यो काम त ‘राज्यको चौथो अङ्ग’ भनिने पत्रकारहरूले रातदिन, पल-पल गरिराखेकै छ नि ! क्रिकेटमा जस्तो हर क्षणको स्कोर जानेर के गर्ने ?! झन् डराउने ? अरूलाई पनि आतङ्कित पार्ने ?

दीपक गजुरेल

१. कोरोना सम्बन्धी समाचारबाट टाढै बसौँ । साह्रै उत्सुकता भए दिनमा एक पटक, केही मिनेट मात्र, यस्ता सूचना, जानकारी लिउँ ।

(कोरोना भाइरस रोगबारे थाहा पाउनुपर्ने जति हामीले जानिसकेका छौँ । थप जान्नुपर्ने केही बाँकी छैन)

२. हामी यस बेला क्रिकेट म्याच हेरिराखेका छैनौँ ! त्यसैले, ‘कोभिडबाट आज कति जनाको मृत्यु भयो ?’ ‘कति जना थप संक्रमित भए ?’ जस्ता जानकारी थाहा पाउनु आवश्यक छैन ।

(क्रिकेटमा जस्तो हर क्षणको स्कोर जानेर के गर्ने ?! झन् डराउने ? अरूलाई पनि आतङ्कित पार्ने ?)

३. मानसिक रूपमा आफूलाई कमजोर पार्न अनेक निहुँ नखोजौँ ! कहाँ के कस्ता अनुसन्धान हुँदैछन् भन्दै इण्टरनेटमा कोभिडकाबारेमा थप जानकारी खोज्न छोडौँ ।

(यस्ता अनेकथरी सूचना, जानकारीले हामीलाई तर्साइदिन सक्छ । ‘ला … यस्तो भएछ,’ जस्ता सोचाइले कमजोर बनिन सक्छ, मानसिक रूपमा । डिप्रेशनले गाँज्ने खतरा यस्तैलाई हो !)

४. कोरोना सम्बन्धी समाचार, जानकारी, सूचना प्रवाह गर्न छाड्दिउँ । फेसबुक आदि सामाजिक सञ्जालमा कोभिडबारे लेख्न, शेयर गर्न चटक्कै छाडौँ ।

(यो काम त ‘राज्यको चौथो अङ्ग’ भनिने पत्रकारहरूले रातदिन, पल-पल गरिराखेकै छ नि !)

५. आफूलाई मन पर्ने गीत सङ्गीत सुनौँ । परिवारसँग बसेर रमाइला सिनेमा हेरौँ ।

६. घरभित्र खेल्न मिल्ने खेल खेलौँ । केटाकेटीसँग रमाऔँ । बच्चाहरूलाई रमाइला कथा सुनाऔँ ।

७. पाका उमेरकाले ‘हाम्रो पालामा …’ जस्ता अनुभव, घटना, परिस्थिति सुनाऔँ, अरूले सुनौँ र सिकौँ ।

८. त्रास त्यागेर निर्धक्क रहने कोशीश गरौँ । प्रफुल्ल मनस्थितिले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीको रक्षा गर्नेछ

(डर, चिन्ता, नकारात्मक सोचाइले हामीलाई शारीरिक रूपमै कमजोर बनाइदिन्छ । अनि कमजोरलाई कोरोना मात्र होइन, जुनसुकै रोगले आक्रमण गरिहाल्छ नि !)

९. रूचि हुनेले आ-आफ्नो विषय, क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान गरौँ ।

(सर्वसाधारण जनता / आम नागरिकका लागि)

 

258 Total Views 2 Views Today