नेपालीको शिर झुकेको समय

मुलुकलाई राजनीतिक रूपले कमजोर र आर्थिक रूपले धराशयी बनाउनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान छ ।

बबिता बस्नेत

babita-basnetधेरै नेपालीलाई अहिले आफ्नो शिर झुकेको महसुस भइरहेको छ । मधेसी समस्याका नाममा नेपालको आन्तरिक समस्याको निदानका लागि नेताहरू आफ्नो मुलुक छोडेर छिमेकी मुलुक पुगेका छन् । हिजोसम्म मन्त्री, उपप्रधानमन्त्रीलगायतका यो मुलुकको राज्यसंयन्त्रमा महत्त्वपूर्ण पद लिएर बसेका नेताले मुलुकलाई यति सहजै भारतसम्म पुर्‍याउलान् भन्ने नसोचिएका कारण नेपालीलाई आफ्नो शिर झुकेको महसुस भएको हो ।

तर, पछाडि फर्किएर हेर्ने हो भने यो अवस्था नयाँ भने होइन । मुलुकमा भएका स–साना द्वन्द्वहरूलाई आफ्नै देशमा सल्टाउनुको साटो छिमेकी गुहार्ने चलन पुरानै हो । अहिले हामीले नाकाबन्दीका कारण असाध्यै दु:ख भोग्नुपरेको र यही समयमा मधेसी मोर्चाका मान्छेहरू भारत गुहार्न पुगेकाले अप्ठ्यारो लागेको मात्रै हो, तर यस्तै समय ०६२ मा पनि थियो ।

त्यतिबेला मुलुकमा राजाको सरकार थियो र लोकतन्त्रवादीहरू राजा हटाउन छिमेकीलाई गुहारिरहेका थिए । त्यतिबेला पनि गिरिजाप्रसाद कोइरालालगायतका नेताहरू यसैगरी नयाँदिल्लीमा जम्मा भएर भारतसँग लौ न केही पहल गरिदिनुपर्‍यो भनिरहेका थिए । त्यतिबेलाको हारगुहारको परिणामस्वरूप आएको १२ बुँदे सम्झौताले अन्तत: मुलुकलाई यो गतिमा पुर्‍यायो । अहिले हाम्रो देशमा जे–जे भइरहेको छ, त्यो त्यही १२ बुँदे सम्झौताको परिणाम हो ।

हामीकहाँ १२ बुँदे सम्झौता गर्न हुने या १२ बुँदेचाहिँ हामीले गरिदिनुपर्ने अनि १६ बुँदे सम्झौता हुँदाचाहिँ हामीलाई सोध्नुसम्म नपर्ने ? अहिले छिमेकीको मूल प्रश्न यही हो जस्तो लाग्छ । हो, माओवादी द्वन्द्वका बेला हामीकहाँ समस्या थियो, तर त्यो समस्या निम्त्याउनका लागि या समस्यालाई निरन्तरता दिनका लागि सेल्टरहरू पनि उतैबाट उपलब्ध गराइएका थिए । सुरक्षित रहनका लागि उतै पुग्ने अनि मुलुकमा आएर भारतीय विस्तारवाद भन्दै भाषण गर्ने अनौठो भूमिका नेताहरूले खेल्दै आएका थिए । जब तपाईं कसैको नुन खानुहुन्छ, कुनै न कुनै रूपमा नुनको सोझो गर्नैपर्ने हुन्छ । कालान्तरमा कसले कसको नुनको सोझो गरिरहेको छ, स्पष्ट नै छ ।

अहिले हाम्रो देशमा जे–जे भइरहेको छ, त्यो त्यही १२ बुँदे सम्झौताको परिणाम हो । हामीकहाँ १२ बुँदे सम्झौता गर्न हुने या १२ बुँदेचाहिँ हामीले गरिदिनुपर्ने अनि १६ बुँदे सम्झौता हुँदाचाहिँ हामीलाई सोध्नुसम्म नपर्ने ?

हाम्रो देशमा मुलुक र जनताका निम्ति नभएर जहिले पनि पदका लागि राजनीति भयो । नेपालको इतिहास नै पदका लागि एउटालाई समाप्त पारेर आफू त्यहाँ पुग्ने र पुग्नका लागि जे पनि गर्ने प्रकारको छ । निरङ्कुश भनिनेहरूले त गरे–गरे प्रजातन्त्रका नाममा राजनीति गरेकाहरूको पनि चाहना आफू पदमा पुग्नेभन्दा माथि कहिल्यै रहेन ।

यदि देश बनाउने आकाङ्क्षा हुँदो हो त यो मुलुक बनाउने सबैभन्दा ठूलो अवसर गिरिजाप्रसाद कोइरालालाई थियो, तर आफ्नो दलले पाएको दुईतिहाइ बहुमतको अपमान गर्दै प्रधानमन्त्री पदका नाममा मध्यावधि चुनाव गराएर ०४६ को प्रजातन्त्रको धज्जी पहिलोपल्ट उडाइएको थियो । मुलुकलाई राजनीतिक रूपले कमजोर र आर्थिक रूपले धराशयी बनाउनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान छ । यद्यपि उनी यो संसारमा छैनन्, बितेका मानिसका विषयमा नकारात्मक टिप्पणी गर्नु राम्रो कुरा होइन, तर उनको नाम इतिहासमा पटकपटक यसैगरी लिनका लागि हामीजस्ता सर्वसाधारण बाध्य हुनेछन्, कारण यो मुलुकलाई यहाँसम्म पुर्‍याउनुमा उनको भूमिका प्रमुख छ ।

०६२ मा नयाँदिल्लीमा १२ बुँदे सम्झौता गर्दा नेपाली मिडियाको भूमिका पनि निकै रोमाञ्चकारी रह्यो । आहा गजब्बै भयो भन्ने प्रकारले हामीले सन्देश प्रवाह गर्‍यौँ । हो, त्यतिबेला परिस्थिति अलि फरक थियो, राजाका हातमा शासन थियो र हामी मुलुकमा पूर्ण प्रजातन्त्र चाहन्थ्यौँ । तर, त्यो फरक अवस्थाबीच नेपालमै समाधान खोज्न पाएको भए अरूलाई नगुहारी आफू आफैँ मिलेर समस्याको समाधान गर्न पाएको भए आज मधेसी या कुनै पनि नेताले कुनै पनि नाममा यसरी अरूलाई गुहार्दै हिँड्ने हिम्मत गर्ने थिएनन् ।

नयाँदिल्लीमा १० वर्षअघि १२ बुँदे सम्झौता गर्दा मुलुक अलिअलि भए पनि गतिमै थियो, यति धेरै दुर्गतिमा पुगिसकेको थिएन ।

नयाँदिल्लीमा १० वर्षअघि १२ बुँदे सम्झौता गर्दा मुलुक अलिअलि भए पनि गतिमै थियो, यति धेरै दुर्गतिमा पुगिसकेको थिएन । सम्झौता गर्नेहरूका लागि आफू पदमा पुग्नु ठूलो कुरा थियो, तर गराउनेहरूका लागि भने यो क्षणिक नभएर दूरगामी रणनीति थियो । नेपालमा यो दिन आउँछ भनेर उनीहरूलाई पहिल्यै थाहा थियो, तर यता हाम्रा क्षणिक सोच भएका नेताहरूले भने आफ्नो पदबाहेक अरू केही हेरेनन् । परिणाममा ‘सेरेमोनियल’ रूपमा बस्न तयार राजसंस्थालाई जरैबाट उखेलियो । यसो गर्नुमा छिमेकीको ‘लङ टर्म स्ट्राटिजी’ भए पनि नेपाली नेताका लागि भने क्षणिक पद थियो । गिरिजाप्रसाद कोइरालाले यो मुलुकको पहिलो राष्ट्रपति हुने सपना देखेपछि राजसंस्था फालियो ।

हाम्रोजस्तो मुलुकमा राजसंस्था र राष्ट्रियताबीच कति ठूलो सम्बन्ध छ भन्ने कुरा त्यतिबेला कसैले सोचेन, जसलाई थाहा थियो उसको हातमा केही थिएन । व्यक्ति को कस्ता थिए भन्ने कुराले संस्थामा गौण अर्थ राख्छ । त्रुटि व्यक्तिले गर्छन्, तर ती व्यक्तिहरू बितेर गएपछि पनि संस्था त रही नै रहन्छ । राजसंस्था हुँदा नेताहरू सङ्कटका समयमा राजा गुहार्थे या नारायणहिटीको वरिपरि पुग्थे । छिमेकीलाई पनि गाह्रै थियो, राजालाई भेट्न समय लिनुपर्‍यो, मर्यादामा रहेर कुराकानी गर्नुपर्‍यो । तर, संस्थै फालिदिएपछि परिस्थिति सहज भयो । नेताहरूलाई भेट्न न त समय लिनुपर्‍यो न त कुराकानीका क्रममा कुनै अदप या मर्यादा नै पालन गर्नुपर्‍यो । एउटा जुनियर अफिसरको फोनका भरमा नेताहरू दौडिएर दूतावास पुगिहाल्छन्, जे गरे पनि भो, जे भने पनि भो ।

फेरि पनि अरूलाई दोष दिनुभन्दा यो समय ल्याउनुमा हामी आफैँ दोषी छौँ, हाम्रा नेताहरूको अदूरदर्शी सोच र उनीहरूले जे–जे गरे ‘ठीक’ भन्दै मौन सहमति दिने हामी जनता दोषी छौँ । छिमेकीले पनि आफूले मात्रै यो ‘स्पेस’ बनाएको होइन, जताबाट पनि खेल्न सजिलो हुने गरी यति फराकिलो ‘स्पेस’ हामीले नै तयार गरिदिएका हौँ । फलत: अरू मुलुक प्रजातन्त्रपछि समृद्धितिर लाग्छन्, हामीचाहिँ बिहान छाक टारे बेलुका कसरी हातमुख जोड्ने होला भन्ने अवस्थामा पुगेका छौँ ।

छिमेकी मुलुकसँग हाम्रा अजब–गजबका सम्बन्धहरू छन् । रोटी–बेटी मात्र होइन खुकुरी, ढाका टोपी र दौरा–सुरुवालको सम्बन्ध पनि त्यत्तिकै दह्रो छ । माओवादी नेता प्रचण्ड प्रधानमन्त्री भएपछि शपथग्रहणका बेला दौरा–सुरुवाल लाएनन् भनेर दार्जिलिङ, खर्साङतिर पुरुषले दौरा, सुरुवाल, टोपी र महिलाले गुन्यु–चोलो लाउने लहरै चल्यो । अहिले वीरगञ्ज नाकातिर पारिबाट हाम्रा सुरक्षाकर्मीलाई ढुङ्गामुढा हुँदा मूकदर्शक छिमेकी प्रशासनलाई लिएर कहिलेकाहीँ मनमा प्रश्न उब्जिन्छ, यस्तै कार्य भोलि पूर्वी नाकातिर भयो भने ? उस्तै रङ, रूप र भेषभूषाका मानिसले वारि आएर पारि सुरक्षाकर्मीलाई ढुङ्गा वर्षाए भने ? यस्ता कार्य जसले जसलाई गरे पनि शिर झुक्ने कार्य हुन् । आशा गरौँ, एक–अर्काको शिर झुकाउनेभन्दा शिर ठाडो हुने कामहरू अघि बढून् ।

साभार : घटना र बिचार साप्ताहिक

 

1415 Total Views 2 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>