमा पदस्थापित हुन्छ ।

बीस बर्ष पछि दुबै जना आ-आफ्ना बिभागमा प्रथम श्रेणी अधिकृत भैसकेका हुन्छ्न् । तर, दुईका बीच आकाश जमीनको अन्तर हुन्छ ।

हर्केको तीन रोपनी कम्पाउण्डको घरको आंगनमा दुई-तीन वटा गाडी हुन्छ । छोरा अमेरिकामा “मास्टर्स” गर्दै हुन्छ र छोरी चाहिँ अस्ट्रेलियामा “कम्प्यूटर” गर्दै हुन्छिन् । श्रीमतीजीलाई हप्ताको दुई पटक ब्युटी पार्लर नगइ चित्तै बुझ्दैन ! घरमा हप्ताको दुई पटक भब्य Get Together चलिरहेको हुन्छ । कोलेस्ट्रल र हाई ब्लड प्रेसरले भने दुख दिएको छ, हर्के दम्पतीलाई । पोहर साल अमेरिकामा तीन महिना बसेर औषधि गराएको पनि हो ।

“किरा परोस्” भन्ने टीशर्ट लगाएर जुलुसमा जानू भनेको कुखुराको सांप्रा चपाउंदै “पशु अधिकारको रक्षा सेमिनार” मा भाग लिइरहेका जस्तो पो हो कि ?

बिर्खेको चार आनामा बनेको अढाई तल्ले घर छ, मुश्किलले मोटर साइकल छिर्ने । छोरो शंकर देव क्याम्पसमा र छोरी त्रिचन्द्रमा पढ्छे ! श्रीमतीलाई दुब्लाउंदै जाने रोग लागेको छ । तलब भत्ता र घरको भूईं तल्लाको भाडाले मुश्किलले दालभात डुकु चल्छ । छोरो कतार जान्छु भन्छ, ५ लाख माग्दैछ । छोरीलाई जिम्मा लाइदिन पाए हुन्थ्यो, तर त्यहाँ पनि कम्तिमा ५ लाख चाहिन्छ । पहाडको सबै श्रीसम्पति बेच्दा तीन लाख पनि हुँदैन !

तपाईंकी छोरीका लागि ज्वाइँ रोज्नु पर्‍यो भने कसलाई रोज्नु हुन्छ ? हर्केको छोरा वा बिर्खेको छोरा ? छातिमा हात राखेर जवाफ दिनुस् ! धन्न मेरी छोरी छैनन् । यदि भएको भए म चाहिँ हर्केका छोरा नै रोज्थें होला ! आखिर प्यारी छोरीको सुख शयल सुबिधा र भबिश्यको प्रश्न छ ! तपाईँको रोजाई बिर्खेको छोरा हुन् भने म तपाईंको ठूलो प्रसंशक बनें ।

कतै “भ्रष्टाचार बिरोधी” तपाईं हामी र हाम्रो समाज “भ्रष्टाचारी कर्म प्रसंशक” त होइनौं ? “भ्रष्टाचार” ले सामाजिक मान्यता मात्र होइन प्रशंसा नै पाइसकेको त होइन ?

“किरा परोस्” भन्ने टीशर्ट लगाएर जुलुसमा जानू भनेको कुखुराको सांप्रा चपाउंदै “पशु अधिकारको रक्षा सेमिनार” मा भाग लिइरहेका जस्तो पो हो कि ?

 

868 Total Views 1 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>